प्रकाशित मिति : माघ १६, २०८१ बुधबार
जापानमा सन् २०२४ मा विद्यालय स्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ ।
मन्त्रालयका अनुसार सन् २०२३ मा ५१३ जना विद्यार्थीले आत्महत्या गरेकोमा सन् २०२४ मा यो सङ्ख्या ५२७ पुगेको थियो ।
यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या बीस वर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो ।
जापानमा आत्महत्या गर्ने २० वर्षभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या भने सन् २०२३ मा ८१० जना रहेकामा सन् २०२४ मा घटेर ८०० जनामा झरेको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
“हामी यसलाई गम्भीरतापूर्वक लिन्छौँ,’ जापानको मन्त्री परिषद्का सहायक मुख्य सचिव केइचिरो टाचिबानाले नियमित पत्रकार सम्मेलनमा भने ।
उनले भने, “बालबालिकाको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न र कसैलाई पनि आफ्नो ज्यान लिन दबाब नदिइने समाजलाई साकार पार्न हामी सक्दो प्रयास जारी राख्नेछौँ ।”
स्वास्थ्य मन्त्रालयले थप तथ्याङ्क उपलब्ध भएपछि मार्चमा तथ्याङ्कको विश्लेषण जारी गर्ने अपेक्षा गरिएको थियो।
जापानमा हरेक वर्ष अगस्टको अन्त्यदेखि सेप्टेम्बरको सुरुसम्म हरेक गर्मी यामको बिदाको अन्त्यमा किशोर किशोरीले आत्महत्या गर्ने क्रम बढ्दै गएको छ । यसका कारण सरकार र सञ्चार माध्यमले समस्याहरूसँग सङ्घर्षरत किशोर किशोरीलाई आत्महत्या रोज्नबाट रोक्न सार्वजनिक रूपमा आह्वानलाई बढवा दिएका छन् ।
अधिकांश विद्यार्थीले आत्महत्या गर्नुको वास्तविक कारण भने खुल्न सकेको छैन ।
विगतको विश्लेषणले किशोर किशोरीहरूलाई अध्ययन, बदमासी, सम्बन्ध, क्यारियर छनौट र स्वास्थ्य समस्याहरूसँग सम्बन्धित धेरै दबाबहरूको सामना गरिरहेको देखाएको छ।
सन् २००३ मा जापानमा आत्महत्या गर्ने पुरुषको सङ्ख्या महिलाको भन्दा एक तिहाइले बढी थियो ।
त्यसयता पुरुष आत्महत्या दर घटेको छ यद्यपि, यो अझै पनि महिलाको तुलनामा दोब्बर छ ।
सरकारले सञ्चालन गरेका व्यापक जागरूकता अभियान, मानसिक स्वास्थ्य सेवा र कठोर कार्यस्थल संस्कृति सुधार गर्ने प्रयासलाई पुरुषको आत्महत्या दर नियन्त्रणका लागि श्रेय दिइन्छ ।