टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’


पुग्नु छ हिमालको नजिक । तर, बीचबाटोमै गाडीले धोका दियो । चक्का घुम्छ तर अगाडि सर्दैन । धकेलेर पुर्‍याउन सम्वभ छैन । बाटोमा पहिरो झरेको छ । जसरी पनि गन्तव्यमा पुग्नु छ । तर कठिन छ । पछाडि फर्किने छुट ललितपुर इमाडोलका सुलभ बुढाथोकीलाई छैन ।

अब के गर्ने ?

हिँडेर पुग्न सम्भव छैन । उनले विकल्पको खोजी गरे । गाडी नचलेर के भयो, साइकल त चल्छ नि !

हिमालको बाटोमा उनले साइकल चलाउने भए । गाडी जहाँ फसेको हो त्यहीँ छोडेर साइकलको पाइडल घुमाए । पहिरो र अफ्ठ्यारा बाटोलाई छिचोल्दै उनी हिमालको नजिक पुगे ।

आँखै अगाडि चित्ताकर्षक हिमाल । चिसो सिरेटो स्वागत गर्न आइपुग्यो । स्थानीयको सत्कार छुट्टै छ । वाओ ! सुन्दर नेपाल । स्वर्ग यस्तै त होला नि ! सुलभलाई स्वर्ग पुगेको आभास भयो ।

अघिल्लो वर्षको कुरा हो । सुलभ यसैगरी अपर मुस्ताङको पाँच हजार उचाइमा पुगेका थिए । जहाँ समस्या छ, त्यहाँ अवसर छ भन्ने सन्देश देखाउन उनी अपर मुस्ताङ हानिएका थिए ।

मनाङको बौद्ध धर्म स्कुलमा अध्ययनरत विद्यार्थी ।

‘सुन्दर नेपाल देखाउनु थियो । अलिकति आफ्नै संघर्षको कथा पनि थियो । संघर्ष गर्‍यो भने सफल हुन्छ भन्ने सन्देश दिन खोजेको थिएँ,’ उनले पहिलो हिमाल यात्राका दिन सम्झिए ।

त्यसवेला ‘हामी सक्षम छौँ’ भन्ने भिडियो कथाका लागि उनी मुस्ताङ पुगेका थिए । ‘भाताभुङ्ग शहर मात्र होइन । सुन्दर नेपाल सोचेभन्दा धेरै राम्रो छ भनेर देखाउन खोजेका थियोँ,’ उनले भने ।

नेपालमा केही छैन । केही हुँदैन भन्ने भाष्यलाई चिर्न सुलभको टोली मुस्ताङ पुगेको हो । उनको टोली लोमान्थाङ–कोराला क्षेत्रको बिकट बस्तीमा छिर्‍यो । यसक्रममा उनले मौलिकता झल्काउने ५० भन्दा बढी स्कुल पुगे । स्थानीयसँग नजिक भए । बाबालिकासँग घुलमिल भए । हिमालको काखमा बौद्ध धर्मवालम्बीको स्कुल देखे ।

‘ओहो ! यहाँ त केही गर्नै पर्छ,’ सुलभ सोच्न थाले ।

हिमाली गाउँ भए पनि इन्टरनेट पुगेको थियो । तर, पढाउने विधि परापूर्वकालको थियो । प्रविधिमैत्री थिएन विद्यालय । उनले ल्यापटप र टेलिभिजन लिएर गएका थिए । इन्टनेट प्रयोग गरेर त्यो स्कुलमा सुलभको टिमले टेक्नोलोजीबाट पढाउने जमर्को गर्‍यो ।

‘विद्यार्थी शिक्षक, अभिभावक खुसी हुनुभयो । टिभी पुग्दा विद्यार्थी रमाए । अहिले पनि टिभी हेरेर विद्यार्थीले पढिरहेका छन्,’ उनी भन्छन् । अपर मुस्ताङका विद्यार्थी चिसो समयमा पोखरा झर्छन् । पोखरामा बस्दा पनि यही टेक्नोलोजीको प्रयोग गरेर युट्युब हेरेर पढिरहेका छन् । यसरी हिमालको काखमा टेक्नोलोजी पुर्‍याएको कथा उनले भिडियोमा उतारेका छन् । नाम दिएका छन्, ‘माइ सेकेन्ड टिचर्स’ ।

टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’
सुलभ बुढाथोकी ।

०००

अनि जन्मियो ‘माइ सेकेन्ड टिचर्स’

कोरोनाले सबै घरभित्र थुनिए । शैक्षिक क्षेत्र धराशायी बन्यो । तर, सुलभको टिमले घरबाटै १८ घण्टा काम गर्‍यो । कोरोनाले एउटा अवसर दियो, त्यो हो ‘माइ सेकेन्ड टिचर्स’ ।

इनोभेट नेपाल ग्रुप (आईएन्जी) को महत्त्वपूर्ण योजना हो ‘माइ सेकेन्ड टिचर्स’ । धेरैको प्रश्न र जिज्ञासा छ । माइ सेकेन्ड टिचर्सले कसरी पढाउँछ त ?

यो किताब हेरेर पढाउने शिक्षक होइन । माइ सेकेन्ड टिचर्सभित्र नेपाल सरकारले बनाएको पाठ्यक्रम र पाठ्यपुस्तकलाई भिडियो बनाएर राखिएको हुन्छ । त्यसैबाट पढाउने हो ।

जस्तै : मुटुको विषय पढाउनु पर्‍यो भने मुटुको भिडियो बनाएको हुन्छ । ‘विद्यार्थीले सहजै यसबाट सिक्न सक्छन्,’ सुलभ भन्छन्, ‘भिडियोबाट विद्यार्थीले सिक्यो कि सिकेन, कुन बच्चालाई बढी फोकस गर्नुपर्छ त्यो शिक्षकलाई थाहा हुन्छ ।’

माइ सेकेन्ड टिसर्च शिक्षकलाई पढाउन सहयोग गर्ने टेक्नोलोजी हो । ‘अचेल इन्टरनेट गाउँगाउँमा पुगेको छ । टेक्नोलोजीको विधिबाट पढाउन सकिन्छ,’ सुलभ भन्छन् ।

माइ सेकेन्ड टिचर्स एक सय २० वटा विद्यालयमा चलिरहेको छ । ‘एक लाख बच्चाले टेक्नोलोजीबाट पढिरहेका छन्,’ उनी भन्छन्, ‘प्राइभेट र सामुदायिक विद्यालय दुबैमा प्रयोग भइरहेको छ ।’

टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’
सिताराम थिङ, राम नेपाली, सविना धानुकी र लक्ष्मण नेपाली

इनोभेट नेपालले विद्यालयहरूलाई यो प्याकेजमा दिने गरेको छ । ‘निजी विद्यालयमा वर्षको प्रति विद्यार्थी ५/६ हजार रुपैयाँ पर्छ । सामुदायिकमा २५ हजारमा दिएका छौँ । यसमा एउटा कक्षाका सबै विद्यार्थीले पढ्न पाउँछन्,’ उनी भन्छन् ।

इनोभेटले टेक्नोलोजीको प्रयोग गर्न शिक्षकलाई तालिम दिइने गरेको छ । ‘तालिम लिएपछि विद्यालयमै भएको शिक्षकले यो टेक्नोलोजी प्रयोग गर्न सक्छन्,’ सुलभ भन्छन् ।

नेपालमा मात्र होइन विदेशबाटसमेत यो टेक्नोलीको माग आइरहेको उनी बताउँछन् । ‘५१ वटा देशमा चलेको छ । बाहिरबाट माग आइरहेको छ,’ उनी भन्छन्, ‘टेक्नोलोजी प्रयोग गरेर शिक्षामा क्रान्ति ल्याउन खोजेका हौँ ।’

नेपाल शिक्षामा पछाडि परेको निचोड निकालेर प्रविधिमैत्री शिक्षाको विकासमा उनी अगाडि बढेका हुन् ।

‘नेपालको शिक्षा राम्रो भएको भए उच्च शिक्षाको लागि विदेश जाने लहड चल्ने थिएन । त्यसैले शिक्षामा रूपान्तरण गर्न शिक्षकलाई टेक्नोलोजीको टेको दिइरहेका छौँ,’ उनी भन्छन्, ‘२१ औँ शताब्दीको बच्चालाई पढाउन शिक्षकले आफूलाई अपडेट गर्नै पर्छ । परापूर्वकालको शिक्षण पद्धत्तिले शिक्षामा सुधार सम्भव छैन ।’ विद्यार्थीलाई घोकाउने होइन सिकाउने बुझाउने विधि ‘माइ सेकेन्ड टिचर्स’को हो । ‘माइ सकेन्ड टिचर्स’को सफलताको कथा सुलभले भिडियो बनाएर प्रस्तुत गरेका छन् ।

टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’
सुलभ बुढाथोकी ।

०००

सेवाकाे हुटहुटी

६ वर्षअघि, सिन्धुपाल्चोकको मेलम्ची पुगेका थिए, सुलभ । सिन्धुपाल्चकको श्री तेर्से माध्यामिक विद्यालयमा पढाउन पुगेका मोइन उद्दिनले केही विद्यार्थीको फोटो भिडियो सामाजिक सञ्चालमा राखेका थिए । गरिबीको रेखामुनि रहेका अभिभावकले छोराछोरीलाई उच्च शिक्षा पढाउने स्थिति थिएन । तर, विद्यार्थी पढ्न चाहन्थे ।

टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’
राम र लक्षमण परिवारसँग ।

मोइन उद्दिनले सुलभलाई बोलाएपछि स्थलगत अध्ययनको लागि उनी गए । ‘विद्यार्थी तीक्ष्ण थिए । १० कक्षापछि के गर्ने थाहा थिएन । यो अवस्थाका विद्यार्थीलाई केही गर्नुपर्छ भन्ने सोच आयो,’ सुलभ भन्छन् ।

त्यसपछि सुलभको टोली विद्यार्थीको घरघरमा पुग्यो । उनले सुनाए, ‘एसईईपछि कसैले पढाइदिन्छ कि भनेर बस्नु भएको रहेछ । हामीले चारजना विद्यार्थीलाई पढाउन काठमाडौं ल्यायौं ।’

टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’
सिताराम थिङ परिवारको साथमा ।

सुलभको टिमको साथमा सिताराम थिङ, लक्ष्मण नेपाली, राम नेपाली र सविना धानुकी काठमाडौं आए । जेभियरमा भर्ना गरे । खाने बस्ने सबै खर्च सुलभले व्यहोरे । यी चारजनाले १२ कक्षा उत्तीर्ण गरे ।

अब यी विद्यार्थीलाई के गर्ने त ?

राम्रो पढ्ने एकजनालाई ब्याचलर पढाउने बाचा सुलभले गरेका थिए । १२ कक्षाको परीक्षा सकेर विद्यार्थी घर गएका थिए । उनले चारैजनालाई स्नातक पढाउने निर्णय गरे । र, चारैजनालाई फोन गरेर काठमाडौं बोलाए । ‘स्कलरसीपमा इस्लिङटनमा पढाउने निर्णय लिएँ,’ सुलभ भन्छन् ।

टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’
सविना धानुकी परिवारसँग ।

यसरी ती चार विद्यार्थीले स्नातक तहको अध्ययन इलिङ्टनबाट पूरा गरे । हिजो रुँदै गाउँ छोडेका उनीहरूसँग आज उच्चशिक्षाको प्रमाणपत्र छ, हातमा सीप । ‘दुईजनाले आईटी र दुईजनाले बिज्नेस पढे । अहिले काम पनि गरिरहेका छन्,’ सुलभले खुसी हुँदै सुनाए ।

हिजो रुँदै गाउँ छोडेका विद्यार्थी पनि आज खुसी छन् । ‘गाउँको त्यस्तो ठाउँबाट आज यो अवस्थामा देख्दा अचम्म लाग्छ । गर्न सकिने रहेछ भन्ने महसुस भएको छ,’ सविना धनुकी भन्छिन् ।

‘एसईईपछि बुबा आमाले पढाउन सक्ने स्थिति थिएन । मोइन सरले सामाजिक सञ्जालमा हालेको फोटो भिडियो हेरेर सुलभ सरले ल्याएर पढाउनुभयो । अवसर आउँदो रहेछ,’ सविना भन्छिन् ।

सिताराम थिङ अहिले इनेभेट मोबाइल एप्लिकेसनमा काम गरिरहेका छन् । ‘गाउँको कुनाबाट आएर एप्लिकेसन चलाउने भएको छु । पछि गाउँमै गएर सेवा गर्छु,’ उनले अठोट सुनाए ।

लक्ष्मण नेपाली र राम नेपाली दाजुभाइ हुन् । इनोभेटको एड्मिन र डेभलोपरको रूपमा काम गरिरहेका छन् । यी चारजनाले गाउँ छोड्दादेखिको भिडियो कथा इनोभेटिभ ग्रुपले बनाएको छ ।

हिजो पनि यी चारजनाको परिवारमा आँसु थियो, आज पनि छ । ‘हिजो दुःखको थियो । आज खुसीको छ,’ सुलभ भन्छन्, ‘नेपालको जुनसुकै कुनामा भए पनि धनि गरिब जे भए पनि बाटो देखाउने हो भने सम्भव छ भन्ने उदाहरण हुन्, उनीहरू ।’

टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’
चितवन शक्तिखोरका विद्यार्थी अभिभावकसँग ।

०००

अनि डट कनेक्ट

सुलभ, आईटीमार्फत् नेपालले आर्थिक क्रान्ति गर्न सक्नेमा विश्वस्त देखिन्छ । उनको नजरमा सम्भावना आईटीमा मात्र होइन, अन्यत्र पनि छ ।

करिब वर्ष दिनअघि उनले आफैँलाई प्रश्न गरे, ‘के आईटीमा मात्र सम्भावना हो त?’
होइन ! सम्भावना जताततै छ, मनले उत्तर दियो । सेवा होस् या व्यापार क्षेत्र, सबैतिर दक्ष जनशक्तिको अभाव छ । तर, युवा भौतारिरहेका छन् ।

यही क्रममा उनले सम्झिए, रेष्टुरेन्टमा काम गर्ने कुकको अभाव । ‘नेपाली डट कनेक्ट गर्न चुकेका छौँ । तालमेल मिलेको छैन,’ सुलभ भन्छन् ।

त्यसैले उनले चितवनबाट ‘डट कनेक्ट’ अभियान सुरु गरे । त्यसका लागि उनले चितवनको शक्तिखोरको एउटा स्कुल रोजे । ‘माइ सेकेन्ड टिचर्स’को लागि उनी विद्यालयमा पुगेका थिए ।

टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’
चितवन शक्तिखोरका विद्यार्थी ।

त्यहाँ उनले १२ पढ्दै गरेका विद्यार्थीलाई सोधे– काम पायौ भने नेपालमै बस्छौं ? कक्षाका पूरै विद्यार्थीले हात उठाएर बस्ने जवाफ फर्काए ।

सुलभको टोलीले ती विद्यार्थीका लागि पोखराको फिस्टल माउन्टेनमा कुकको तालिम दिन सहजीकरण गर्‍यो । विदेश जाने योजनामा रहेका १२ जना विद्यार्थीलाई पोखरामा तालिम लिने व्यवस्था उनले गरे ।

इनोभेट नेपालको सहयोगमा उनीहरूले कुकको तालिम लिइरहेका छन् । ‘स्टार होटेलको कुकले पकाएको जस्तो पकाउने भइसकेका छन् । एक वर्षमा उनीहरू जव मार्केटमा आउँछन्,’ सुलभ भन्छन् ।

टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’
होटेलमा कुकको तालिम लिंदै शक्तिखोरका विद्यार्थी ।

यी १२ जनालाई पोखरमा बस्ने खाने र उनीहरूको लागि चाहिने पकेट खर्चसमेत सुलभले व्यहोर्दै आएका छन् । केही समयपछि इनोभेट नेपालकै क्याफेमा समेत उनीहरूले काम गर्ने छन् ।

‘चार वर्षपछि उनीहरूलाई आफ्नै खोल्न सक्ने बनाउने उद्देश्य हो,’ सुलभ भन्छन् । यी १२ युवाको सफलताको कथा पनि उनले भिडियोमा पस्केका छन् ।

‘हिमाल, पहाड तराई जहाँको भए पनि हामी गर्न सक्षम छौँ भन्ने म्यासेज दिन भिडियो कथा बनाएका हौँ,’ सुलभले सुनाए ।

नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य तोड्न चाहन्छन् उनी । ‘नेपाल छोड्ने बित्तिकै बाहिर स्वर्ग छ ? त्यो त होइन नि । बुझ्दै नबुझि देश छोड्ने लहर चल्यो,’ उनी भन्छन्, ‘नेपालमा सम्भव छ भनेर देखाउन सकेनौं । आवाज उठाउन सकेनौं । हामी सक्षम छौँ भनेर देखाउन सफलताको कथा सुरु गरेका हौँ ।’

विदेशमा एक दिनको सुख देखाएर भ्रम छरिएको निष्कर्ष उनको छ । ‘विदेशमा ६ दिन दुःख गरेको हुन्छ । १ दिन बिदाको फोटो हालेर विदेश राम्र्र्रो छ भनियो । तर, विदेशमा गरेको दुःखभन्दा यहाँ आधा मात्र गर्‍यो भने पनि धेरै हुन्छ,’ युवालक्षित उनको सुझाव छ ।

टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’
‘माइ सेकेन्ड टिचर्स’ विधिबाट पढाइँदै ।

स्वदेशमै अवसर रहेको सन्देश दिन सुलभले चाहेका हुन् । ‘नेपालमा भन्दा दुई गुणा बढी गाह्रो विदेशमा छ । १० वर्षपछि पश्चिमा देशमा केही नहुने रहेछ भनेर नेपाल फर्किने स्थिति बन्छ । नेपाल बन्दै छ । नेपालमै प्रचुर सम्भावना छ,’ उनी भन्छन् । देशमै सम्भव छ, हामी सक्षम छौँ भन्ने सफलताको कथा निरन्तर बनाउने घोषणा गर्छन् उनी ।

०००

सक्किएर उठेका सुलभ

ललितपुरको इमाडोलमा जन्मिएका सुलभको परिवारको सामान्य व्यापार थियो । व्यापार व्यवसाय डुब्यो । आईटीमा उनको रुचि थियो । त्यसैले उनले आईटीको अध्ययन गरे । ‘व्यापार डुब्यो । अनि आईटी क्षेत्रमा लागेँ,’ उनले अतित सम्झिए ।

त्रिवि र पोखरा विश्वविद्यालयमा पनि सुलभले पढाए । आफ्नै केही गर्नुपर्छ भन्ने हुटहुटि थियो । तर, राम्रो भएन ।

टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’
काभ्या स्कूलको ल्याव ।

त्यसपछि इस्लिङ्टन कलेजमा ल्याब टेक्निसियन भएर पनि काम गरे उनले । ‘दुई दशकअगाडि उनी १५ सय तलबमा ल्याबमा काम गर्थेँ,’ उनले सुनाए, ‘तर यो कलेज बन्द हुने अवस्थामा पुग्यो ।’

तीनजना मात्र विद्यार्थी थिए । बन्द हुने अवस्थामा पुगेको कलेज नै किन्ने निर्णय गरे । सुलभले जोखिम मोलेका थिए । ‘आईटीको विकास गर्छु भनेर बन्द हुन लागेको संस्था किनेको थिएँ,’ उनी भन्छन् ।

कुनै दिन उनी त्यही संस्थामा जागिर खान्थे । आज त्यसैको सञ्चालक बनेका छन् । इस्लिङ्टन पनि इनोभेट नेपाल ग्रुप अन्तर्गत कै हो । उनी यो ग्रुपको अध्यक्षसमेत हुन् ।

हाल २५ वटा कम्पनी, १० वटा उच्च शिक्षाको कलेजमा ११ हजार विद्यार्थी छन् । १७ सयले रोजगार पाएका छन् । यहाँ आइपुग्न उनले ठूलो आरोह र अवरोह पार गरेका छन् । ‘नेपालमै गरेर खान सकिन्छ भन्ने उदाहरण हो,’ उनी भन्छन् ।

विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको कलेज हो, इस्लिङ्टन । कोराना महामारीमै कुमारी हल किनेर उनले कलेजलाई विस्तार गरे ।

‘यस्तो महामारीमा किन किनेको भनेर धेरैले प्रश्न गर्थे तर मैले जोखिम मोले । कोरोनाबाट बाँचियो भने त बन्ला नि भनेर लिएको थिएँ,’ उनी भन्छन् ।

निजी क्षेत्रको विषयमा बारम्बार प्रश्न उठ्ने गरेको छ । तर सबै निजीलाई एउटै बाकसमा राखेर नहेर्न अनुरोध गर्छन् उनी ।

‘परापूर्वकालको व्यापारी होइनौं । सबैलाई एउटै टोकरीमा राखेर नहेरियोस् । राम्रोलाई प्रोत्साहज र नराम्रोलाई सच्चिने अवसर दिनुपर्छ,’ उनी भन्छन् ।

टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’
काभ्या स्कूलका विद्यार्थी लाइब्रेरीमा पढ्दै ।

निजीमाथिको भ्रम १८ औं शताब्दीको सोच बोक्नेले फैलाएको तर्क उनको छ । ‘विद्यार्थी खुसी छन् । नेपाल बसेर पढ्न पाएका छन् । सर्टिफिकेट लिएका छन् । त्यो संस्थाले के नराम्रो गर्‍यो ? राज्यलाई सहयोग गरेको छ । बर्सेनि दुई हजार दक्ष जनशक्ति राज्यलाई दिएका छौँ,’ उनी भन्छन्, ‘यहाँ उत्पादन भएका जनशक्तिले संसार हाकेका छन् ।’

टेक्नोलोजीबाट शिक्षामा क्रान्तिको सोच- ‘माइ सेकेन्ड टिचर्स’
काभ्या स्कूलका शिक्षक र कर्मचारीहरू ।

यसरी शिक्षामा, उद्योगमा, डट कनेक्ट गरेर इनोभेटिम काम आइएन्जी ग्रुपले गरिरहेको छ । काठमाडौंसँगै पोखरा, विराटनगर, इटहरीमा पनि यो ग्रुपले कलेज चलाइरहेको छ । काठमाडौंमै प्रविधिबाटै शिक्षा दिने काभ्या स्कूल पनि सञ्चालित छ ।

व्यापारमा डुबेर पनि उनी आईटीको क्षेत्रबाट उठेका छन् । ‘जहाँ समस्या छ । त्यहाँ समाधान छ । जहाँ चुनौती छ त्यहाँ अवसर छ । युवालाई अवसरको बाटो देखाउनुछ, युवाले कहिल्यै निराश बनाउँदैनन्,’ आफूभित्रको आत्मविश्वास प्रकट गर्दै उनले बिट मारे ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School