नेपाल प्रहरीको वृत्तिविकासमा गृह मन्त्रालय नै बाधक बनिरहेको छ। समयमै बढुवा नगर्दा माथिल्लो तहदेखि तल्लो तहसम्म वृत्तिविकासमा असर परेको छ।
पछिल्लो पटक नेपाल प्रहरीमा रिक्त १० प्रहरी नायब महानिरीक्षक (डिआइजी) को बढुवा मात्र होइन, दुई महिनादेखि रिक्त कर्णाली प्रदेश कार्यालय प्रमुख पनि मन्त्रालयले पठाउन सकेको छैन। तत्कालीन डिआइजी जनक भट्टराईको एआइजीमा बढुवा भएसँगै कर्णालीमा सरकारले अर्को डिआइजी पठाउन नसकेको छैन।
वैशाख २१ गते डिआइजी सरुवा गर्दा सरकारले कर्णाली प्रदेशमा कसैलाई पनि पठाउन सकेन। एक महिनादेखि १० डिआइजीको पद रिक्त रहेकाले नयाँ बढुवा गरेर मात्रै कर्णालीमा पठाउने तयारीमा गृह रहेको छ। तर बढुवा कहिले हुन्छ भन्ने अझै टुंगो लागिसकेको छैन।
‘डिआइजी बढुवाका लागि मन्त्रालयमा मन्त्री रमेश लेखक र आइजिपी दीपक थापाबिच कुरा मिल्न नसकेका कारण रोकिएको हो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने। कार्यसम्पादन मूल्यांकनमा कमजोर रहेका एसएसपीलाई मन्त्रीले बढुवाका लागि प्राथमिकतामा राखेपछि आइजिपी थापाले मानेका छैनन्।
दुई ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिच प्रतिस्पर्धा सुरु भएपछि एक महिनादेखि डिआइजी बढुवा रोकिएको छ। ‘डिआइजी बढुवाका लागि ११२ टोलीका मध्ये पटकपटक जिल्ला कमान्ड फितलो भएका एसएसपीलाई काखी च्याप्न थालेपछि आइजिपी थापाले आफूमाथि अन्याय गरेको बोझ बोक्नुपर्ने भन्दै रोकेका छन्,’ स्रोतले भन्यो।
आउने १० गते एआइजी लालमणि आचार्यको अवकाशपछि डिआइजीमा सिट संख्या ११ पुग्ने भएकाले त्यसपछि मात्रै बढुवा प्रक्रिया अगाडि बढाउने तयारी रहेको बताइएको छ। गृहले डिआइजी बढुवाको सिफारिस चाँडै हुने जनाएको छ। यो विषयमा बुझ्न खोज्दा मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारी बिदामा रहेको र सूचना अधिकारी रवीन्द्र अधिकारीले आफूलाई जानकारी नभएको बताए। ‘बढुवाबारे मलाई खासै जानकारी हुँदैन,’ उनले भने।
नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग (राअवि) बाट स्थानान्तरण भएका एसएसपीहरूको प्रतिस्पर्धा सुरु भएको हो। राअविबाट नेपाल प्रहरीमा आएर एसएसपी भएकाहरू आफूलाई अन्याय भएको भन्दै डिआइजी बढुवाका लागि लबिइङ गरिरहेका छन्। त्यसैगरी प्रहरी नियमावली पल्टाएर आफूहरू सिनियर भएको भन्दै नेपाल प्रहरीमा इन्स्पेक्टरबाट प्रवेश गरेका ११२ (भर्ना मिति २०५६ असार ३) को टोलीले बढुवा दाबी गरिरहेका छन्।
अहिले बढुवा हुने ११२ मध्येका डिआइजीले करिब तीन वर्षपछि प्रहरी नेतृत्व सम्हाल्ने भएकाले डिआइजी बढुवाका उनीहरूले अधिकतम कोसिस गरिरहेका छन्। नेपाल प्रहरीमा रिक्त १० डिआइजी बढुवाका निम्ति ११२ टोलीकै बिचमा प्रतिस्पर्धा हुने चर्चा चलिरहँदा २०५३ सालमा राअविबाट आएका टोलीले आफूहरूलाई अन्याय भएको भन्दै गुनासो गरिरहेका छन्।
राअविबाट आएकाहरू २०७९ असार २५ मा एसएसपी सिफारिस भएका थिए भने ११२ का अधिकृतचाहिँ २०८० वैशाख २४ का एसएसपी हुन्। ११२ टोलीबाट पहिलो लटमा एसएसपी बढुवा भएका अधिकृत मात्रै पर्ने स्थिति छ। उनीहरू २०८० वैशाख २४ गते एसएसपी बढुवा भएका थिए। एसएसपीहरू विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, भूपेन्द्रकुमार खत्री, सोमेन्द्रसिंह राठौर, शेखर खनाल, दीपशमशेर राणा, अभिनारायण काफ्ले, तारादेवी थापा, गंगा पन्तलगायत छन्।
उनीहरूपछि एसएसपीमा बढुवा भएका वसन्त रजौरे र रमेश बस्नेत पनि डिआइजी बढुवाको दौडमा सहभागी भएका छन्। ११२ टोलीकै वसन्त रजौरे २०८० कात्तिक २४ मा एसएसपी बढुवा सिफारिस भएका थिए। यसअघि बढुवामा पछि पारिएका रजौरे पनि यसपटक बढुवाको कसरतमा छन्। राअविबाट आएका श्यामकृष्ण अधिकारी तथा नेपाल प्रहरीकै भीमबहादुर दाहाल र नान्तिराज गुरुङ २०८१ जेठ १८ मा बढुवा सिफारिस भएका थिए।
नेपाल प्रहरीमा राअविबाट समायोजित समूहमा ओमबहादुर राना, विनोद घिमिरे, दीपेन्द्र जिसी, माधव श्रेष्ठ, सुरेन्द्रबहादुर गुरुङ, दीलिपसिंह देउवा, जयराम सापकोटा छन्। तीमध्येको देउवाको कार्यसम्पादन पक्ष निकै कमजोर भएकाले उनको बढुवा नहुने अवस्था छ। गुरुङ र सापकोटालाई पनि छुटाउने सम्भावना बढी नै रहेको स्रोतको दाबी छ।
अहिलेको डिआइजी बढुवाका दाबेदार प्रहरी निरीक्षक आधारभूत तालिमको टोली नम्बर ११२ का अधिकृत हुन्। २०५६ असार ३ गतेको नियुक्तिपत्र प्राप्त यो अधिकृत टोली डिएसपी बढुवादेखि दुई र तीन लटमा अगाडि आएको छ। एसएसपी बढुवामा तीन चरणमा बढुवा भएका अधिकृत छन्।
अहिले डिआइजीका लागि १० सिट खालि हुँदा अन्य बढुवा लटका अधिकृतसमेत डिआइजी बढुवाको अभ्यासमा लागेका छन्। राअविको टोली डिआइजीबाट एआइजीमा पनि छुटेकाले उनीहरूलाई रिक्त सबै पदमा बढुवा गर्ने सम्भावना कम रहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
नेपाल प्रहरीको ११२ को टोली भने २०६७ पुस २३ गते इस्पेक्टरबाट डिएसपी एकसाथ बढुवा भएको थियो। तर २०७५ जेठ २९ मा यो टोलीका २६ जना एसपीमा बढुवा भए। अर्को टोली २०७५ फागुन ७ मा एसपी भयो। त्यसमा रमेशकुमार बस्नेत, श्यामकृष्ण अधिकारी, नान्तिराज गुरुङहरू थिए। पहिलो लटमा एसपी भएका वसन्त रजौरे भने एसएसपी बढुवामा छुटे भने दोस्रो लटको बढुवामा परे। तेस्रोमा रमेश बस्नेत २०८० माघ १७ मा बढुवा भए। चौथो लटमा श्यामकृष्ण अधिकारीहरूको बढुवा भएको हो।
यस पटक प्रहरी महानिरीक्षक दीपक थापाको निर्णयमा भर पर्ने भएकाले वरीयता मिचिने सम्भावना कमजोर रहेको प्रहरी प्रधान कार्यालय स्रोतको दाबी छ। डिआइजीको लाइनमा एक सय १४ टोलीलाई ल्याउनुपर्ने र भावी नेतृत्वका रूपमा उनीहरूलाई अगाडि बढाउनुपर्ने माग पनि थपिएपछि वरीयता मिच्ने सम्भावना निकै कमजोर भएको स्रोतले जनायो।
सामान्यतया २०५३ सालमा राअविमा भर्ना भएकाहरूले प्रहरी नियमावलीअनुसार तालिम गर्नुपर्ने अवधि भने २०५८ साउन १८ मा प्रहरी निरीक्षक नियुक्त भएका टोलीभन्दा पछि हुँदा बढुवामा पछि पर्दै आएका छन्। उनीहरूलाई सर्वोच्च अदालतको फैसलाका कारण राज्यले क्रमश: बढुवा गर्दै अघि बढाएको छ। २०५८ सालको टोलीमा रमेश थापा, अजय केसी, अनुपमशमशेर जबरा, वीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण कोइराला, होविन्द्र बोगटीलगायत छन्। यद्यपि यो टोलीभन्दा अघि नै २०५३ सालमा राअविमा भर्ना भएको टोली एसएसपीमा बढुवा भएको थियो।
११२ को टोलीबाट प्रतिस्पर्धाका लागि हाल काठमाडौं परिसर प्रमुख रहेका विश्व अधिकारी, एकपटक उपत्यका अपराध अनुसन्धान कार्यालय चलाइसकेका सानुराम भट्टराई, चितवन तालिम केन्द्रमा रहेका भूपेन्द्रकुमार खत्री, एयरपोर्टमा रहेका सोमेन्द्रसिंह राठौर, ललितपुर परिसर चलाएका शेखर खनाल, बुटवल तालिम केन्द्रमा रहेका दीपशमशेर राणा, विराटनगर तालिम केन्द्रमा रहेका अभिनारायण काफ्ले, प्रहरी प्रधान कार्यालयमा रहेका ओम अधिकारी र तारादेवी थापा, संयुक्त राष्ट्र संघको मिसनमा रहेकी गंगा पन्त मध्यबाट बढुवा हुनेछन्।
अहिले बढुवाका लागि दुईमध्ये एक महिला डिआइजीमा बढुवा हुने सम्भावना छ। एसपी हुँदा भक्तपुर जिल्लामा अब्बल काम गरेकी थापा र कोभिड महामारीमा पर्सामा अब्बल काम गरेकी पन्त दुवै विवादमा नआएका प्रहरी अधिकृत हुन्। अहिले बढुवाको दाबेदार रहेकाहरू पनि ठुलो विवादमा परेका छैनन्।
प्रकाशित: ६ जेष्ठ २०८२ ०७:०९ मंगलबार