भौतिक संरचना र मानवीय पूँजीको समानुपातिक सन्तुलन नै विकास हो । माइक्रोसफ्टका क्यानडा प्रतिनिधि क्यारोलिन बायरका अनुसार अहिलेको विकासको मूल समस्या मानवीय पूँजीको सही र समानुपातिक विकास नहुनु नै हो । यसमा प्राइभेट, पब्लिक र समुदाय सबैले एकसाथ पहल नगरे सन्तुलन असम्भव छ ।
चीन र भारतको विकास मोडलमा चिन्तन गर्दै अर्थशास्त्री अमर्त्य सेन आफ्नो पुस्तक ‘इकोनोमिक डेभलपमेन्ट एन्ड सोसियल अपच्र्युनिटी’मा लेख्छन्, ‘असीको दशकमा चीनमा भन्दा बढी बाटो र रेलको सञ्जाल भएको भारत केही वर्षपछि चीनको विकास देखेर चकित हुने स्थितिमा पुग्नुको कारण चीनको शिक्षा र स्वास्थ्यमा भएको आमूल परिवर्तन हो जुन पछिल्लो समय भारतले एकछेउ पनि गर्न सकेको छैन ।’
विकास भन्नासाथ मूलतः दुई चिज नै पहिलो पंक्तिमा आउँछन् । आवश्यक न्यूनतम भौतिक संरचना र तिनीहरू प्रयोग गर्ने वा त्यसको लक्षित समूहको विकास । अर्को शब्दमा मानवीय पूँजीको विकास । यी दुवैको समानुपातिक विकास हुँदै जानु मात्र सही अर्थमा सन्तुलित विकास हो ।
सातै प्रदेशका लगभग ५३ जिल्लाका केही पालिकाहरू भ्रमणको क्रममा मैले देखें कि विकासका नाममा भौतिक संरचनामा मात्र जोड दिइएको छ भने मानवीय पूँजीको विकास नाम मात्रको छ । २०७४ सालपछि स्थानीय सरकारको गठन भएपछिको स्थलगत अध्ययन र रिपोर्टहरूले पनि त्यसै भन्छ ।
सामान्यतः हरेक पालिकाको कुल बजेटको ६० प्रतिशत भौतिक संरचनामा र बाँकी ४० प्रतिशत मानवीय पूँजीको अभिवृद्धिमा लगाए उत्तम हुने मानिन्छ । तर मानवीय पूँजीमा केवल १० प्रतिशत मात्र लगानी छ, त्यो पनि कुनै दीर्घकालीन सोच र भिजन बनाएर भन्दा बाध्यतामा लगानी गरिएको देखिन्छ । कि त त्यसमा ध्यान छैन वा त्यसको गहिरो महत्वबोध निर्वाचित पदाधिकारीहरूमा पटक्कै छैन । यसले अनेक उल्टा नतिजाहरू निकाल्दै गएको छ र तिनका कारण अनेक छन् ।
१. अग्लो टावर जत्तिकै अग्लो कमिसनको खेल
भौतिक संरचना कसको लागि ? देखाउन मात्र कि मानवीय उपयोगिता र उपभोगका लागि ? आजका धेरै टावर, गेट, हरेक चोकमा देखिने स्मारक र सालिकहरू ‘मुखमा माड छैन …..मा घिउ’ भने जस्तै भएका छन् । ट्वाँ परेर हेर्न अर्बौं लगानीका अग्ला टावर बनेका छन् तर दुई तिहाइ जनताका छोराछोरी पढ्ने स्कुल र तिनले पाउने स्वास्थ्य सुविधा दयनीय छ । यस्तो लाग्छ, हामी मृगतृष्णाको पछि कुदेका छौं ।
जननिर्वाचित पदाधिकारीहरूलाई अर्को निर्वाचन पनि जित्नुछ र सबैभन्दा पहिले गर्नुछ टिकटको सुनिश्चितता । त्यसका लागि पैसो नभई हुन्न र जुगाड आजैदेखि गर्न थाल्नुछ । त्यो रसाउने ठाउँ भनेको नै नियमन कम हुने र सबैको बुताले बुझ्न नसक्ने भौतिक संरचनाको निर्माण गरेर विकासको नाममा सर्वजनको आँखामा छारो हाल्नु नै हो । कमिसन, त्यसमै आउँछ ।
भनाइ नै छ– दूध खाए कहिले कहिले, रक्सी खाए अहिले । शिक्षा र स्वास्थ्यको विकास गरे तुरुन्त देखिने केही हुन्न । गरिबगुरुवाका सन्तान स्वस्थ र शिक्षित बनेर पाँचवर्षे पाहुनालाई के फाइदा र ? त्यसको नतिजाको पहिलो टुसो निस्कन कम्तीमा दश वर्ष लाग्छ । अझ बीस वर्षे रणनीति हो त्यो ।
त्यस्तो काम गरेर के काम ? आफूलाई फाइदा के ? हरेक जननिर्वाचित पदाधिकारीहरूले आफूलाई यस्तै प्रश्न गर्दा हुन् । अर्थशास्त्री जे एम किन्सले भनेझैं दीर्घकालमा त हामी सबै मरिसकेका हुन्छौं । यसको भावार्थ हाम्रा निर्वाचित जनप्रतिनिधिहरूले खुब बुझेका देखिन्छन् ।
आज मानवीय पूँजी बलियो भयो भने भोलि तिनैले चमत्कार गर्ने भौतिक संरचनाको निर्माण आफैं गर्छन् । यसको उदाहरण चीन नाकै अगाडि छ । ६०, ७० र ८० को दशकमा मानवीय पूँजीमा गरेको लगानी आज तीस वर्षमा जादु बनेर देखिंदैछ । सिंगापुर र दक्षिणकोरियाको थप उदाहरण पस्कनै पर्दैन ।
तर यसमा व्यक्ति, संस्था र सरकारको तन, मन, धन एकै लक्ष्यमा केन्द्रित हुन जरूरी छ । हातेमालो अत्यावश्यक छ किनकि ठूलो सपनाको लागि ठूलै टिम अनिवार्य हुन्छ ।
जनताको मर्म केन्द्रीय सरकारले बुझ्दैन । स्थानीय सरकारको भाव केन्द्रले र प्रदेशले मनन गर्दैन । सबै अँध्यारोमा झट्टी हान्नमा व्यस्त र मस्त छन् । अधिकांश तथ्यांक सही छैनन् । स्रोत र साधनहरूको तथ्य र तथ्यांक कतै संकलन भएको छैन । सबै उपचारमा व्यस्त छन् तर रोगको पहिचान भएकै छैन । चुरो बुझ्ने अलपत्र हुँदा अल्पज्ञानीहरूले जनताको करमा तर मारिरहेका छन् । मूल रोगको पहिचान र समाधानमा हामी कहिले जुट्ने ?
२. बुर्जखलिफा जत्रा इच्छा र आकांक्षा तर लिलिपुट सीप र गुण
विगत दश वर्षदेखि देश छोडेर जाने युवापुस्ताको लर्को बढ्दै नै छ । लगभग दिनको २ हजार जना एअरपोर्टमा लाम लाग्नु सामान्य भएको छ । किन ? यसको उत्तर आलेखको शीर्षकमा नै छ । विकासको नाममा समानुपात मिलेन ।
चार बोरा बालुवा र एक बोरा सिमेन्ट भएको भए संरचना अलि टिक्थ्यो कि ? तर दश बोरा सिमेन्टमा एक बोरा सीप र गुणको घोल टिकाउ नभए जस्तै हो । विना जगको घर र विना रडको तला थप्न थालेपछिको परिणाम हो यो । इच्छा र सपना ठूला तर तिनको पूर्तिको लागि चाहिने सीप र गुण शून्य । तब, के होला ? जे हुँदैछ, हुने त्यै हो ।
आज हरेक मानिसलाई छिटो धनी बन्नु छ । द्रव्यको ठूलो पोखरीमा सबैलाई पौडिनु छ । सो प्राप्तिको लागि सबैलाई सक्दो छिटो दौडनु छ । जता पुग्नु परे पनि र जे गर्नु परे पनि मानिस तम्तयार छ । बीस वर्षको लक्का जवान आफ्नै घर र समाजमा बसे बेकामे हुन्छ तर कतार, मलेशिया, कोरिया, युरोप, अमेरिका वा अष्ट्रेलिया पुगे महिनाको केही लाख कमाउन योग्य बन्छ ।
तब, किन नदौडने ? चारो खोज्न उड्नु परेन ? देश हेर्न र मुख फेर्न परेन ? सबैको नजरमा हिरो पनि बन्ने, गतिलो चारो पनि मिल्ने र सबैले लायक र नायक पनि भन्ने । तब, यो देशमा डुकु बनेर किन बस्ने ? देश छोडेर धेरै उड्नुको कारण यस्तै छ ।
बाहिरी उपभोग्य संसार र भित्री सीप, गुण र सोचको बीचमा असमानता वा खाडलले नै मानिसलाई कुदाइरहेको छ । बसाइँसराइ गराइरहेको छ । यो कुनै अचम्मको घटना नभएर मानव सभ्यताको एक अविच्छिन्न चरित्र हो । मानिस मरुभूमि छोडेर जहिले पनि हरियालीतिर लम्कन्छ नै । खोला किनारतिर नै त मानिसले समाज र सभ्यता बसाएको छ । जता हरियाली र पानी, त्यतै लम्कने मानिसको बानी हुन्छ ।
प्रजातन्त्रको पुनर्वहाली पछिको ३३ वर्षमा मानवीय पूँजीको विकास सन्तुलित रूपमा हुन नसकेको नतिजा देखिएको हो यो । समय, प्रविधि र सपना बुर्जखलिफा बन्दै गए तर टाउका भित्रको सोच, भावना र हातको सीप लिलिपुट भएपछि हरेक घर खाली हुनु र हरेक बा–आमा निःसन्तान हुनु सामान्य हो ।
३. जरैबाट उखेलिंदै गरेको मूल्य, मान्यता, सोच र संस्कार
हरेक सभ्यताका मानिसलाई बाँधेर राख्ने भनेको तिनीहरूको जरा हो– बिरुवालाई ठाडो पारेर जराले राखे जस्तै गरी । मानवीय जराहरू के के हुन् त ? दया, माया, प्रेम, सद्भाव, करुणा, परस्पर सहयोग र सहानुभूति उमार्ने र जगाउने मूल्य, मान्यता, धर्म, संस्कृति, सोच र संस्कारहरू पक्का हुन् । तर आज त्यो प्राकृतिक मानिस प्रविधि, ठूलो र धेरैको मोहमा यसरी जकडिएर फसेको छ कि ऊ निस्कनै सक्दैन ।
देखासिखीको अहंले यसरी गाँजेको छ कि ऊ आफ्नो भित्रको आत्मा मारेर भए पनि टावर ठड्याउनै लागिपर्छ । भोक, प्रगतिको सूचक हो तर धेरै भोक रोग र विनाशको द्योतक हो भन्ने उसले बिर्सिसकेको छ । टोल्सटोयको कथाको पात्र जस्तो जति जमिन दगुरेर आफ्नो बनाए पनि, न त उसले त्यसको सदुपयोग गरेर आनन्द लिन सक्छ न उसलाई त्यो सबैको आवश्यकता नै हुन्छ ।
आज, मानिसले सुख के हो बिर्सिसकेको छ । भ्रमको भुलभुलैयामा दौडिंदादौडिंदै अन्तिम सास फेर्ने दिन आइपुग्छ । अन्तिम दिनसम्म पनि थाहै पाउँदैन कि ऊ किन कुदेको थियो भनेर । बडो परिश्रम गरेर फल फलाउनु मात्र ठूलो कुरो हैन । त्यो फल निचोरेर रसको आनन्द लिन पनि अलिकति समय छुट्याउनुपर्छ । यस्ता कुराहरूको सोचको बीज छरिदिने पारिवारिक, सामाजिक, राष्ट्रिय मूल्यमान्यता, संस्कार र धर्मको जरा विस्तारै उखेलिएपछि हुने आजको रमिता नै हो ।
४. भर्ने र गर्ने शिक्षाको समानुपात नमिल्नाले
राज्यले पहिलो लगानी भौतिक संरचनामा गर्नैपर्छ । किनकि यसले विकासको भोक जगाउँछ । फराकिलो बाटोले कुद्ने मोटरहरूको आवश्यकता दर्शाउँछ । ठूला भवन बनेमा त्यसमा काम गर्ने शिक्षित मानिसको माग बढाउँछ । ठूला विद्युत्का परियोजना बनेर विद्युत् उत्पादन भए त्यसलाई खपत गर्ने शिक्षित र धनी मानिसहरूको आवश्यकता पनि बढ्छ । हरेक नयाँ प्रविधि र सामग्रीको प्रयोग गर्न सक्ने सक्षम मानिसहरूको पनि आवश्यकता बढ्छ ।
सँगै, त्यस्ता दक्ष जनशक्ति तयार वा उत्पादन गर्ने योजना चाहिन्छ । बीस वर्षको डिग्रीदेखि बीस महिने सीपमूलक तालिम दिएर भए पनि सक्षम नागरिक उत्पादन गर्नुपर्छ । हामी यहीं चुकिरहेका छौं ।
गोरेटो बाटो चार लेनको भयोे, तर आसपास बस्नेलाई त्यो लौरो न हतियार भएको छ । त्यसको सदुपयोग गर्दै फाइदा लिन सक्ने न शिक्षा छ न त सीप नै । घरै छेउको डाँडामा ठडिएको सात करोडको टावर हेर्दै बेलुकाको तरकारी कसरी जोहो गर्ने भन्ने चिन्तामा नजिकका प्रायः परिवार छन् । हामी चुकेको यतै कतै हो ।
सय जनामा उच्च सफलता हासिल गरेर नाम, दाम, सेवा, धर्म गर्न सक्ने मानिस बढीमा ५ प्रतिशत होलान्, धेरै त औसत जीवनमा नै भुलिएर अस्ताउँछन् । स्कुल र कलेजहरूको नतिजा पनि त्यस्तै निस्कन्छ ।
यी सबै समस्याको जड शिक्षाको कमजोर गुणस्तर नै हो । समयानुकूल ज्ञान र सीप नहुनु हो । १२ वर्ष झोला बोकेर स्कुल धायो तर आजीवनको कमाइले पनि शिक्षामा लगानी गर्दा बनेको खाल्डो पुर्न सकिन्न । पढेर के हुन्छ ? पढेर के गर्नु ? जस्ता भाष्य बलिया बनिरहेका छन् ।
दाङका दुई ठूला नगरहरू घोराही र तुलसीपुरमा लगभग २००० विद्यार्थीसँगको साक्षात्कार र भलाकुसारीमा ९५ प्रतिशत विद्यार्थी १२ पास गरेपछि विदेश नै जाने सुरमा । किनकि, तालमेल कतै मिलेन । जरैदेखि मिलेन । झन् भन्दा झन् बिग्रंदै गयो ।
समाधान के त ? अब कक्षा ५ सम्म साक्षर बनाउने, कक्षा ६ देखि व्यक्तित्व, रुचि, परिवार र समग्र वातावरणको गहन अध्ययन गरेर विशेषज्ञतामा केन्द्रित गराउनुपर्छ । कक्षा ६ देखि १२ सम्ममा कुनै पनि विद्यार्थी आफ्नो रुचिको विषय वा सीपमा पोेख्त निस्कनै पर्छ । उसले कक्षा ६ देखि केही घण्टा मात्र भए पनि आफ्नो रुचिको क्षेत्रमा ज्ञान र कामको सन्तुलित घोल मिसाउनै पर्छ । कामको ज्ञान र ज्ञानसँगै काम, सिमेन्ट र बालुवाको मिश्रण जस्तै बन्नैपर्छ ।
औपचारिक र सैद्धान्तिक शिक्षामा दिनको अधिकतम ५ घण्टा बढीको समय व्यतीत हुनु पटक्कै हुन्न । बाँकी समय उसको भित्री रुचि र क्षमताको मापन गरेर सीप र गुणको निरन्तर विकासमा लगाउनै पर्छ । काम गर्न सिकाउनुपर्छ । रुचिको काम गरे कामसँगै पैसा पनि छायाँ बनेर पछि लाग्छ । पैसा आजको समयमा बाँच्न अति आवश्यक स्रोत हो । यो कमाउन बेलैदेखि सिकाउनै पर्छ । तसर्थ, अबका ६ कक्षादेखि १२ कक्षासम्म पुग्दा हरेक विद्यार्थीले काम सिक्नैपर्छ । सीप सिक्नै पर्छ । यो जमात लगभग ८० प्रतिशतको हाराहारी हुनेछ ।
बाँकी २० प्रतिशत विद्यार्थीहरू, जसको पढाइमा अगाध प्रेम छ र भित्री भावनाको मुस्लो तीव्र छ, तिनीहरू गहिरो अध्ययन र खोज गर्ने र प्रोफेसनल पेशाहरूः डाक्टर, इन्जिनियर, वकिल, प्रोफेसर, पाइलट, वैज्ञानिक जस्ता लामो समय अध्ययन र खोज चाहिने क्षेत्रमा जान्छन् ।
तर सबैलाई एउटै बास्केटमा हालेर एउटै आहार, एउटै गुँड बनाए को के बन्छन् होला ? आइन्सटाइनले भने झैं चरा, मुसा, माछा, हात्ती, कीरा, स्याल सबैलाई १२ वर्ष एउटै कोठामा थुनेर सबैलाई रूख चढ्न सिकाए जस्तो हुन्न र ? अतः समस्या शिक्षाको प्रक्रियामा छ । समयानुकूल पाठ्यक्रम परिवर्तन नहुनुमा छ । भर्ने शिक्षा मात्र भयो, गर्ने शिक्षाको कमि भयो । सन्तुलन मिलेन ।
भ्रमणको क्रममा इलामका मेरा प्राचार्य मित्र भूशान्त लिम्बू बारम्बार दोहोर्याउँदै हुनुहुन्थ्यो कि शिक्षा र स्वास्थ्य त आध्यात्मिक पेशा हुन् । यहाँ जहिले पनि लिने भन्दा दिने सयौं गुणा बढी हुन्छ । जब यी पेशामा व्यापार हावी हुन्छ नि, तब विनाश सुरु हुन्छ । आज, विनाशभाव बढ्दो छ ।
५. धनका प्रकारहरू नचिन्नुको नतिजा
आज हरेक मानिस धनको अतृप्त भोकले छट्पटिएको छ । यो कहिल्यै शान्त नहुने तृष्णा हो तर अपरिहार्य बनेको छ । पैसा र शक्तिको तृष्णाले विनाश निम्त्याएको छ । मानिस, प्रकृतिदेखि हरेक जीव र बिरुवासम्मको नाश गरेर पनि कमाउने र जमाउने दौडमा होमिएको छ ।
त्यसले विकास हैन, विनाश बढी गरिरहेको छ । त्यसैले त अर्थशास्त्री सुमाकर लेख्छन् कि सानो नै सुन्दर चीज हो । उद्योगहरू जति ठूला बन्दै जान्छन् त्यति विनाशकारी हुन्छन् । उनीहरू त्यति नै जुस निचोरेर नाफा निकाल्न थाल्छन् । अन्ततः त्यो जुस निकाल्ने वस्तुहरू माटो, ढुङ्गा, बोटबिरुवा, जल, जीव, जनावरहरू हुँदै मानिसहरू नै पनि हुन्छन् ।
धन धेरै प्रकारका हुन्छन्– शारीरिक, मानसिक, सम्बन्ध, अर्थ, भावना, आध्यात्मिक रूपमा धनी । यी सबै प्रकारका धन हुनु र त्यसलाई सन्तुलनमा राख्न सक्नु नै सही अर्थमा धनी हुनु हो । तर मात्र अर्थमा केन्द्रित हुनु १६.६ प्रतिशत मात्र हो । यो गुणस्तरीय जीवन होइन ।
बाँच्ने सीप र कलात्मक जीवन बीचको सन्तुलन मिलाउन सक्नु नै पूर्ण जीवन हो । यस्तो विकास नै सही अर्थमा दीर्घकालीन विकास हो । तर यो भाव र ज्ञान समूहमा छर्ने र भर्ने कसरी ? आजका पुस्तालाई यो ज्ञान दिन नसक्नु अधोगतितर्फको यात्रा हो । यस्तो विकास मिलिक्क गरेर हराउने बिजुली चम्काइ हो ।
यो सन्तुलनको शिक्षा हरेक स्कुलमा कक्षा ५ देखि नै सिकाउन जरूरी छ । प्रथमतः हरेक बालबालिकालाई एक अध्ययन र खोजको केन्द्र बनाउनुपर्छ । उसको वंशानुगत विगतदेखि जन्म, हुर्काइ, स्वभाव, आनीबानी अनि संगत, घरको र छरछिमेकको वातावरण केलाउनुपर्छ ।
स्कुलमा गरेका क्रियाकलापहरूको सम्पूर्ण फेहरिस्त पनि निकालेर उसको भित्री ब्रह्माण्ड र बाहिरी संसारको बीचमा सही तालमेल मिलाइदिन सकियो भने मात्र सही र अब्बल मानवीय पूँजीको विकास हुन्छ । त्यो मानिसले मात्र भौतिक र अध्यात्मको सन्तुलन मिलाउन जान्दछ । सर्वजनहिताय सर्वजनसुखायको भावार्थलाई जीवन र जगतमा उतार्न कोसिस गर्छ । हाम्रो त्यस्तो मानवीय पूँजीको विकास गर्ने दीर्घकालीन सोच खै ? त्यसको लागि चाहिने गुरुयोजना हाम्रो खै ?
५. नेता, कर्मचारी र व्यापारीको ओदाने साँठगाँठ
‘लुट्न सके लुट कान्छा…’ गायक पशुपति शर्माको गीतको सही भाव बुझ्न र सिनेमा हेर्न अरू कतै जानै पर्दैन । नेपालमा जतै भेटिन्छ र देखिन्छ । राजनीति सबैभन्दा फलिफापको पेशा भएको छ आज । सर्वहाराको नारा लगाउनेहरू नै सबैभन्दा ठूलो दरबारमा बस्ने शोषक र चुसक बनेका छन् । राज्यको सम्पत्ति चुस्नु भनेको तिनै सर्वहारा जनताले तिरेको थोपा–थोपा करमा मस्ती गर्नु हो ।
जुनसुकै पार्टीको खोल ओढे पनि हाम्रो पुस्ताको उर्वर समय सकिने गरी ३३ वर्षदेखि देशको करमा मस्ती गर्नेको जनसंख्या करिब ५० लाख पुग्ला । आधा दर्जन पार्टी र तिनका पिछलग्गुहरू करिब ३० लाख । देशका घुस्याहा र तिनै नेतालाई सूत्र सिकाउँदै सुटुक्क तर मार्ने केही कर्मचारीहरू होलान् । अनि तिनै नेता र कर्मचारीहरूलाई प्रयोग गर्दै कानुनका दुलाहरू समाएर नुनदेखि सुनसम्म तस्करी गर्ने व्यापारीहरू ।
यिनैले तीनखुट्टे ओदान जस्तो बनेर देशलाई भ्रष्टाचारको भुङ्ग्रोमा सेकेको हद नाघेपछि आजको असन्तुलन देखापरेको हो । त्यसमा पनि कोरोनाको भारले थप थिच्यो । त्यसको असरजन्य आर्थिक मन्दीले सबैतिर चहलपहल सुस्तायो अनि साना उद्यमीहरू सटर बन्द गरेर पलायन हुनथाले । विस्तारै, सबैतिर सुस्तता छाउँदै गएको हो ।
दश खर्बको राजस्व अनि १२ खर्बको प्रशासनिक खर्च, राज्यलाई संघीयता घाँडो भयो । खर्च बढ्यो तर आम्दानीको दीर्घकालीन उपायहरू केही भएनन् । अलिअलि भएका उद्योगहरू पनि घाटामा ठेलेर, घाटा भएको र थाम्न नसकिने भन्दै निजीकरणका नाममा कमिसन खाँदै बेचेर सिध्याए । आम्दानी चारानी, खर्च अठन्नी भयो । सन्तुलन खस्कँदै गयो । अझै चिप्लिरहेको छ । कतासम्म पुग्ने हो हेर्नै बाँकी छ । बिग्रियो कता त ?
७. भूराजनीतिको चपेटामा संघीय सरकार
यो देशमा सरकार छ भने अलिअलि स्थानीय सरकार मात्र छ । उनीहरूले आ–आफ्नो गुदी र स्रोत–साधनले भ्याएसम्म सक्दो गरेका छन् । जनताको प्रेसर नाकैमा छ । नजिकबाट सबैले नियालेका छन् । सक्दो औंला ठड्याएका पनि छन् । धेरै सचेत पनि भएका छन् । तर समस्या केन्द्रीय सरकारमा छ ।
प्रदेश नामको बिचौलिया बेकामे भार भएको छ । प्रायः सबै कसैका हली छन् । स्वीच अरू कतैबाट दबाइन्छ । उनीहरू जसो नाच्न भन्यो, त्यसै नाचिरहन्छन् । न कुनै सिद्धान्त छ, न कुनै लाज । कहिले कता टाँसिएको छ त कहिले कता जोडिएको छ । दालमा बालुवा मिलाइएको छ अनि भातमा ढुङ्गा । अचम्म छ !
दुई महाशक्तिहरू बीचमा रहनु नै नेपालको सबैभन्दा ठूलो अवसर र दुर्भाग्य पनि हो । नजानेर र सही समयमा तयारी नगरेर, दोस्रो रूप बढी देखिंदैछ । त्यसमा पनि मानवीय पूँजीको कमजोरी नै मूल कारक हो । त्यसको चपेटामा हामी सर्वसाधारण पनि परेका छौं ।
यो देश कसरी चल्छ र चलेको छ ? संघीय जति सत्ताको झोलमा बिके, स्थानीयको बलले अलिअलि टिके । केन्द्र, हली भएर चलेको छ । अर्काले दिएको खाएर, पचाएर सिंहदरबार पसेकाहरू अहिले जनताको कर र राज्यको जल, जमिन, जंगल र भ्याएसम्म जन्तुहरू र मानिस नै निर्यात गरेर/बेचेर चलेका छन् । बलेका छन्, कहिल्यै ननिभ्ने गरी । जतै साँठगाँठ गरेर, सिन्डिकेट छरेर ।
सोझा किसान र इमानदार मानिसहरू जतै किचिएका छन् अनि पिसिएका छन् । घर छोडेर हिंडेका छन्, मन मोडेर अन्तै लागेका छन् । उर्वर तराईजति सिमेन्टका घरहरूको जंगल बनिरहेको छ भने पहाड अनि कान्लाहरू रित्तिंदै गएर बाँदर र बँदेलहरूको उफ्रने परेड मैदान हुँदैछन् । सय किलोमिटरको बाटो बनाउन पाँच वर्ष लाग्छ अनि हाइवे भनाउँदाहरू तन्ना दश ठाउँमा टालेर ओछ्याए जस्तो देखिन्छ । तब, अर्काले बनाइदिएको पाठ्यक्रम पढेका र आफ्नो देशभन्दा बढी विदेश बुझेका युवाहरू यो देशमा के आशा गर्दै बस्छन् ? अनि सन्तुलन कसरी बन्छ ?
८. राजनीतिको मोहनीमन्त्र र जनता
राजनीति सर्वोच्च नीति हो । तर त्यो सबैमा राज गर्ने र देशको नीति–नियम बनाउने मानिसमा कुनै योग्यता चाहिंदैन ? एक सिपाही, खरिदार र शिक्षक, प्लम्बर बन्न योग्यता र सीपहरूको निकै लामो सूची चाहिन्छ भने नेता बन्न केही नचाहिने ? त्यो ठाउँमा केही सीमित चतुर्विद्या जानेका मानिस गए तर तिनले सो विद्या गलत ठाउँमा प्रयोग गरे र आजसम्म गरिरहे ।
ह्वाई नेसन्स् फेल ? भन्ने पुस्तकमा दारन एसमग्लु र जेम्स रविन्सन जस्ता अर्थविद् लेखकहरूले प्रष्ट लेखेका छन् कि देश फेल हुनाको कारण गलत संस्कार पोखिएर नयाँ पुस्तामा झर्नु र झरिरहनु हो । मानदेव, अंशुवर्मादेखिको राजा संस्कार आजका छोटेराजाहरूसम्म चुहिएर आइरहेको देखिन्छ । स्रोतसाधन आफ्नो मुट्ठीमा परेपछि त्यसको दुरुपयोग गरेर चुनावका बेला मोहनीमन्त्र लगाइहाल्ने बिचौलिया नेताहरूको तन्त्र साधना कसले भत्काउने होला ?
यसका लागि गर्नैपर्ने काम हो– सही मानवीय पूँजीको दीर्घकालीन विकास । तर आफ्नो धन्दा बन्द हुने डरले बिचौलियाहरू यसको अवरोधक बनिरहेका हुन्छन् । यो सन्तुलन मिलाउनुमा हैन, बिगार्नुमा बढी लाभ छ उनीहरूलाई । यसलाई चिर्ने कसरी ? खोजौं ! छिटो लागौं ! जागौं !
९. बिचौलियाहरू नै सबैभन्दा धनी हुने लहर
मन्दिर, गुम्बा, चर्च, मस्जिद सबैको मूल उद्देश्य उत्तम छ । यी सबै विभिन्न समाजमा सही संस्कार र आदतको विकास गर्न बनेका संस्था हुन् । हरेक मानिसमा सकारात्मक भाव उब्जाउने माध्यम हुन् । सक्ने र हुनेले दिने र सो सबै संकलन गरेर गरिब, असहाय, दुःखीहरूको सेवामा सो संकलन छर्ने । त्यसको सञ्चालन गर्ने जिम्मेवारी समाजका सबैभन्दा पढेलेखेका अनि संस्कारी पण्डित, पास्चर र मुल्लाहरूलाई दिइयो ।
पहिले पहिले उद्देश्य अनुसार नै पूर्ण सद्भावका साथ काम हुन्थ्यो । विस्तारै सबैमा लोभ जाग्यो । बिचौलियाहरू नै राजा जस्ता बन्दै गए । आ–आफ्नो स्वार्थ अनुसार नियमहरू थप्दै गए । साधारणजनहरूलाई थप दबाउँदै गए । सन्तुुलन विस्तारै बिग्रँदै गयो ।
आज आएर प्रायः नियमहरू बेकामी, थोत्रो अनि समयानुकूल फिटिक्कै नसुहाउने र नमिल्ने हुँदै गएका छन् । धेरैले वाहियात् भन्न थालिसकेका छन् । नभने पनि बिरालो बाँधेर श्राद्ध गर्ने कथा झैं मात्र पालना गरिरहेका छन् । सही उद्देश्य र संस्कार सकिंदै गएको छ । राजनीतिमा पनि ठ्याक्कै त्यस्तै भएको छ ।
राजनीति पनि अर्को बिचौलिया गर्ने ठाउँ बनेको छ । जनता र राज्यको बीचमा बसेर पुलको काम गर्ने ठाउँ होइन । समाजका सबैभन्दा योग्य र सक्षम जाने र गर्ने ठाउँ, आर्जन भन्दा पनि सेवाभाव बढी छर्ने ठाउँ हुनुपर्ने हो ।
राज्य भनेको, सक्नेले अनि नसक्नेले झन् खुन–पसिनाबाट छुट्याएर दिएर संकलन भएको करबाट चल्ने ठाउँ हो । त्यस्तो पवित्र ठाउँहरूमा गलत मानिस पठाउने र पठाइरहने जनताको छनोट योग्यतामाथि प्रश्नैप्रश्न छन् । यो किन भयो त ? उत्तर सरल छ । मानवीय पूँजी र चेतनाको सही विकास र विस्तार भएन । सही समयमा भएन । सन्तुलन मिलाएर भएन ।
थोपा–थोपा अनि लाखौं, करोडौं गरिबहरूबाट संकलन भएको कोषको दुरुपयोग गरेर धनी बन्नु के हो ? त्यस्तो बिचौलियाहरूलाई के सजाय दिनुपर्छ ? कसले सजाय दिने ? कि उनीहरूको जस्तो पनि कृत्य क्षम्य हुन्छ ? सोचनीय र खोजनीय छ ।
१०. जो जे गर्दैछ, त्यसैमा दक्ष नहुनु
हामी सबैलाई आफूले जे काम गरिराखिएको छ त्यो बाहेक संसारका कुना–कुनाको सबै कुुरा थाहा छ । हामी संसार पढेका छौं, बुझेका छौं तर नाक मुनिको र हातको काममा दक्ष छैनौं । हाम्रो साझा समस्या यही हो । यहाँ जानेको र पढेको मानिस काम गर्दैन र काम गर्ने मानिसले जानेको नै हुँदैन । जान्ने राजनीतिमा जाँदैन अनि नजान्नेले आँट गरेर गर्न कोसिस गर्दा हुने यस्तै नै हो । शक्ति–सत्ता र डाडुपन्युँ आफ्नो हातमा हुनेले जान्दैन, जान्नेले त्यता जानै मान्दैन । जान्नेले गर्दैन र गन्तीमा नै पर्दैन । जो गन्तीमा पर्छ, ऊ नै माथि चढ्छ र नजानिकन गर्दा अनि गलत बीउ जताततै छर्दा यस्तै हुन्छ । जो आज भइराखेको छ ।
शिक्षक पढ्ने र पढाउने उद्योगमा छ, उसलाई सिकाइ र बालमनोविज्ञान थाहा छैन । न्यायालयको न्यायाधीश र वकिलहरूलाई पेशाको मूल मर्म, न्याय दिनु छैन, कमाउनु छ । पुलिस प्रशासनको काम सुरक्षा र शान्ति कायम गर्नु हो तर कसैको हली बनेर गोटी बन्नु हैन । कर्मचारीको काम सेवाग्राहीलाई सक्दो छिटो र सहज आवश्यक सेवा दिनु हो, तिनलाई झुलाउँदै घुस लिनु हैन ।
नेताको काम जनताले छानेर सन्तुलित विकास गर्नको लागि र समावेशी र सर्वहित हुने नीति–नियमहरू बनाउन हो तर सत्ताकोे मोहमा मूल बाटो नै बिराएर जहिल्यै जतैै मिसिनु होइन । जनताको काम सही र असल मानिस चिनेर भोट हाल्दै नेता बनाएर पठाउनु हो, हाम्रो सबै राम्रो भन्दै सबैभन्दा डाका, तस्करलाई जयजयकार गर्दै पछिलाग्नु होइन ।
यो किन हुँदैछ त ? सामूहिक सकारात्मक सोच र संस्कारको कमी । समग्रमा, राष्ट्रिय भावना र सही चेतना भरिएको मानवीय पूँजीको विकास निरन्तर हुन नसक्नु नै चुरो कुरो हो । त्यो पूँजीको विकास गर्ने शैक्षिक संस्थाहरूको गुणस्तर माथि उठ्न नसक्नु हो । त्यसमा कसैको चिन्तन गहन रूपमा नजानु हो । औपचारिक र अनौपचारिक तालिमहरूको औचित्य नबुझिनु र नगरिनु हो ।
अन्ततः मानवीय पूँजी भित्रैदेखि कमजोर बन्नु र रहिरहनु हो । व्यक्तिगत विकास नभए, संस्थागत हुन्न । संस्थाको विकास नभए, समाज र सामुदायिक विकास सम्भव छैन । देश विकास नै यी तिनैको एकीकृत रूप नै त हो र सबैमा सन्तुलन नआए, थप विकास हुने कुरा नै भएन । समाधान, प्रश्न भित्रै छन् । हरेकको तन, मनमा छन् । खुलेर बोल्न बाँकी छ । कामको पहिलो मूलढोका खोल्न बाँकी छ । खोलौं ! लागौं ! जागौं !
(निरौला लेखक तथा वक्ता हुन् ।)