प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार

इरानले होर्मुज जलमार्ग भएर जाने जहाजहरूमाथि शुल्क लगाउने निर्णय गरेको छ। इरानी संसद् अन्तर्गतको सुरक्षा आयोगले उक्त जलमार्ग हुँदै जाने जहाजहरूमा नयाँ नियम लागू गर्ने र शुल्क (टोल) उठाउने प्रस्ताव पारित गरेको हो।
इरानी सरकारी सञ्चार माध्यमका अनुसार यो योजना “इरानको सार्वभौम भूमिका र आफ्ना सशस्त्र बलको अधिकारलाई कार्यान्वयन गर्ने” उद्देश्यले ल्याइएको हो। यस योजनामा होर्मुज जलमार्गको नियन्त्रण र निगरानीलाई अझ मजबुत बनाउने विभिन्न उपायहरू समेटिएका छन्।
जसमा जलमार्गको सुरक्षा व्यवस्था, समुद्री यातायातलाई सुरक्षित बनाउने विधि, जहाजहरूबाट इरानी मुद्रा (रियाल) मा शुल्क असुल गर्ने प्रावधान, र अमेरिका तथा इजरायलका जहाजहरूलाई आवागमनमा पूर्ण प्रतिबन्ध लगाउने प्रस्ताव समावेश छ।
होर्मुज जलमार्ग विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने एक अत्यन्तै महत्त्वपूर्ण मार्ग हो। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि सुरु भएको द्वन्द्वको यो क्षेत्र मुख्य केन्द्र बनेको छ।
इरानले जलमार्ग बन्द गर्ने र जहाजहरूमाथि अवरोध सिर्जना गर्ने गरेका कारण दैनिक करिब १ करोड ५० लाख ब्यारेल कच्चा तेल पर्सियन खाडीमै रोकिएको छ। यसले विश्वव्यापी तेल बजारमा ठूलो अस्थिरता ल्याएको विश्लेषकहरूले बताएका छन्।