ट्रम्पको फोनपछि फिफाको अप्रत्याशित निर्णय: बालोगुनमाथिको प्रतिबन्ध स्थगित, बेल्जियमविरुद्ध खेल्ने



प्रकाशित मिति : २१ असार २०८३, आइतबार

ट्रम्पको फोनपछि फिफाको अप्रत्याशित निर्णय: बालोगुनमाथिको प्रतिबन्ध स्थगित, बेल्जियमविरुद्ध खेल्ने

फोटो : रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि विश्व फुटबल महासंघ (फिफा) ले आफ्नो निर्णय उल्टाएको छ। अमेरिकाका स्ट्राइकर फोलारिन बालोगुनमाथिको एक खेलको स्वतः निलम्बन स्थगित गर्ने निर्णय गरेसँगै विश्व फुटबलमा नयाँ विवाद सुरु भएको छ।

यस निर्णयसँगै बालोगुन सोमबार सियाटलमा हुने फिफा विश्वकप–२०२६ अन्तर्गत बेल्जियमविरुद्धको अन्तिम १६ को खेल खेल्न योग्य भएका छन्।

ट्रम्पले यसै साता फिफा अध्यक्ष जियानी इन्फान्टिनोसँग टेलिफोनमा कुराकानी गर्दै बालोगुनलाई रातो कार्ड देखाइएको घटनाको पुनरावलोकन गर्न आग्रह गरेका थिए। त्यसको केही दिनपछि फिफाको अनुशासन समितिले आफ्नो अनुशासन संहिताको धारा २७ प्रयोग गर्दै बालोगुनमाथि लागेको स्वतः एक खेलको प्रतिबन्ध एक वर्षका लागि सशर्त स्थगित गरिएको घोषणा गरेको हो।

यो निर्णय फुटबल जगतका धेरैका लागि अप्रत्याशित बनेको छ। बोस्निया र हर्जेगोभिना विरुद्ध अमेरिकाले २–० को जित निकालेको राउन्ड अफ ३२ को खेलमा सिधै रातो कार्ड पाएपछि बालोगुनले बेल्जियमविरुद्धको खेल गुमाउने निश्चितजस्तै मानिएको थियो। अमेरिकी टोली र समर्थकहरूले पनि प्रतिबन्ध हटाउने कुनै कानुनी व्यवस्था नभएको विश्वास गरेका थिए।

फिफाको अनुशासन समितिले धारा २७ अन्तर्गत मैदानभित्र दिइएको अनुशासनात्मक कारबाहीलाई पूर्ण वा आंशिक रूपमा परीक्षण अवधिका लागि स्थगित गर्न सकिने व्यवस्था प्रयोग गरेको जनाएको छ।

बालोगुनलाई खेलको ६४औँ मिनेटमा भिएआर को समीक्षा पछि बोस्नियाका डिफेन्डर तारिक मुहरेमोभिचको खुट्टाको कुर्कुच्चामा जुत्ता लाग्ने गरी गरेको ट्याकलका कारण रातो कार्ड दिइएको थियो। उक्त चुनौतीलाई ‘गम्भीर फाउल खेल’ को श्रेणीमा राखिएको थियो।

अमेरिकी प्रशिक्षक माउरिसियो पोचेटिनोको उच्च दबाबमा आधारित रणनीतिमा बालोगुन मुख्य खेलाडीका रूपमा स्थापित भएका छन्। उनले प्रतियोगिताका चार खेलमा तीन गोल गर्दै अमेरिकाका सर्वाधिक गोलकर्ता बनेका छन्। बोस्नियाविरुद्ध पनि उनले पहिलो हाफमै गोल गरेका थिए, तर त्यसपछि रातो कार्ड पाएर मैदान छाड्नुपरेको थियो।

फिफाको नयाँ निर्णयअनुसार बालोगुनको रातो कार्ड भने यथावत् रहनेछ। तर, त्यससँग जोडिएको अनिवार्य एक खेलको प्रतिबन्ध एक वर्षका लागि स्थगित गरिएको छ। यदि यो अवधिमा उनले पुनः यस्तै प्रकृतिको गम्भीर अनुशासन उल्लङ्घन गरेमा अहिले स्थगित गरिएको प्रतिबन्ध स्वतः लागू हुनेछ र नयाँ सजाय पनि थपिनेछ।

अमेरिकी फुटबल महासंघले फिफाको निर्णयप्रति सन्तुष्टि व्यक्त गर्दै अब सम्पूर्ण ध्यान बेल्जियमविरुद्धको खेलमा केन्द्रित भएको जनाएको छ। यता अमेरिकाको प्रतिद्वन्द्वी बेल्जियमले फिफाको निर्णयप्रति गम्भीर असन्तुष्टि जनाएको छ। बेल्जियम फुटबल महासंघले विज्ञप्ति जारी गर्दै उक्त निर्णय विश्वकप प्रतियोगिता नियमावलीसँग प्रत्यक्ष रूपमा बाझिएको दाबी गरेको छ। बेल्जियमका मुख्य प्रशिक्षक रुडी गार्सियाले पनि फिफाको निर्णयको आलोचना गरेका छन्।

फिफाले धारा २७ प्रयोग गरेको यो पहिलो घटना भने होइन। गत नोभेम्बरमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई आयरल्यान्डविरुद्धको छनोट खेलमा हिंसात्मक व्यवहारका कारण सिधै रातो कार्ड दिइएको थियो। त्यसबेला उनलाई तीन खेलको प्रतिबन्ध लागेको थियो।

एक खेलको प्रतिबन्ध भोगिसकेपछि फिफाको अनुशासन समितिले उनको विगतको अनुशासन रेकर्डलाई आधार मान्दै बाँकी दुई खेलको प्रतिबन्धलाई एक वर्षको परीक्षण अवधिमा स्थगित गरेको थियो। त्यस निर्णयले रोनाल्डोलाई विश्वकपको प्रारम्भिक समूह चरणका खेलहरू खेल्न अनुमति दिएको थियो।





Source link

Leave a Comment