प्रकाशित मिति : असार १२, २०८१ बुधबार
चट्याङ लागेर कपिलवस्तु र कैलालीमा ४ जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–१० धनकौली १७ वर्षे राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षे महेश कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले बताएको हो । उहाँहरुकोको बुधबार बिहान साढे ७ बजेतिर खेतमा काम गर्दैगर्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
त्यसैगरी कैलालीमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका– ३ भितरीयाका जयराम डंगौराको र धनगढी उपमहानगरपालिका–१८ मा सालिक चौधरीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
दुवैको बिहान खेतमा काम गर्दैगर्दा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपीक्षक कविन्द्र बोहराले बताउनु भएको हो । जिल्लाको भजनी नगरपालिका– ६ महादेउली बस्ने ५५ वर्षीय रामबहादुर चौधरी सोही समयमा चट्याङ पर्दा घाइते हुनुभएको छ ।
विद्यालय जाने क्रममा जिल्लाको घोडाघोडी नगरपालिका–९ बुदेनीका ९ वर्षीय सरस्वती भुल, ७ वर्षीय पारु कठायत र १० वर्षीय खिमा कठायत गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।
चट्याङ भनेको आकाशबाट खराब मौसमको बेलामा जमीनमा खस्ने एक प्रकारको बिद्युतिय करेन्ट हो । हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्कींदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर उत्पन्न भई खास बाटो बनाएर जान्छ, यसलाई नै चट्याङ भनिन्छ । यो अचानक हुने विद्युतीय विस्फोटन हो ।
यसमा बादलबाट बादल र त्यहाँबाट पृथ्वीतर्फ विद्युतीय लहर उत्सर्जन हुन्छ । यो पूर्णतः प्राकृतिक खतरा हो । साधारणतयाः चट्याङको आवाज २० किलोमिटरभन्दा टाढा सुन्न सकिँदैन । अपवादको रूपमा ६० किलोमिटरसम्म सुनिएको रेकर्ड छ ।
आवाजविनाको चट्याङलाई उष्ण बिजुली भनिन्छ । सबै चट्याङले विद्युत्को लहर उत्पन्न गराउँछन् । त्यसैले सबै चट्याङ खतरनाक हुन्छन् । यसको पूर्वानुमान लगाउन सकिँदैन ।
सामान्यतया चट्याङ कुनै पनि समयमा पर्न सक्छ । पृथ्वीमा बाह्रैमहिना हरेक दिन हजारौं चट्याङ परिरहेको हुन्छ । तर मनसुन अघिपछि बादलको उचाईं धेरै हुने र अरूबेला भन्दा धेरै पटक ठूलो चट्याङ पर्ने भएकाले तीव्र र बढी खतरा हुन्छ ।
यसबाट बच्ने सबभन्दा उत्तम उपाय घरभित्र बस्नु नै हो । घरभित्र बस्दा पनि टेलिभिजन/टेलिफोन आदि विद्युतीय उपकरण बन्द गर्ने, पानीका धाराहरू सबै बन्द गर्ने, नचलाउने, झ्यालको छेउ, भित्तामा अडेस लगाएर नबस्ने आदि सावधानी अपनाउनुपर्छ ।
पक्की घर जहाँ फलामे डन्डीहरू प्रयोग गरेर बनाइएको हुन्छ, घरको छानामा लाइटनिङ एरेस्टर चट्याङ भगाउने यन्त्र जडान गर्ने वा राम्रोसँग अर्थिङ गर्नु उचित हुन्छ ।
घर बाहिर भएमा गाडीभित्र झ्यालढोका बन्द गरी बस्ने, स्विमिङमा पानीभित्र भए पानी बाहिर निस्कने, रूख वा अग्ला वस्तुहरू भए त्यसको नजिक नबस्ने, चौरमा भए सकेसम्म थोरै क्षेत्रफल हुने गरी घुँडाले भुइँमा टेकेर टाउकोलाई निहुराएर दुवै हात टाउकोमाथि राखी बस्नुपर्छ । खेल मैदानमा बिजुली चम्केको बेला सतर्क रहनु पर्दछ ।
चट्याङमा परेर मर्ने मात्र होइन घाइतेको अवस्था पनि अत्यन्त पीडादायी देखिन्छ । चट्याङबाट घाइते हुने धेरैमा विभिन्न मानसिक र शारीरिक दीर्घरोग देखा पर्छन्। कोही बेहोस हुन्छन्, कसैको बोली, कान र आँखा बन्द हुने, स्मरणशक्तिमा ह्रास आउने, शरीर लाटो हुने, रिँगटा लाग्ने, जोर्नी कडा हुने, मांसपेसी बाउँडिने, डिप्रेसन हुने हुन्छ ।
तर, नेपालमा चट्याङका घाइतेलाई सामान्य उपचार गरेर छाडिने हुनाले दीर्घकालीन असरको निदान र उपचार हुँदैन । चट्याङ्बाट आगलागीको पनि ठूलो खतरा हुने गरेको मौसमबिदहरुले बताएका छन ।