साँझमा दियो बालिराख्यौ को आउँदै छ आज
हातका औँला चालिराख्यौ को आउँदै आज
हिजो अस्ति उक्किएका घरका छेउकुना
बिहानदेखि टालिराख्यौ को आउँदै छ आज
हातका औंला जोडेर कोही फर्केर आउने कामना गरिरहेका देशका साहित्य प्रेमीलाई देखेको भए, सायद प्रकट पगेनी ‘शिव’ले उनकै गजलका शेरले झै सोध्ने थिए, ‘को आउँदै छ आज ?’
मणिपाल शिक्षण अस्पताल परिसर र देशभर साहित्यप्रेमी शुभचिन्तकले त कामना गरिरहेकै थिए, ‘ऊ फेरि मुस्कुराउँदै आउने छ र सोध्ने छ प्रकटले–गाउँबस्ती, साथीसंगी, साहित्यकर्मका हालखबर ।’
उनी फेरि फर्केर आउने छन् र देउराली–उकाली चढेर प्रणयका ऋचाहरु सुनाउने छन्, उसैगरी । नेपाली साहित्यिक मञ्चमा उनी अवश्य प्रकट हुनेछन्, मनमा दियो बालेर मंगलबार साँझसम्मै साहित्यप्रेमीले कामना गरिरहे । तर, निमोनियाले च्यापेर रुपा गाउँपालिकाको देउरालीबाट औषधिमूलो गर्न पोखरा झरेका प्रकट अब भने कहिल्यै नआउने गरी अस्ताएका छन् ।
प्रकट पगेनी ‘शिव’ अर्थात सधैंको तन्नेरी र प्रेमिल गजलकार । जो देशभर साहित्यिक मञ्चहरुमा उक्लिएर मुस्कुराउँदै सुनाउँथे, शृंगारिक गजल । उनलाई मान्छेहरुले उपमा नै दिएका थिए, प्रणय गजलका बादशाह ।
५० को दशकपछि गजल लेखनमा लागेका प्रकटले बेग्लै पहिचान बनाए, शृंगारिक गजलको । उनका प्रणयपरक गजलले चर्चाको शिखर चुम्यो । चुम्बकीय वाचनशैलीले वाहवाही कमायो ।
उनको खासियत नै थियो, खुलेर प्रेम र प्रणयमा पोखिनु । प्रेमका रङहरुलाई चाउरी परेका गालाका रेखाहरुबाट पनि झल्काउनु । प्रकट भन्थे, ‘प्रेम र यौन शाश्वत सत्य हो, न उमेरले छेक्छ, न लाजले ।’
उनी जे लेख्थे, हृदय निचोरेर लेख्थे । आफू घुमेको, बसेको रनवन र गाउँबस्तीका कथा कविताका विषय बनाउँथे र मौलिक शब्द र स्वाद पस्कन्थे, प्रकट ।
मान्छेहरुका प्रेम र नियतीलाई कविताका विषय बनाउँथे, संवेदनाका घनहरुले हिर्काउँथे । मान्छेले स–साना भनेर छाडेका वा वास्ता नगरेका भुइँका विषयहरु उन्थे र पस्किन्थे कथाहरु । हृदयका कुना–काप्चाबाट सम्बन्धहरुलाई नियाल्थे र गाँस्थे, गीतका ठुन्काहरुमा ।
किन रोयौ भन तिमी मनको बलेसीमा
किन राख्यौ चोखो मुटु तीखो चुलेसीमा
उनै प्रकटले लेखेको यो गीत जब गायक सुनील बर्देवाले संगीत संयोजनमा सञ्जीव सिंहले गाए, तब यो गीतले धेरैको हृदयलाई हल्लाएन मात्रै सिंहलाई नै चर्चित बनाइदियो । प्रकट भन्थे, ‘यो बजारमा आएपछि गीत माग्नेको लर्को नै लाग्यो ।’ तर, प्रकट थिए, ‘रम्ताजोगी’, न नामको भोक न दामको । बस रमायो, डुल्यो हिँड्यो ।’
उनी आफैं भन्थे, ‘म त घरमा मदिरा पिउँदा पनि धुपबस्ती बालेर पिउँछु । सम्मान ग¥यो भने मदिरा पनि अमृत बन्छ ।’ पोखरामा उनका सिर्जनाका चर्चाजस्तै मदिराका किस्साहरु पनि प्रशस्तै छन् ।
एउटै व्यक्ति केके कुरामा अभिव्यक्त हुन सक्छ ? त्यो उनीसँग ३० को दशकबाटै संगत गरेका सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचनहरुले बताउँछन् । उनीसँग सिर्जनात्मक संगत गरेका विनोद गौचन, अरुण थापा, विजय बजिमयहरु त उनीभन्दा पहिले नै शब्द, संगीतमा मात्र सीमित बनिसके ।
‘ग्रामीण परिवेशलाई टपक्क टिपेर मौलिक ढंगले उन्न सक्ने प्रकटसँग अद्भूत क्षमता थियो । आफ्नै परिचय बोकेका चोटिलो मुक्तक उनी लेख्थे । गीतमा उस्तै मार्मिक शब्द उनी गाँस्थे । कमिक र अभिनयमा पनि अब्बल थिए’, वरिष्ठ साहित्यकार सरुभक्त भन्छन्, ‘छापाजस्ता अक्षर, उस्तै लेखन र सहृदयी साथी थिए प्रकट ।’
३० को दशकपछि पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययनकै क्रममा प्रकटले प्रहसन गरे । सरुभक्त एकांकी नाटकको तयारीमा थिए ।
नाम थियो, ‘एउटा घरको कथा होइन’ । सरुभक्तले प्रकटलाई प्रस्ताव गरे र प्रकट खेल्ने भए । लाहुरे समाजमाथि लेखिएको ‘एउटा घरको कथा होइन’ पछिका केही नाटकमा पनि प्रकट नै प्रमुख भूमिकामा खेले । सरुभक्त, प्रकट, उषा शेरचनहरु मिलेर युवा नाटक परिवार नै खोले ।
२०३५ सालतिर पोखराबाटै उनीहरुले राष्ट्रिय नाटक महोत्सवमा सहभागिता जनाउन थाले । २०३८ सालमा सरुभक्तकै ‘गोलार्द्धको कालो आकास’ मा भूमिका निभाउँदा प्रकट त्यो वर्षको सर्वश्रेष्ठ अभिनेता नै घोषित भएको सरुभक्त स्मरण गर्छन् ।
५० को दशकदेखि शृंगारिक गजलको बाटोमा हिँडेका प्रकटले ४० को दशकतिरै पोखराको बगरमा शृंगार आर्ट खोलेका थिए । जहाँबाट उनका सुन्दर अक्षर ब्यानर बनेर कार्यक्रमहरुमा टाँगिन्थे ।
साइन बोर्ड लेखनकै क्रममा उनी कृषि अनुसन्धान केन्द्र लुम्लेको जागिरे बने । त्यो बेला उनले लुम्ले, पञ्चासे, धम्पुस, घान्द्रुकसम्मका आसपासका डाँडाहरुलाई साहित्य र सिर्जनाको केन्द्र बनाए । ‘लुम्लेमा बसेर उनले त्यो बेला निकै सुन्दर गीतहरु लेखे । आसपासका पाखा र त्यही परिवेशका गीतहरु लेखे’, सरुभक्त भन्छन्, ‘लुम्लेमा हामी रातभर सिर्जनाका कुरा गरेर रमाएर बसेका छौं ।’
लुम्लेको जागिर छाडेपछि प्रकटको जीवन र बस्ने ठेगाना पनि उस्तै अस्थिर बन्न पुग्यो । लुम्लेबाट फर्किएर गैह्रापाटनमा उनले पगेनी आर्ट ग्यालरी खोलेका थिए । ‘त्यो उनको आर्ट ग्यालरीमात्रै थिएन, साहित्यिक जमघट हुने र चियाचर्चा गर्ने थलो पनि थियो’, कवि तीर्थ श्रेष्ठ सम्झन्छन् ।
गजलको राजमार्गमा हिँड्न थालेपछि प्रकट अब काठमाडौं नै बस्छु भनेर पनि हानिए । तर, फेरि फर्किएर बाटुलेचौरको प्रगति बोर्डिङमा पढाउन आइपुगे र आसपासका ठाउँ र अवस्थालाई टपक्क टिपेर कविताहरुमा उन्न थाले ।
एउटी आमा निरन्तर घुमिरहन्छिन्, बाटुलेचौरका सडकहरुमा
उनलाई विश्वास छ–
महेन्द्रगुफा जाने बसबाट कुनै दिन
जैमुरे जाने बसबाट एक दिन
या
यही बाटो ओहोर–दोहोर गर्ने बसबाट कुनैबेला
उनको सन्तान ओर्लने छ र आमा भन्ने छ !
प्रकटले ठाउँ विशेष र गाउँको परिस्थितिलाई शब्दमा टपक्क टिपेर उनेको कविताहरु अहिले पनि धेरैको मर्ममै हान्नेगरी बसिरहेको छ ।
‘हातमा समाई उनलाई खोला तार्नुको मज्जा बेग्लै थियो, सारीको सप्को अलि माथि सार्नुको मज्जा बेग्लै थियो’ जस्ता शृंगारिक गजल कण्ठै पारेका युवा जमातले सायद लिएको नहुन सक्छ, मान्छेका बाध्यता र परिस्थितिलाई प्रेमको धागोले उनेर प्रकटले लेखेका कविताको स्वाद ।
यता आउने बेला
अलिकति मन चुँडालेर इन्दुलाई दिएथें
उसले त्यो मन अलिकति सिन्दुरको डब्बामा राखी
अलिकति पोतेमा तिलहरीसँग गाँसी
अलिकति टीकासँग निधारमा टाँसी
५० को दशकतिरै पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष बनेका प्रकट पोखरादेखि कुनै ठाउँसम्म पुगेर त्यही ठाउँको अवस्थाबारे रचना सिर्जना गर्ने ‘अक्षरयात्रा’को परिकल्पनाकार मध्येका एक हुन् ।
‘जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्रा’ नाम दिएर ५० को दशकको अन्त्यतिर सुरु भएको यो अभियान अहिले पनि प्रत्येक महिनाको तेस्रो शनिबार पोखरा, आसपासका ठाउँ र देशका विभिन्न भागमा पुगिरहेको छ ।
एकदिन आफूलाई पढाउने विदेशी गुरुआमाले ‘प्रकट’ शब्द निकालेपछि आफ्नै नामको पछाडि झुण्ड्याउन थालेका उनी पोखरेली गजलका निम्ति पनि अभिभावक नै थिए । गजल सन्ध्या पोखराको गतिविधिमा उनी एउटा इट्टा थिए । उनी प्रणय गजलमा चर्चित बनेपछि पोखरा हुँदै काठमाडौं र देशका प्रमुख शहरहरुमा एकल गजल वाचनका कार्यक्रमहरु नै भए ।
‘प्रणयमा प्रकट दाइ’ कार्यक्रमलाई जगाउने र विस्तार गर्ने काम पत्रकार अमृत भादगाउँलेले गरे । सरुभक्त, तीर्थ, उषाहरुदेखि अहिलेको नयाँ पुस्तासम्म उत्तिकै सम्बन्ध बनाएका प्रकटको जीवन भने उतिसाह्रो सजिलो देखिएन ।
उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, मनमौजी जीवनशैलीले आर्थिक पक्षलाई बलियो बनाउन उनले ध्यान दिएनन् । खायो, रमायो, हिँड्यो गर्दा परिवार एकातिर र उनको खुसी अर्कोतिर पनि बन्यो । पुरस्कार र सम्मानका पछि त दौडिएनन् तर आफ्नै खुसीका पछि दौडिँदा अरु आफन्तहरु छुटे । अन्तिम समयमा उपचार गर्न पनि आर्थिक सहयोग जुटाउनुपर्ने अवस्था सिर्जना हुन पुग्यो ।
पछिल्लो समय उनी जन्मथलो देउरालीमा यजश्वी कटेजको सपनालाई मूर्त रुप दिँदै थिए । बाख्रा र कुखुरा पालिरहेका थिए । तर, त्यो सपना पनि उनले पूरा गर्न पाएनन् ।
‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनाललाई’ गीत संग्रह, ‘प्रणयवेदका ऋचाहरू’ गजल संग्रह र ‘अक्षरभरी अक्षता’ कविता संग्रह प्रकाशित गरेका प्रकट आख्यान प्रकाशन गर्ने लामो समयदेखिको सपना थियो । उनी भन्थे, ‘म अब उपन्यास प्रकाशन गर्छु, कथाहरु पनि पुग्ने छन् ।’
६७ वर्षको उमेरमा पनि उस्तै रोमान्टिक यी कविले धेरैजसो सिर्जनामा ‘अन्ना’ सम्बोधन गर्थे तर उनी को थिइन् ? उनी जवाफमा मात्र मुस्कुराउँथे । जीवनका हरेक उतारचढावमा पनि मुस्कुराउँदै साहित्यिक मञ्च र जमघट, भेटघाटमा प्रस्तुत हुने प्रकटको त्यो मुस्कानको राज के थियो होला ? त्यो पनि उनीसँगै रहस्यकै गर्तमा रहन पुग्यो ।