प्रकाशित मिति : फाल्गुन १६, २०८१ शुक्रबार
बेलायती प्रधानमन्त्री कीर स्टार्मरले युक्रेनका लागि अडिग समर्थन रहेको दोहोराएका छन ।
अमेरिका भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्की र अमेरिकी राष्ट्रपति उप राष्ट्रपतिबीचमा भएको वार्ता तनावपूर्ण भएपछि बेलायली प्रधानमन्त्रीले युक्रेनलाई समर्थन र सहयोग जारी रहने बताएका हुन ।
खनिज सम्झौता र रुस युक्रेन युद्धका विषयमा फेरिएको अमेरिकी रणनीतिका बारेमा छलफल गर्न अमेरिका पुगेका जेलेन्स्कीको भ्रमण तनावपूर्ण बनेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीमाथि तेस्रो विश्वयुद्धसँग जुवा खेलिरहेको आरोप लगाउदै अमेरिकीप्रति अनुग्रही हुन नखोजेको आरोप लगाए । जेलेन्स्कीसँगको ट्रम्प र जे डी भान्सको संवाद गरमागरम देखिन्थ्यो ।
युक्रेनले शान्ति चाहेको भने रुससँग सम्झौता गर्नुपर्ने अन्यथा अमेरिका युद्धबाट बाहिर निस्किने ट्रम्पको भनाइ थियो । उनले जेलेन्स्कीले अमेरिका र अमेरिकी जनतालाई अपमान गरेको आरोप समेत लगाए ।
रुससँगको युद्ध युक्रेनले जित्न नसक्ने भन्दै उनले नजित्ने युद्ध लडिरहन आवश्यक नरहेको बताए । जेलेन्स्कीले भने युक्रेन युद्धविरामको विपक्षमा नभएको भन्दै सुरक्षा ग्यारेण्टीसहितको युद्धविराम खोजिरहेको प्रस्ट पारे ।
जेलेन्स्की बेलायती प्रधामन्त्री स्टार्मरले आइतबार लण्डनमा आयोजना गरेको शिखर सम्मेलनमा भाग लिन जाँदैछन । त्यहाँ रुस युक्रेन युद्ध , अहिलेको अवस्था तथा युरोपेली देशले अपनाउने आगामी रणनीतिका विषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।