प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार

तस्बिरः डेभिड फ्राइ/एपी/रासस
अमेरिकाको टेक्सस राज्यमा आएको विनाशकारी आकस्मिक बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने सयौँ मानिसहरूलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ। गभर्नर ग्रेग एबोटका अनुसार गत वर्षको ठुलो बाढीको चपेटाबाट यस क्षेत्रका बासिन्दाहरू तंग्रिन नपाउँदै फेरि अर्को प्राकृतिक विपत्ति आइलागेको हो।
बाढीमा फसेका चालकहरू र घरभित्रै थुनिएका २०० भन्दा बढी मानिसहरूलाई हेलिकप्टर र डुङ्गाको प्रयोग गरी उद्धार गरिएको छ। गभर्नर एबोटले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा अझै थप वर्षा हुने सम्भावना रहेकाले खतरा पूर्ण रूपमा टरिनसकेको र केही नदीहरूले ऐतिहासिक सतह पार गर्न सक्ने चेतावनी दिएका छन्।
यो भीषण बाढीले गत वर्षको जुलाई ४ को बिदाका बेला आएको विनाशकारी बाढीको सम्झना गराएको छ, जसमा १०० भन्दा बढी मानिसको ज्यान गएको थियो। गत वर्षको बाढीमा ‘क्याम्प मिस्टिक’ मा दुई दर्जन बालबालिका र परामर्शदाताहरूले ज्यान गुमाएका थिए।
यस पटक भने स्थानीय बासिन्दाहरूले बाढी आउनुपूर्व नै धेरै चेतावनीहरू प्राप्त गरेका थिए। मौसमविद्हरूले नदीको बहाव तीव्र रूपमा बढेपछि “तत्काल उच्च स्थानतर्फ जानू” भन्दै चेतावनी जारी गरेका थिए। राष्ट्रिय मौसम सेवाका अनुसार उभाल्डे काउन्टीमा विगत तीन दिनमा २८ इन्च (७४ सेन्टिमिटर) सम्म वर्षा रेकर्ड गरिएको छ भने ग्वाडालुपे नदीको जलस्तर केही स्थानमा ३० फिट (९ मिटर) भन्दा बढीले बढेको छ।
गभर्नरका अनुसार मृत्यु हुनेहरूमध्ये एक जना उभाल्डे नजिकै बाढीले सडक बगाउँदै गरेको अवस्थामा गाडी चलाउँदा बगेका थिए भने अर्का ६५ वर्षीय जोन मार्क स्टुअर्डको शव केर काउन्टीमा फेला परेको छ। जोन बस्दै आएको मोबाइल होम बाढीले जगैदेखि बगाएको थियो।
बाढीका कारण उभाल्डे सहरका बाहिरी सडकहरू पूर्ण रूपमा बन्द भएका छन्, जसले गर्दा स्थानीय बासिन्दाहरू सम्पर्कविहीन र एकै ठाउँमा थुनिएका छन्। बाढीले वन्यजन्तु उद्धार केन्द्रका भौतिक संरचनाहरू र व्यवसायहरूमा पनि ठुलो क्षति पुर्याएको छ। सुरक्षा अधिकारीहरूले २,००० भन्दा बढी प्रथम उद्धारकर्ताहरू परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिएका छन्।