प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार

आइस एजेन्टहरू । फाइल तस्वीर
अमेरिकाको बीडब्ल्यूआई विमानस्थल (बाल्टिमोर/वासिङ्टन अन्तर्राष्ट्रिय थर्गूड मार्शल विमानस्थल) मा इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) का एजेन्टहरूले ट्रान्सपोर्टेशन सेक्युरिटी एडमिनिस्ट्रेशन (टीएसए)लाई सहयोग गर्न थालेका छन् । वसन्त बिदाको यात्राका कारण मेरील्याण्डमा विमानस्थलहरूको सुरक्षा जाँचमा भीड बढ्दै गएपछि यो निर्णय गरिएको हो।
मेरील्याण्ड उड्डयन प्रशासनका अनुसार आइसका एजेन्टहरूलाई सुरक्षा जाँच बिन्दुहरूमा परिचालन गरी यात्रुहरूको प्रक्रिया छिटो बनाउन सहयोग गराइनेछ।
अधिकारीहरूका अनुसार, आइसको भूमिका केवल परिचालन सहयोगमा सीमित रहनेछ । तर, आप्रवासनसम्बन्धी कारबाहीमा संलग्न हुने छैन। यात्रु तथा सामानको मुख्य जाँच कार्य भने टीएसएका तालिमप्राप्त कर्मचारीहरूले नै गर्नेछन्।
यस विषयमा मेरील्याण्डका गभर्नर वेस मूरले असन्तुष्टि जनाउँदै संघीय सरकारको कमजोरीप्रति आलोचना गरेका छन्। उनले टीएसए कर्मचारीहरूलाई तलब नदिइएको र अन्य निकायका एजेन्टहरूलाई फरक काममा लगाइएकोप्रति आपत्ति जनाएका छन्।
गत सोमबारदेखि टीएसएमा जनशक्ति अभाव भएपछि आइस एजेन्टहरू देशभरका विभिन्न विमानस्थलहरूमा परिचालन हुन थालेका छन्, जसका कारण सुरक्षा जाँचमा सामान्यभन्दा लामो लाइन देखिएको छ।
यात्रुहरूबीच यस कदमप्रति मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले टीएसए कर्मचारीहरूलाई पुनः परिचालन गर्नुपर्ने बताएका छन् भने केहीले सुरक्षित रूपमा कार्यान्वयन भएमा यो कदम उपयोगी हुन सक्ने बताएका छन्। आइस एजेन्टहरू अमेरिकाका १४ वटा विमानस्थलहरूमा परिचालन भइसकेका छन्।