डिभीबाट आएका सबै खराब हुने भएकाले कार्यक्रम स्थगित गरिएको होइन: अमेरिकी विदेशमन्त्री



प्रकाशित मिति : पुस ५, २०८२ आईतबार

डिभीबाट आएका सबै खराब हुने भएकाले कार्यक्रम स्थगित गरिएको होइन: अमेरिकी विदेशमन्त्री

वाशिंगटन डीसी स्थित विदेश मन्त्रालयको प्रेस ब्रीफिंग रुमबाट सेक्रेटरी मार्को रुबियोले प्रेसलाई टिप्पणी गर्दै। (फ्रेडी एभरेट/आधिकारिक विदेश मन्त्रालयको तस्बिर)

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले डाइभर्सिटी भिसाबाट आएका व्यक्तिहरू सबै खराब हुने भएकाले यो कार्यक्रम स्थगित गरिएको नभई यसको जाँचबुझ प्रक्रियामा रहेका कमजोरीहरू निक्र्यौल गर्न रोकिएको बताएका छन्। विदेश मन्त्रालयको प्रेस ब्रिफिङ रुममा पत्रकारहरूसँग कुरा गर्दै उनले डिभीबाट आएका सबैले गोलीकाण्ड मच्चाउँछन् भन्ने तर्कका आधारमा कार्यक्रम स्थगित नगरिएको स्पष्ट पारे।

बिहीबार डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले डिभी कार्यक्रम स्थगित गर्ने घोषणा गरे पनि त्यसको भोलिपल्ट आयोजित प्रेस भेटघाटमा रुबियोले यसबारे आफूले होमल्याण्ड सेक्युरिटी सेक्रेटरीसँग कुरा गर्ने मौका नपाएको बताएका थिए। यसबाट होमल्याण्ड सेक्युरिटीले विदेश मन्त्रालयसँग कुनै समन्वय नगरी डिभी कार्यक्रम स्थगित गर्ने घोषणा गरेको देखिएको छ।

मार्को रुबियोले भनेका छन्, “यो कार्यक्रम स्थगित गर्नुको कारण उक्त भिसा अन्तर्गत आएका सबै व्यक्तिहरू खराब हुन्छन् वा उनीहरूले कतै गोलीकाण्ड मच्चाउँछन् भन्ने होइन। बरु, कार्यक्रमको जाँचबुझ प्रक्रियामा कतै केही अपर्याप्तता छ कि भनेर निक्र्यौल गर्न खोजिएको हो। निर्णय गर्ने प्रक्रियामा कुनै प्रणालीगत समस्या छ भने त्यसलाई सम्बोधन गर्न आवश्यक छ।”

कार्यक्रममा कुनै कमजोरी छ कि छैन भन्ने कुरा स्पष्ट नभएसम्मका लागि स्थगित गर्नु बुद्धिमानी हुने उनले बताए। उनले थपे, “कुनै व्यक्ति निश्चित माध्यमबाट भित्र छिर्यो भने, अन्तर्वार्ता प्रक्रियामा देखिएका ‘रेड फ्ल्याग’ हरू किन चिनिएनन् भन्ने पत्ता लगाउन र कार्यक्रम पुनः सुरु गर्नुअघि त्यसलाई सुधार्न आवश्यक छ। हामी सोही प्रक्रियाबाट अघि बढ्नेछौं।”

मार्को रुबियोको यो अभिव्यक्तिअघि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले ‘खसोखास’ लाई प्रतिक्रिया दिँदै होमल्याण्ड सेक्युरिटीद्वारा डिभी कार्यक्रम अस्थायी रूपमा स्थगित गरिएपछि मन्त्रालयले सो विषयमा समन्वय गरिरहेको बताएका थिए।

प्रवक्ताले भनेका थिए, “यस हप्ता भएका भयानक घटनाहरूले डाइभर्सिटी भिसा कार्यक्रमले अमेरिकी सुरक्षामा निम्त्याउन सक्ने जोखिम स्पष्ट पारेका छन्, जसलाई सुधार्न राष्ट्रपति ट्रम्प लामो समयदेखि प्रयासरत हुनुहुन्छ। मन्त्रालयले अमेरिकालाई यस्ता खतराबाट जोगाउन आवश्यक सबै उपाय अपनाउन होमल्याण्ड सेक्युरिटीसँग समन्वय गरिरहेको छ।”

रुबियोको अभिव्यक्ति लगत्तै विदेश मन्त्रालयले अमेरिकी दूतावासहरूबाट पनि डिभी भिसा जारी गर्ने प्रक्रिया रोकिएको र कार्यक्रमलाई अनिश्चितकालका लागि स्थगित गरिएको पुष्टि गरेको थियो। अमेरिकामा कस्ता व्यक्तिलाई प्रवेश दिने भन्ने विषयमा पूर्ण रूपमा सुनिश्चित नभएसम्मका लागि यो प्रक्रिया रोकिएको प्रवक्ताले बताएका थिए। यस निर्णयसँगै अब डिभी अन्तर्वार्ता कुरिरहेका वा अन्तर्वार्तापछि भिसाको प्रतीक्षामा रहेका व्यक्तिहरूले तत्काल भिसा पाउने छैनन्।

यद्यपि, पहिले नै भिसा प्राप्त गरिसकेका व्यक्तिहरू अमेरिका प्रवेश गर्न पाउने वा नपाउने भन्नेबारे अझै स्पष्ट पारिएको छैन। ‘खसोखास’ ले यसबारे अमेरिकी कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन सीबीपीसँग सोधपुछ गर्दा उनीहरूले सीधा उत्तर नदिई युएससीआईएससँग सम्पर्क गर्न सिफारिस गरेका थिए।

युएससीआईएसले भनेको थियो, “राष्ट्रपति ट्रम्प र सेक्रेटरी नोएमको निर्देशनमा अपराधी विदेशीहरूबाट अमेरिकीहरूलाई जोगाउन युएससीआईएसले डाइभर्सिटी भिसा कार्यक्रममा आफ्नो भूमिका तुरुन्तै स्थगित गरेको छ। यो कार्यक्रमले सुरक्षा चिन्ता बढाएको छ, किनकि यसले अनुपयुक्त व्यक्तिहरूलाई आकर्षित गर्न सक्छ। अमेरिकाले यसमार्फत आतंकवादी, हत्यारा वा कानुन उल्लंघन गर्नेहरूलाई आश्रय दिन सक्दैन।”

डिभी कार्यक्रम स्थगनबारे होमल्याण्ड सेक्युरिटी र युएससीआईएसले औपचारिक घोषणा गरिसके पनि विदेश मन्त्रालयले हालसम्म आधिकारिक रूपमा औपचारिक घोषणा गरिसकेको छैन। यद्यपि, यस्तो घोषणा सोमबारसम्म आउन सक्ने अपेक्षा गरिएको छ।

Table of Contents

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।

न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।





Source link

Leave a Comment