आंशिक शटडाउनकै बीच डिएचएसका सबै कर्मचारीलाई काममा फर्कन आदेश, तलब पनि सुनिश्चित



प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार

आंशिक शटडाउनकै बीच डिएचएसका सबै कर्मचारीलाई काममा फर्कन आदेश, तलब पनि सुनिश्चित

अमेरिकामा करिब दुई महिनादेखि जारी आंशिक सरकारी शटडाउनकै बीच डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले बिदामा राखिएका सबै कर्मचारीलाई तुरुन्त काममा फर्कन निर्देशन दिएको छ। शुक्रबार जारी गरिएको आधिकारिक सूचनाअनुसार सबै कर्मचारीहरू आफ्नो नियमित तालिकाअनुसारको अर्को कार्य दिन (अधिकांशका लागि सोमबार) देखि कार्यस्थलमा उपस्थित हुनुपर्नेछ।

डिएचएसले जारी गरेको सूचनामा अप्रिल ३ मा ह्वाइट हाउसद्वारा सार्वजनिक गरिएको एक महत्त्वपूर्ण मेमोको उल्लेख गरिएको छ। उक्त मेमोमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आंशिक शटडाउनका कारण कर्मचारीहरूले गुमाएको तलब र सुविधाको बराबर भुक्तानी उपलब्ध गराउने आपतकालीन आदेशमा हस्ताक्षर गरेका थिए।

ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले पनि डिएचएसको यो निर्णय पुष्टि गर्दै भनेका छन् – “सबै कर्मचारीलाई काममा फर्किन भनिएको छ । उनीहरूलाई पूर्ण तलब उपलब्ध गराइनेछ।” यसले लामो समयदेखि तलब नपाएर प्रभावित कर्मचारीहरूका लागि केही राहत दिने अपेक्षा गरिएको छ।

हालसम्म जारी आंशिक शटडाउनका कारण विभिन्न सङ्घीय निकायहरू प्रभावित भएका छन्। डिएचएसमा करिब २ लाख ७० हजार कर्मचारी कार्यरत छन्, जसमा अधिकांशलाई ‘आवश्यक सेवा’ अन्तर्गत राखिएको छ। यसको अर्थ, शटडाउनका बेला पनि उनीहरूले काम गर्नुपर्ने हुन्छ, तर धेरैले नियमित तलब पाएका थिएनन्।

अमेरिकी कङ्ग्रेसले सन् २०२६ का लागि डिएचएसको बजेटसम्बन्धी विधेयकमा अझै सहमति जुटाउन सकेको छैन, जसका कारण शटडाउन लम्बिएको हो।

डेमोक्र्याट सांसदहरूले ट्रम्प प्रशासनको आप्रवासन नीतिको कडा आलोचना गर्दै आएका छन्। विशेष गरी डिएचएसअन्तर्गतको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को प्रयोगलाई लिएर उनीहरू असन्तुष्ट छन्।

मानवअधिकार समूहहरूले पनि ट्रम्पको कडाइपूर्ण आप्रवासन नीतिले कानुनी प्रक्रिया र अभिव्यक्ति स्वतन्त्रतामाथि असर पार्नुका साथै अल्पसङ्ख्यक समुदायका लागि असुरक्षित वातावरण सिर्जना गर्ने आरोप लगाएका छन्।

तर, राष्ट्रपति ट्रम्पले भने आफ्नो कदम देशको आन्तरिक सुरक्षा सुदृढ पार्न र अवैध आप्रवासन नियन्त्रण गर्न आवश्यक रहेको दाबी गरेका छन्।

यसै वर्षको सुरुवातमा मिनेसोटामा आइसका सङ्घीय एजेन्टहरूले दुई अमेरिकी नागरिकलाई गोली हानी मारेको घटनापछि उक्त निकायमाथि थप निगरानी र आलोचना बढेको छ।

डिएचएसका सेक्रेटरी मार्कवेन मुलिनले उपलब्ध बजेट प्रयोग गरेर सम्पूर्ण डिएचएस कार्य बललाई पुन: सक्रिय बनाइने बताएका छन्। 





Source link

Leave a Comment