प्रकाशित मिति : माघ २५, २०८१ शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि जनवरी २० पछि कुनै नेपालीलाई अमेरिकाबाट देशनिकालाका लागि अमेरिकी अध्यागमन आइसबाट ट्राभल डकुमेन्टको अनुरोध नआएको वासिंटन डिसीमा रहेको नेपाली दूतावास श्रोतले जनाएको छ । देशनिकालामा पर्ने कुनै नेपालीको पासपोर्ट नभएको खण्डमा वा पासपोर्टको म्याद सकिएको खण्डमा अमेरिकी अध्यागमन आइसले दूतावास समक्ष ट्राभल डकुमेन्टका लागि अनुरोध गर्दै आएको छ ।
अमेरिकाबाट देशनिकाला हुने आफ्ना नागरिक नेपालले सहज रुपमा नै स्वीकार गर्दै आएको छ । सोही अनुरुप वासिंटन डिसीमा रहेको नेपाली दूतावासले पनि आइसबाट अनुरोध आएको खण्डमा सहज रुपमा नै अमेरिकाबाट देशनिकाला हुने नेपाली नागरिकको ट्राभल डकुमेन्ट सहज रुपमा नै बनाइदिदै आएको छ । दूतावासले तोकिएको शुल्क लिएर नै ट्राभल डकुमेन्ट बनाइदिने गरेको र उक्त शुल्क आइसले तिर्ने गरेको जनाइएको छ ।
आइसले न्युयोर्कमा रहेको नेपाली कन्सुलेटमा भने ट्राभल डकुमेन्टका लागि अनुरोध नपठाउने गरेको जनाइएको छ । न्युयोर्कको कन्सुलेटको कार्यक्षेत्राधिकारभित्र पर्ने क्षेत्रबाट देशनिकालामा पर्ने नेपालीहरुका लागि समेत आइसले वासिंटन डिसीमा रहेको दूतावास समक्ष नै ट्राभल डकुमेन्टका लागि अनुरोध गर्दै आएको छ ।
अमेरिकाबाट देशनिकाला हुने आफ्ना देशका नागरिकहरु स्वीकार नगर्ने देशलाई कारवाही गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिदै आएका छन् । सोही अनुरुप कतिपय देशका सरकारी अधिकारीहरुलाई अमेरिकी भिसामा अमेरिकाले बेलाबेलामा प्रतिबन्ध समेत लगाउँदै आएको छ । तर नेपालका सन्दर्भमा भने कहिले पनि यस्तो समस्या उत्पन्न भएको छैन ।
देशनिकालामा पर्ने नेपालीहरुको म्यादसहितको पासपोर्ट भएमा भने आइसले दूतावासमा कुनै जानकारी नदिई त्यस्ता व्यक्तिलाई देशनिकाला गर्ने गरेको छ । यद्यपी त्यस्ता नेपालीबारे आइसले नेपालको अध्यागमन विभागलाई भने जानकारी प्रदान गर्ने गरेको छ ।
आइसले पक्राउ गरेर तुरुन्तै देशनिकाला गर्न सक्ने भनेको अमेरिकाबाट पहिले नै देशनिकालाका आदेश पाइसकेका वा अमेरिकामा कुनै कागजात फाइल नगरी बसेका अमेरिका आएको २ बर्ष नपुगेका कागजातविहीनलाईमात्र हो । अन्य व्यक्तिलाई देशनिकालाका लागि आइसले अध्यागमन अदालतमा पेश गरेर त्यहाँबाट देशनिकालाको आदेश लिनुपर्छ । र, यो प्रकृयाका लागि कैयन महिना लाग्नसक्छ ।
खसोखासले जनवरी २० पछि कुनै नेपाली देशनिकाला भए नभएकोबारे आइससँग विवरण मागेको छ । तर यो समाचार तयार पार्दासम्म कुनै विवरण प्राप्त भएको छैन । यद्यपी बाइडेन प्रशासनको ४ बर्षमा अमेरिकामा १३२ जना नेपालीहरुलाई आइसले पक्राउ गरेको र १३० जनालाई डिपोर्ट गरेको आइसले जनाएको छ । त्योबाहेक सिमाक्षेत्रमा सीबीपीले पक्राउ गरेर आइसको हिराशतमा पठाएका नेपालीहरुको संख्या २७ सयभन्दा बढी रहेको थियो । आइसको रिपोर्ट अनुशार ४ बर्षको अवधिमा आइसको हिराशतमा २८९१ जना नेपालीहरु परेका थिए ।
आइसले बाइडेन कार्यकालको पहिलो बर्ष आर्थिक बर्ष २०२१ मा ११, २०२२ मा ३०, २०२३ मा ५६ र २०२४ मा ३५ जना नेपालीहरुलाई अमेरिकाका विभिन्न क्षेत्रबाट पक्राउ गरेको थियो । जसमध्ये २०२४ मा १० जना नेपालीहरु विभिन्न अपराधमा दोषी ठहरिएकाहरु थिए भने २०२३ मा पक्राउ परेकाहरुमा ११ जना विभिन्न अपराधमा दोषी ठहरिएकाहरु रहेको आइसले जनाएको छ ।
त्यस्तै विनाभिसा सिमा पार गर्ने क्रममा सीबीपी लगायतले पक्राउ गरेर आइसको हिराशतमा राखिएका र आइस आफैले अमेरिकाभित्र पक्राउ गरेका नेपालीहरु आर्थिक बर्ष २०२४ मा ७१० जना, २०२३ मा ८३५ जना, २०२२ मा ९६२ जना र २०२१ मा ३८४ जना रहेका थिए ।
पक्राउ पछि आइसले विमानमार्फत देशनिकाला गरेका नेपालीहरु आर्थिक बर्ष २०२१ मा २३ जना, २०२२ मा २८ जना, २०२३ मा २२ जना र २०२४ मा ५७ जना गरी कुल १३० जना रहेका थिए ।
बाइडनको कार्यकालमा लगभग ९ हजार नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको छ । तर सबै नेपालीहरुलाई आइसको हिराशतमा पठाइएको थिएन । केबल झण्डै २८ सय नेपालीहरुलाई मात्र आइसको हिराशतमा पठाइएको थियो ।
अघिल्लो ट्रम्प प्रशासन अन्तर्गतको चार वर्षमा कुल १,८५० नेपालीहरु यसरी विना भिसा अमेरिका प्रवेश गरेका थिए । त्यसको तुलनामा बाइडेनकालमा विनाभिसा प्रवेश गर्नेहरुको संख्यामा झण्डै ५ गुणा बृद्धि भएको थियो । २०२३ को अक्टोबरबाट सुरु भएको र २०२४ को सेप्टेम्बरमा समाप्त भएको आर्थिक बर्ष २०२४ मा सबैभन्दा धेरै ३६९० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांकले देखाएको छ ।
आर्थिक बर्ष २०२५ सुरु भइसकेपछि गत अक्टोबरमा ४४० र नोभेम्बरमा ३ सय नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले गतसाता सार्वजनिक गरेको थियो । आर्थिक बर्ष २०२३ मा ३१४० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए । आर्थिक बर्ष २०२२ मा १४९० र २०२१ मा ४२० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।