नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ अन्तर्गतको अनुसन्धान व्यवस्थापन एकाइ (RMC) द्वारा विश्वविद्यालय अनुदान आयोग(UGC)को तत्त्वावधानमा संस्कृत शिक्षामा पुस्तागत भिन्नता विषयक त्रिदिवसीय कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । यही जेठ १२, १३ र १४ गते आयोजित गोष्ठीको उद्घाटन सत्रमा RMC, वाल्मीकिका संयोजक तथा वाल्मीकि विद्यापीठका पूर्वप्राचार्य डा. गणेशप्रसाद घिमिरेको सभाध्यक्षता, विश्वविद्यालय अनुदान आयोग, नेपालका निर्देशक डा. केदारप्रसाद आचार्यको प्रमुख आतिथ्य, नेपाल संस्कृत विश्वविद्यालयका परीक्षानियन्त्रक सहप्रा. मुरलीधर दाहालको विशिष्ट आतिथ्य, वाल्मीकि विद्यापीठका प्राचार्य प्राध्यापक अच्युतप्रसाद लामिछानेको विशेष आतिथ्य रहेको थियो भने उक्त उद्घाटन सत्रको सहजीकरण RMC का सहसचिव तथा उपप्राध्यापक डा. शेखर दाहालले गरेका थिए ।
कार्यशाला गोष्ठीमा वाल्मीकि विद्यापीठका सबै विभागका विभागाध्यक्ष तथा विद्यापीठमा अध्ययनरत विद्यार्थीहरूमध्ये सबै विभागका प्रतिनिधिमूलक छात्रछात्राहरूको उल्लेख्य सहभागिता रहेको थियो । उक्त गोष्ठीमा संस्कृत शिक्षासम्बद्ध प्राज्ञिक तथा अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गरिएको थियो भने उद्घाटन सत्रका प्रमुख अतिथि डा. केदारप्रसाद आचार्य (निर्देशक-यूजीसी) द्वारा शुभकामना मन्तव्यका क्रममा संस्कृत विश्वविद्यालयलाई पौरस्त्य संस्कृतिको संरक्षणपूर्वक स्थापनागत उद्देश्य परिपूर्तिका लागि पुनःसंरचना गर्नुपर्ने, विश्वस्तरीय विश्वविद्यालय बनाउन आयुर्वेद, योग तथा वास्तु-इन्जिनियरिङजस्ता विश्व/समाजले खोजेको पाठ्यक्रम निर्माण, संस्कृत विश्वविद्यालयले आफ्नो उपादेयता पुष्टिका लागि पठनपाठनलगायत अनुसन्धानकार्यमा अघि बढ्नु पर्ने, पढ़ने पढाउने कार्यमा प्रविधिमैत्री हुनु पर्ने र जेन्जी आन्दोलनका पुस्ता, त्यसपछिका पुस्तालाई कसरी संस्कृत विद्याप्रति आकर्षण गर्ने ? नयाँ पुस्ताले के खोजिरहेका छन् ? त्यसलाई अध्ययन गर्दै नयाँ पुस्ताको रोजाइमा संस्कृतलाई स्थापित गर्नु पर्ने, विद्यालयतहदेखि नै नयाँपुस्तालाई संस्कारशिक्षा प्रदान गर्न संस्कृतविश्वविद्यालयका प्राध्यापकले योगदान पुर्याउनु पर्ने, प्राध्यापक तथा कर्मचारी सबै नैतिकरूपमा उत्तरदायी बन्नुपर्नेतर्फ ध्यानाकर्षण गराइएको थियो ।
त्यसैगरी विशिष्टातिथि परीक्षानियन्त्रक मुरलीधर दाहालद्वारा नवपुस्ताको आकर्षणको केन्द्रका रूपमा संस्कृत विश्वविद्यालयलाई स्थापित गर्न आधुनिक विषयहरूलाई जोड्दै अघि बढ्नु पर्ने र शास्त्रीय विषयहरूमा अनुसन्धान गर्न विद्यार्थीलाई प्रेरित गर्दै रोजगारमूलक शिक्षा प्रदान गर्नु पर्ने गुरुतर दायित्व रहेको विचार प्रकट भएको थियो । उक्त उद्घाटनसत्रमा ने.सं.वि. प्राध्यापक संघका केन्द्रीय सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछानेद्वारा समस्त प्राणीको रक्षाका लागि संस्कृतवाङ्मयको योगदान छ र संस्कृत वाङ्मयमा निहित जीवनोपयोगी ज्ञानराशि पस्किएर विश्वसमाजलाई नै उपकृत गर्ने अभिभारा संस्कृत विश्वविद्यालयको हो र त्यो ज्ञान विश्वविद्यालयका गुरुशिष्यका बीच हुने विचारमन्थनद्वारा उत्खनन गर्नुपर्ने महत्त्वपूर्ण विचार अभिव्यक्त भएको थियो भने RMC का सदस्य डा.रामप्रसाद पौडेलद्वारा स्वागतमन्तव्य, सहसंयोजक सहप्रा.डा. प्रेमप्रसाद न्यौपानेद्वारा धन्यवाद ज्ञापन र संयोजक तथा सभाध्यक्ष डा. गणेशप्रसाद घिमिरेद्वारा प्रमुख अतिथि, विशिष्ट अतिथि, समस्त अतिथि तथा गोष्ठीलाई भव्य बनाउन सहयोग पुर्याउने र सभालाई शोभायमान बनाउन समुपस्थित समस्त प्रशिक्षार्थीलाई स्वागतपूर्वक आभार समर्पण गर्दै उद्घाटनसत्रको समापन गरिएको थियो ।
जेठ १२ गते उद्घाटन सत्रसमाप्तिपश्चात् वाल्मीकि विद्यापीठ, नेपाली विभागका प्राध्यापक डा. देवी नेपालद्वारा ‘पुस्तागत भिन्नता र शिक्षण पद्धति’ शीर्षक कार्यपत्रको प्रस्तुति गरिएको थियो । प्रस्तुत कार्यपत्र एउटै कक्षामा विभिन्न उमेर समूहका विद्यार्थीहरू छन् भने तिनका लागि गरिने सिकाइ सहजीकरणमा के कस्ता विधि वा पद्धति प्रयोग हुन सक्छन् ? भन्ने मूल समस्या-समाधानमा केन्द्रित रहेको थियो । नेपालमा संस्कृत शिक्षाप्रति आकर्षण बढेसँगै नेपाल संस्कृत विश्वविद्यालयका शास्त्री र आचार्य कक्षामा अहिले एउटै कक्षामा २० वर्ष भन्दा मुनि(१८वर्ष) देखि र ६० वर्षभन्दा माथि (८४ वर्षसम्म) का विद्यार्थीहरूलाई एकै ठाउँमा राखेर सिकाउनु पर्ने अवस्था सिर्जना भएको, दुई पुस्तालाई सिकाइ र प्रविधिसँग जोडेर हेर्दा ‘डटपेन पुस्ता’ र ‘डट कम पुस्ता’का बीचमा पुस्तागत सम्बन्ध र दूरी स्पष्ट देखिने अनि सोच्ने र काम गर्ने तरिकामा समेत पुस्तागत भिन्नता भएका कक्षामा प्रयोग गर्न सकिने व्यावहारिक एवम् उपयोगी शिक्षण विधिहरू (आत्मनिर्देशित पद्धति, अनुभवमा आधारित पद्धति, उद्देश्यपूर्ण पद्धति, समस्या समाधानमुखि पद्धति, तत्काल उपयोगिता पद्धति, मिश्रित सिकाइ पद्धति आदि ) को खोजी र विश्लेषण गरी तिनको प्रयोगका लागि डा. नेपालको कार्यपत्रले दिग्दर्शन प्रस्ताव गरेको छ ।
डा. नेपालको प्रस्तुत कार्यपत्रमाथि सहप्रा.डा. विमला शर्माद्वारा गहन समीक्षात्मक टिप्पणी गरिएको थियो । डा. शर्माका अनुसार प्रस्तुतकार्यपत्र सिकाइको सैद्धान्तिक विषयको गहन चर्चा गरिएकाले प्राज्ञिक रूपमा खँदिलो रहेको, कार्यपत्रले डटपेन पुस्तादेखि डटकम पुस्ता भनेर दुई पुस्तालाई आकर्षक ढङ्गले वर्गीकरण गरेको, विभिन्न विधिको चर्चाले कार्यपत्र प्रस्तोता डा. नेपालमा शिक्षण सिकाइको फराकिलो बुझाइ पाइएकोजस्ता सकारात्मक एवम् सबल पक्षले सम्पन्न रहेको छ भने कार्यपत्रले विद्यार्थीबाहेक शिक्षकको पुस्तागत समस्यालाई समेट्न नसकेको, लैङ्गिक र विभिन्न समुदायगत विद्यार्थीको पक्ष नसमेटिएको, लेखकको निजी अनुभवबाट शिक्षणपद्धतिको सैद्धान्तिकीकरण गर्न नसकेको रचनात्मक आलोचना तथा सुधारात्मक पक्षसमेत टिप्पणीकार डा. विमला शर्माबाट प्रस्तुत भएको थियो ।
त्यसैगरी अर्का विद्वान् टिप्पणीकार प्रा.डा. नुरापति पोख्रेलद्वारा प्रस्तुत कार्यपत्र शिक्षण विधिमा बढी केन्द्रित रहेको तर पुस्तान्तरको समाधान कसरी गर्ने तर्फ केन्द्रित हुन नसकेको, पुस्तागत भन्दा पोख्रेलका दृष्टिमा गुरुकुल, संमावि र भाषाप्रशिक्षणबाट आएका विद्यार्थीगत विविधताले शिक्षण प्रक्रियामा समस्या खडा गरेको देखिन्छ । त्यसैगरी भाषाप्रशिक्षणबाट आएका विद्यार्थीलाई लक्ष्य गरेर सरल पाठ्यक्रम निर्माण गर्ने भन्ने लेखकको विचारमा असहमतिका साथ अन्तर्राष्ट्रिय मान्यता कायम हुने गरी तथा सरलताका नाममा फितलो नहुने गरी सामञ्जस्यपूर्ण पाठ्यक्रम निर्माण र लागु गर्नु पर्ने विचार डा. पोख्रेलबाट अभिव्यक्त भएको थियो । उक्त सत्रको अध्यक्षता गणित विभागका प्रमुख प्रा.डा. कृष्णकान्त पराजुलीद्वारा गरिएको थियो ।
प्राध्यापक जगत्प्रसाद उपाध्यायको अध्यतामा जेठ १३ गते द्वितीय दिवसको कार्यपत्र प्रस्तुतिसत्रमा प्रा. डा. नारायणप्रसाद चालिसेद्वारा ‘संस्कृत शिक्षणका पुस्तागत भिन्नता : सम्भावना र चुनौती’ शीर्षकीय कार्यपत्र प्रस्तुत भयो । सो कार्यपत्रले संस्कृत शिक्षामा युवापुस्ता किन आकर्षित हुन सकेन भन्ने विषयमा विश्वविद्यालयले कार्यदल बनाएर विस्तृत प्रतिवेदन पेस गर्नु पर्नेतर्फ दिशानिर्देश गरेको सङ्केत गर्दै विद्यार्थीको आकर्षण वृद्धिका लागि विद्यार्थीको रूचि र चाहना बमोजिम नयाँ पाठ्यक्रम निर्माण गर्नु पर्नेमा जोड दिइएको थियो ।
त्यसैगरी डा. रेग्मीद्वारा संस्कृत विश्वविद्यालयका प्राध्यापकले आफू अपहेलित भएर पनि आर्थिक प्रलोभनले गर्दा पुरोहित्याइँलाई अँगाल्नाले विश्वविद्यालयको काम नै पुरोहित उत्पादन गर्नु हो कि भन्ने अवधारणा विकसित भएको विचारसमेत अभिव्यक्त भएको थियो । कार्यपत्र प्रस्तुतिसत्रका अध्यक्ष प्राध्यापक जगत्प्रसाद उपाध्यायद्वारा सिक्ने र पढ्ने काम जीवनमा कहिल्यै समापन नहुने, ‘स्वाध्याय प्रवचनाभ्यां न प्रमदितव्यम्’ (तैत्तिरीयोपनिषद्) भन्ने वेदवाक्यले पनि हामीलाई पढ्ने र पढाउने काममा कहिल्यै आलस्य गर्न नहुने सन्देश दिने, कार्यपत्र नीतिपत्र हुने र त्यसलाई आयोजक संस्थाले नीतिनिर्माण तथा कार्ययोजनामा लागु गर्नु पर्नेजस्ता महत्त्वपूर्ण विचार प्रस्तुत गर्दै द्वितीयदिवसीय प्रथम कार्यपत्र प्रस्तुतिको समापन गरिएको थियो ।
जेठ १३ गतेकै द्वितीय दिवसको द्वितीय कार्यपत्र प्रस्तुतिसत्रको अध्यक्षता वाल्मीकि विद्यापीठका धर्मशास्त्रविभागका विभागाध्यक्ष प्रा.डा. देवमणि भट्टराईद्वारा गरिएको थियो भने उक्त सत्रमा वाल्मीकि विद्यापीठ वेदान्त विभागका अध्यक्ष प्रा.डा. सुमोधवर्धन कौण्डिन्न्यायनद्वारा ‘संस्कृत शिक्षामा नयाँ पुस्ताको अभिरूचि’ शीर्षक अनुसन्धानमूलक, प्रामाणिक, प्रविधिमैत्री कार्यपत्र प्रस्तुत गरिएको थियो ।
उक्त कार्यपत्रको प्रस्तुतिका क्रममा प्रा.डा. कौण्डिन्न्यायनबाट संस्कृतभाषा विश्वकै प्राचीन, समृद्ध र वैज्ञानिक भाषा भएको, संस्कृत केवल भाषामात्र नभएर सभ्यता, संस्कृति, दर्शन र जीवनपद्धतिको आधारशिला रहेको, वर्तमान समाजमा नैतिकता र शान्ति, शारीरिक र मानसिक स्वस्थता आदिका लागि संस्कृतको सान्दर्भिकता थप बढ्दै गएको, नेपालको संस्कृतशिक्षामा गुरुकुलीय परम्पराको सकारात्मक र नेपाल राज्यको नकारात्मक भूमिका रहेको, संस्कृतकै धुरन्धर विद्वानले नै संस्कृत शिक्षाको विस्थापनका लागि ज्ञात होस् अज्ञातमै हस्ताक्षर गरेको तीतो ऐतिहासिक यथार्थलाई प्रस्तुत गर्दै विश्वविद्यालयका नेतृत्व तथा सम्बन्धित निकायले यसबाट सर्वदैव पाठ सिक्नु अपरिहार्य रहेको विचार अभिव्यक्त भएको थियो ।
प्रा.डा. कौण्डिन्न्यायनको कार्यपत्रमाथि सहप्रा. गोविन्द पौडेल र पूर्वप्राचार्य प्रा.डा. भागवत ढकालद्वारा समीक्षात्मक टिप्पणी गरिएको थियो । टिप्पणीका क्रममा पौडेलद्वारा ‘संस्कृत शिक्षामा नयाँ पुस्ताको अभिरूचि’ बढाउन आयुर्वेद, वास्तु-इन्जिनियरिङ, योगशास्त्र आदि विषयमा पाठ्यक्रम निर्माण गरी पठनपाठनको व्यवस्था विश्वविद्यालयले मिलाउनु पर्ने आवश्यकतामाथि जोड दिइएको थियो । त्यस्तै अर्का समीक्षक प्रा.डा.भागवत ढकालद्वारा संस्कृतमा नवपुस्ताको अभिरूचि वृद्धि गर्न नीतिनिर्माणको तहमै पुगेर राज्यलाई सचेत गराउँदै संस्कृतको प्रवर्धनका लागि योजना बनाउनु पर्ने, समाजको रूचि र आवश्यकतालाई सम्बोधन गर्ने पाठ्यक्रम निर्माण गरी कक्षामा प्रविधिमैत्री पठनपाठन गर्नु पर्ने, विश्वविद्यालय स्थापनाको उद्देश्य र लक्ष्य परिपूर्तिका लागि अहिलेको पाठ्यक्रमले काम गरेको छ कि छैन समीक्षा गर्दै पाठ्यक्रम विश्वविद्यालयको उद्देश्य र लक्ष्यानुरूप समयानुकूल बनाउनु पर्ने, गुरुकुलीय विद्यार्थी र भाषाप्रशिक्षणबाट प्रवेश गरेका विद्यार्थीहरूको उद्देश्य पृथक् भएकाले शास्त्रीय र साधारण संस्कृतको पाठ्यक्रम निर्माण गरी लागु गर्नु पर्ने र कक्षालाई बिहानी सत्र, दिवासत्र र रात्रिसत्र गरी पढाउन सकिनेतर्फ जोड दिइएको थियो ।
गोष्ठीको तृतीय दिवसमा कार्यपत्र प्रस्तुतिको सत्राध्यक्षता पूर्व प्राचार्य प्रा.डा.भागवत ढकालद्वारा गरिएको थियो र प्रा.डा. शान्तिकृष्ण अधिकारीद्वारा ‘संस्कृत शिक्षणमा प्रविधिको प्रयोग’ शीर्षक कार्यपत्र प्रस्तुत गरिएको थियो । प्रस्तुतिका क्रममा डा.अधिकारीबाट कोरोना महामारीपश्चात् विश्वविद्यालयीय शिक्षामा डिजिटल प्रविधिको प्रयोग विश्वव्यापीरूपमै तीव्र विस्तार भएको, अनलाइन शिक्षणले औपचारिकता पाएको, परम्परागत शिक्षणशैलीबाट आधुनिक प्रविधिमैत्री शिक्षणतर्फ उन्मुख भएको, पाणिनीय व्याकरणको वैज्ञानिकता, ध्वन्यात्मक स्पष्टता, व्याकरणिक शुद्धता, कम्प्युटेशनल लिङ्गिस्टिक्स उपयुक्तता आदिका कारणले संस्कृत भाषा प्रविधिमैत्री रहेको, यान्त्रिक अनुवाद, वाक्पहिचान, ज्ञान प्रतिनिधित्व, अर्थगत विश्लेषण, कृत्रिम बुद्धिमत्ता आदि क्षेत्रमा संस्कृत भाषाको प्रयोग बढी प्रभावकारी हुने, शिक्षक कर्मचारी तथा विद्यार्थीको नै उपयोग गरी वाल्मीकि, पिण्डेश्वर, यालना मटिहानीजस्ता विद्यापीठ अन्तर्गतका पुस्तकालयका प्राचीन ग्रन्थहरूको डिजिटाइलेसन गर्नुपर्ने, विद्यार्थीलाई युटुव निर्माणको तालिम दिई आय-आर्जनको मार्ग खोलिदिने, वाल्मीकिको वेधशालालाई आधुनिकीकरण गरी कम्प्युटर र प्रविधिसँग जोडेर आकाशीय ग्रहहरूको अध्ययन गर्नु पर्ने, यज्ञबाट निस्केको धुवाँले वर्षा हुनमा के कति प्रभाव पार्छ त्यसको मापन यन्त्रमार्फत गर्नु पर्नेजस्ता महत्त्वपूर्ण सुझाव प्रस्तुत भएको थियो ।
डा. अधिकारीको प्रस्तुत कार्यपत्रमाथि प्रा.डा. लेखप्रसाद निरौलाद्वारा परिपूरक टिप्पणी गरिएको थियो । डा. निरौलाबाट टिप्पणीका क्रममा कार्यपत्रलाई वेद-उपनिषद्-कोष-निरुक्त-स्मृतिग्रन्थसँग जोड्नुपर्ने, आजसम्म भएका संस्कृत क्षेत्रका रिसर्चलाई अध्ययन र प्रयोग गर्दै कमी देखिएमा सुधारका लागि प्रयास गर्नु पर्ने, व्याकरण र भाषाविज्ञानमा प्रविधिलाई प्रयोग गर्नु पर्ने, ज्योतिष, आयुर्वेद, योग, तन्त्र, छन्द-लय र सङ्गीतका क्षेत्रमा भइसकेका व्यापक अध्ययन-अनुसन्धानको प्रयोग गर्नुपर्ने, पाण्डुलिपि ग्रन्थहरूको स्क्यान गर्नु पर्ने, मन्त्रध्वनिको अनुसन्धान गर्नु पर्नेतर्फ जोड दिइएको थियो । अधिकारीको प्रस्तुत कार्यपत्रमाथि अर्का समीक्षक प्रा.डा. ध्रुवप्रसाद भट्टराईद्वारा टिप्पणीका क्रममा यस कार्यपत्रले संस्कृत शिक्षामा प्रयोग हुने विधि तथा प्रविधिका बारेमा प्रकाश पारेको, संस्कृत प्रविधिमैत्री भाषा भनेर नासाले समेत स्वीकार गरेको तथ्यलाई उजागर गरेको र विश्वविद्यालयको नवनेतृत्वलाई दिशा-निर्देश गर्ने महत्त्वपूर्ण काम गरेको, विचार, प्रयोजन र पद्धति तीनै पक्ष समेटिएकाले प्राज्ञिक कार्यपत्र बनेको मूल्याङ्कन गर्दै संस्कृत शिक्षणमा प्रविधिको प्रयोग अनिवार्य हुँदै गएको तर प्रविधिले दिने सूचनाको आधिकारिकतामाथि भने पुनः परीक्षण गर्नु पर्ने, विद्यापीठहरूमा शैक्षणिक कृयाकलापमा आवश्यकमात्रामा प्रविधिको प्रयोग गर्नु आवश्यक रहेको तर्फ जोड दिइएको थियो । प्रस्तुत कार्यपत्र प्रस्तुतिसत्रका अध्यक्ष प्रा.डा. भागवत ढकालद्वारा नयाँपुस्ताले गरेको अपेक्षा अनुरूप पाठ्यक्रम निर्माण गरी लागु गर्नु आजको आवश्यकता रहेको तर्फ जोड दिदैँ कार्यपत्र प्रस्तोता तथा टिप्पणीकारद्वय र सक्रिय सहभागी सबैलाई धन्यवादपूर्वक कार्यपत्र प्रस्तुतिसत्रको समापन गरिएको थियो ।
अनुसन्धान व्यवस्थापन एकाइ (RMC) का संयोजक डा. गणेशप्रसाद घिमिरेको अध्यक्षता तथा ने.सं.वि. परीक्षानियन्त्रक सहप्रा. मुरलीधर दाहालको प्रमुखातिथ्य, ने.सं.वि. केन्द्रीय प्राध्यापक संघका महासचिव डा. नारायण बराल, वाल्मीकि विद्यापीठ, प्राध्यापक संघका सभापति प्राध्यापक घनश्याम भण्डारी, पूर्वप्राचार्य प्राध्यापक ध्रुवप्रसाद ज्ञवाली, पूर्वप्राचार्य प्रा.डा. भागवत ढकाल, ने.सं.वि. प्राध्यापक संघका पूर्वसभापति प्रा.डा. शान्तिकृष्ण अधिकारी, त्रिचन्द्र कलेज नेपाली विभागका प्रमुख डा. अङ्गदमणि गौतमलगायतको विशेष आतिथ्यमा सम्पन्न समापन सत्रको सहजीकरण RMC का सचिव खगेन्द्र नेपाल (ज्ञानु विद्रोही) द्वारा गरिएको थियो । गोष्ठीमा तीनै दिन सहभागीका तर्फबाट विद्यार्थी जुनू मल्लिक, उपप्राध्यापक रेखा शर्मा, विद्यार्थी जगन्नाथ भट्टराई, वृद्धविद्यार्थी चुडामणि लम्साल, डा. विमला शर्मा लगायतको गोष्ठीले पारेको प्रभावका बारेमा प्रतिक्रिया लिइएको थियो ।
प्रमुख अतिथि मुरलीधर दाहाल र RMC का संयोजक डा. गणेशप्रसाद घिमिरेका हातबाट सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रमुख अतिथि तथा परीक्षानियन्त्रक मुरलीधर दाहालद्वारा विश्वविद्यालयका सबै विद्यापीठमा प्रविधिमैत्री पठनपाठनको अपरिहार्यता रहेको, आर्ष- ज्ञानसम्पदाको उत्खनन गर्दै जीवनमा उतार्नु पर्ने, यस गोष्ठीले सबै सहभागीमा सकारात्मक ऊर्जा भरेको, प्राज्ञिक गोष्ठी आयोजना गरी विश्वविद्यालयीय नेतृत्वलाई दिशानिर्देश गर्न सफल भएकोमा RMC, वाल्मीकि परिवार धन्यवाद तथा बधाइको पात्र बनेको मन्तव्य राखिएको थियो ।
समारोहमा RMC वाल्मीकिका सदस्य उपप्रा. हरिनारायण पाण्डेद्वारा गोष्ठीलाई सफल बनाउन सहयोग पुर्याउने सहभागी प्राध्यापक, विद्यार्थी, कर्मचारी सबैप्रति आभार प्रकट गरिएको थियो । अन्तमा समापन सत्रका सभाध्यक्ष तथा RMC का संयोजक डा. गणेशप्रसाद घिमिरेबाट त्रिदिवसीय गोष्ठीमा कार्यपत्र लेख्ने र कार्यपत्रहरुमाथि समीक्षात्मक टिप्पणी गर्ने विद्वज्जनप्रति, सहभागी प्रशिक्षार्थी प्रति, RMC का सक्रिय ऊर्जाशील समितिप्रति, आर्थिक सहयोग उपलब्ध गराउने युजिसी (विश्वविद्यालय अनुदान आयोग) प्रति, वाल्मीकि विद्यापीठ र नेपाल संस्कृत विश्वविद्यालयप्रति विशेष आभार तथा धन्यवाद अर्पण गर्दै आ-आफ्ना विषयमा उच्चशिक्षा ग्रहण गर्दै विभिन्न सरकारी सेवाबाट निवृत्तिपश्चात् संस्कृत विषयको ज्ञानार्जनका लागि संस्कृत विश्वविद्यालय प्रवेश गरेका पूर्व सचिव डा. श्रीराम घिमिरे (६५वर्ष) चूडामणि लम्साल (८३ वर्ष) जगन्नाथ भट्टराई (६७ वर्ष), डा. दामोदर कोइराला (६३), पूर्वशिक्षक- दामोदर चालिसे, पूर्वसचिव सूर्य आचार्य(६९ वर्ष) जस्ता वृद्ध जिज्ञासु विद्यार्थीहरूलाई मध्यनजर गर्दै विश्वविद्यालयले छुट्टै विशिष्ट प्रकृतिको शास्त्रीयज्ञानमूलक पाठ्यक्रम निर्माण गरी लागू गर्न ढिला गर्न नहुने तर्फ विशेष जोड दिइएको थियो ।
समग्रमा अनुसन्धान व्यवस्थापन एकाइ (RMC) वाल्मीकिद्वारा आयोजना गरिएको त्रिदिवसीय ‘संस्कृत शिक्षामा पुस्तागत भिन्नता’ विषयक त्रिदिवसीय कार्यशाला गोष्ठी अत्यन्त भव्य, सभ्य, ज्ञानवर्धक तथा संस्कृत विश्वविद्यालयलाई नै मार्गदर्शक बन्न सफल रहेको मूल्याङ्कन गर्न सकिन्छ । उक्त गोष्ठीमा संस्कृत विश्वविद्यालयका विशिष्ट अनुभवी प्राध्यापकद्वारा प्रस्तुत गरिएका र विद्वान् समीक्षकद्वारा सुधारात्मक टिप्पणी गरिएका अनि सक्रिय सहभागीद्वारा महत्त्वपूर्ण सुझावसहित पृष्ठपोषण गरिएका सबै कार्यपत्रहरू संस्कृत विश्वविद्यालयका लागि अमूल्य ज्ञाननिधि एवम् पथप्रदर्शक नीतिपत्र बनेका छन् ।
तीन दिनसम्म सरोकारवाला संस्कृत विश्वविद्यालयका प्राध्यापक, विद्यार्थीहरुका ऊहापोह विचार- मन्थनपूर्वक निकालिएको घृतरूपी ज्ञानराशिलाई विश्वविद्यालयले सदुपयोग गर्न सक्नुपर्छ । गोष्ठी तथा कार्यपत्रहरूले प्रदान गरेका महत्त्वपूर्ण सुझावलाई ग्रहण गरी विश्वविद्यालयले कार्यान्वयनको दिशामा लैजान सके तथा विश्वविद्यालयको नीतिनिर्माण तथा योजना विस्तारमा सदुपयोग गर्न सकेमात्र यस्ता गोष्ठी सार्थक प्रयोजनपूर्ण एवम् उपलब्धिमूलक बन्न सक्छन् ; तसर्थ कार्यपत्रले दिएका सबै सकारात्मक सुझावलाई संस्कृत विश्वविद्यालय तथा सम्बन्धित निकायले व्यवहारमा लागु गर्न सकोस् ! यही नै शुभकामना र सहभागीका तर्फबाट आयोजक संस्था अनुसन्धान व्यवस्थापन एकाइ (RMC)लाई आभार सहित धन्यवाद ! जयतु संस्कृतम् !
प्रकाशित: १६ जेष्ठ २०८३ १५:१६ शनिबार
