जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न



मेरो पहिलो भोट शृङ्खला–१

उनीहरू भोट हाल्न उत्साहित छन् तर संशय पनि उत्तिकै छ । निराशाको बादल हटेको छैन तर कालो बादलमा पनि चाँदीको घेरा देखिरहेका छन् । आशा र भरोसाको दोसाँधमा देखिए, उनीहरू ।

चुनाव त हुन्छ नि ?

मिति नजिकिँदो छ तर चुनाव हुन्छ/हुन्न भन्ने प्रश्न आइरहन्छ ।

अब नहुने त कुरै छैन, मात्र फागुन २१ को प्रतीक्षा हो ।

त्यसो हो भने, ‘चुनावको नतिजा कस्तो आउला ? यस पटक कस्तो उम्मेदवारलाई भोट दिने ?,’ त्रिवि, विश्वविद्यालय क्याम्पसको प्राङ्गणमा विद्यार्थीको एउटा समूह उत्सुकतासहित विमर्श गरिरहेको थियो ।

उनीहरूले आ–आफ्नो मत राखे ।

तर, धेरै वादविवाद गर्न चाहेनन् ।

‘२१ फागुनमा नतिजा आइहाल्छ नि,’ यो समूह कक्षा कोठामा प्रवेश गर्‍यो ।

प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा चिया, चौतारा, क्याम्पस, सामाजिक सञ्जाल चुनावमय बनेको छ । आफ्ना विचार मत–अभिमत प्रकट गरिरहेका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा चुनाव हुँदैछ ।

यस पटक धेरै युवा पहिलो पटक मत जाहेर गर्न आतुर छन् । तर नयाँ पुस्ताले कस्तो उम्मेदवार खोजिरहेका छन् ? के भयो भने देशमै बस्ने अवस्था बन्छ ? पुस्तान्तरण र हस्तान्तरणबारेको चेत के छ ? पहिलो पटक भोट दिन आतुर युवाको मन र मस्तिष्कमा के खेलिरहेको छ ?

यही उत्सुकताले हामीलाई पनि विश्वविद्यालयको मुकाममा पुर्‍यायो ।

केन्द्रीय क्याम्पसको प्राङ्गणमा पारिलो घाम ताप्दै कोही आफ्नो करिअरको सुन्दर सपना बुनेर लोकसेवाको तयारीमा छन् । कोही ग्रुप–ग्रुप बनेर अखबार र सामाजिक सञ्जालमा आएको चुनावी खबरबारे टीकाटिप्पणी गरिरहेका छन् ।

यो दृश्यले देखाउँछ, चुनावले देशलाई छपक्कै छोपेको छ ।

एउटा विद्यार्थीको समूह घडी घरअघि भेटियो । बोल्नका लागि प्रस्ताव गर्यौं । कति बोल्न तयार भए, कतिपयले आनाकानी गरे । ८ जना युवाको एउटा टोली भने आफ्नो मत राख्न तयार भयो । पहिलो पटक भोट हाल्न उनीहरू आतुर पनि देखिए । तर केहीले भने फरक मत राखे ।

भोट हाल्न उत्साहित छन् युवा

‘कस्तो उम्मेदवारलाई भोट गर्न चाहनुहुन्छ ?,’ सबैलाई एउटै प्रश्न राख्यौं ।

उनीहरूका उत्तर भने भूगोलअनुसार फरक–फरक छ । फरक–फरक भूगोलबाट आएका विद्यार्थी त्रिविमा एकै ठाउँमा भेटिन्छन् ।

तीमध्येका एक हुन् डोटीका योगेन्द्र भट्ट । पहिलो पटक मत हाल्न उत्साहित देखिएका भट्ट आधारभूत आवश्यकताको सुनिश्चितता, शिक्षा, प्रविधि र पूर्वाधारमा स्पष्ट दिशा दिने उम्मेदवार हुनुपर्ने तर्क प्रस्तुत गर्छन् ।

यस पटक मत दिँदैमा कायापलट हुन्छ भन्ने विश्वास उनलाई छैन । तर सुधारको आशा भने राख्छन् ।

जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

‘अबको पाँच वर्षमै सबै परिवर्तन हुन्छ भन्नु मुर्खता हो । तर जेनजी आन्दोलनले गलतलाई नियन्त्रण गर्न सकिन्छ भन्ने प्रमाण दिएको छ,’ उनले भने ।

डडेलधुराका परमानन्द जोशी उम्मेदवारमा विज्ञता र दूरदृष्टि भएको ‘भिजनरी’ उम्मेदवार चाहन्छन् । ‘जुन क्षेत्रबाट उठ्ने हो त्यो क्षेत्रको बारेमा बुझेको हुनुपर्छ,’ उनले भने ।

बदलिँदो परिवेश अनुसारको उम्मेदवार जेनजीले चाहेका छन् । अछामका मकर खड्का पुरानो नेताभन्दा फरक उम्मेदवार खोजिरहेका छन् । ‘पहिलाको जस्तो उम्मेदवार हुनु भएन । नयाँ सोच हुनुपर्‍यो,’ खड्काले भने ।

अछामकै वीरेन्द्र खड्काले यस पटक ‘भोटर कार्ड’ बनाएका हुन् । ‘देशमा राम्रो विकास गर्ने, शिक्षा र रोजगारीको अवसर दिने उम्मेदवारलाई भोट दिने सोचिरहेको छु,’ उनले भने ।

घोषणापत्र हेरेर भोट

‘अनुहार होइन, एजेन्डा । भाषण होइन, घोषणापत्र,’ यही मनस्थितिमा छन् पहिलो पटक भोट दिन लागेका जेनजी । सुर्खेतकी मिनाक्षी कँडेल भाषण होइन, व्यवहारमा काम गर्ने उम्मेदवार हेरिरहेकी छिन् ।

तर, भोट दिन उत्साहित भए पनि उनले खोजे जस्तो उम्मेदवार भेटेकी छैनन् । अब घोषणापत्रको आधारमा मत दिने योजनामा छिन् । दलहरू अझै नसुध्रिएको आभास गर्छिन् उनी ।

‘मत केन्द्रसम्म पुगेर पनि मत नहाल्ने अवस्था नआओस् । नयाँलाई अगाडि सार्नुपर्छ,’ उनले भनिन्, ‘मेरो क्षेत्रमा पुरानै नेता उम्मेदवार भएर आउनुभएको छ । अब घोषणापत्र अध्ययन गरेर मात्र भोट हाल्ने हो ।’

जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

बझाङका विष्णु विष्ट पनि मिनाक्षीको तर्कमा सहमत हुन्छन् । दल र उम्मेदवारको घोषणापत्रलाई विश्लेषण गरेर मत दिने योजना उनको छ । ‘उम्मेदवार जनतासँग बोल्नुपर्यो । घोषणापत्र ल्याउनुपर्यो । स्ट्रेन्थ विकनेस, थ्रेट हेर्नुपर्‍यो । अनि मात्र भोट दिने हो,’ उनले भने, ‘बोली र कागजमा होइन, कार्यान्वयन गर्ने ‘मेनिफेस्टो’ ल्याउनेलाई भोट दिने हो ।’

सुशीला रावत पनि मानिसका आधरभूत आवश्यकताका लागि पहल गर्ने प्रतिनिधि हुनुपर्ने धारणा राख्छिन् । ‘मत हाल्न उत्साहित छु । तर उम्मेदवारले युवा विदेशिनु नपर्ने एजेन्डा ल्याउनुपर्‍यो । पढाइसँगै काम पनि गर्न पाइयोस् । त्यस्तो एजेन्डा ल्याउनेलाई मत दिने हो,’ उनले भनिन् ।

बैतडीका अशोक बोहरा प्रतिनिधि पार्टीभन्दा माथि उठेर काम गर्ने हुनुपर्ने निचोड निकाल्छन् । ‘जिल्लाको शिक्षा, स्वास्थ्य, यातायात क्षेत्रको समस्या समाधानका लागि कानुन बनाउन सक्ने हुनुपर्छ,’ उनले भने ।

सुशासन र भ्रष्टाचार अन्त्यको एजेन्डा

देश समृद्ध नहुनुको कारण भ्रष्टाचार रहेको निचोड उनीहरूको छ । त्यसैले त भदौमा जेनजी आन्दोलन भयो । सडकमा युवाको आक्रोश र रगत पोखियो । आन्दोलनको म्यान्डेटअनुसार सुशासन र भ्रष्टाचार अन्त्यको एजेन्डा उम्मेदवारसँग खोजेका छन् उनीहरूले ।

अब पुरानै शैली नदोहोरिने विश्वास उनीहरूको छ ।

‘न्यायपालिका स्वतन्त्र हुन सके भ्रष्टाचार नियन्त्रण सम्भव हुन्छ,’ भट्टले थपे, ‘यदि फेरि पनि पुरानै शैली, पुरानै मतपत्र कुल्चिने राजनीति दोहोरियो भने नेपालमा सम्भावना नै रहँदैन ।’

नेतृत्व हस्तान्तरण

युवा हरेक परिवर्तनको संवाहक बने । तर त्यो परिवर्तनले उनीहरूलाई कहिल्यै छोएन । त्यसैले यस पटक नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस चल्यो, चलिरहेको छ । यो बहस त्रिविको प्राङ्गणमा पनि चल्यो ।

अधिकांश युवाको चाहना नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्नेमा छ । तर कतिपयले भने फरक मत पनि प्रस्तुत गरे । उमेरभन्दा पनि सोचमा परिवर्तन हुनुपर्ने आवाज पनि गुञ्जियो ।

‘८०–८५ वर्षमा पनि नेतृत्व क्षमता हुनसक्छ । मुख्य कुरा नेतृत्वले देशलाई कुन दिशामा लैजान सक्छ भन्ने हो,’ भट्टले भने ।

बोहरा पनि भट्टको तर्कमा सहमत हुन्छन् । ‘पुस्तान्तरण भनेको उमेरको होइन सोचको हुनुपर्छ,’ उनले भने, ‘नयाँ पार्टी आएका छन् तर नयाँमा पनि पुरानै नेता छन् ।’

जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

गणतन्त्रसम्म आइपुग्दा भएका आन्दोलनको नेतृत्व उनै पुराना नेताले गरे । उनीहरूलाई सम्मानका साथ अभिभावक बनाएर राख्नुपर्ने मत पनि आयो । र, अब देशको अवस्था सुधार्न विकास र समृद्धिका लागि नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने स्वर उनीहरूको छ ।

‘पुरानोलाई विस्थापन होइन, सल्लाहकार बनाउने हो । ज्ञान अर्को पुस्तामा सार्ने संस्कारको विकास हुनुपर्छ,’ जोशीले भने ।

वीरेन्द्र भने हस्तान्तरणको पक्षमा उभिए । ‘जुनसुकै पार्टीको भए पनि नयाँमा हस्तान्तरण हुनुपर्‍यो,’ उनले भने । मिनाक्षी पनि नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा अडिग देखिइन् ।

‘दलहरूले नयाँ पुस्तालाई हस्तान्तरण गरेर नयाँ राम्रो उम्मेदवार दिनुपर्छ,’ उनले भनिन्, ‘मेरो क्षेत्रमा यस पटक पनि पुरानै नेता उठ्नुभएको छ । नयाँ उम्मेदवार आएको भए थप उत्साह हुने थियो ।’

अब युवा–विद्यार्थी विदेशिनु नपरोस्

यी त प्रतिनिधि आवाज मात्र हुन् । अधिकांश युवा–विद्यार्थीको लगभग साझा धारणा छ । उनीहरूको ठूला–ठूला माग र मुद्दा पनि छैनन् । दैनिक जनजीविकासँग जोडिएका र यही देशमा काम गरेर परिवारसँग बस्ने वातवरण खोजिरहेका छन् ।

तर, युवा–विद्यार्थी विदेश पलायनको ग्राफ उकालो लाग्दो छ । विश्वविद्यालयको कक्षा कोठा खाली हुने अवस्था छ । त्रिभुवन विश्वविद्यालय जानुपर्ने विद्यार्थी त्रिभुवन विमानस्थलबाट उडान भरिरहेका छन् । देशबाट विद्यार्थी मात्र होइन, वार्षिक अर्बौं रकम पनि उडिरहेको छ । त्यो सँगै ज्ञान, सिप र जनशक्ति पनि बाहिरिएको छ ।

सबै विश्वविद्यालयमा गरेर उच्चशिक्षामा अध्ययनरत कूल ६ लाख ३३ हजार ५३ विद्यार्थीमध्ये ४ लाख ९१ हजार २९९ जना विद्यार्थी त्रिविमा अध्ययनरत छन् । धेरैजसो विद्यार्थी विदेश उडिरहेका छन् ।

जेनजीको पहिलो भोट, निराशालाई आशामा बदल्न

शिक्षा मन्त्रालयका अनुसार विद्यार्थीले वर्षेनी १ लाख २० हजार बढीको संख्यामा अध्ययन अनुमतिपत्र एनओसी लिइरहेका छन् । यो डरलाग्दो दृश्यको अन्त्य चाहन्छन् उनीहरू । यसलाई सम्बोधन गर्ने प्रतिनिधि युवाले पर्खिरहेका छन् ।

‘अबको चुनावबाट हामीले खोजेको र रोजेको प्रतिनिधि पाउँछौं भन्ने आशा छ । देशमा समृद्धिका रेखाहरू कोरिने र युवा पलायनको ढोका बन्द हुने विश्वास लिएका छौँ,’ विमर्शबाट उनीहरूले साझा धारणा निकाले ।

उनीहरूले फेरि देशमा युवाले रगत बगाउनु नपरोस् भनेर कामना पनि गरे । अन्त्यमा उनीहरूले एकै स्वरमा भने, ‘मेरो पहिलो भोट, निराशालाई आशामा बदल्न हो । सडकमा फेरि आक्रोश र रगत नबगोस् । देशमै बस्ने वातावरण बनोस् ।’

तस्वीर-भिडियो : शंकर गिरी/कमल प्रसाईं अनलाइनखबर





Source link

Leave a Comment