२३ असार,काठमाडौं । काठमाडौं उपत्यकामा बागमती र यसका सहायक नदीहरूको बहाब क्षेत्र (वाटर वे) मध्ये दुई तिहाइभन्दा बढी अतिक्रमण भएकाले ठूलो वर्षा हुने बित्तिकै राजधानी डुबानमा पर्ने गरेको छ ।
उपत्यकामा नदी किनार व्यवस्थापन जिम्मेवारी पाएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार विष्णमुती दोभानभन्दा मुनि बागमती नदीको बाटो (वाटर वे) १ सय १९ मिटर चौडा हुनुपर्नेमा त्यो ८० मिटरमात्रै छ ।
यसरी नदीहरूको बाटो नै दुई तिहाइभन्दा बढीले खुम्च्याइएपछि नदी किनारका बाटो तथा बस्ती डुबानमा पर्नु स्वाभाविक नै भएको समितिका सूचना अधिकारी रहेका निर्देशक उद्धव नेपालले भने । बागमती र यसका सहायक नदीलाई चाहिने बाटो दिन नसक्नु नै यो समस्याको मुख्य कारण रहेको उनको भनाइ छ ।
काठमाडौंको सहरी विकास र नदीको बहाब क्षेत्र व्यवस्थापनको इन्जिनियरिङमै आधारभूत समस्या रहेकाले यो समस्या दोहोरिरहेको र भविष्यमा पनि समाधान हुने सम्भावना कम रहेको उनले बताए । ‘अहिले ८० मिटरमा झरेको बागमतीको बहाब क्षेत्रलाई पुनः १ सय १९ मिटर नै पुर्याउन निकै कठिन छ,’ उनले भने ।
उनका अनुसार अर्को कारण हाम्रो बस्ती विकासको शैली पनि हो । पहिले पहिले टारमा खेती गर्ने, माथिल्लो भागमा बसोबास गरिन्थ्यो । नदी छेउ खाली हुन्थ्यो तर अहिले नदीको क्षेत्रमा नै संरचना छ । प्रत्येक वर्ष उपत्यकाका नदी किनारमा थ्रेगानको मात्रा थपिँदै जाँदा नदीको आकार घटिरहेको छ ।
पानी पर्ने बित्तिकै खोलामा आउँछ । पहिले यही आकारको खोलामा पानी अट्थ्यो अहिले नअट्नुको कारण चाहिँ पानी आकाशबाट जमिनमा परेपछि खोलामा पुग्ने समय घटनु हो ।
‘पानी परिसकेपछि माटोमा पर्दा जमिनमा सोसेर त्यसपछि ठूलो पानी पर्दा मात्रै खोलामा पुग्थ्यो, तर अहिल सबैतिर कंक्रिट छ । पानी परेको केही समयमा नै खोला बढ्छ । पानी सोस्ने ठाउँ नै छैन,’ नेपालले भने ।
उनले ‘नदी किनारमा बसेर डुबायो भन्नुको अर्थ नहुने’ उनले बताए । जग्गा र प्रकृति उही छ, तर जनसंख्या बढेको बढ्यै छ । उनले वाटर वे विस्तार सम्भावना नरहेको भन्दै नदी किनार संरचनामा सुधार गरेर डुबानबाट हुने क्षति रोक्नेतर्फ सोच्नुपर्ने बताए ।
शुक्रबार रातिदेखि आएको निरन्तर वर्षाका कारण काठमाडौं उपत्यकाका नदीहरूको बहाब बढेसँगै करिडोरहरू डुबानमा परेका छन् । शनिबार डुबानमा परेका संरचना आइतबार भने केही कम भएको छ । काठमाडौं उपत्यकाका मनोहरा, हनुमन्ते, रुद्रमती, बागमती, विष्णुमती र बल्खु खोला बढ्दा करिडोरका सडक अवरुद्ध भए, घर, पसल डुबानमा परे । शनिबार मनोहरा र बागमतीमा आएको बाढीका कारण मुख्यगरी ललितपुर र काठमाडौंमा नदी किनारका धेरै संरचना डुबानमा परेका थिए ।
ललितपुरमा एमाले पार्टी कार्यालय र च्यासल रंगशालामा बाढी पस्यो भने काठमाडौंको बल्खुमा तरकारी बजारभित्र पानी पस्यो । भक्तपुरमा मनोहरा खोलाले १८ घरटहराका मानिसलाई विस्थापित गर्यो । ललितपुर यूएन पार्क क्षेत्रको सडक डुबानमा परेको थियो । थापाथलीदेखि बल्खुसम्म नदी किनारमा रहेका सुकुम्बासीका घरटहरा पनि डुबाएको थियो ।
तर, काठमाडौं उपत्यकाका नदी करिडोरमा हुने डुबान समस्या प्रत्येक वर्ष दोहोरिने समस्या हो । वर्षा लागेसँगै सुरु भएको यो समस्या पानी ठूलो पर्ने बित्तिकै फेरि दोहोरिने गरेको छ ।
प्रत्येक वर्ष एउटै समस्या हुँदा पनि सरकारले भने नदी करिडोरमा संरचनागत सुधार र निकासको काम गर्न सकेको छैन । विज्ञहरू भने सहरमा कंक्रिट धेरै हुँदा र नदीका लागि चाहिने बाटो नहुँदा समस्या भइरहेको बताउँछन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहका भौतिक पूर्वाधार सल्लाहकार इन्जिनियर सुनिल लम्साल काठमाडौंका नदी किनारमा रहेको अव्यवस्थित संरचना हटाउने हो भने ९० प्रतिशत डुबान कम हुने बताउँछन् ।
उपत्यकाको करिडोर सुधार्न खोलाको बहाब क्षेत्रको ‘मास्टर प्लान’ (गुरुयोजना) बनाएर सुधार गर्नुपर्छ ।
‘संसारभरि नदी किनारको संरचनामा के अभ्यास छ भने नदीको बहाब क्षेत्रको पनि १० मिटर छाड्नुपर्ने हुन्छ । हाम्रो त मापदण्ड विपरीत बस्ती नै छ,’ लम्सालले भने ।
अव्यवस्थित संरचना र बस्ती हटाउन महानगरले तयारी गरे पनि संघ सरकारले काम नगर्दा असफल भएको उनको भनाइ छ ।
‘करिडोरमा भएका संरचनाका कारण वाटर वे विस्तार नहुँदा वर्षामा नदीको बहाब बाहिर आउँछ, यसको विस्तार गर्नैपर्छ । फेरि, सहरको ढल निकास र व्यवस्थापनमा पनि करिडोरकै संरचना बाधक छन्,’ लम्साल भन्छन्, ‘यसले आकाशको पानी सिधै खोलामा जान्छ । त्यसैले सबै सुधार गर्न महानगरलाई सरकारले सहयोग गरे सुधार हुने थियो ।’
नदीको सय वर्ष पुरानो बाटो हेरेर विकास हुनुपर्थ्यो : खतिवडा
सहरी विकासकी जानकार शृङ्खला खतिवडा उपत्यकामा वर्षा सुरु हुने बित्तिकै नदी किनार डुबानमा पर्नुको मुख्य कारण आकाशे पानी पर्ने बित्तिकै खोलामा पुग्नु भएको बताउँछिन् ।
‘मुख्य कुरा सर्ट वाटर रन अप हुने ठाउँ चाहिन्छ तर हाम्रो सहरमा धेरै कंक्रिट छ, जताततै ढलान छ । पानी सोस्ने ठाउँ नै छैन, ढलानको पानी ढलबाट नै खोलामा जान्छ सहरमा देखिएको मुख्य समस्या नै यही हो,’ खतिवडा भन्छिन् । उनले यस्तो समस्या समाधान गर्न सहरी पूर्वाधार विकास गर्नुपर्ने बताइन् ।
‘प्लान नै नगरी मास्न नहुने पहाड मासिँदा बाढी बढ्ने नै भयो । अर्को चाहिँ भौगर्भिक अध्ययन नगरी विकास भएको छ कि छैन हेर्नुपर्छ,’ इन्जिनियर खतिवडा भन्छिन्, ‘विकास गर्दा खोलाको १ सय वर्षको बाटो हेरिनुपर्ने हो तर त्यो अनुसार विकास हुनुपर्ने सट्टा खोलालाई धेरै च्यापेको पो छौं कि ? त्यसैले पानीको निकासमा समस्या भइरहेको छ ।’
बालेनका भौतिक पूर्वाधार सल्लाहकार लम्सालले भने जस्तै खतिवडा पनि गुरुयोजना बनाएर काम गर्नुपर्ने बताउँछिन् ।
‘स्थायी समाधानका लागि सबै सरकार मिलेर गुरुयोजना बनाएर नै काम गर्नुपर्छ, खर्च पनि लाग्छ । एक्लैले गर्छु भनेर हुँदैन,’ उनी भन्छिन् ।
उनका अनुसार समस्या समाधान गर्न सबै सरकारले एकअर्काको मुख नहेरी काम सुरु गर्नुपर्छ । प्रकृतिले राजनीतिक र सरकारको घेरा हेर्दैन, उपत्यकाका सबै नगर र प्रदेश, संघ सरकार मिलेर सुधार गनुपर्ने हुन्छ ।
काठमाडौंलाई हेरेर अन्य सहरले अहिलेदेखि नै विकासको मोडेल सुधार गर्नुपर्ने उनको भनाइ छ । ‘बाटो निर्माण गर्दा, प्लटिङ गर्दा नियम निर्माण गरेर प्रभावकारी कानुनी प्रावधान लागु गर्र्नुपर्छ । अहिले धेरै ठाउँमा वातावरणीय प्रभाव मुल्यांकन (ईआईए) गर्नुपर्ने ठाउँमा बाइपास गरिरहेका छन् । यस्ता रिपोर्टलाई गम्भीर साथ लिएर विकास गर्नुपर्छ,’ खतिवडा भन्छिन् ।
कति घट्यो वाटर वे ?
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार अहिले बागमती नदीको वाटर वे आवश्यकता भन्दा कम छ ।
समितिले २५ जेठ २०६९ मा बागमती नदी र यसका सहायक नदीको खण्डमा वाटर वेको क्षेत्रफल तोकेका थियो । समितिका अनुसार सुन्दरीजल–गोकर्ण ब्यारेजसम्म २० मिटर तोकिएको छ ।
यस्तै गोकर्ण–ब्यारेज–जोरपाटी पुलसम्म ३५ मिटर एवम् जोरपाटी पुल गुह्येश्वरी खण्डमा ४० मिटर सरकारले तोकेको छ ।
हालको बागमती नदीको बहाबलाई नै आधार मानी तिलगंगा शंखमूल खण्डमा न्यूनतम ३० मिटर राखिएको समितिले जनाएको छ । यस्तै शंखमूलदेखि विष्णुमती नदीको संगमसम्म न्यूनतम ६० मिटर वाटर वे तोकिएको छ । विष्णुमती दोभान तथा त्यसभन्दा तल्लो तटीय क्षेत्रमा न्यूनतम ८० मिटर वाटर वे सरकारले तोकेको छ ।
तर, सरकारले तोकको नदीको भित्री बाटोभन्दा धेरै आवश्यकता भए पनि करिडोरको संरचनाले गर्दा वाटर वे कम भएको समितिको भनाइ छ ।
बागमती सभ्यताले गरेको हाइड्रोलोजिकल इन्जिनियरिङ अध्ययन अनुसार बागद्वारदेखि नागमती खोला संगमसम्म २० मिटर वाटर वे आवश्यक हुन्छ ।
यस्तै नागमतीदेखि सूर्यमती खोलासम्म ३४ मिटर, सूर्यमतीदेखि मनोहरा खेलासम्म ४३ मिटर, मनहोरादेखि धोबीखोला संगमसम्म ९५ मिटर, धोबीखोलादेखि टुकुचासम्म ९८ मिटर, टुकुचादेखि विष्णुमतीसम्म ९९ मिटर, विष्णुमती संगमदेखि बल्खु खोला संगमसम्म १ सय ११ मिटर वाटर वे आवश्यक पर्छ ।
त्यसैगरी बल्खु खोला संगमदेखि नख्खु खोला संगमसम्म १ सय १२ मिटर वाटर वे आवश्यक छ । नख्खु खोला संगमदेखि कटुवाल दहसम्म बागमतीको वाटर वे १ सय १९ मिटर आवश्यक रहेको बागमती सभ्यताले गरेको हाइड्रोलोजिकल अध्ययनले देखाएको हो ।
नदी किनारमा ३५ सय अव्यवस्थित घरधुरी
काठमाडौं उपत्यकाका नदी किनारमा ३ हजार ४ सय ९६ घरधुरी अव्यवस्थित बसोबास छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार बागमती, विष्णुमती, कागेश्वरी मनोहरा लगायत नदी किनारमा अव्यवस्थित बस्ती छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले अव्यवस्थित बसोबास व्यवस्थित गराउने सम्बन्धमा दीर्घकालीन समाधानको विकल्प खोजी उक्त कार्यका लागि गठित समितिले २२ भदौ २०७९ पेस गरेको तथ्यांक अनुसार उक्त संख्यामा रहेको बस्ती अहिलेसम्म रहेको प्रतिवदेनमा उल्लेख छ ।
बागमती नदीको सिनामंगल, थापाथली तथा अन्य सहायक नदी आसपास लगायत स्थानमा जग्गा अतिक्रमण हुँदा करिडोर तथा तटबन्ध निर्माण कार्य अगाडि बढ्न नसकेको प्रतिवेदनले औंल्याएको छ ।