‘डाँडाको कामी बाजे’ र सपूतको फिल्म ‘वसन्त’

‘डाँडाको कामी बाजे’ र सपूतको फिल्म ‘वसन्त’


म कति वर्षको थिएँ, सम्झना छैन । जेहोस्, सानै थिएँ । पढ्थे हुँला चार/पाँच कक्षातिर । मेरो घर मास्तिरको गाउँ सात्रेनीमा भजन थियो । भजन के को उपलक्ष्यमा थियो, थाहा छैन त्यो पनि । थियो होला कसैको पूजा ।

हामी बच्चाहरूलाई भजन भए भैगयो ।

स्कुले साथीहरू भेट भयो । मादल, डम्फु र मुजुराको तालमा यताउता गुरुर्र दौड्यो । त्यति रमाइलो गर्न पाए हामीलाई अरू के चाहियो !

रात छिप्पिंदै गयो । भजन जम्किंदै थियो । साथीहरू लाखापाखा लागे । म एक्लिएँ । पुस-माघको जाडो । त्यसमाथि हिमालको सीधा चिसो सिरेटो (स्याँठ) । घर जाऔं, त्यो बालखैमा घनाजंगल एक्लै छिचोलेर रामचालु पुग्ने आँट कहाँबाट आउनु । एकछिनपछि भजन समूहमा घुस्रिएँ ।

घर । घरको छेउमा आँगन । आँगनमा भजन । आँगनको छेउमा ढुंगे गोठ । पछाडि अग्लो भित्तो । भित्तोमाथि ढुंगाको बान्ना । बान्ना बाहिर फराकिलो सार्वजनिक भिरालो चौर । चौरमा झुप्प–झुप्प खसौं (खनिउँ) का रूखहरू । अलिकति माथि कालीपोखरी, पोखरी वरिपरि विशाल समथर चौर । चौरलाई खसौं, सल्ला, गुराँसहरूका घना जंगलको छाना ।

त्यो प्राकृतिक कालीपोखरी गाईबस्तुको लागि शीतलता थियो । इतिहासको र पुर्खाका पौरखको डोब थियो । सायद त्यसभन्दा तलका पानीका मूलहरूको लागि रक्तसञ्चार थियो । आँखा र मनको लागि शान्ति र सुन्दरता थियो ।

अहिले त्यो कालीपोखरी छैन । र, त्यस वरिपरिको सुन्दर हरियाली चौर पनि छैनन् । चौरमा डोजर नाचेर फुटबल मैदान भएको छ । सुन्दरता, प्रकृति र विरासतको संरक्षण गर्नु पनि विकास हो भनेर हाम्रा जनप्रतिनिधिलाई कसले सम्झाइदेओस् ।

अब कालीपोखरी नाममा मात्र सीमित छ, न पोखरी छ न पोखरीमा कालो माटो । ध्वंसको विकासले सुन्दरतालाई नामेट पार्दै लैजान्छ, रचनात्मक विकासले पो लोकको आयु बढाउँछ ।

०००

अब मलाई भजनमण्डलीमै त्यो रात कटाउनु थियो । ठूला–बडाको छेउमा जान पनि डर । यत्तिकैमा एक जना बुढा बाजेले च्याप्प समाएर आफूतिर ताने– यता आइजा नाति ।

म लुसुक्क लस्किएँ । मुटुको कम्पन मत्थर भयो । उनी भएरै त म त्यहाँ छिर्ने आँट गरेको थिएँ । उनको हातमा डम्फु थियो । घरी डम्फु बजाउँथे, घरी खैंजडी । भजन उनले नै गाउन शुरू गर्थे । अरूले उनकै भाकामा गला मिसाउँथे । उनले भजनबाटै कथा सुनाउँथे । भजनबाटै राम र सीताको बिहे गराउँथे, लोक र परलोकको कहानी कहन्थे ।

काखमा बसेको मैले घरी उनको अनुहारमा हेर्थें, घरी जुनेली निर्मल आकाशतिर नजर दौडाउँथें । उनी थिए- लालवीर विक । कलाकार प्रकाश सपूतका हजुरबा ।

भजन टोलीलाई बेलाबेला घरबेटीबाट सेल र बिरम्ला (उसिनेको भटमासमा नुन, खुर्सानी र भाँगोको अचार मलेको परिकार) आउँथ्यो । भित्ताको माटो खसेको स्टिलको थाल हत्तपत्त सफा गरेर हजुरबा त्यही थाल थाप्थे ।

बिरम्लाभन्दा बढी स्टिलकै कित्लीमा जाडोको ओखति लिएर महिला हाजिर भइरहन्थे– ल थाप त बाजे । हजुरबाले अलग्गै गिलास थाप्थे । उनले गिलासको रक्सी स्वाट्ट पार्थे र भाका हाल्थे । मलाई बिरम्लाको थाल टकार्थे ।

मलाई मोज ! बेला–बेला भोको पेटमा बिरम्ला र रोटी पनि खान पाइने । आक्कलझुक्कल डम्फु र खैंजडी पनि झ्याम–झ्याम, झुम–झुम पार्न पाइने । जाडो छल्न खास्टो (मजेत्रो) पनि ओढाइदिएका थिए मलाई । सिलाङे खास्टो । उनको लयसँगै पत्तै नपाई उनको घुरमा भुसुक्क निदाएछु ।

आँखा खुल्दा फुर्र उज्यालो छरिएको थियो । हजुरबाको स्वर सुकेको थियो । भजन चलिनैरहेको थियो । आहा ! त्यसबेला ममा विछट्टै उमंग छाएको थियो । बालामनले भनेको थियो– सधैं यस्तै भैदिए, कति रमाइलो हुन्थ्यो होला !

पछि म बागलुङ, पोखरामा उच्च शिक्षा पढ्दै पत्रकार बन्न काठमाडौं हान्निएँ । हिन्दु धार्मिक ग्रन्थका केही पानाहरू छिचोलें । अनि थाहा पाएँ कि धर्मले त शूद्रलाई भजन गाउने अधिकारसम्म पनि दिएको रहेनछ । पूजा गरेर फालेको प्रसाद पनि शूद्रलाई खाने अधिकार रहेनछ । फालेको प्रसादबाट संस्कार सिक्न सक्ने भएकाले प्रसादबाट समेत विमुख गरिएको रहेछ ।

पुस्तौं पुस्ताले पाखुरा बजारेर समाजमा योगदान दिएकाहरूमाथि नै चरम अत्याचार भएर तिम्रा बाबाले आरन छाडेपछि वसन्त जन्मायौ होला । लामो समयदेखि जातीय उत्पीडन र विभेदको घनले दिमाग हिर्काएको घनको चोटलाई सहन नसकेर दलित मुद्दामा फिल्म निर्माण गर्न खोज्यौ होला

संस्कारजन्य कुनै पनि काम शूद्रले गर्न नपाइँदो रहेछ । यदि गरिहाले ठूलो कारबाहीको भागीदार पो हुनुपर्दो रहेछ । वर्ण व्यवस्थामा शूद्रले संस्कारिक काम गर्नु पाप रहेछ । शूद्र समुदायभित्रको अछूत (दलित)ले त अपवित्र मानिएको काम मात्र गर्न पाइँदो रहेछ ।

हिन्दु धर्मको भारतीय अभ्यास हुबहु नेपालमा थियो भन्ने होइन । नेपालमा विभेदको छुट्टै अभ्यास हुन सक्छ । नेपालको विभेदको इतिहास त्यति धेरै खोजी भएको छैन । सके हामी खोजौंला । नसके कसै न कसैले त पक्कै उत्खनन् गर्नेछ ।

मनुस्मृति, राम शाह, पृथ्वीनारायण शाह, जंगबहादुर र मुलुकी ऐनले मात्र हाम्रो बहिष्करणको इतिहास बोल्दैन । अरू थुप्रै बहुआयामिक ऐतिहासिक सामाजिक पाटाहरू अझैसम्म अण्डरकभर नै छन् । सत्य के हो भने दलितमाथिको चौतर्फी बहिष्करण भारतबाटै प्रभावित थियो । त्यसको मूल जरो हिन्दु धर्मशास्त्रहरू नै हुन् ।

लालवीर हजुरबाको आरन पनि थियो । धम्जा ४ को भजन टोलीको कमान्डर भैहाले । ‘मेन भोकलिस्ट’ । उनको डाँडाघरमा निकै ठूलो मादल हुन्थ्यो । मलाई लाग्छ विभेदित समाजमा लालवीर भजन टोली प्रमुख हुनु पनि त्यतिबेलाको समाजमा एउटा क्रान्ति नै हो । धार्मिक स्वीकार्यताको प्रतीक हो ।

तर, उनी सपूतले भने जस्तो १००८ महात्मा महाराज थिएनन् । मैलो सेतो कछाड बाँधिहिंड्ने उनको पहिचानलाई ‘डाँडाको कामी बाजे’मा संकुचित गरिएको थियो । जुन कुनै संस्कारबाट वञ्चितीकरणमा परेका लालवीरहरू भजन समूहको नेता बन्नको लागि कति पुस्ताले, कति लामो संघर्ष गर्नु पर्‍यो होला ? मेरो दिमागले यकिन गर्न सक्दैन । दिमाग रिङ्गिन्छ ।

लालवीर हजुरबा अहिले भौतिक रूपमा यो लोकमा छैनन् । सायद उनको आरन पनि वैदेशिक रोजगारी र कथित आधुनिकताले निल्दिइसकेको छ । उनका भजन बाजाहरू कतै सुरक्षित होलान् । होलान् कतै संगीतबद्ध । र, सुनाइरहेका होलान् लालवीरका करामत ।

यतिबेला भने लालवीर हजुरबा मेरो स्मृतिमा नाचिरहेका छन् । उनलाई सम्झनको लागि उनका नाति प्रकश सपूत हामीमाझ छन् । उनले भर्खरै फिल्म ‘वसन्त’ निर्माणको घोषणा गरेका छन् । फिल्मको परिचयात्मक भिडियोमा हजुरबाको आरनलाई प्राथमिकता दिएका छन् । याद गर्न पनि कोही न कोही त चाहिंदो रहेछ, प्रकाश !

प्रकाश सपूतका प्रायः गीतहरू उनका हजुरबाबाट प्रभावित छन् । हजुरबाका भजनबाट भाका टिपेका छन्, शैली टिपेका छन् । र, त्यसलाई समय सुहाउँदो प्रविधिले पोलिस गरेका छन् । छरिएका अनुभूतिहरूलाई छानेर तिनलाई संरचनाबद्ध गरी गीतको आकार दिन सक्नु प्रकाशको सिर्जनात्मक खुबी हो । गीतबारे बढी नजाऔं । आऔं उनको निर्माणाधीन चलचित्र वसन्ततर्फ ।

पहिलो कुरा त उनले दलित र बहिष्करणको मुद्दामा आफ्नो पहिलो हाइ बजेट फिल्म निर्माण गर्ने आँट जुटाएका छन् । जोखिम मोलेका छन् भनेर म भन्दिनँ । सायद यतिबेला उनले आफू हुनुको बोध गरेका छन् ।

यदि म सही छु भने, समुदायको इतिहासतर्फ फर्किएका छन् । समाजमा कोही किन तल र कोही किन माथि छ भन्ने बुझेका प्रकाशले अब त्यो कुरा सार्वजनिक रूपमा ठूलो पर्दा मार्फत भन्दैछन् । राज्यले निर्माण गरेको विभेद, असमानता र बहिष्करण देखेर छट्पटिएका म जस्तालाई कम्तीमा सेलिब्रेटी कदका सपूतको विषय छनोटले पनि थोरै राहत मिलेको छ । बाँकी कुरा अर्को चैते दशैंपछि ल !

नेपालमा दलितको कथा फिल्म मार्फत फाट्टफुट्ट भनिन थालेको छ । अहिलेसम्म दलित विषयमा बनेका फिल्महरू गन्नका लागि दुई हातका औंलै काफी छन् । तर, समस्या धेरै फिल्ममा दलितलाई विदु्रपीकरण गरिएको छ । लाचार र हास्यास्पदको पात्र बनाएर खडा गरिएको छ ।

कतिपय फिल्मले त दलित र समानताको लामो आन्दोलन विरोधी भाष्य नै निर्माण गरेका छन् । दलितको क्षमता, योगदान र संघर्षको कथा अझै पनि प्रभावकारी ढंगबाट भनिएकै छैन । कथा लेख्नेदेखि निर्देशन र अभिनय गर्नेसम्म सबै गैरदलित हुन्छन् । जसले गर्दा दलितको भन्दा गैरदलितको आँखाबाट फिल्म बनेका छन् ।

अधिकांश फिल्ममा दलितदृष्टि गायब छ । कलाकारहरूले दलितको भूमिकामा अभिनय नगरेर अभिनयको नक्कल मात्र गरेका छन् । केही समयअघि दलन टेलिशृंखलाकी प्रमुख पात्रमध्येकी एक दिया मास्केले एउटा संवाद कार्यक्रममा मसँग भनेकी थिइन्– ‘मैले सिरियलमा अभिनय गर्दा मात्र पो थाहा पाए कुनै समुदायमाथि ऐतिहासिक रूपमा यति साह्रो उत्पीडन गरिएको रहेछ । त्यस फिल्मले मेरो आँखा खुल्यो । समाजलाई बुझ्ने दृष्टिकोण बदलियो ।’

यसर्थ वसन्त अथेन्टिक चलचित्र बन्नेमा आशावादी हुन सकिन्छ । किनकि उनले आफ्नै कथा, आफ्नै समुदायको कथा आफैं भन्न थालेका छन् । हो, अब हाम्रा कथाहरू हामीले नै भन्नुपर्छ प्रकाश । या उत्पीडनमा परेकाहरूको कथा जोसुकैले भने पनि त्यस समुदायप्रति न्याय हुनुपर्छ । निचोरिएको भावनामा थप चहर्‍याउनको लागि कथा भन्ने छुट कसैलाई छैन । दलितको विषय मेकरहरूलाई चर्चाको पेट भर्ने खजाना नभएर सामाजिक चेतको र उत्तरदायित्वको बोध हुनुपर्छ ।

०००

वसन्त फिल्मको ‘प्रि-मेकिङ’ दृश्यमा लालवीरको आरन र उनको दैनिकीलाई प्रतिबिम्बित गर्न खोजिएको छ । मलाई शंका छैन कि सपूतको यो फिल्म पनि उनको हजुरबाबाटै प्रेरित छ । हजुरबाको कथामा आफ्नो स्कुले जीवनको फेन्टासी र अन्तरजातीय प्रेम कथालाई अन्तरघुलन गर्न खोजेको प्रतीत हुन्छ ।

साँच्चिकै फिल्ममा भनेको कविता जस्तै तिमीले बनाएको अम्खोराको पानी विष्टकोमा अलग्गै खानु परेको पीडाले फिल्म लेखे हौला । तिम्रै हजुरबाले आरनमा खलाती फुकेर बनाएको पन्युँबाट पस्किएको भात उनले छेउ लागेर पातमा खानु परेको दृश्यले पोलेर आरन प्रोडक्सन खोले हौला ।

पुस्तौं पुस्ताले पाखुरा बजारेर समाजमा योगदान दिएकाहरूमाथि नै चरम अत्याचार भएर तिम्रा बाबाले आरन छाडेपछि वसन्त जन्मायौ होला । लामो समयदेखि जातीय उत्पीडन र विभेदको घनले दिमाग हिर्काएको घनको चोटलाई सहन नसकेर दलित मुद्दामा फिल्म निर्माण गर्न खोज्यौ होला ।

तिमी सृजनामार्फत विभेद विरोधी सामाजिक आन्दोलनमा होम्मिइसकेका छौ । वसन्तमा पालुवा मात्र पलाउँदैन हुरी पनि चल्छ । हुरी पन्छाएर सामाजिक न्यायको आन्दोलनमा अर्को पालुवा थप्नू । शुभकामना !

लालवीर हजुरबालाई साधुवाद !





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School