चाडपर्वलाई विकृत नबनाऔं

चाडपर्वलाई विकृत नबनाऔं


सुख–दु:ख, हर्ष, शोक, मिलन–विछोड आदि मानिसका नैसर्गिक पक्ष हुन्। सबै पक्षहरूको फरक अनुभूति गर्नु मानवजन्य स्वभाव हो। मानव जातिले जीविकोपार्जनसँगै जीवनलाई सहज, सुखी र सुन्दर बनाउन प्रकृतिसँग मात्रै होइन, कृषि लगायत विभिन्न उत्पादनका लागि संघर्ष गरेको हुन्छ।

यिनै श्रम संघर्षहरू हाम्रा संस्कृतिका मूल आधारहरू हुन्। शारीरिक र मानसिक पुनर्ताजगी प्राप्त गर्न, सम्बन्धहरूलाई प्रगाढ बनाउन विभिन्न चाडपर्वहरूको प्रारम्भ भएको पाइन्छ। हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिक प्रसंगसँग सम्बन्धित भएर परम्परागत रूपमा चल्दै आएका हुन्छन्।

हरितालिका तीज पर्व हर्षोल्लासको निम्ति मनाउने चाड मात्रै नभएर यसको आफ्नै सामाजिक, सांस्कृतिक, आध्यात्मिक एवम् तात्विक महत्व छ। सामाजिक सद्भाव, मेलमिलाप एवम् विविध सामाजिक अधिकार प्राप्तिका साथै विकृति विसंगति उजागार गर्ने पर्वको रूपमा परापूर्वदेखि नै यो चाड मनाउँदै आएको पाइन्छ।

हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको योग्य वर छान्न पाउने नैसर्गिक अधिकारलाई व्यावहारिक रूपमा स्थापित गराउन तपस्या (शान्तिपूर्ण आन्दोलन) गरेर आफू अनुकूल वर छानी आफ्नो अधिकार समाजमा स्थापित गरेको पाइन्छ। यस अर्थमा हामी माता पार्वतीलाई नारी जातिको अधिकार र स्वतन्त्रताको विगुल फुक्ने पहिलो महिला अभियन्ताको रूपमा लिन सक्छौं।

यस दिन पार्वतीले तपस्या पूरा गरी शिवजी पाएको अवसरमा हिन्दु नारीहरूले खुसियाली साटासाट गर्ने पवित्र पर्वका रूपमा मनाउन थालेका हुन्। विस्तारै यस पर्वलाई नाचगान र आफ्ना वेदनालाई मौलिक भाकामा ढाली सुख–दु:ख तथा नारीको संवेदना पोख्ने माध्यम बनाउँदै लगियो।

मौलिक चिन्तन र सिर्जनाका आधारमा साँझको घरको कामधन्दा सकेर आँगनमा छरछिमेकी जम्मा भई गीत गाउने, नाच्ने गर्थे। कृष्ण जन्माष्टमी र हरितालिका तीजको दिनमा चुरा–पोते र रातो साडीमा सजिएर चौरमा जम्मा भई नाचगान गर्ने गर्थे। यो परम्परा आजकाल ग्रामीण समाजमा बाहेक अन्यत्र घट्दै गएको छ। आजभोलि अडियो बजाएर नाच्ने चलन हावी भएको छ। यसले नारीहरूका रचनात्मक क्षमता तथा नाचगानको पुरानो मौलिक चलनमा क्षयीकरण भएको छ।

महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमान्‌को साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ। जन्मघर माइतीको हुने, कर्मघर पराइको हुने। नयाँ ठाउँ नयाँ परिवेशमा सहनशील र कुशल बुहारी बन्नुपर्ने, सासू, नन्द, आमाजूका बुहार्तन सहनुपर्ने। आफू जन्मेको घर, बुबाआमा, भाइबहिनी, इष्टमित्र र आफू हुर्किएको समाज चटक्क छोडी पराइ घरमा कष्टकर जीवन बिताउँदा आउने माइतीको यादलाई कम गर्ने एउटा अवसरको रूपमा मनाउँदै आएको तीज पर्वको गहन महत्व छ।

तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवम् साहसको प्रतीक मानिन्छ। रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ। पोतेले शान्ति र आनन्द प्रदान गर्दछ भने रातो टीका सौभाग्यको प्रतीक हो। हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने विश्वास तीजको व्रतमा अन्तरनिहित छ। त्यस्तै तीजको सामाजिक महत्व पनि उत्तिकै छ।

कृषि प्रधान देश नेपालका अधिकांश महिला निर्वाहमुखी कृषिमा संलग्न छन्। बालीनाली रोपेपछि फुर्सदको समय अर्थात् साउनको हिलो पखालेपछि माइतीमा गएर आफ्ना वर्षभरिका वह पोख्ने साथीसंगीहरूसँग दु:ख–सुख साटासाट गर्ने तथा दाजुभाइ र दिदीबहिनीको बन्धनलाई अझ प्रगाढ बनाउने सामाजिक पर्व पनि हो।

परिवर्तित र गतिशील समयसँगै हाम्रा संस्कृति, सभ्यताहरू पनि परिमार्जित हुँदै आएका छन्। हिजो माइती घर–आँगन, व्रत–पूजा, मन्दिर–पँधेरो र चौर–चौतारामा सीमित हुने पर्व आज शहर, बजार, देश विदेश, विद्युतीय सञ्चारमाध्यमहरू, सामाजिक सञ्जालहरूमा छाउन थालेका छन्। हिजो मादल, थपडीमा गाइने तीजका भाकाहरू आज सुव्यवस्थित तवरले बाजागाजा र संगीतमा लयबद्ध भएका छन्। यसलाई सकारात्मक मान्नुपर्छ।

खाना, गीत र सम्बन्धमा मिठास भर्ने गौरव बोकेको संस्कृति तीज अहिले खोक्रो हुँदै गएको छ। समय अनुसार मनाइने विधिविधान तथा शैली र मान्यता फरक हुँदै गएका छन्। तीज मनका भावना पोख्न वाक् स्वतन्त्रता दिइने चाड पनि हो। तीजमा पहिले घरायसी र सामाजिक बन्धनसँग सम्बन्धित गीत हुन्थे। २०४६ सालको राजनीतिक परिवर्तनपश्चात् राजनीतिक घटना, दुर्घटना, नारी सचेतना र महिला सशक्तीकरणका गीतहरू बजारमा आए।

तर विगत केही वर्षदेखि आधुनिकताको नाममा, परिवर्तनको बहानामा र सस्तो लोकप्रियता अनि आय आर्जनको लोभमा तीज जस्तो पवित्र चाडलाई विकृति, विसंगति र यौन स्वच्छन्दताको शिकार बनाइँदैछ। तीजका गीत नारीका शारीरिक बनावट, अश्लील र यौनबारे घोचपेच गर्ने, यौन कौतूहल र फेसनलाई बढावा दिने खालका र्‍याप शैलीमा दोहोरी र रत्यौली जस्ता झ्याउरे गीतमा परिणत भएका छन्।

गीतका शब्दहरू, तिनमा गरिएको अभिनय परिवारको साथमा बसेर सुन्न र हेर्न नसकिने खालका छन्। उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियोमा गरिने अभिनय अश्लील र अराजक हुँदा तीज गीत विकृत बन्न थालेका छन्। केही गीतहरू चर्को आलोचना पछि सम्बन्धित निकायले प्रतिबन्ध लगाइएको भन्ने विज्ञप्तिहरू सुन्न आए पनि त्यस्ता गीतहरूका क्लिपहरूले युट्युब र सामाजिक सञ्जाल हेर्नै नसक्ने गरी भरिएको छ। यसले तीजको संस्कृतिलाई विकृत बनाइरहेको छ।

मौलिक मूल्य–मान्यतालाई कुल्चेर उपभोगवादी, अश्लील र अझ महिलाहरूलाई उपयोगको साधन र परनिर्भर जस्तो बनाई होच्याउने संस्कृति बढेको छ। महिलाहरू पनि संवेदनशील बनेको देखिंदैनन्। तीज गीतमा छाडा शैली र शब्द मिसाएर गीत गाउँदा कतिपय नाम चलेकै कलाकारहरू समेत विवादमा आएका छन्। यस्ता गीतहरू अनियन्त्रित ढंगले कति अगाडिसम्म जाने हुन् ? हेर्न बाँकी नै छ।

नेपाली मौलिकता र संस्कृतिलाई कसरी बुझ्ने ? के मौलिकपन जोगाउँदा हाम्रो शिरको उचाइ घट्छ ? कि हामी पुरातनवादी भइन्छ ? यही हो हाम्रो सभ्यता ? यही हो स्वतन्त्रता ? छाडापनले आधुनिकता मापन गर्ने हो त ? त्यसो त तीजमा सधैं उनै सासू–बुहारीका कथा मात्रै पस्किने पनि होइन। अवस्था धेरै फेरिएको छ।

महिलाहरू हरेक दृष्टिकोणबाट पुरुषका समकक्षी बनेका छन्। समाज फेरेका छन्। राज्य हाँकेका छन्। मानवजाति समयसँगै परिवर्तित हुनुपर्छ। यथास्थितिबाट माथि उठ्नुपर्छ। हामी केमा कमी छौं ? हामीले सधैं पुरानै शैली अपनाउने हो भने हामी कसरी विकसित भयौं त ? भन्ने प्रश्नहरू पनि उठ्लान् तर विकासका नाममा चाडपर्वलाई विकृत नबनाऊँ। मर्यादित र संयमित बनौं।

कला, संस्कृति हाम्रा पहिचान हुन् यिनको जगेर्ना गरौं। निमिट्यान्न पार्ने काम नगरौं। छाडा, उच्छृङ्खल गीत–संगीत र अभिनयले कसैलाई क्षणिक लाभ त होला तर हाम्रो वैभवशाली संस्कार, संस्कृति एवम् परम्परालाई चोट पुगेको छ। व्यक्तिगत स्वार्थले राज्यका मूल्यमान्यतालाई दूषित पार्नुहुँदैन।

समाजको सामाजिक मूल्यमान्यता, कला–संस्कृति र परम्पराहरू हाम्रा पहिचान हुन् यसले हाम्रो राष्ट्रियता बचाउँछ। पिरो छैन भने खुर्सानीको के उपयोगिता ? पहिचानका लागि त्यसमा पिरो हुनु जरूरी छ। मान्छे जति नै आधुनिक भए पनि उसले जन्मसँगै पाएको संस्कार एवम् संस्कृति आधारभूत रूपमै छोड्न हुँदैन। तसर्थ विश्वसामु पहिचान बनाएका हामी नेपालीको मौलिक संस्कृतिहरूलाई तोडमोड गरेर यसको पहिचानमाथि धज्जी उडाउने छुट कसैलाई छैन।

तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिष्कृत गर्दै लैजानुपर्छ। शिक्षित र सभ्य समाजमा हुर्किएका महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवम् संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ। आधुनिकीकरणका नाममा भड्किलो बन्न दिनुहुँदैन। जीवन्त समाज र वैभवशाली सभ्यताको विनाशको कारक बन्न सक्ने यस्ता गलत क्रियाकलापहरू रोक्न आवश्यक छ।

चाडपर्व अन्तर्गत रहेका प्राचीन यथार्थ पक्ष र परम्परा बिर्सिएर यस सम्बन्धी मौलिकता स्थापित हुँदैन। चाडपर्वहरूमा भित्रिएका अतिवादी धार्मिक र सांस्कृतिक सार पक्षहरू अवलम्बन गरेर पनि हुँदैन। तिनका प्रारम्भिक सुन्दर पक्षहरूको जगेर्ना गर्दै समयक्रममा तिनमा भित्रिएका नकारात्मक पक्षलाई समयसापेक्ष रूपान्तरण गर्दै जानुपर्दछ।

समाज परिवर्तनसँगै चाडपर्व र त्यसको महत्व कदापि फेरिंदैन। संस्कृतिको आफ्नै महत्व छ। संयमित बनौं परिवार समाज र संस्कार हाम्रा अभिन्न अंग हुन्। यिनको रक्षा गरौं। तडकभडकले आधुनिकता देखिन्छ भन्ने गलत सोचबाट मुक्त बनौं। पुस्तान्तरणसँगै हाम्रा भावी पुस्तालाई सही संस्कृति हस्तान्तरण गरौं। नयाँ पुस्ता पनि संस्कृति जोगाउनको लागि सचेत बनौं। यस्ता विकृत प्रवृत्ति रोकथाम गर्न राज्यको समयमै ध्यान पुगोस्।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School