राजावादी आन्दोलनको सेरोफेरोमा एउटा न्यारेटिभ बहुतै चलेको छ- राजतन्त्र नभोगेको पुस्ताले राजा खोज्दैछ । विशेषगरी, जेनजीले राजा खोज्दैछन् । सन् १९९७ देखि २०१२ सम्म जन्मिएका मानिसलाई ‘जेनेरेसन जी‘ अर्थात् छोटकरीमा ‘जेनजी’ भन्ने गरिन्छ । यस्ता नयाँ शब्द वा जार्गन्स भेट्नेबित्तिकै नबुझी प्रयोग गर्न थालिहाल्ने हाम्रो स्वभाव छ ।
उदाहरणका लागि, चैत १५ कै सन्दर्भमा नेपाल प्रहरीले गरेको पत्रकार सम्मेलनमा प्रहरी अधिकारीले आन्दोलनको एउटा भिडियोलाई ‘डिप फेक‘ भनिदिए । नेपाल प्रहरीले नै डिप फेक र त्यसको प्राविधिक पक्ष नबुझी बोलिचालीमा प्रयोग गरिदिने स्थिति छ । ठ्याक्कै त्यस्तै, जेनजीप्रति टिप्पणी गर्नेहरू अधिकांशले जेनजीको उमेर समूह नै थाहा नपाई बोल्ने गरेको मैले पाएको छु ।
‘जेनजी ले राजतन्त्र भोग्नु नपरेर राजा माग्दैछन्, यिनलाई के थाहा राजाको दुःख’ भनेर एउटा समग्र उमेर समूहलाई नै सामान्यीकरण गरिदिने, उनीहरूको विचार र अनुभूतिलाई इन्कार गरिदिने प्रवृत्ति विद्वान राजनीतिक विश्लेषक, विचारक, बौद्धिक वर्ग र लेखक पत्रकारहरूमा समेत व्याप्त छ ।
तर, वास्तवमा राजा खोज्ने को हो ? गत चैत १४ गते राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले पत्रकार सम्मेलन गरेको थियो । त्यस सम्मेलनको एउटा तस्वीर सञ्चारमाध्यममा प्रकाशित भयो । जगमान गुरुङ, प्रकाशचन्द्र लोहनी, नवराज सुवेदी, दुर्गा प्रसाईं र धवल शमशेर राणा लगायतका मानिसहरू हात समाएर उभिइरहेका छन् । यहाँ सबैभन्दा कम उमेरका दुर्गा प्रसाईं रहेछन् । उनी पनि ५० कटेका । बाँकी सबै नेपालको आधिकारिक परिभाषाअनुसार ज्येष्ठ नागरिक भइसकेकाहरू । मञ्चमा एकजना पनि जेनजी छैनन् ।
मञ्चमा नदेखिएको अर्को समूहमा महिला पनि पर्छन् । ज्येष्ठता र लिङ्गको आधारमा केवल पुरुषले राज्यसत्ता चलाउने जहाँनिया शासनको पक्षपोषण गर्नेहरूले महिलालाई समावेश नगराउनु त्यति नौलो कुरा त होइन । तर त्यो तस्वीरले राजा बोलाइरहेको को हो भन्ने चाहिँ स्पष्ट देखिन्छ । तसर्थ, राजालाई लडाउने जेनजी होइनन्, पुरुष बुमरहरू हुन् ।
सन् १९४६ देखि १९६४ सम्म जन्मिएका मानिसको पुस्तालाई बुमर भनिन्छ । त्यो पनि सबै बुमर होइनन्, राज्य संरचनाको उपल्लो तहमा रहेर पटकपटक लाभ लिइसकेका बुमरहरू । उनै बुमरहरूको नोस्टाल्जियाबाहेक यो राजावादी आन्दोलनको अरु कुनै तुक देखिँदैन ।
जेनजी के चाहन्छ ?
एक्काइसौँ शताब्दीमा जेनजीका लागि सार्वभौम नागरिक हुने कि रैती भन्ने बहस नै निरर्थक छ । तर यहाँ दलको रैती हुने कि राजाको हुने भन्ने बहस चलिरहेको छ । विश्व सन् २०२५ मा हुँदै गर्दा हामी २०८२ मै पुग्न लागिसक्यौँ तर हाम्रो बहसको बाटो १८८२ तिर पुग्नु दुःखद् कुरा हो ।
म आफैँ जेनजीको प्रतिनिधि भएको नाताले के भन्न सक्छु भने, यो देशले हामीलाई चिनेकै छैन । देशका राजनीतिक विचारक र विश्लेषकहरूले बुझेका छैनन् । जेबी टुहुरेको ‘आमा दिदीबहिनी हो’ नगाए पनि आजका जेनजीको मुखमा बियोन्सेको ‘रन दि वर्ल्ड’ झुण्डिएको हुन्छ ।
महिला सशक्तीकरण र उत्थानका लागि बोल्ने तरिकामा बदलाव आएको छ । भाषामा बदलाव आएको छ । अधिकारका नाराहरू झन् शक्तिशाली हुँदै गएका छन् । बुमरले बोल्ने भाषा जेनजीले बोलेनन् भन्दैमा उनीहरूले राजा खोजे भन्दिनु लजिकल फेलेसी हो ।
जेनजीले भैरव अर्याल नपढे पनि कुणाल कामरा र वरुण ग्रोभर छुटाउँदैनन् । हाँस्य व्यङ्ग्यको भाषा, तरिका, शैली सबैमा आमूल परिवर्तन आइसक्यो । राजनीतिक नेतालाई व्यङ्ग्य गर्नु सबैभन्दा खतरनाक काम बनिसक्यो । दशकौँसम्म राज्यसत्तामा कब्जा जमाएर बसेका नेताहरूका विरुद्धमा अनेक आर्ट फर्म प्रयोग गरेर जसरी कामरा र ग्रोभर लडिरहेका छन्, त्यसबाट हाम्रो देशका जेनजीले पक्कै प्रेरणा लिएका छन् ।
फेरि सबै जेनजीले टुहुरे वा अर्याल सुन्दैनन्, पढ्दैनन् भनेर सामान्यीकरण गर्न खोजेको पटक्कै होइन । देशका सर्जक नपढेर विदेशी कला-साहित्य सुन्नु/हेर्नु गर्वको विषय हो भन्ने दाबी पनि होइन । केवल यति हो – जेनजीलाई कम आक्ने गल्ती राज्यको मूलधारबाट भइरहेको छ । नागरिक समाज र सञ्चारमाध्यमबाट पनि भइरहेको छ ।
जेनजीको राजनीतिक चेतनामा पटक्कै कमी छैन । होला, हामीले राजतन्त्रको त्रासदीपूर्ण समय सचेततापूर्वक भोगेनौँ । पञ्चायतको कहालीलाग्दो निस्सासिने अवधि अनुभव गर्न पाएनौँ । तर हामीले बुझेका छौँ, स्वतन्त्र हुनु र दास हुनुको फरक । हाम्रो आवाज र अभिव्यक्तिको महत्त्व । जेनजीले राजतन्त्रलाई फेन्टसाइज गरिरहेका छैनन्, कहीँकतै एकाध उदाहरण देखाएर सामान्यीकरण गरिएको मात्रै छ ।
यो देशको सबैभन्दा बढी चिन्ता कसैलाई छ भने त्यो लगभग एक तिहाइ जनसङ्ख्या भएको जेनजीलाई नै छ । यथास्थितिबाट सबैभन्दा बढी कोही पिल्सिएको छ भने जेनजी पिल्सिएको छ । देशको अवस्था सुधार नहुँदा कसैको भविष्य बिग्रिन्छ भने जेनजी कै बिग्रिन्छ । त्यसैले जेनजी परिवर्तन चाहन्छ ।
त्यसो भए जेनजी के चाहन्छ त ? यथास्थिति ? पक्कै होइन ।२०७८ सालको जनगणनाअनुसार करिब ३० प्रतिशत जनसङ्ख्या जेनजीको रहेको छ । यो देशको सबैभन्दा बढी चिन्ता कसैलाई छ भने त्यो लगभग एक तिहाइ जनसङ्ख्या भएको जेनजीलाई नै छ । यथास्थितिबाट सबैभन्दा बढी कोही पिल्सिएको छ भने जेनजी पिल्सिएको छ । देशको अवस्था सुधार नहुँदा कसैको भविष्य बिग्रिन्छ भने जेनजी कै बिग्रिन्छ । त्यसैले जेनजी परिवर्तन चाहन्छ । यसमा दुई मत छैन ।
कस्तो परिवर्तन ? एकातिर फ्याँकिसकेको पुरातन जहाँनिया राजतन्त्रात्मक शासन ब्युँताउने बहस छ । त्यो पनि परिवर्तन नै हो । अर्कातिर नागरिकमा निहीत सार्वभौमसत्ता र प्रजातान्त्रिक व्यवस्था अनुरूप सुदृढ लोकतान्त्रिक गणतन्त्र निर्माण गर्ने बहस छ । परिवर्तनका नाममा पश्चगमन र अग्रगमनबीचको छनोट जेनजीलाई दूध-भात खाएजस्तै सहज छ । पात्र खराब भएका हुन्, व्यवस्था होइन भन्ने हामीले बुझेका छौँ ।
राजनीतिक नेतृत्वले हामीलाई लोकतान्त्रिक गणतन्त्रको सपना बेचे । तर उनीहरू कत्तिको लोकतान्त्रिक अभ्यास गरिरहेका छन् ? राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्रको स्थिति कस्तो छ ? राजाले मूर्ति चोरे भन्नेहरूले सुन तस्करी र स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गरिरहनु हाम्रा लागि कत्तिको सह्य कुरा हो ?
राज्यस्रोतको दोहन गर्ने ठाउँमा शाहवंशीय राजा हुनु र शताब्दिऔँसम्म राज्य निकट रहेर सँगै दोहन गरेका उच्चजातीय पुरुषहरू हुनुमा के फरक रहन्छ ? हामी यी लगायत यस्तै तमाम प्रश्नहरूको उत्तर खोजिरहेका छौँ । अहिलेको राजनीतिक नेतृत्वलाई नट अगेन भन्दै गर्दा जहाँनिया शासनलाई त नेभर अगेन भनिरहेका छौँ । लोकतन्त्रको विकल्प सधैँ उन्नत लोकतन्त्र नै हो, निरंकुशता होइन ।
पछारिएको राज्यमा जेनजीको भूमिका
तीनकुनेमा राजावादीले राजालाई पछारिदिए भन्दै गर्दा राजाभन्दा जोडसँग प्रजातान्त्रिक राज्य पछारिएको तथ्यसमेत जेनजीले याद गर्नुपर्छ । बढीमा ३-४ हजार मानिस भेला भएको नि:शस्त्र शान्तिपूर्ण प्रदर्शनमा अत्यधिक बल प्रयोग गरेर र आन्दोलनमा सहभागी नै नभएका पैदलयात्रुमाथि गोली प्रहार गरेर यो राज्यले आफ्नो अप्रजातान्त्रिक चरित्र देखाएको छ । राज्य नै संलग्न भएर गरेको मानवअधिकार हननको नैतिक जिम्मेवारी गृहमन्त्री र प्रधानमन्त्रीले लिनुपर्छ ।
आगजनी, लुटपाट र भौतिक विध्वंसको जवाफदेहिता हामीले राजा ज्ञानेन्द्रसँग खोजिरहँदा गोली लागेर मारिएका सविन महर्जनको जवाफदेहिता प्रधानमन्त्री केपी शर्मा ओलीसँग खोज्नुपर्छ ।
आन्दोलनमा सहभागी नै नभएका रेविका र दिनेशलाई गोली हानेर मृत्युसँग जुध्ने स्थितिमा पुर्याएको जिम्मेवारी गृहमन्त्री रमेश लेखक र सरकार प्रमुख ओलीले लिनुपर्छ । मृत्युवापत १० लाख रुपैयाँ र घाइतेलाई नि:शुल्क उपचार प्रदान गर्दैमा राज्यको लापरबाही र हेल्चेक्र्याइँ स्वीकार्य हुनै सक्दैन । यसमा राज्यलाई खबरदारी गर्ने र प्रजातन्त्र बचाउने सबैभन्दा ठूलो जिम्मेवारी जेनजीकै हो ।
बुमरको एउटा समूह राजसंस्थाको प्रेत ब्युँताउन खोजिरहँदा अर्को समूह राज्यको दमन देखेको नदेख्यै गरिरहेको छ । शीर्ष तीन राजनीतिक नेता ओली, देउवा र प्रचण्डले शासन गरिरहँदा नेपाल रामराज्य नै भइसक्यो भन्ने न्यारेटिभ बनाउन व्यस्त छ ।
बुमरको यो दोस्रो समूह प्रजातन्त्रका लागि झन् घातक छ । प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दा यसले समग्र व्यवस्थामाथि प्रश्न गर्ने भन्दै चुप लगाउँछ । शीर्ष नेताहरूको आलोचना गर्दा राजतन्त्र झन् खराब थियो भन्दै बचाउ गर्छ । यी दुईतिर फर्किएका उग्रवादी बुमरहरूको बीचबाट जेनजीलाई आफ्नो वर्तमान र देशको भविष्य खोज्ने जिम्मेवारी आएको छ ।
मात्तिएका शीर्ष तीन
नेपाली राजनीतिका शीर्ष तीन नेताहरू मात्तिएको बहानामा राजावादीले राजा बोलाउन पाएका छन् । यिनीहरूको मत्याइँले सभ्य समाजको सबै हद पार गरिसकेको छ । विध्वंसक हात्तीहरूले समाचार हेर्थे भने सायद दङ्ग पर्दा हुन्, हामीलाई उछिन्ने कोही त रहेछ भनेर । यिनीहरूकै कारण लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो भन्नु पनि क्लिसे भइसक्यो । लोकतन्त्र भन्ने बित्तिकै मानिसको दिमागमा मात्तिएका शीर्ष तीनको अनुहार आउन थालेपछि यसै दिगमिग लागिहाल्छ ।
अहिलेको राजावादी विध्वंसपछि सबैभन्दा प्रतिक्रियात्मक कोही देखियो भने प्रधानमन्त्री ओली नै हुन् । जेनजी जन्मिन नै नथाली गृहमन्त्री बनेका ओली यो उमेर समूहका केही बालबालिका स्कुल जान थाल्दै गर्दा आफ्नो स्वतन्त्र राजनीतिक जीवनको सबैभन्दा कठिन मोडमा थिए ।
पहिलो संविधानसभाको चुनावमा माओवादीका विश्वदीप लिङ्देन ‘सुरेश’सँग पराजित भएपछि ओली केही वर्षसम्म शक्तिहीन रहे । स्वास्थ्य समस्याका शारीरिक रूपमा समेत कमजोर बनेका ओलीप्रति उनकै निर्वाचन क्षेत्रका मानिससमेत ६० को दशकमा आशावादी थिएनन् ।
आफू बुझ्ने हुँदै गर्दा त्यति कठिन परिस्थिति भोगेका ओलीप्रति उनको पहिलो प्रधानमन्त्रीकालमा जेनजीलगायत समग्र युवा पुस्ताको साथ र सहानुभूति थियो । पार्टीकै संस्थापनका विरुद्ध लामो विद्रोह गरेर नेतृत्व हत्याएका उनी नेपाली समाजका नयाँ नायकझैँ थिए ।

तत्कालीन समाजले उनीप्रति निर्मम प्रश्नहरू गरेन । उनको नियत र क्षमतामा शङ्काको सुविधा दियो । राष्ट्रवादी छवि र तीक्ष्ण वाकपटुताले उनको चर्चा र लोकप्रियता झनै चुलियो । तर जब ओली राजनीतिक रूपमा शक्तिशाली बन्दै गए, उनी मात्तिँदै गए ।
मात्तिएका नेताहरूले हामीलाई स्युडो (छद्म) लोकतन्त्रमा भुलाइरहेका छन् । तर अहिलेका नेताहरू जति नै असक्षम भए पनि लोकतन्त्रको विकल्प त उन्नत लोकतन्त्र नै हो भन्ने हामीलाई थाहा छ ।
२०६४ सालको पहिलो संविधानसभापछिका सबै चुनावमा उनले जिते । पार्टी अध्यक्ष बने । पटकपटक प्रधानमन्त्री भए । उनी विद्रोही र कमजोर भएका कारण जाग्ने सहानुभूति र करुणा पनि सकिँदै गयो । आज उनी निर्धा छैनन्, सबैभन्दा बलिया भएका छन् ।
राजावादीले राजा बोलाएको ३ दिनपछि प्रधानमन्त्री ओलीको पार्टीले राजा भगाउन मोटरसाइकल र्याली गर्यो । राजधानीको व्यस्त सडकको तीनकुने खण्डमा सोमबारका दिन उच्च चाप हुने समय (पिक आवर) मा घण्टौँसम्म सवारी आवागमन अस्तव्यस्त बन्यो ।
२०७६ सालको नयाँ वर्षमा त्यतिबेला पनि प्रधानमन्त्री नै रहेका ओलीले विपक्षीहरूको जमघटलाई ‘विभिन्न आकारप्रकारका नन्दी, भृङ्गी भेला भएछन्’ भनेर टिप्पणी गरेका थिए । १८ चैत २०८१ को र्यालीमा प्रधानमन्त्री ओली अध्यक्ष रहेका एमालेका कार्यकर्ताको नाच देखाउनका लागि नागरिक र यात्रुलाई यातना दिइयो ।
आज ओली नमात्तिएका भए संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सार्वभौम नेपाली नागरिकबाट मत पाएर जननिर्वाचित प्रधानमन्त्रीले आफ्नो दलको नेतृत्वमा शक्तिहीन राजा र भागिसकेर फरार रहेका जनकमान्डरका विरुद्ध शक्ति देखाउनुपर्ने आवश्यकता किन आउँथ्यो ? त्यसकै परिणामस्वरूप नागरिकको अमूल्य समय तीनकुनेमै रोकिदिने दुस्साहस कहाँबाट आउँछ ? लोकतन्त्रमा नागरिकलाई दुःख दिएर कुन नैतिकताले यही व्यवस्था ठिक, हामी नेताहरू नै ठिक भनेर सिद्ध गर्न लाग्दैछन् ? उनै जानून् ।
हामीले यिनलाई विस्थापन गर्न अत्यन्त ढिला भइसक्यो भन्दै गर्दा बिर्सन नहुने अर्को तथ्य के हो भने, मात्तिएका ओली मात्रै होइनन्, न त शीर्ष तीन मात्रै पनि हुन् । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भन्दै चिच्याएर स्वघोषित सहप्रधानमन्त्री सोसरह हैसियतमा रहेर डेलिभरी दिन नसकेका ५० कटेका युवा नेताहरू पनि मात्तिएका छन् ।
शक्तिका भोका उच्चजातीय पुरुषहरूले स्वयं आफैँलाई विकल्प घोषणा गरिहिँडेको देखेर पनि जेनजी अघाउन थालिसके ।
राजा नआऊ, देश हामी बचाउँछौँ
केही महिनाअघि टेस्टेड एन्ड फेल्ड (पटकपटक परीक्षण भएर असफल भइसकेका) नेताहरूले किन चुनाव जितिरहेका छन् भनेर समान उमेर समूहका केही साथीहरू गफिइरहेका थियौँ । सहभागी एकजनाले ‘त्यसोभए तिनको विकल्प के त ?’ भन्ने प्रश्न राखे । अर्का सहभागीको प्रतिप्रश्न थियो, ‘हामी हाम्रो शरीरको कुनै अङ्गमा ट्युमर पलायो भने शल्यक्रिया गरेर त्यो फ्याँक्छौँ कि त्यसको विकल्प नपाउन्जेल त्यही राख्ने भनेर जिद्दी गर्छौँ ?’ ।
प्रजातान्त्रिक आन्दोलनदेखि संविधान निर्माणसम्म उल्लेखनीय योगदान दिएका नेताहरूप्रति यति टिप्पणी गर्ने हिम्मत र हैसियत जेनजीसँग छ । तर उनीहरूलाई यो पनि थाहा छ कि- अहिलेको राजनीतिक नेतृत्वको सट्टा राजा खोज्नु चाहिँ ट्युमरको विकल्पमा क्यान्सर नै चाहियो भनेर अड्डी कस्नु जस्तै हो ।
अन्त्यमा, हामी बियोन्से र कामरा मात्रै होइन, हाम्रै देशका नारायण गोपाल, वर्तिका र ऋषभ काफ्ले पनि सुन्छौँ । ऋषभको राजनीतिक सटायर गर्न पाउने अधिकार लोकतान्त्रिक गणतन्त्रमै खतरामा छ । जोक गरेकै आधारमा प्रनेश र अपूर्वहरू जेल परिरहेका छन् । साजनहरू त्रसित भएर बाँचिरहेका छन् ।
मात्तिएका नेताहरूले हामीलाई स्युडो (छद्म) लोकतन्त्रमा भुलाइरहेका छन् । तर अहिलेका नेताहरू जति नै असक्षम भए पनि लोकतन्त्रको विकल्प त उन्नत लोकतन्त्र नै हो भन्ने हामीलाई थाहा छ ।
अहिलेको राजनीतिक नेतृत्वको सट्टा राजा खोज्नु चाहिँ ट्युमरको विकल्पमा क्यान्सर नै चाहियो भनेर अड्डी कस्नु जस्तै हो ।
विकल्प हौँ भन्दै घोषणा गरेर बीसौँ वर्षसम्म परीक्षण भइसकेर पनि डेलिभरी दिन नसकेका युवा नेताहरूबारे यतिबेला प्रश्नहरु छन् । हामीले फ्याँक्नुपर्ने ट्युमर नेतातन्त्र हो । रोक्नुपर्ने क्यान्सर जहानियाँ शासन हो । हामीले आफ्नो सार्वभौम सत्ता र सम्प्रभूताको निर्णय आफैँले गर्नुपर्छ ।
जनसङ्ख्याको लगभग एक तिहाइ हिस्सा ओगटेको पुस्ताले अबको अग्रगमन र समावेशी विकासको नेतृत्व गर्नुपर्छ । कोही मसिहा आएर सबैलाई बचाउँछ भन्ने सेभियर कम्प्लेक्स अब आउट डेटेड भइसक्यो ।