चिन्ता दोलखाको सम्पदा संरक्षणमा

चिन्ता दोलखाको सम्पदा संरक्षणमा


धेरै टाढा परदेशको व्यस्त दिनचर्यामा अल्झिरहँदा पनि प्रायः म आफ्नो गाउँघर दोलखा सम्झिरहन्छु । आफू जन्मे–हुर्केको ठाउँ, आमा–बुवा, आफन्त, साथीसँगी, विगतका कुराहरू सम्झेर स्मृतिका पानाहरूमा हराउँछु । त्यो खेतबारी, वनपाखा, उकाली–ओराली, देउराली, भञ्ज्याङ–चौतारी सबै–सबै सम्झेर ‘नोस्टाल्जिक’ भइरहन्छु ।

पोहोर साल धेरै समयको अन्तरालपछि शरद याममा गाउँ पुगें । पहिले पहिले वर्षा, झरी बादलबाट मौसम तंग्रिएर आकाश छ्याङ्ग खुलेपछि शरद ऋतुको आगमन हुथ्यो । ऋतु, महिना अनुसार मौसम अनुमान गर्न सकिन्थ्यो । तर, अचेल मौसमको कुनै भर हुँदैन । शरद ऋतुमा मनाइने दशैं तिहारलाई पनि झरी, वर्षा र बादलले विथोलिदिन सक्छ ।

म स्कूल पढ्दाताका हिउँदभरि मेरो गाउँ वरपरका अग्ला पहाडहरू शैलुङ, हनुमन्ते, कालिञ्चोकका थुम्काहरू हिउँले ढाकिरहेका हुन्थे । बिहान उठ्दाखेरि गाउँका बाटा, बगैंचा, घरका छाना, आँगन सेतो तुषारोले छपक्कै छोपिएका हुन्थे ।

कहिलेकाहीं गाउँमा पनि हिउँ पथ्र्यो, अचेल गाउँबाट देखिने ती लेकहरूमा हिउँदमा पनि विरलै हिउँ पर्छ । बरु अचेल हिउँद नसकिंदै गर्मी यस्तरी बढ्छ कि, दोलखाका पहाडहरूमा रातो गुराँसहरू अनि लेकहरूमा सेता चिमालहरू ढकमक्क फुल्न थाल्छन् ।

मलाई भित्रभित्रै के डर लागिरहेको थियो भने कतै गाउँको छोटो बसाइ पनि झरी बादलले खल्लो बनाइदिने त होइन ! तर, त्यस्तो भएन । शरदको शुरुआतको दिनबाटै नीलो आकाश छ्याङ्ग उघ्रिएको थियो । केवल दिन घमाइलो हुनुपर्दछ, शरद याममा पहाडका गाउँहरू त्यसै पनि रमाइलो लाग्छन् ।

त्यसबेला घर–आँगनका गमला अनि बगैंचाभरि मनै बहलाउने मनमोहक सयपत्री र अन्य रंगी–विरंगी फूलहरू फुलिसकेका थिए । मखमली अनि गोदावरीमा कोपिला लागिसकेका थिए । चराको चिरबिर चिरबिर आवाज, मन्द-मन्द शीतल बतासले अनुपम आनन्दको महसुस गराउँथ्यो ।

गाउँमै रहेको भीमेश्वर मन्दिरमा बजिरहने घण्टहरूको आवाजले मन चोखो बनाइदिएको आभास हुन्थ्यो । मलाई मेरो गाउँको भौगोलिक अवस्थिति पनि गज्जबको लाग्छ । दक्षिणतिर तल हतारिंदै नागबेली अविरल बगिरहेको तामाकोशी नदी, माथि बेंसीमा तरेली परेका खेत हेर्दै आकर्षक लाग्छ ।

त्यसमाथि बारी अनि त्यो माथि पहाडमाथि बसेको बस्ती । बस्ती दायाँ र बायाँ हरिया वन । उतरतिर आँखा अगाडि उभिएको गौरीशंकर र रोल्वालिङ हिमशृंखलाका अन्य सेता, शान्त र सुरम्य हिमालहरू कम्ती राम्रा लाग्दैनन् ।

प्रकृतिको सौन्दर्यले सजिएर मात्रै सुन्दर बस्ती भएको होइन दोलखा बजार; यो प्राचीन, ऐतिहासिक, धार्मिक र सांस्कृतिक नगर पनि हो । यो प्राचीन बस्तीको आफ्नै गौरवशाली इतिहास छ । आफ्नै अलग पहिचान छ ।

‘सिनास’ द्वारा प्रकाशित इतिहासकारद्वय धन बज्राचार्य र तेजप्रकाश श्रेष्ठबाट लिखित ‘दोलखाको ऐतिहासिक रूपरेखा’ अनुसार विक्रमको सोह्रौं शताब्दीमा नेपालमा तीन शक्ति देखिएका थिए ।

पश्चिम कर्णालीमा राजधानी रहेको खस राज्य शक्तिशाली हुँदै गएको थियो भने दक्षिणपूर्वमा सिम्रौनगढलाई राजधानी बनाएर दोया राज्य ठूलो हुँदै गइरहेको थियो । काठमाडौंलाई केन्द्र बनाएर मध्य-पूर्वी पहाडमा शासन गरिरहेको मल्ल राज्य यक्ष मल्लको निधनपछि उनका छोराहरूको एकआपसको झगडाले क्रमशः कमजोर हुँदै गइरहेको थियो ।

केन्द्र कमजोर भएको मौका छोपेर दोलखाका भारदार उद्धव देवले दोलखालाई राजधानी बनाएर अभयपुर राज्यको घोषणा गरे । इतिहासमा उल्लेख भए अनुसार त्यो बेला भारत र तिब्बतबीच हुने व्यापारिक मार्गमा पर्ने यो बजार मल्लकालीन समयमा आर्थिक र सांस्कृतिक रूपले सबल थियो ।

पछि तिब्बत र भारत बीच व्यापार गर्न अर्को मार्ग कालिम्पोङतिरबाट खुलेपछि यो शहर ओझेलमा पर्दै गयो । इतिहासकार मोहनप्रसाद खनालका अनुसार महिन्द्र मल्लभन्दा पहिले नेपालमा चाँदीको सिक्का चलाउने पहिलो दोलखाका राजा जय इन्द्रसिंह देव थिए ।

इतिहासकार बाबुराम आचार्यले पनि इतिहासमा दोलखाको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘दोलखाको इतिहास विना नेपालको मध्ययुगीन इतिहास पूरा हुँदैन ।’

आकर्षणको केन्द्र भीमेश्वरको मन्दिर

चिन्ता दोलखाको सम्पदा संरक्षणमा

भीमेश्वरको पवित्र वासस्थान रहेकोले यो शहर धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । लिच्छविकालीन समयमा स्थापना भएको अनुमान गरिएको यस मन्दिरको ख्याति फैलिंदै गइरहेको छ ।

यो मन्दिर परिसरमा रहेको कलात्मक अनि पुरातात्विक महत्वका सिंहका मूर्ति, अग्ला ढुंगाका स्तम्भहरूले जो–कसैको पनि ध्यान खिच्छ । कुनै पनि मेसिन नभएको त्यो मल्लकालीन समयमा कसरी त्यस्तो अग्लो ढुंगाको स्तम्भहरू ठड्याए होलान् भन्ने कौतूहल जो-कोहीको पनि मनमा उठ्छ ।

भीमेश्वरको शिलामा बेला–बेलामा पसिना आउँदा त्यसले देशमा विपत् ल्याउने जनविश्वास छ । आस्तिकहरू भीमेश्वरलाई साक्षात् देवता मान्दछन् । धर्ममा विश्वास नगर्नेहरू पसिनालाई दैवी शक्तिको रूपमा हेर्न नहुने तर्क गर्छन् । तर बेलाबखतका उदाहरणहरूले यसप्रति मानिसलाई सोच्न गम्भीर बनाएको भने देखिन्छ ।

कहिलेकाहीं यो विषयले अन्तर्राष्ट्रिय समाचारहरूमा पनि स्थान पाएको छ । बेलायतबाट निस्कने ‘द टेलिग्राफ’, अमेरिकाको ‘फक्स न्युज’, अस्ट्रेलियाको ‘एबीसी न्युज’ समेतले यो विषयलाई कुनै न कुनै रूपमा समाचारको विषय बनाएका छन् ।

सम्पदा संरक्षणमा जुटेका दोलखाली

प्राचीन सांस्कृतिक वैभव लिएर बाँचिरहेको शहर हो दोलखा । रैथाने नेवारहरूको बसोबास रहेको यो ठाउँको आफ्नै भाषा, संस्कार, संगीत, रीतिरिवाज र परम्परा छ । समयक्रममा मल्लकालीन समयका कतिपय मूर्त र अमूर्त प्राचीन सम्पदा हराए, पर्व र जात्राहरू हुन छोडे ।

भौतिक दूरीले टाढा बसे पनि हामीलाई गाउँको घटनाप्रति चासो लागिरहन्छ । गाउँका खबरहरूलाई केलाउँदा यस्तो लाग्छ; सम्पदा संरक्षणका लागि दोलखा शहरभित्र बस्ने वा दोलखा बाहिर बस्ने दोलखालीहरू अभूतपूर्व रूपमा एक हुन थालेका छन् । स्थानीय सामाजिक संस्थाहरू दोलखा गुठी, कालिञ्चोक युवा क्लब, बनारसी सहयोगी हातहरूले सांस्कृतिक सम्पदा संरक्षणमा काम गरिरहेका छन् ।

केही समय पहिलेका कालिञ्चोक युवा क्लबका तत्कालीन अध्यक्ष प्रकाश श्रेष्ठको पहलमा धेरै वर्ष रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने जात्रा पुनः सञ्चालन हुन थालेको छ । यसै वर्षदेखि बनारसी सहयोगी हातहरूले गाईजात्रा, लाखे नाच साथै हिले जात्रामा देखाइने अन्य नाचहरूमा स्थानीय कलाकारहरूको सहभागिता बढाउन पुरस्कारको पनि व्यवस्था गरेको छ ।

‘लस्ट आटर््स अफ नेपाल’ को सहयोगमा विभिन्न समयमा चोरी भई विदेश पुर्‍याइएका पुरातात्विक महत्वका मूर्तिहरू फिर्ता ल्याइएका छन् । गएको माघमा आकाश भैरवका दुइटा मुकुट चोरी भएको ३० वर्षपछि अमेरिकाको डालास र रुविन संग्रहालयबाट फिर्ता ल्याइएको छ ।

त्यसैगरी, गत वर्षको जेठमा झण्डै तीन दशकपछि सोह्रौं शताब्दीको प्राचीन बज्रधर बुद्धको मूर्ति हङकङस्थित अन्तर्राष्ट्रिय आर्ट डिलर ‘रोस्सी एन्ड रोस्सी’ बाट घर फर्काइएको छ ।

पौराणिक कथामा महाभारतका पाँच पाण्डवहरू गुप्तवास दोलखामा बसेको उल्लेख छ । दोलखाको नेवारहरूले बोल्ने भाषा नै त्यो बेला पाँच पाण्डवहरूले गुप्तवास बस्दा प्रयोग गरेको भाषा हो भन्ने जन-कथन पनि छ । यस भाषाको संरक्षण र सम्वर्धनको लागि चार दशकदेखि उपेन्द्र प्रधानको सम्पादनमा ‘बांपीझ्याला’ नेवारी पत्रिका निरन्तर रूपमा प्रकाशन भइरहेको छ । यो भाषाको शब्दकोश लेख्ने काम पनि हुँदैछ ।

भगवान श्रेष्ठको नेतृत्वमा टोल-टोलमा रहेका भजन घरहरूमा साँझ भजन गाउने परम्पराले निरन्तरता पाइरहेको छ भने परशुराम जोशीको सक्रियतामा सबैले बिर्सिसकेको प्राचीन नाच ‘खरी प्याखन’ को पुनः प्रदर्शन हुन थालेको छ ।

सम्पदा संरक्षणका समस्या

२०७२ सालको भूकम्पबाट यस बजारले ठूलो क्षति बेहोर्‍यो । मठमिन्दर, चैत्य र घरहरू भत्किए । भूकम्पले कुनै पनि पुरानो सांस्कृतिक सम्पदालाई सग्लो छोडेन । यसरी भत्किएका घर, मठमन्दिरहरूमा कैयन् ऐतिहासिक र पुरातात्विक महत्वका पनि थिए । कैयन् घरहरूसँग इतिहास जोडिएको थियो ।

त्यसको अलावा, नेपाली परम्परागत शैलीका ढुंगा-माटोको प्रयोग गरेर बनेका घरहरूले बजार भरिएको थियो । पुनर्निर्माण क्रममा आधुनिक घरहरू बन्दै गर्दा यो शहरको मौलिक स्वरुपमा नै परिवर्तन आएको छ । पहिलेको दोलखा बजारमा जो-कोही पुग्दा प्राचीन बस्तीमा पुगेको भान हुन्थ्यो, अहिलेका बाटो, गल्ली र घरहरूले त्यो प्राचीनताको आभास दिन छाडेका छन् ।

यो शहरभित्र मठ, मन्दिर, मूर्ति, पाटी, डबली, पोखरी, ढुंगेधारा र अन्य ११४ वटा प्राचीन सांस्कृतिक सम्पदाहरू भेटिएका छन् । यसको अलावा, कपडामा लेखिएका लिखत, कागजात, भोजपत्र, ताडपत्र, शिलापत्र र अन्य ऐतिहासिक सामग्रीहरू पनि भेटिएका छन् । संरक्षणको अभावमा कैयन् यस्ता सम्पदा नष्ट भइसकेका छन्, कैयन् हराइसकेका छन् ।

३५० वर्ष पुरानो नेवारी भाषामा ‘पुरान्छे’ भनिने प्राचीन र कलात्मक घर अनि त्यतिकै पुरानो मुद्रा बनाइने टक्सार घरको स्वामित्व सगोलमा हुँदाखेरि पुनर्निर्माण हुनसकेको छैन ।

पुर्खाहरूले जात्राहरू सञ्चालन गर्न १३ दिने दाजुभाइ खलकहरूको निजी गुठीहरू स्थापना गरेका थिए । ती गुठीहरूको नाममा जग्गाहरू राखिदिएका थिए । ती जग्गा-जमिनको आयबाट जात्राहरू सञ्चालन हुन्थे । २०५२ सालमा नापी हुँदा ती गुठीहरूको जग्गाहरू केही सीमित व्यक्तिहरूले आफ्नो नाममा दर्ता गरे । जसले गर्दा कसैले पनि अपनत्व नलिंदा जात्राहरू सञ्चालन गर्न समस्या उत्पन्न हुने गरेको छ ।

केही सम्पदाहरूको पुनर्निर्माण भई मौलिक स्वरुपमा नै पुनर्निर्माण भइसकेका छन् । तर, कतिपय पुनर्निर्माण भएका सम्पदाहरूमा मल्लकालीन शैली र मौलिकताको ख्याल नगरी पुनर्निर्माण हुँदा सम्पदाहरूको विनाश भइरहेको छ । तर अझै पनि गम्भीर भएर काम गर्ने हो भने भीमेश्वरको यस पवित्र भूमिलाई प्राचीन घर, सम्पदा, संस्कृति जोगाएर लोकप्रिय सांस्कृतिक पर्यटकको गन्तव्य बनाउन सकिन्छ ।

(हाल क्यानडामा बसोबास गर्ने दोलखाका श्रेष्ठ, त्यहाँका रजिष्टर्ड नर्स हुन् ।)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School