जय बोकाराज!

जय बोकाराज!


बोकाराज अर्थात् बोकाको ताण्डवनाच।

बाँदर, सर्प र भालु नचाउने जादुखेला त पुरानै हो। बालकको मुख छोपेर भनेअनुसार रहस्यका कुरा बकाउने या तासका पत्ति फिटेर उल्टोसुल्टो देखाउने जादु पनि देखिआएकै हो तर यो बोकाको ताण्डव भन्ने चाहिँ कुन ड्याङको उटपट्याङ खेला रहेछ भनेर एक छिन भुलभुलैयाको फेला पर्न सक्छौं तपाईं–हामी सबै।

खाण्डव दाहपछि पाण्डवहरूले पनि यो ताण्डव देखे देखेनन् शङ्कै छ। लङ्का पुगेका रामचन्द्रले भने अवश्य देखे हुनन् भन्ने अड्कलसम्म काट्न सकिन्छ।  साँच्चि नै यो अरूभन्दा झनै कडा र चक्मा दिने खालको जादु जो परेछ। उसै त छुस्स दारीमा झुसेबाली फैलिएको टाँगन बिर्साउने सुपर बोको इन्द्रजालीे मास्टर बनेर कतिबेर उफ्रिन्छ, कुद्छ, उवातात्त वात्त गर्दै बाख्रीको पछि लाग्छ, ठेगानै नहुने।

अरू काम नपाएकाले गर्भाधानको सिजन आउनुपर्दैन, सबै सिजन उसका लागि रिजनफुल जो बनिदिन्छ। आङमा लुगा भिर्दैन, मानो कुराका चुचुराले नै उसको लाज छोपिन्छ। यानेकि जो छ सो दिगम्बर भएर या नग्नतामा नै ऊ रमाउँछ।

उता बोकाको दाइँ भन्ने पनि उहिल्यैदेखि सुनिआएकै कुरा हो। असमर्थलाई समर्थवान् बनाएर गरिने राइँदाइँँ भन्ने बुझिन्थ्यो। शब्दसंहितालाई भ्रामक व्याख्याको उझिन्डोमा झुन्ड्याएर फितलो र नचाहिँदो कुराका रूपमा लिने गरिन्थ्यो तर यहाँ त दाइँ मात्र होइन, रजाइँकै बात पो भइरहेको छ। जो प्राणी जन्मजात बैगुनी, गुनिलो, अहङ्कारी, साधु अनि घमन्डी र परोपकारी पनि ठानिन्छ, बहुचरित्रको छत्रिधारी पनि भएकाले उही राजा ? जसलाई आफ्ना भाकल पूरा गर्न बलि चढाएर मार हान्ने गरिन्छ, उही राजा।

बाघको छाला ओडेर स्याल नै जंगलको राजा बन्ने यो देशमा बाख्रीपुत्र बोकाले मात्रै श्रमिक जनको छाला काढेर त्यसैमाथि ढलीमली रजाइँ नगर्नु भन्ने कहाँ चाहिँ लेख्या छ र ? आकाश–पाताल जोरेर फट्याइँका फटकिरी चबाउँदै वातवात मात्रै गर्नुपर्छ ताजा। अनि त बेरै नलाग्ने बन्नलाई पशुवालीको राजा। तब त पछि पनि लागि पो हाल्छन् सुकुमारी पठ्याङ्ग्री ताजा ताजा।

बाख्रीबुढीका सुपुत्र एकाएक पशुराज मात्र होइन, मुसा–छुचुन्द्राका सिकन्दर याने कि सम्राट नै बन्न पुगिसकेपछि त्यो देशको हविगत पनि त एकाएक नसप्रिने त कुरै रहेन। गरिब गुरुवा सर्वहाराको रगतपसिना हाकाहाकी लामो हात गर्नु अर्कै कुरा हो तर जसले जति नै थर्काएर कुरा गरे पनि आफू हजुर लुटपाट ठगीका खतबातमा पर्ने त कुरा नै रहेन।

लामा पाँसुला सधैं लम्किने या कतै लुटलाटमा बोकाज्यूको हात साथ रहेर रंगेहात भेटिए पनि पुलिसज्यूले आफ्ना जब्बर दन्तलहरले माकमुक टोकटाक परेर या अचानोमा राख्तै कम्मरकै खुकुरीले बजाएर त्यस्ता दसी–प्रमाण वा बाधाबन्धनजति छेउटुप्पै छिनाली दिने भएकाले बोका हजुरको साम्राज्य निस्कन्टक रहनेमा अन्टसन्ट सन्देह रहने कुरै भएन।

भारेभुरे बाथकै शैलीमा अरू जति आउट ! केवल उहाँको सस्वर गाना गाउने काम नै राष्ट्रिय अजेन्डा बनेपछि अरू उनाउ सब नाउँबेगरका हन्डा–चिन्डा साबित भइदिँदा बोकाज्यूको छवि पनि ज्यानमा बोसो र पाइन रहेसम्मलाई सधैं क्रिस्टल याने निश्छल, स्वच्छ, सफा र अझ बासनादार रहने कुरालाई कुकुरा सम्झनुपर्ने अवस्था, व्यवस्था अवश्य आउन्न, जोजस्ता बैरीले जेजति गरून् न ध्याउन्न !

उहिले देउता र दानवले आफ्ना देश–प्रदेशमा राज्य गर्थे अरे तर धेरथोर साँध मिच्ने दुब्लालाई तल पारेर बलियाले थिच्नेसम्म त भइरहन्थे। यसअतिरिक्त दानव र देवताहरू अर्काको राज्यमा कूटनीतिको जाल बिछ्याउँथे, आआफ्ना गरिमाको हल्ला मच्चाउँथे। शासक फेरिँदा गडबडी पनि भइरहन्थ्यो।

दानवले सकेजति देवतामाथि जाइलागेर लुटपाट मच्चाउँथे। ऊँट–खच्चरमा लोड गरेर जितको धनमाल अमाल कचहरीबेगर नै आफ्नो राज्यमा भिœयाउँथे। यो मच्चाउने र मच्चिने कुराको नसामा परेपछि सच्चिने कुरा सबै भुलिदिन्थे। आफ्ना पाल्तु घोडा, भैंसी, सुँगुरलगायत जनावर छाडा छोडेर उताको बालीमा हुलिदिन्थे। सबै नियम–विनियम नीति–औकात र साँधसीमा भुलिदिन्थे। अहिले यो बोकाराजमा पनि सोही कुरो लागु हुँदैछ भन्ने सुनिँदैछ।

प्रागैतिहासिक गुफा कन्दरा नगरमा मम्मथ डिनोसारले साम्राज्य चलाउँथे तर अहिले उल्टो सुन्नुप¥यो। मम्मथ डिनोसारहरू आआफ्ना वंशविनाशको प्रलयमारमा परेर बैता लागेपछि कसले खोजखबर गर्ने खै ? जो गए गए, नआउने बाटा लागेपछि इतिहासका घुइरो घुइरो काल्पनिक पात्र मात्र बाँकी रहे। यतिबेर उल्टासुल्टा सबै बात जो हुन थाले। आगन्तुक बोकाले पाउ जमाएर राजपाठ समातेपछि रैथाने भेडाबाख्रा सब जिल्लाराम परे।

कुराको प्रसङ्गलाई सप्रसङ्ग गेडो छोडाएरै भन्नुपर्दा सोझा सन्त जनताले आवाद गरिआएको एकादेशको हिमाली राज्यमा एकाएक नयाँ–नौला बोकाज्यू देखा परे। आगन्तुक बोकाबारे विभिन्न थरी चर्चा विश्लेषण हुन थाले। युरोेप–अमेरिका डुलिभ्याएर फर्किएका विद्वत् जनहरूले नयाँ प्रजातिको देखिने बोकाबारे आआफ्ना उपबुज्रुकीपूर्ण जानिफकारी प्रकट गरे।

थिंकट्यांक भनिने ट्याम्काहरूले पट्याङपुटुङ बजेर औतारी बोकाज्यानको जयघोष गरे। कसैले अनुहारको लक्षणले नै यो मौका पर्दा बटारिएका सिङ निकालेर अरूलाई दबेट्ने साइबेरियन या बबेरियन गोट हो भन्ने अनुमान गरे। कसैले सिङ चाहिँ लामा लामा, ज्यान भने मल्यान्द्रो लाग्ने पानीआन्द्रे इन्डियन गोट भनेर परिलगाए।

कसैले भुत्ला सुँडो हेरेर अलास्काली गोटकै खलक हो भन्ने अठोट लगाए। कसैले अल्लाहका लागि बकर इदमा बलिदान गर्न पालिने अरेबियन बकरीको भाइछोरा भन्ने अनुमान लगाए। अरू अरूले अरू नै अनुमान भजाए र आफ्ना सन्देह भगाए। अप्रत्यासित रूपमा आँगनमा आइपुगेको घोर्ले बोको देखेपछि मान्छेपिच्छेका चर्चा चले, चल्ने नै भए।

अनेक थरीका चर्चा विश्लेषण हुन थालेपछि बोकाज्यूको पनि ह्वात्तै भाउ बढेर हाउगुजी बन्न पुग्यो। कतिले चानचुने बोको नभएर खाटी मेक्सिकन नस्लको बाख्रीपुत्र भन्ने अनुमान गरेर तारिफको पर्चा छरे। कतिले नर्डिक वंशको च्याङ्ग्राको औरस सन्तान भन्ने अनुमान गरे, कतिले युरेसियन गोट फ्यामिलीमा पर्ने विकासे बोको भन्ने अनुमान गरे।

अब यसले देशविदेशबाट सहायता राशि ल्याएर काशीवासको साटो सिधै स्वर्गवासमा उकालिदिन्छ भन्ने आशामा रनभुल्ल परेर भुिलए ज्येष्ठ नागरिक जति। भएभरका बाख्राजतिले बोकाबाट के के न विदेशी सौगात पाएर आफ्नो औकात हलहली बढाउने आशामा पछि लाग्ने निधो गरे।

त्यति मात्रै कहाँ हो र ? भौतिक रूपमै पनि बोकाज्यूको हैसियत साउनका लाब्रे किरा बनेर हलहली बढ्यो। ठाडा रौंमाथि तेर्सा झुस पलाए। अलास्काली भेडालाई उछिनेर लुकाउन र देखाउन मिल्ने बटारिएको लम्बेतान सिङ पनि पुर्पुराकै छेउ पारेर उम्रियो। सहकारी खेती बारीमा सप्रिएको हरियो बन्सो हसुरेर बोसो भरियो।

 आङमाथि बोसोसँगै मासु थुप्रिएर जुरो ठडियो। पुच्छर लम्बियो। अलि दिनपछि फेरि गिनेरीको सेउला खाइसेछ र हो कि मेक्सिकन बोकाकै पाराले जिउ छोटो सिङ लामा देखिएपछि बौलाएर बक बक गर्न पनि थालिसेको थियो।

बोकाज्यूले जादुको शिक्षा पनि उतैतिरबाट लिएर आइसेछ। यो देशमा पदार्पण गर्दै लाब्रे किराको अवतार लिएर केटाकेटी बुढाबुढी अशक्त र लोभीपापी जतिलाई लोभलालचका जालमा पारेर दङ्ग्याइस्यो। रोजा रोजा पठ्याङ्ग्रीहरू कुनै पुच्छरको फेर समातेर पछि लागे, कुनै गर्दनका लामा रौं समातेर हलगोरुको शैलीमा नारिए।

कुनै फिलाका झ्यापुल्ले फेर समातेर जारी खर्च असुल्ने बबाल गर्न थाले। सहकारी खेतीमा जनताले उमारेका पोसिला पालुवा चरेर बोकाज्यूको जिउज्यान पनि ठोक्रे बनेर घोक्रियो। ‘हामी भोका–नाङ्गा मनुवा हजुरकै लागि बलि चढ्न जन्मिएका हौं’ उनीहरू बकपत्र गर्न थालेपछि बोकाज्यूका जुँगामाथि ताउ चडे। उनका छरछिमेकी, अगुवा–पछुवाका भाउ बढे।

सक्नेले जोजसलाई पनि लुट्न पाइने आफ्नै भाषण वर्षाले असिनापानी बिर्साउने गरी जनतालाई चुट्न पाइने के मजाको हो त नि यो बोकाराज्यको संसार पनि ? उत्तरी ध्रुवको भालु बिर्साउने र गुरुत्वाकर्षण थ्योरीलाई मुक्का हानेर भिरालो चट्टान चढ्ने अफ्रिकी गोटलाई समेत माथ गर्दै फट्याइँका विस्फोटनले सबलाई बेहोस पारिदिने शक्ति पलाएछ बोकाज्यूमा। त्यसैले अब सबैले भनौं–जय बोकाराज ! 

प्रकाशित: १९ आश्विन २०८१ ११:४३ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School