छोरीहरू बाँच्दैखेरि न्याय मागौं


भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्युको घटनाले समाज तातेको छ। सार्वजनिक तथ्य अनुसार प्रकृतिले आफूमाथिको हिंसा सहन सकिनन्। दुर्व्यवहारबाट बाहिर निस्कन गरेको प्रयासलाई उनले जित्न सकिनन् बरू आत्महत्याको बाटो रोजिन्।

भोगेको हिंसा र दुर्व्यवहारबारे कलेज प्रशासनलाई उनले जानकारी नदिएकी पनि हैनन् तर साथ र सहयोग पाइनन्। परिणाम अब प्रकृति हामीमाझ छैनन्।

***

सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुरमा १७ वर्षकी रिंकुकुमारी सदाय सामूहिक बलात्कारमा परिन्। माघ २६ गते राति शौच गर्न भनेर घर बाहिर निस्किएकी उनी २७ गते बिहान रोइरहेको अवस्थामा घर बाहिर भेटिएकी थिइन्। उनले आफूमाथि सामूहिक बलात्कार भएको परिवारलाई बताएकी थिइन्।

रिंकुका अनुसार स्थानीय रूपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेला घटनामा संलग्न थिए। घटनापछि पीडकलाई कारबाही र पीडितलाई न्याय त परको कुरा घटना दबाउन पञ्चायत बस्यो। केही रकम दिएर घटना सामसुम पार्न खोजियो। तर, पीडित पक्षले प्रस्ताव अस्वीकार गर्‍यो। माघ ३० गते राति रिंकु आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परिन्। रिंकुले आत्महत्या गरिन् वा हत्या गरियो? प्रष्ट भइसकेको छैन।

***

अहिले प्रकृतिको मृत्युपछि सामाजिक सञ्जालहरूमा जस्टिस फर प्रकृति ह्यास्ट्याग चलिरहेको छ। फेसबुक, एक्स, इन्स्टाग्राम, टिकटक जताततै उनको लागि न्याय माग्नेहरूको भीड छ। सांसदहरूले संसद्बाट प्रकृतिको न्यायको लागि आवाज उठाइरहेका छन्।

हामीमध्ये धेरैले बिर्सिसक्यौं होला !

केही महिनाअघि छिमेकी देश भारतको पश्चिम बङ्गाल राज्यमा भएको आततायी घटनाले सिङ्गो भारत अशान्त बन्यो। भारत मात्रै होइन, सिङ्गै दक्षिणएशियामा त्यो क्रूर घटनाको चर्को विरोध भयो। छोरीहरूको सुरक्षाको माग गर्दै विभिन्न प्रदर्शन भए।

सञ्जालमै केही व्यक्तिले किशोरी तथा बालिकाले समयमै आफ्नो परिवार वा साथीभाइलाई आफ्नो समस्या बताएको भए यस्तो दुःखद् घटना हुँदैनथ्यो कि ? भन्ने आशयका विचारहरू समेत व्यक्त गरिरहेका छन्। मेरो मनमा भने केही प्रश्नहरू छन्, के छोरीहरूले बाँच्दैखेरि सुनाएको पीडा हामीले सुनेका छौं?

पश्चिम बङ्गाल राज्यको कोलकातास्थित आरजी कर मेडिकल कलेज अस्पतालमा ९ अगस्टको रात एकजना प्रशिक्षार्थी डाक्टरमाथि बलात्कार र हत्याको घटना भयो। रातको सिफ्टमा ड्युटीमा रहेकी ३१ वर्षीया डाक्टर खाना खाएर आराम गर्न सेमिनार हलमा गएकी थिइन्। केहीबेर आराम गर्न गएकी उनी शरीरका विभिन्न भागमा गहिरो चोट लागेको अवस्थामा भोलिपल्ट मृत भेटिइन्। कार्यस्थलमा (त्यसमाथि अस्पताल जस्तो ठाउँमा) समेत सुरक्षित नभएका महिला अन्यत्र कहाँ सुरक्षित होलान्? यस घटनापछि भारतमा यो प्रश्न चर्को रूपमा उठ्यो।

बलात्कार र हत्याको घटनाको विरोधमा देशभरका डाक्टर आकस्मिक बाहेकका सेवा बन्द गरी सडकमा उत्रिए। महिला तथा किशोरीहरूले सुरक्षाको माग राख्दै विभिन्न आन्दोलन गरे। विद्यार्थीहरू आन्दोलनमा उत्रिए। आन्दोलनमा उनीहरूका परिवारले समेत साथ दिए।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पीडकलाई कडाभन्दा कडा कारबाही र मृतक डाक्टरको न्यायको माग राख्दै अभियान छेडे। डाक्टरको न्यायको माग इन्टरनेटमा ट्रेन्डिङ बन्यो। सयौं नेपालीले पनि सामाजिक सञ्जाल मार्फत मृतक डाक्टरको न्यायको माग राख्दै ह्यास्ट्याग चलाए।

***

भारतमा डाक्टरको बलात्कार र हत्याको घटना सेलाउन नपाउँदै अमेरिकामा एक जना नेपाली नर्स बेपत्ता भएको र आफ्नै श्रीमान्‌ले उनको हत्या गरेको हुनसक्ने खबर सार्वजनिक भयो। अमेरिकाको भर्जिनियामा (नेपाली नर्स) ममता काफ्ले बेपत्ता भएको लामो समयसम्म पनि फेला नपरेको र उनकै श्रीमान्‌ले हत्या गरी शव लुकाएको हुनसक्ने खबर आए। ममताको शव लुकाएको मुद्दामा उनका श्रीमान् नरेश भट्ट पक्राउ परे।

ममताको मृत्युपछि उनको न्यायको लागि इन्टरनेटमा उसैगरी आवाज उठ्यो, जस्टिस फर ममता। ममताको न्यायको लागि फेसबुक, एक्स, इन्स्टाग्राम, युट्युब, टिकटक मार्फत मानिसहरूले आवाज उठाए।

***

यी चारै घटनामा देखिएको साझा चरित्र भनेको जब किशोरी वा महिलाको हत्या वा मृत्यु हुन्छ, त्यसपछि न्यायको लागि चर्को रूपमा आवाज उठेको छ।

केही घटनामा त बालिका वा किशोरीको हत्या/मृत्युपछि पनि न्यायका लागि आवाज उठेको छैन। पीडितको न्यायका लागि उठ्ने आवाजमै भएको विभेदबारे अर्को पटक चर्चा गरौंला।

सञ्जालमै केही व्यक्तिले किशोरी तथा बालिकाले समयमै आफ्नो परिवार वा साथीभाइलाई आफ्नो समस्या बताएको भए यस्तो दुःखद् घटना हुँदैनथ्यो कि ? भन्ने आशयका विचारहरू समेत व्यक्त गरिरहेका छन्।

मेरो मनमा भने केही प्रश्नहरू छन्, के छोरीहरूले बाँच्दैखेरि सुनाएको पीडा हामीले सुनेका छौं? उनीहरूले भोगेको दुर्व्यवहारलाई हामीले गम्भीरताका साथ लिएका छौं? उनीहरूमाथि भएको हिंसा विरुद्ध हामी बोलेका छौं? छोरीहरू बाँच्दैखेरि उनीहरूको न्यायका लागि हामीले आवाज उठाएका छौं?

के प्रकृति लम्सालले आफूमाथि भएको दुर्व्यवहारबारे कलेज प्रशासनसँगै आफ्ना साथीभाइ र आफन्तलाई पनि भनेको भए हामी अहिले जस्तै जस्टिस फर प्रकृति ह्यास्ट्याग चलाउँथ्यौं? उनलाई दुर्व्यवहार गर्नेलाई कडा कारबाहीको लागि पहल गर्थ्यौं ? कि हामी उनलाई नैतिकता पढाउन थाल्थ्यौं ? भारतमा उनलाई उनका बुवाआमाले कति दुःखले पढ्न पठाएका थिए भन्ने सम्झाउन थाल्थ्यौं ? वा उनलाई चरित्रको ज्ञान बाँड्न थाल्थ्यौं ?

पीडकलाई कारबाहीका लागि प्रहरी र कलेज प्रशासनलाई दबाब दिएर हामी प्रकृतिलाई साथ दिन्थ्यौं कि उनका बारेमा बाहिर आएका अडियो इन्टरनेटमा दौडाउन थाल्थ्यौं ? के हामी साँच्चै उनको पीडालाई संवेदनशील रूपमा लिन्थ्यौं ? एकपटक आफैंलाई सोधौं त, प्रकृतिले बाँच्दैखेरि हामी उनको पीडा सुन्थ्यौं?

हिंसा भोगेका छोरीहरूले बाँच्दैखेरि सुनाएका पीडा हामीले सुनेका छौं ? कि उनीहरूलाई नैतिकता र चरित्रको पाठ पढाएर बस्ने गरेका छौं ?

रिंकुले आफूमाथि भएको सामूहिक बलात्कारको पीडा सुनाउँदा हामीले गम्भीरताका साथ लिएर पीडकलाई कारबाहीको प्रक्रिया समयमै अगाडि बढाउन सकेको भए शायद आज उनी जीवित हुन्थिन्। रिंकुको ‘हत्यारा’ ती बलात्कारी मात्रै होइनन्, संरक्षण गर्न बसेको पञ्चायत पनि हो। त्योभन्दा बढी पीडकलाई संरक्षण गर्नुपर्ने मनोविज्ञान बोकेको समाज हो।

हत्यारा ती स्थानीय जनप्रतिनिधि हुन्, जसले आफ्नो गाउँमा भएको यो कुकृत्य ढाकछोप गर्न खोजे, समयमै प्रहरीलाई खबर र न्यायका लागि पहल गरेनन्।

रिंकुको हत्यारा हाम्रो स्थानीय प्रहरी प्रशासन हो, जसले पाँच दिनसम्म पनि गाउँमै भएको यो घटना थाहा पाएन वा पाएर पनि नपाए जस्तो गर्‍यो र जीवन बाँच्न सघाउन सकेन। बलात्कार जस्तो जघन्य अपराधको घटनामा पीडितलाई बाँच्नै नसक्ने बनाउने समाज हत्यारा हो।

***

केही वर्षअघि कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायको लागि पनि यसरी नै माग भएको थियो। कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। घटना भएको ६ वर्ष बितिसक्दा समेत घटनामा संलग्न व्यक्ति अझै पक्राउ पर्न सकेको छैन।

कञ्चनपुर घटनामा निर्मला पन्त बाँचेको भए उनका लागि न्याय माग्ने भन्दा उनलाई नैतिकता र चरित्रको पाठ पढाउनेहरूको भीड बढी हुन्थ्यो शायद। छोरीमान्छे भएपछि के गर्न हुन्छ, के गर्न हुँदैन, कहाँ जाने, कहाँ नजाने, के गर्ने, के नगर्ने, कसरी बोल्ने, कोसँग मात्रै बोल्ने, कोसँग हिंड्ने, कुन बाटो हिंड्ने, कति बजे हिंड्ने, कति बजे नहिंड्ने… आदि।

ममता काफ्लेले बाँच्दैखेरि आफूले भोगेको हिंसा साझा गरेर श्रीमान्‌सँग बस्न नसक्ने कुरा बताएको भए उनका लागि न्याय माग्नेहरू धेरै हुनेथिए कि, घर सम्हाल्न र परिवारको इज्जत राखिदिन छोरीहरूले गर्नुपर्ने त्यागका बारेमा उनलाई पाठ पढाउने धेरै हुनेथिए ?

पक्कै पनि उनलाई पाठ पढाउनेको भीड नै ठूलो हुनेथियो। समाजले परिवार जोगाइदिने, घर सम्हाल्दिने र इज्जत धानिदिने जिम्मा छोरीहरूलाई जो सुम्पिएको छ।

***

केही समय अगाडि मात्रै एक जना कथित सेलिब्रेटी खेलाडी जोडिएको घटनामा पीडित बालिकाले भोग्नुपरेको धम्की, उनलाई आएको प्रलोभन र दबाबबारे नजिकबाट बुझेपछि, उनको विक्षिप्त मानसिक अवस्था बुझेर म आफैं कैयौं दिनसम्म मेन्टल्ली डिस्टर्ब भएँ। उसले आफूलाई माफी गरिदिन निरन्तर ती बालिकालाई फकाइरहेको थियो।

प्रलोभन देखाउँथ्यो र कहिलेकाहीं डर समेत देखाइरहेको थियो। खेल नियम र अनुशासन तोडेर हिंडेको खेलाडी अदालतको नियम समेत तोडेर बालिकालाई मेसेज गरेर फकाउने र डर देखाउने गरिरहेको थियो। तर, सामाजिक सञ्जालमा भने आफू निर्दोष रहेको भन्दै लामा–लामा स्टाटस लेखिरहेको थियो।

पीडकको ‘फ्यान/फलोअर्स’बाट आउने धम्कीका कारण पीडित बालिकाले डरै–डरमा बाँच्नुपर्‍यो। आफ्नो अनुहार छोपेर, परिचय लुकाएर हिंड्नुपर्‍यो। आफूमाथि भएको हिंसाको घटनामा न्यायका लागि लड्ने साहस गरेकी उनले पीडकमैत्री अदालत र पीडितलाई थप यातना दिने समाजका कारण आजित भएर हार मानिन्।

र, यो देशै छोड्ने अवस्थामा पुगिन्। न्याय सहितको जीवन बाँच्न चाहेकी ‘गौशाला २६’ लाई यो समाजले बाँच्नै नसक्ने अवस्थामा पुर्‍याइदियो।

गौशाला २६ ले पीडकसँग मात्र लडाइँ लडिनन्, सिंगो समाजसँग संघर्ष गरिन्। उनले बलात्कार आरोपितलाई फूलमाला पहिर्‍याउने राष्ट्रपतिसँग लडाइँ लडिन्। आरोपितलाई सम्मान गर्ने प्रधानमन्त्रीसँग लडिन्। प्रमाणले घेरिएका पीडितलाई ससम्मान सफाइ दिने न्यायमूर्तिसँगै पौंठेजोरी खेलिन्।

छोरीहरू बाँच्दैखेरि न्याय मागौं

सबैभन्दा ठूलो संघर्ष त न्याय प्रणालीलाई ऐना देखाइएको एकथान निवेदनका आधारमा गम्भीर फौजदारी अभियोगमा माथिल्लो अदालतमा नजाने गरी निर्णय गरिदिने न्यायिक मनसँग गरिन्। किशोरावस्थामा उनले झेलेको मानसिक दबाब र उल्झन यो समाजको बहीखातामा शायदै अट्दैन।

केही वर्षअघि एक जना गायिकालाई सोही क्षेत्रका पुरुषले बलात्कार गरेको घटना सार्वजनिक भयो। त्यो मुद्दा अदालतसम्म पुग्यो। समाज दुई कित्तामा बाँडियो, पीडितको पक्षमा न्याय माग्नेहरूको आवाज मसिनो थियो। उनलाई चरित्र पढाउने, तथानाम गाली गर्ने, ब्लेम गर्ने र थप हिंसा गर्नेहरूको भीड ठूलो थियो।

लामो संघर्षपछि उनले आफूलाई पुरानै अवस्थामा फर्काउने कोसिस गरिन् र आफ्नो कामलाई निरन्तरता दिन थालिन्। अझै पनि सञ्जालहरूमा उनलाई जथाभावी कमेन्टहरू भेटिन्छन्।

झन् कुनै एलिट फ्यामिलीको मान्छे पीडक होस्, कुनै एउटा क्षेत्रमा नाम कमाएको होस्, पीडितले भोग्नुपर्ने दबाब, प्रलोभन, थ्रेट र उनलाई होस्टाइल गराउने हर्कत सम्झेर अत्यास लाग्छ।

समाज द्वैध चरित्रको छ। हिंसामा परेर बाँचेका छोरीहरूलाई जलिल गर्छ। बाँच्नै नसक्ने बनाइदिन्छ। अनि मरेका छोरीहरूको नाममा आँसु बगाउँछ र उनीहरूको लागि न्याय माग्छ। छोरीहरूले मरिसकेपछि पाउने न्याय के हो ? छोरी भएकै कारण यो समाजमा बाँच्न नपाउनु, यो नै सबैभन्दा ठूलो अन्याय होइन र ?

के समाज साँच्चै छोरीहरू बाँचून् भन्ने चाहन्छ ? समाज साँच्चै छोरीहरू बाँचून् भन्ने चाहन्छ भने किन उनीहरू बाँच्दैखेरि न्याय माग्दैन ? हिंसामा परेका छोरीहरूको पीडा किन सुन्दैन र उनीहरूलाई थप हिंसा गर्न तम्सिन्छ ? समाज ३० वर्षको पुरूषसँग नैतिक चरित्रको प्रश्न गर्दैन तर, १५ वर्षीया बालिकाको चरित्रमा प्रश्न उठाउँछ।

जब हरेक पटक महिला वा बालिका आफूमाथि भएको हिंसाको घटनामा न्यायको लागि प्रहरीकोमा पुग्छन्, उनीहरूलाई आउने दबाब, पीडकलाई माफी दिन आउने फोनहरू सम्झिंदा आत्तिन्छु। अदालतसम्म पुग्न उनीहरूले कति संघर्ष गर्नुपर्‍यो होला भन्ने कुराले पीडा महसुस हुन्छ।

अझ यौन हिंसाका घटनामा पीडितलाई नै गरिने ब्लेम र चरित्रमा उठाइने प्रश्नले न्यायको प्रक्रियामा आधा बाटोबाटै फिर्ता हुने बालिकाहरूको अवस्था डरलाग्दो छ। उनीहरू यो समाजमा बाँच्न पनि नसक्ने अवस्थामा पुगिरहेका छन्।

झन् कुनै एलिट फ्यामिलीको मान्छे पीडक होस्, कुनै एउटा क्षेत्रमा नाम कमाएको होस्, पीडितले भोग्नुपर्ने दबाब, प्रलोभन, थ्रेट र उनलाई होस्टाइल गराउने हर्कत सम्झेर अत्यास लाग्छ।

नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा २५ सय भन्दा धेरै महिला तथा बालिकामाथि बलात्कारको घटना भएको छ। झन्डै ५०० बलात्कार प्रयासका घटना भएका छन्। यी प्रहरीमा दर्ता भएका घटना मात्रै हुन्। प्रहरीसम्म आउनै नसकेका, आउन नपाएका, आउन नदिइएका, दबाबमा मिलाइएका, सामसुम पारिएका घटनाको तथ्यांक कति होला ?

महिला तथा बालिकाहरूमाथि भएका हिंसाका घटनामा दुईवटा अवस्था देखिएको छ। कुनै घटनामा छोरीहरू बाँच्दैखेरि हामीले उनीहरूका लागि आवाज उठाउन सक्ने समय हुन्छ। तर, कतिपय घटनामा हामीले घटना थाहा पाउने बेलासम्म महिला तथा बालिकाको मृत्यु भइसकेको हुन्छ।

हिंसामा परेर बाँचेका छोरीहरूको लागि समय छँदै आवाज उठाउनु र उनीहरूलाई यो समाजमा बस्न सक्ने, बाँच्न सक्ने बनाउनु नै उनीहरूको लागि सही अर्थमा न्याय हो। हामी साँच्चै छोरीहरू बाँचुन् भन्ने चाहन्छौं भने, हिंसामा परेर बाँचेका छोरीहरूका लागि उनीहरू बाँच्दैखेरि न्यायको लागि आवाज उठाऔं। हिंसा विरुद्ध बोल्न छोरीहरूको मृत्यु कुरेर नबसौं।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School