जात्राले घेरिएको उपत्यका

जात्राले घेरिएको उपत्यका


संचारैतिर डाँडाले घेरिएकाले काठमाडौं, भक्तपुर र ललितपुरलाई समग्रमा काठमाडौं उपत्यका भनिन्छ। अहिले यी तीनै सहर चारैतिरबाट जात्राले घेरिएका छन्। नयाँ वर्षको पूर्वसन्ध्यादेखि नै जात्रामा रमाउन थालेको यो सहरले २०८१ साललाई नयाँ उत्साह र उमङ्गसाथ स्वागत गर्ने तयारीमा छ।  

तीन सहरमध्ये पनि भक्तपुरलाई अहिले जात्राले छपक्कै छोपेको छ। काठमाडौंको इन्द्रजात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भनेजस्तै भक्तपुर अहिले बिस्का जात्रामा रमाइरहेको छ। प्राचीनताको वैभव जोगाउँदै समृद्धिको बाटोमा लम्केको यो नगरमा मंगलबार बिस्काको रथ तानेसँगै एक साता लामो जात्राको प्रारम्भ भएको हो।  

चैत २७ गते रथ तानेर सुरु भएको बिस्का पर्वसँगै प्राचीन नगरीमा खुसी छरिएको छ। टोलटोलमा नाचगान, घरघरमा छरिएको जात्राको रौनकले नगर झनै जीवन्त देखिएको छ।  जात्राको समयान देखिएको सर्वसाधारणको उल्लासले नगर उत्सवमय छ।  

रथ तान्नेक्रममा सकिनसकी दुवै पक्षबिच डोरी तानातानको दृश्य निकै रमाइलो थियो। आफ्नो पक्षमा रथ लैजाने होडमा दुवै पक्षबिच घम्साघम्सीजस्तो देखिन्थ्यो। अरूका लागि त्यो मुठभेडजस्तो थियो। भक्तपुरवासीका लागि भने जात्रा थियो। रथ जता पुगे पनि उनीहरू खुसी नै हुन्थे।  

अझ चैत मसान्त अर्थात् शुक्रबार भेलुखेलमा लिङ्गो उठाउने क्षण झनै रमाइलो हुन्छ।  शुक्रबार लिङ्गो उठाउँदा होस् वा वैशाख १ गते शनिबार लिङ्गो ढाल्दा, दुवैमा नगरवासीको उत्साह उस्तै देखिन्छ।  जात्रा र जीवनको उमङ्ग यहाँ देखिन्छ।  

संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ भक्तपुरको समग्र जीवन जात्रामय भएको बताउँछन्।  ‘यहाँ बाँचेका र मरेका सबैका लागि जात्रा मनाइन्छ,’ उनले भने, ‘हाँसो र आँसुको सङ्गम बनेको छ भक्तपुरको जात्रा।’ लिच्छवि र मल्लकालमा राजनीति र प्रशासनिक क्षेत्रमा समेत प्रभावशाली रहेको भक्तपुरले समयसँगै यसको प्रभाव गुमाउँदै गए पनि संस्कृति भने जोगाउन सफल भएको उनी सुनाउँछन्।

पछिल्लो समय रथ तान्ने कार्यक्रममा होस् वा बाजा बजाउने काममा,  युवा समुदायको सक्रियता अधिक देखिएको छ। संस्कृति बचाउन युवाहरू अगाडि निस्केका छन्। बिस्केटको रथ तान्नेक्रममा युवासँगै कलिला हातहरूले पनि डोरी समाएका थिए।  सांस्कृतिक जगेर्नामा युवाले हात बढाउने क्रम बढ्दा बुढापाका हर्षित देखिन्थे।

कला संस्कृतिमा उनीहरूको माया यसपटक पनि बिछट्टै देखियो। जात्रालाई भनेर टोलटोलमा धिमे बजाउने अभ्यास गरिएको थियो। रथको डोरी तान्न युवाहरूले  थुप्रै पसिना बगाए। ‘रथको डोरीसँगै युवापिँढीले संस्कृति तानिरहेका छन्,’ श्रेष्ठ सुनाउँछन्, ‘अब जात्राको जिम्मेवारी युवाको काँधमा आएको छ।’  

जात्राको  खास  रङ हर्ने हो भने भक्तपुरकै थिमीमा गए हुन्छ।   वैशाख २ गते  थिमीमा मनाइने सिन्दुरे जात्राले त समग्र जात्राको रङ एकै ठाउँमा पोखिएजस्तो देखाउने छ। सिन्दूर जात्रा अर्थात् सुथः सिया जात्रा केटाकेटीदेखि वृद्धसम्म राताम्मे हुनेछन्। हातमा चिराग लिएका वृद्धहरूले बाटो देखाउँदै अगाडि बढ्दा युवा पिँढी रथलाई काँधमा थामेर नाचगानमा मस्त रहन्छन्।

थिमीमा विभिन्न देवगणको खट बोक्दै सोमबार सिन्दूर जात्रा मनाउँदा सिङ्गो सहर अबिरजस्तै देखिने छ। यहाँका नरनारीको राताम्मे अनुहार हेर्दा भर्खर सकिएको फागु पूर्णिमाको झल्को आउने छ। त्यस्तै वैशाख २ गते नै हुने बोडेको जिब्रो छेड्ने जात्रा पनि निकै लोकप्रिय रहेको छ।  

यहाँ हरेक जात्राले केटाकेटीदेखि वृद्धवृद्धासम्मलाई छोप्छ। यसको उमङ्गमा सबै रमाउँछन्। जात्राको समयमा टोलटोलमा नाचगान, घरघरमा रौनक देखिन्छ। संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः जात्रा भक्तपुरको ढुकढुकी भएकाले जात्रा चलुन्जेल भक्तपुर बाँच्ने सुनाउँछन्। त्यसैले ससाना केटाकेटीदेखि वृद्धवृद्धा सबै जात्रामा उत्साहित हुन्छन्। उनी भन्छन्, ‘यस्तो लाग्छ, जात्राले यहाँका मानिसलाई बाँच्न सिकाएको छ।’

यहाँका जात्रासँग विभिन्न किंवदन्ती र मिथक जोडिएको संस्कृतिविद् ग्वंगः सुनाउँछन्। ‘कतै कथा जोडिएका छन्, कतै इतिहास,’ उनले भने, ‘यहाँको जीवन जात्रासँग जोडिएको छ।’ उनी भक्तपुरमा मनाइने जात्राले थुप्रै सन्देश दिने सुनाउँछन्। बिस्केटको लिङ्गो उठाउने र ढाल्ने प्रक्रियालाई प्रकृति र पुरुष समागमनको अवस्था भएको बताउँछन्। ‘त्यो आकाश र पृथ्वीको मिलनको जात्रा हो,’ उनले भने, ‘त्यसैले लिङ्गो उठाउँदा र ढाल्दा सर्वसाधारण उस्तै रमाउँछन्।’

जात्रा जीवन्त बनाइराख्न यसमा देखिएका कमजोरीलाई हटाउँदै जानुपर्ने कतिपयको बुझाइ छ। जात्राको महŒव बुझाउँदै यसलाई समयअनुसार परिमार्जन गर्दै लैजानुपर्ने उनीहरूको भनाइ छ। ‘जात्राको मौलिकता नगुम्ने गरी यसलाई समयसाक्षेप गर्नु जरुरी छ। यो समयभन्दा पहिला जात्रा मनाउनेलाई जात्राको खास अर्थ बुझाउन आवश्यक छ,’ संस्कृतिविद् ओम धौभडेल भन्छन्।  

जात्राको रौनक उपत्यकाका प्राचीन नेवारवस्तीसँगै काँठ क्षेत्रमा रहेका नेवार बस्तीमा पनि देखिएको छ। विभिन्न ठाउँमा रथसहितका जात्रा निस्कन थालेका छन्। यही अवसरमा अर्को सांस्कृतिक नगरी टोखामा वैशाख १ गते स्वप्न तीर्थ मेला लाग्दैछ। त्यस्तै जयवागेश्गरी क्षेत्रमा विभिन्न रथ यात्रा निस्किरहेका छन्।  ‘समग्रमा यति बेला  उपत्यका जात्रामय छ,’ संस्कृतिविद् ओम धौभडेल भन्छन्, ‘जात्राको रौनकले उपत्यका घेरिएको छ।’

प्रकाशित: १ वैशाख २०८१ १२:१४ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School