चुरोटले लत लाग्छ । लतले चुरोटको मात्रा बढाउँछ । मात्रा बढ्दै जाँदा फोक्सो खराब हुन्छ । खराब हुँदै गएपछि फोक्सोमा क्यान्सर गराउँछ । बिस्तारै हरेक अंग खराब पार्छ ।
यस्तो नतिजा हुन्छ भनेर चुरोटको लत बसेका सबैलाई थाहा छ । यति थाहा हुँदाहुँदै पनि चुरोट खान छाड्दैनन् । किनकि लत बसिसकेपछि चाहेरै पनि छाड्न मनले मान्दैन । उनीहरू जे होला, भोलिको दिनमा होला । स्वास्थ्य यसै खराब भइसक्यो भन्दै चुरोटको लतलाई निरन्तरता दिन्छन् ।
तर तीमध्ये अधिकांशलाई थाहा छैन । चुरोट छाड्ने बित्तिकै मन्द रूपले बिग्रिएको फोक्सोको अवस्था सुधार हुन्छ । जति छिटो छोड्न सक्यो त्यति फोक्सो बिग्रने जोखिम ९० प्रतिशतले कम हुन्छ ।
चुरोट त्यागे बिग्रेको फोक्सो पहिलेको जस्तै स्वस्थ हुन सम्भव छ ?
पक्कै पनि सम्भव छ । चुरोट एक-दुई सर्कोबाट लतको रुप लिंदासम्म फोक्सोको कोषहरुमा क्षति पुगिसकेको छ । त्यो अवस्थामा चुरोट छाडेमा त्यसको पाँच वर्षपछि ९० प्रतिशत बिग्रेको फोक्सोमा सुधार आउँछ । किनकि चुरोट छोड्नु भनेको कोष बिगार्ने ट्रिगर नै हट्नु हो । कोषहरु बन्ने र नासिने प्रक्रिया शरीरभर नै भइरहेको हुन्छ । यो क्रमलाई पनि चुरोटले ट्रिगर गरेकै कारण क्षति पुग्ने हो । यो ट्रिगर नै हटिसकेपछि कोषहरु सामान्य बन्ने पुन: मौका पाउँछन् ।
यस्तोमा पाँच वर्ष भन्दा बढी जति लामो समय भयो त्यति फोक्सो बिग्रने जोखिम कम हुन्छ । बिग्रिएको अवस्था क्रमिक रुपमा सुधार हुँदै जान्छ । तर त्यो जोखिम शून्यले भने कम हुँदैन । तर ४० वर्ष अगाडि नै चुरोटको लत चटक्कै छोड्दा शून्यको आसपासमै जोखिम कम हुनसक्छ । त्यस्तै, ७० देखि ८० वर्षको व्यक्तिले पनि चुरोट छोडेमा पनि यसको फाइदा देखिएको छ ।
त्यति मात्र होइन, क्यान्सर लागिसकेपछि चुरोट छोड्दा पनि औषधिले प्रभावकारी ढङ्गले काम गर्ने, दोस्रो क्यान्सर हुने जोखिम कम हुने र फैलिने जोखिम कम हुन्छ । दम र अक्सिजन कम भइसकेको अवस्थामा पनि चुरोट छाड्ने हो भने फाइदाजनक नतिजा देखिन्छ । त्यसैले चुरोट भनेको जुनसुकै अवस्था, उमेर र रोग भएमा पनि चुरोट छोड्दा प्रभावकारी सुधार स्वास्थ्यमा देखिएको पाइन्छ ।
विज्ञानले भन्छ, एउटा मानिसले चुरोट सेवन त्यागेको २० मिनेटमा रक्तचाप नर्मल हुन्छ । तीन दिनमा सास फेर्न सजिलो अनुभव गर्न सक्छ भने एक वर्षमा हृदयघात हुने सम्भावनालाई ५० प्रतिशत कम हुन्छ । चुरोट छाडेको पाँच वर्षमा प्यारालाइसिस हुने सम्भावना चुरोट नखाने मानिसको बराबर हुन्छ भने १५ वर्षमा हृदयघात हुन सक्ने सम्भावना चुरोट नखाने मानिसको बराबर हुन्छ ।
चुरोटको मात्रा सीमित गर्दैमा हट्दैन जोखिम
कतिपयले आफैं जुक्ति लगाई चुरोट कम खाएर यसले पार्ने जोखिम कम गर्छु भनेर सोच्छन् । सो अभ्यास गर्छन् । सो अभ्यास गर्दै पूर्ण रुपमा त्याग्ने हो भने सो प्रयास प्रभावकारी बन्न पुग्छ । तर मात्रा घटे पनि चुरोट खाने अभ्यासलाई निरन्तरता दिन्छन् भने सीमितता गरेको काम लाग्दैन ।
किनकि चुरोट थोरै या धेरै खाए पनि समग्र शरीरको लागि विष नै हो । चुरोट खाने बानी भएकाले चुरोटको मात्रा केही कम गर्दा पनि फोक्सो बिग्रने जोखिम कम हुँदैन । अध्ययनहरूले पनि चुरोटमा सीमितता अपनाउँदा जोखिम कम नगर्ने देखाएको छ ।
बरु, खाने तरिकामा भने केही परिवर्तन ल्याउँछ । यसो भन्नुको मतलब यसको मात्र एउटै विकल्प हो, चुरोट छोड्नु । चुरोट छोडेमा मात्र फोक्सोको स्वास्थ्यमा सुधार आउँदै जान्छ ।
चुरोटले फोक्सोलाई कहिले असर पार्छ ?
निकोटिनले मस्तिष्कलाई यति मोहित पार्छ कि दिमागले निकोटिन विना के न पुगेको जस्तो भान गराउँछ । जसकारण व्यक्ति एकपछि अर्को खिल्ली गर्दै यसको लतमा पर्छन् । चुरोट दिनहुँ खाँदा यसले केही महिनामै असर गर्न थाल्छ ।
यस्तोमा जति बढी चुरोट खायो, त्यति फोक्सो बिग्रने जोखिम बढ्छ । १५ वर्षसम्म लगातार चुरोट खाएमा ४० गुणाले फोक्सो क्यान्सर र दीर्घ दम हुने जोखिम रहन्छ ।
दिनको एक खिल्ली मात्र चुरोट पिउने मानिसहरूमा कहिल्यै चुरोट सेवन नगर्ने मानिसभन्दा मुटुरोग लाग्ने सम्भावना ५० प्रतिशत बढी हुने र ३० प्रतिशत बढी पक्षघातको सम्भावना हुने पछिल्ला अध्ययनहरूले देखाएका छन् ।
चुरोटले फोक्सोलाई कसरी असर गर्छ ?
चुरोटले फोक्सोमा संक्रमण गराउँछ । चुरोटमा हुने रसायनले एलर्जी गराएर रुघाखोकी लाग्ने, निमोनिया हुने, भाइरल संक्रमणको जोखिम पनि बढाउँछ । रसायनहरूले फोक्सोका साना वायुमार्ग र कोमल तन्तुहरूलाई क्षति पुर्याउन सक्छ । श्वासनली सुनाउने, साँघुर्याउने गर्छ, जसले खोकी र छातीमा दागहरू बनाउन सक्छ ।
एक अन्तर्राष्ट्रिय जर्नल अनुसार धुम्रपानले फोक्सोको सानो वायु थैलीलाई पनि नष्ट गर्छ, जसलाई एल्भिओली भनिन्छ । एक पटक एल्भिओली क्षतिग्रस्त भएपछि तिनीहरू आफैं मर्मत गर्न कठिन हुन्छ । पर्याप्त मात्रामा एल्भिओली नष्ट भएमा श्वासप्रश्वाससम्बन्धी रोगहरूबाट संक्रमणको उच्च जोखिम हुन्छ ।
धुम्रपानको धुवाँले वायु प्रदूषणलाई बढावा दिन्छ । धुम्रपानको धुवाँ जब हावामा जान्छ, त्यो पाँच घण्टासम्म रहिरहन्छ, उडिरहेको हुन्छ । मान्छेले सास लिइरहँदा मानिसको फोक्सोमा सिधै जान्छ । यसले गर्दा पनि क्यान्सर अनि अन्य श्वासप्रश्वासको रोग बढाइरहेको छ । जुन नसर्ने रोगका प्रमुख कारण बनिरहेका छन् ।
फोक्सोको कोषहरुलाई क्षति पारेर खकार नलीको ग्रन्थीमा पनि प्रभाव पार्छ । जसकारण ग्रन्थीबाट बढी खकार आउने र खोकी पटक-पटक लाग्ने हुन्छ ।
चुरोटले क्रोनिक ओवस्टर्टिक फल्मोनरी डिजिजको (सीओपीडी)को सम्भावना बढाउँछ । यो समस्या भएमा सासनली खुम्चाएर सास फेर्न कठिन बनाउने, खोकी बढ्ने र अक्सिजनको प्रवाह कम भई नपुग्ने समस्या हुन्छ । त्यस्तै, फोक्सोमा जाली बनाएर बिगार्ने काम पनि चुरोटले गर्छ । जसलाई आईएलडी भन्ने गरिन्छ ।
चुरोटले क्यान्सर कसरी गराउँछ ?
चुरोटमा हुने हजारौं केमिकलमध्ये ६९ प्रकारका क्यान्सरजन्य कार्सिनोजेनिक रसायन हुन्छ । ती रसायन बिस्तारै फोक्सोमा पुगेर त्यहाँको कोष र रगतमा मिसिन्छ । फोक्सोको कोषहरुलाई क्यान्सरको जोखिम गराउने प्रि-मालिगनेन्टमा स्टेजमा परिवर्तन गराई क्यान्सर कोषमा परिवर्तन गर्छ ।
फोक्सो क्यान्सरको तथ्यांक हेर्दा ९० प्रतिशतले चुरोट सेवन गर्ने गरेको भेटिएको छ । दैनिक १५ खिल्ली पिउने फोक्सो क्यान्सरको जोखिम बढ्दो देखिन्छ ।
त्यति मात्र होइन, क्यान्सरजन्य पदार्थ रगतबाट अरु अंगमा पुगेर अन्य क्यान्सर गराउँछ । सासनली पनि साँघुरिएर क्षति हुन्छ । रोगसँग लड्ने क्षमता घटेर जान्छ । फोक्सो क्यान्सर मात्र नभई सम्पूर्ण क्यान्सरहरुको जोखिम बढाउँछ ।
विश्व स्वास्थ्य संगठनको अध्ययनका अनुसार धुम्रपानले चार सेकेन्डमा एक जनाको मृत्यु गराउँछ । धुम्रपानकै कारण विश्वभर वार्षिक ८० लाख मानिसको मृत्यु हुने गर्छ ।
चुरोट खाने र नखानेबीच भिन्नता ?
चुरोट खाने र नखानेबीच धेरै भिन्नता पाइन्छ । चुरोट खानेमा तुलनात्मक रुपमा मुटुको समस्या, मस्तिष्क घात, यौन दुर्बलता, आँखा सम्बन्धी समस्या, मुख तथा दाँत स्वास्थ्यको जोखिम रहन्छ । त्यति मात्र होइन, हरेक अंगको क्यान्सरको जोखिम रहन्छ ।
यति धेरै समस्या पार्ने चुरोटजन्य पदार्थको कसरी भयो थालनी ?
चुरोट पहिले औषधिमूलोका लागि प्रयोग हुन्थ्यो । १५ औं शताब्दीदेखि इङ्ल्यान्डमा चुरोटको प्रयोग व्यापक भयो । त्यतिबेला औषधिको रुपमा प्रयोग गरे पनि यसको गन्धले मान्छेलाई तान्यो । जसले पछि चुरोटमा हुने केमिकललाई बालेर, गन्ध सुँघ्ने, पाइप, हुक्का र चिलिममा राखेर तान्ने गलत अभ्यासको सुरुवात भयो । यसपछि प्रयोगकर्ता र यसको लत दिनप्रतिदिन बढ्दै गयो ।
२० औं शताब्दीमा भने यो व्यावसायिक रुपमा कारोबार हुने देखेर कारोबारको रुपमै चुरोट बिक्री वितरणको थालनी भएको पाइन्छ । फलस्वरूप आज चुरोटले गर्ने प्राणघातक असरबारे सजगता बढे पनि प्रयोगकर्ता र बिक्री वितरणमा रोक लगाउन सकेको छैन ।
आजभोलि युवापुस्तामा चुरोटको डरलाग्दो लत देख्न सकिन्छ । साथीभाइको नक्कल गरेर खाने र बिस्तारै यसको लत बसेको पाइन्छ । नेपालको कुरा गर्ने हो भने २५ प्रतिशत जनसंख्यामा चुरोटको लत छ ।
चुरोटलाई हटाउन ल्याइएको भेप नै बन्यो खतरनाक
लत हटाउने प्रयास नभएका होइनन् । चुरोटको लत हटाउन भेपको प्रयोग ल्याइयो । तर नतिजा सोचेकोभन्दा उल्टो भइदियो । चुरोटसँगै युवामा भेपको पनि लत बढ्यो ।
भेपको लत चुरोटको भन्दा पनि जोखिमपूर्ण हुन्छ भन्ने विभिन्न अध्ययनले देखाएका छन् । जसकारण अमेरिकामा भेपको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । तर नेपाल जस्ता एसियाली मुलुकमा खुल्लमखुल्ला नै खाने र बेच्ने गरिन्छ । चुरोट लुकाएर खाने गर्थे भने भेप देखाएर फेसनकै लागि खानेको संख्या बढ्दो छ ।
चुरोट कसरी छुटाउने ?
चुरोट छुटाउने पनि एउटा नियम छ । त्यसका लागि पहिला व्यक्तिको स्वेच्छा सोधिन्छ । चुरोट छोड्न तयार हो भनेर प्रश्न सोध्दा ‘सक्दिन वा मन छैन’ भन्ने जवाफ आउँछ भने त्यो छलफलमा छोड भनेर भन्नुको सट्टा चुरोटले पार्ने असरको बारेमा बताइन्छ ।
यति भनेपछि पुन: चुरोट छोड्नु हुन्छ भनेर सोध्दा जवाफमा ‘हुन्छ’ भन्ने आयो भने चुरोट कति खाने गरेको छ ? कुन खाने गरेको छ ? कुन समय सबै जानकारी लिइन्छ ।
यो जानकारी लिएपछि चुरोटको मात्रा र समय कम गर्न लगाइन्छ । लतले गर्दा चाहेर पनि छोड्न नसक्नेको लागि निकोटिन रिप्लेसमेन्ट थेरापी दिइन्छ । यो थेरापीले चुरोटको लत कम गराउँदै लान्छ । यी बाहेक केही औषधि, योग र ध्यानले पनि यसको लतलाई कम गराउँदै लैजान्छ ।
त्यस्तै, चुरोट छुटाउन चाहनेहरुलाई गाली गरेर होइन, दबाब नदिई उत्प्रेरणा दिने हिसाबले सम्झाउनुपर्छ । कतिपयले चुरोट छाडेर खैनी र सुर्ती खान थाल्छन् । तर यो गलत अभ्यास हो ।