७ असार, काठमाडौं । यो वर्षको अन्त्यतिर, नोभेम्बर ५ मा समकालीन विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिकामा नयाँ राष्ट्रपतीय निर्वाचन हुँदैछ । तर, अमेरिकी राष्ट्रपतीय निर्वाचनप्रति जुन विश्वव्यापी उत्साह र चर्चा हुन्थ्यो, त्यस्तो भने यसपटक देखिएको छैन ।
यसका कारण अनेक हुन सक्छन् । धेरैलाई लाग्ने मुख्य कारण भने दुई बुढाको ‘रिम्याच’ अर्थात् उही र उस्तै पात्रको दोस्रो स्पर्धा हो । चुनावी मैदानमा न पात्र नयाँ छन्, न प्रवृत्ति, सोच, दृष्टिकोण र प्रस्ताव नयाँ ।
जो बाइडेन र डोनाल्ड ट्रम्प बीचको ‘म्याच’ सन् २०२० मै भइसकेको हो । अझ डोनाल्ड ट्रम्प त सन् २०१६ का निर्वाचित राष्ट्रपति हुन् । ट्रम्प र बाइडेन– दुवैको शासन अमेरिकी जनताले भोगिसकेका छन् । विश्वले दुवैको सोच र कार्यशैली बुझिसकेको छ ।
बहालवाला राष्ट्रपति जो बाइडेन ८१ वर्षका भइसके । उनले फेरि जिते ८६ वर्षको उमेरसम्म उनी शासनसत्तामा हुनेछन् । सम्भावित रिपब्लिकन उम्मेद्वार डोनाल्ड ट्रम्प ७८ वर्षका छन् । ट्रम्पले जिते उनी ८३ वर्षसम्म पदमा हुनेछन् ।
जो बाइडेनले जिते भने कुनै नयाँ कुरा हुनेछैन । अमेरिकी इतिहासमा अधिकांश राष्ट्रपतिले दोस्रो कार्यकाल पनि जित्दै आएका छन् ।
तर, ट्रम्पले जिते एक दुर्लभ इतिहास दोहोरिने छ । कुनै पटकको निर्वाचित राष्ट्रपति पद बहाल हुँदै पराजित भएर फेरि अर्को चुनावमा विजयी भएको अमेरिकी इतिहासमा एक मात्र घटना छ । त्यो पनि उन्नाइसौं शताब्दीको ।
यो दुर्लभ इतिहास २२ औं राष्ट्रपति स्टेमर ग्रोभर क्लेभलैण्डका नाममा छ । उनी सन् १८८४ को चुनावमा विजय भई सन् १८८८ मा पराजित भएका थिए । तर, सन् १९९२ मा फेरि विजयी भएका थिए ।
के ट्रम्पको नाममा यो उदाहरण दोहोरिएला ?
ट्रम्प सन् २०१६ मा हिलारी क्लिन्टनसँग विजयी भएर र सन् २०२० मा जो वाइडेनसँग पराजित भएका हुन् ।
वहालवाला राष्ट्रपति पराजित भएका उदाहरण भने धेरै छन् । ट्रम्पको सन् २०२० को हारलाई समेत गणना गर्दा ११ बहालवाला राष्ट्रपति दोस्रो कार्यकालका लागि चुनाव हारेको इतिहास छ । अर्थात्, जो बाइडेन पराजित भएमा पनि कुनै नौलो घटना हुने छैन र विजयी भए पनि ।
दोस्रो कार्यकालका लागि चुनाव हार्ने पहिलो राष्ट्रपति जोन अडम्स थिए । उनी जर्ज बासिङ्टनपछि दोस्रो राष्ट्रपति थिए । सन् १७७९ को चुनावमा आडम्स थोमस जेफरसनसँग हारेका थिए ।
सन् १९९२ को चुनावमा बिल क्लिन्टनको उदय उत्तिकै चमत्कारिक युवा राजनीतिज्ञका रूपमा भएको थियो । क्लिन्टनले जर्ज डब्लु बुस सिनियरजस्ता प्रभावशाली राष्ट्रपतिलाई पहिलो कार्यकालपछि पराजित गरिदिएका थिए ।
अधिकांश अमेरिका राष्ट्रपति दोस्रो कार्यकालका लागि पराजित भएपछि तेस्रोपटक उम्मेदवार हुन आउँदैनन् । उसको पार्टीको प्राइमरीले उम्मेदवार छनौट गर्ने संभावना पनि निक्कै कम हुन्छ ।
यस मानेमा पनि ट्रम्प अपवाद हुन् । यसपटकको रिपब्लिकन प्राइमरीमा ट्रम्पसँग कोही टिक्न सकेनन् । रिपब्लिकन प्राइमरी उम्मेदवार विवेक रामास्वामी पहिलो राज्यको नतिजापछि फिर्ता भए । फ्लोरिडा गभर्नर रोन डिस्यान्टिस लामो समय टिकेनन् ।
साउथ क्यारोलिना पूर्व गभर्नर निक्की हेलीले केही राज्यमा ट्रम्पसँग प्रतिस्पर्धा गरिन्, अन्ततः उनी पनि फिर्ता भइन् । अब रिपब्लिकन पार्टीभित्र ट्रम्पको कोही प्रतिस्पर्धी नै छैन । भलै, कि उनको पार्टीले उनको राष्ट्रपतीय उम्मेद्वारी अनुमोदन गर्न भने बाँकी छ ।
रोचक कुरा के छ भने– मत सर्वेक्षणहरूले आगामी राष्ट्रपतीय निर्वाचन ट्रम्पले जित्न सक्ने संभावना देखाइरहेका छन् । सञ्चार माध्यमहरूको भनाइ छ– ट्रम्पको लोकप्रियता बढ्दो छ ।
ट्रम्पलाई ‘मन पराइनुपर्ने’ कारण भने प्रष्ट छैन । बरु, ‘मन नपराइनुपर्ने’ थुप्रै कारण छन् ।
युवा मतदाताले मन नपराउनुपर्ने कारण यो हुन सक्दछ कि उनी वयोवृद्ध उमेरमा छन्, तर ट्रम्प युवा मतदाता बीच पनि लोकप्रिय छन् ।
अनेक घटनाका बाबजुद ट्रम्पको लोकप्रियता घटेको छैन । उनले आगामी राष्ट्रपतीय निर्वाचन जिते भने कुनै आश्चर्य हुने छैन ।
उनी ‘बुर्जुवा वर्ग’का भएकोले तल्लो वर्गका, गरिब तथा श्रमिक मतदाताले मन नपराउनसक्छन् तर, सर्वेक्षणहरूले देखाउँछ कि उनी कामदार तल्लो वर्गका मतदाता बीच पनि लोकप्रिय छन् ।
ट्रम्पका महिला सम्बन्धी हचुवा टिप्पणी र यौन काण्डका अनेक घटना सार्वजनिक छन् तर उनलाई महिला मतदाताको पनि उल्लेखनीय हिस्साले मन पराएको देखिन्छ ।
नश्लीय सर्वोच्चता र राष्ट्रवादमा विश्वास गर्ने ट्रम्पलाई श्वेत मतदाताले मन पराउनुको कारण बुझ्न सकिन्छ, तर अश्वेत मतदाताको एउटा ठूलो हिस्सा किन ट्रम्प समर्थक छ भनेर बुझ्न मान्छेलाई हम्मेहम्मे परिरहेको छ ।
कठोर आप्रवासन नीतिका पक्षधर ट्रम्प एशियन, नननेटिभ र हिस्पानिक मतदाताबीच पनि लोकप्रिय देखिन्छन् ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा विभूमण्डलीकरण (डिग्लोबलाइजेसन) को कडा पक्षपोषण गरेका थिए । उनी विश्व स्वास्थ्य संगठनजस्तो संवेदनशील बहुपक्षीय संस्थाबाट अमेरिकालाई बाहिर निकालेका थिए ।
चीनबारे उनी वाइडेनभन्दा कठोर धारणा राख्दछन् । उनको कार्यकालमा अमेरिका–चीन सम्बन्ध वाइडेनकालमा भन्दा बढी अस्थीर थियो– उनैले चीनसँग व्यापार–युद्धको घोषणा गरेका थिए ।
ट्रम्पमाथि केही कानुनी संकट समेत छन् । उनी विभिन्न मुद्दामा अदालत धाइरहेका छन् । न्युयोर्कको एक अदालतले एक ‘पोर्न स्टार’ सँगको ‘हस मनी’ (घुस) प्रकरणमा उनलाई दोषी ठहर गरेका छ ।
यी अनेक घटनाका बाबजुद ट्रम्पको लोकप्रियता घटेको छैन । उनले आगामी राष्ट्रपतीय निर्वाचन जिते भने कुनै आश्चर्य हुने छैन । ट्रम्पका नैतिक र कानुनी संकटलाई पनि कसैले ध्यान दिइरहेको छैन ।
सबैभन्दा ठूलो आपत्तिजनक घटना सन् २०२० चुनावपछि भएको थियो । उनले धाँधली भएको भन्दै निर्वाचन परिणामलाई अस्वीकार गरेका थिए । त्यसको बदलामा संसद भवनमाथि आक्रमण गर्न आह्वान गरेका थिए ।
सन् २०२१ जनवरी ६ मा क्यापिटल हिलमा भएको ट्रम्प समर्थकहरूको हिंसात्मक आक्रमण अमेरिकी इतिहासकै अनौठो घटना थियो । यो घटनामा ‘स्टोलन इलेक्सन’ भन्दै ट्रम्पले हज्जारौं मानिसलाई क्यापिटल हिलमाथि आक्रमण गर्न लगाए । यो दङ्गामा ९ जनाको मृत्यु भयो । १ हजारभन्दा बढी रिपब्लिकनहरु संलग्नताको अभियोगसँगै अहिले पनि जेलमा छन् ।
ट्रम्पको विदेश नीति हेर्दा यो कुरा असम्भव भने छैन । किनकि ट्रम्प नेटो विस्तारका पक्षधर हैनन्, जो पुटिनको मुख्य चाहनामध्ये एक हो ।
तर, यो घटनाले पनि ट्रम्पको लोकप्रियतालाई कुनै फरक परेको छैन । रिपब्लिकन पार्टी र मतदाता बीच ट्रम्प किन यतिधेरै लोकप्रिय र शक्तिशाली छन् ? यो प्रश्नले धेरै राजनीतिशास्त्री र विश्लेषकहरूको ‘दिमाग खराब’ गर्दिएको छ ।
एउटा प्रष्ट कारण त यो हुन सक्दछ कि उनी रिपब्लिकन पार्टी भावना र शक्ति संरचनासँग जोडिएका छन् । तिनले ट्रम्पको भविष्यसँग आफ्नो पार्टी, पार्टीको शासकीय भविष्य र व्यक्तिगत राजनीतिक करिअर जोडिएको महसुस गर्दछन् ।
सन् २०२० चुनाव ताका रिपब्लिकन पार्टीभित्र ट्रम्प विरोधीहरूको पनि ठूलै संख्या थियो । जर्ज बुस जुनियर राष्ट्रपतीय कार्यकालका विदेशमन्त्री कोलिन पावेल समेत ट्रम्पको विरुद्धमा लागे । तर, ‘पार लाग्दैन’ भन्ने बुझेपछि ती विस्तारै लाखापाखा लागे ।
ट्रम्पसँग अद्वितीय सक्रियता, प्रहार खप्न सक्ने ज्याद्रो स्वभाव र ‘मसिहा’ चरित्र भएको विश्वास गरिन्छ । उनको ‘मेक अमेरिका ग्रेट अगेन’ नाराले पनि धेरैलाई आकर्षित गर्दछ ।
विश्व चर्चित पुस्तक ‘हाउ डेमोक्रेसीज डाइ’ लेखक द्वयले ट्रम्पलाई ‘डेमागग’ र ‘राइट विङ पपुलिष्ट’ भनेका छन् । स्टेभेन लेवित्स्की र डेनियल जिब्लाटले यो किताब ट्रम्पको सन् २०१६–२०२० बीचको कार्यकालका सन्दर्भमा लेखेका थिए ।
चीन र सी जिङपिङप्रति शत्रुतापूर्ण भावना व्यक्त गर्ने ट्रम्पको रुस र पुटिनप्रतिको मोह भने अनौठो छ । अहिले पनि दाबीका साथ भन्छन् कि उनी दोस्रो कार्यकालका लागि पराजित नभएको भए युक्रेन युद्ध हुने नै थिएन, यदि यस पटक जिते भने सपथ लिएको २४ घन्टाभित्र पुटिनलाई युद्ध रोक्न सहमत गराउने छन् ।
ट्रम्पको विदेश नीति हेर्दा यो कुरा असम्भव भने छैन । किनकि ट्रम्प नेटो विस्तारका पक्षधर हैनन्, जो पुटिनको मुख्य चाहनामध्ये एक हो ।
अन्य कारणमा चीनसँगको महाशक्ति प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय आप्रवासनको दबाब, बहुपक्षीय अन्तर्राष्ट्रिय संस्थाहरूको खर्चभार र बढ्दो अमेरिकी राष्ट्रवादको भावनाले ट्रम्पको लोकप्रियतालाई संभव बनाइराखेको बताइन्छ ।
विश्लेषकहरू भने रिपब्लिकन पार्टीभित्र बलिया प्रतिस्पर्धी व्यक्तित्वको अभावलाई पनि ट्रम्पको लोकप्रियताको कारण मान्दछन् । नभन्दै रिपब्लिकन प्राइमारीमा पार्टीभित्र बलियो प्रतिस्पर्धी र नेतृत्वको दाबेदार कोही देखिएन ।
ट्रम्पको लोकप्रियतालाई ‘विचारधारात्मक’ तथा ‘लेफ्ट–लिवरल संकट’ को उपज मान्ने विश्लेषकहरूको पनि कमी छैन । फ्रान्सिस फुकुयामादेखि रोबर्ट कागनसम्मका अमेरिकी बौद्धिकले यो यथार्थलाई स्वीकार गरेका छन् ।
सन् १९९० को दशकमा सोभियत संघको विघटन, साम्यवादको पतनसँग शीतयुद्धको अन्त्य र उदार लोकतन्त्रको विजय भयो भनिएको थियो । त्यसपछिका दिनमा भने अनौठो वैचारिक विकासक्रम देखियो । सन् २०१० पछि पहिचानको राजनीति, राष्ट्रवादको भावना र सम्बर्धनवादी सोच बलियो हुँदै गयो ।
उदार लोकतन्त्रको विजयको घोषणबाट नवउदारवादी अर्थनीतिले जुन वैधता र अनुमोदन पायो, समस्या त्यहींनेर भयो । नवउदारवादले नयाँ प्रकारको वर्गभेद र सीमान्तकरण शुरुवात भयो र मान्छे दक्षिणपन्थतिर ढल्किँदै गए ।
खासमा अमेरिकी स्वतन्त्रताको घोषणापत्रप्रतिको निष्ठा, संस्थापक पिताहरूको विचारधारा र योगदानप्रतिको सम्मान, दोस्रो विश्व युद्धकाालीन भूमिका र शीतयुद्धमा विजयको भावना पाल्ने अमेरिकीले ट्रम्प मोडेलको राजनीति र व्यवहारलाई अमेरिकी ‘भावना र सपना’ को विपरीत ठान्न पर्ने हो । तर, त्यस्तो भइरहेको छैन ।
रिपब्लिकन पार्टी सन् १८५४ मा दास मोचन पक्षधर अभियन्ताहरूले गठन गरेका थिए । यस पार्टीबाट पहिलो राष्ट्रपति थिए– अब्राहम लिंकन । लिंकन एक महान राष्ट्रपति मात्र हैन, लोकतन्त्रका पनि उत्तिकै लोकप्रिय भाष्यकार मानिन्छन् ।
लिंकनलाई यो डर थियो कि स्वयं अमेरिकीले नै स्वतन्त्रताको घोषणपत्र, संस्थापक पिताहरूको योगदान र लोकतन्त्रको महत्वलाई बुझ्न सकेनन् भने त्यसलाई कसैले बचाउन सक्ने छैन । लिंकनले चिन्ता गरेको यस्तो व्यक्तित्व आज उनैले स्थापना गरेको पार्टीभित्रबाट जन्मिएको त हैन भनेर ट्रम्पतिर औंला देखाउनेहरूको पनि कुनै कमी छैन ।
ट्रम्पप्रतिको समर्थन नवउदारवादी संकटबाट उत्पन्न राज्यप्रतिकै विद्रोहको भावना पनि हुन सक्दछ । अमेरिकी प्रणाली र विश्व व्यवस्थाका संकटलाई गम्भीर पुनरावलोकन गर्ने बेला भएको संकेत पनि हुन सक्छ ।
रोबर्ट कागन भन्छन्, ‘क्रिश्चियन राष्ट्रवादको भावना र आन्दोलन अमेरिकी इतिहासमा सधै प्रवल थियो । संस्थापकहरूले उदारवाद अमेरिकी समाजमा विद्यमान छ भनेर यसका सिद्धान्त स्वतन्त्रताको घोषणापत्र, संविधान र समाजमा स्थापित गरेको हैनन् । उदारवाद स्थापित गर्न आवश्यक छ भन्ने ठानेर विस्तार हुँदै जाने आशाले अबलम्बन गरेका हुन् ।’
उनलाई लाग्छ कि ट्रम्पको लोकप्रियताको मुख्य कारण ‘क्रिश्चियन राष्ट्रवाद’ को भावना हो, जो पहिलेदेखि नै थियो र, फेरि एकपटक पुनर्जाग्रित भएको छ । ट्रम्पका हजार कमजोरी किन नहुन्– ‘क्रिश्चियन मूल्य प्रणालीमा आधारित महान अमेरिका’ सबैलाई चाहिएको छ ।
तसर्थ, महिला हुन् वा पुरुष, श्वेत हुन वा अश्वेत, धनी हुन् वा गरिब, नेटिभ हुन वा नननेटिभ सबै खाले मतदाता ट्रम्पको वरिपरि गोलबन्द हुन्छन् र ‘एक महान उद्देश्य’ का लागि ट्रम्पका गल्ती र यहाँसम्म कि अपराधलाई पनि क्षमा गर्दिन्छन् !
अर्थात् ट्रम्पका समर्थक आफूलाई ‘देशभक्त’ ठान्दछन् र ‘देशभक्ति’ का सामु अरु सबै चिज उनीहरूलाई क्षम्य र फिका लाग्दछ ।