आमा घर सर्नुभो। उहाँ जवानीको त्यस्तो भर्भराउँदो उमेरमै घर सर्नाले आपा एक्लो हुनुभो। म एक्लो भएँ। घर एक्लो भयो। कस्तो निष्ठुरी आमा ! किन यसरी घर सर्नु परेको ?
शून्य भए कुखुराको खोर, भैंसी गोठ र सुँगुर खोर। हाँसका चल्लाहरूका निम्ति तिनको आमा छ तर अब आमा हाँसको निम्ति आमा छैन। पाडीको निम्ति उसको आमा छ तर माउ भैंसीको निम्ति उसको आमा छैन। पाठाहरूको निम्ति तिनको आमा छ तर माउ सुँगुरको निम्ति अब घरमूली आमा छैनन्।
घरको मूल ढोकाको निम्ति, छिंडीबाट छिर्ने हरेक बिहानी किरणको निम्ति, आँगन डिलको धूपीको बोटको निम्ति, घरमाथि इन्द्रकमलका पुराना दुई झाङको निम्ति ती सबै सबैको निम्ति अब आमा छैनन्। आमाले घर फेरिसक्नुभो। कस्तो कठोर हृदय आमाको। कस्तो विलखबन्दमा पारिदिनुभो। न कुनै तयारी, न कुनै र्याङ्ठ्याङ, न कुनै बन्दोबस्ती। केही नगरी एक्कासी घर सरिदिनुभो।
२०३६ सालमा आपाले आमालाई बाहिर्याउनु भएको रे! अरुहरू बुहारी भित्र्याउँछन् हाम्रो घरमा भने उल्टो भयो। आपाले आमालाई मन पराएपछि भगाएर सीधै दार्जीलिङ लैजानुभो। हजुरबुबा छोराले अहिले बिहे नगरोस् बरु आफू जस्तै लाहुर जाओस् भन्ने चाहनुहुन्थ्यो रे! आपालाई भने आमा नल्याई नहुने गरी मन बसिसकेको रहेछ। हजुरआमाकै सहयोगमा पुग्दो खर्चबर्च जुटाएर आपा आमालाई लिई कुलेलम ठोक्नुभएछ।
झिसमिसको तारा पछ्याउँदै, भाले नबासी नौ डाँडा काट्नुभएछ। यसरी निकै लामो अवधि बाहिरिएपछि र धेरै पछि मात्र हजुरबुबाले मुश्किलले अनुमति दिनुभएपछि आमा हाम्रो घरमा भित्रिनुभएको रे! तर अफसोस् ! आज आमा यस घरमा हुनुहुन्न। किन घर सर्नु परेको उहाँलाई ?
विवाह संस्थाको रूपमा धरापमा परेको चिज हो भन्छन् मान्छेहरू। तर विवाहले गर्दा दुई परिवार सम्बन्धित हुन्छन्। परिवार मात्रै किन दुई गाउँ नै सम्बन्धित हुन्छन्। मेरा प्रत्येक बालसखाहरूको मावली गाउँ कहाँ हो भनेर राम्ररी थाहा छ मलाई। किनकि सानोमा म साथी बनेर उनीहरूको मावली धेरै पटक गएको छु। मेरो मावली पनि थुप्रैलाई लगेको छु।
मावली जाने बाटै राम्रो। बाटोमा पर्ने खोलै राम्रो। खोलामा काठको साँघु नै राम्रो। साँघुमा चढाएको पाती नै राम्रो। मावलीको भनेपछि सप्पै राम्रो, सप्पै राम्रो। के हाम्रा आमाहरूले बाहरूसँग विवाह गरेर नआइदिनुभएको भए यसरी गाउँहरू जोडिन पाउँथे ?
दुर्भाग्य! अब आमा हामीसँग रहनुभएन। यसरी आमा घर सर्नु भएपछि पनि के मावलीको त्यस्तै रौनक रहिरहला त? मावली हजुरबा हजुरआमाको आँखामा स्नेहको मेवा खोला त्यसरी नै अविच्छिन्न बगिरहला त? सानो मामाले प्रेमपूर्वक उसैगरी सिम्भाइ खोलाको माछा खुवाउनुहोला त ? छेपेखोलाको झोलुङ्गे पुल के फेरि उसैगरी स्वागतार्थ रहिदेला त ? आमाले यसरी घर र माइत दुवै छोडिदिनुभएपछि कताकता सन्देह जाग्दो रहेछ।
सानोमा मलाई गुलियो बेस्सरी मन पर्थ्यो तर अमिलो भनेपछि पटक्कै मन पर्दैनथ्यो। कागती, निबुवा, काभ्रा, लप्सी जे देखे पनि रिस उठेर आउँथ्यो। एकपटक स्कुलबाट फर्किएपछि मलाई हनहनी ज्वरो आयो। दुई दिन जति म थला परेकोले खानेकुरा राम्ररी केही रुचेको थिएन। चिन्ता लिंदै आमाले सोध्नुभो ‘के खाने मन छ त बाबु?’ फ्याट्टै जवाफ दिएँ ‘काभ्राको अचारसँग भात।’
यो सुनेर सबै तर्सिए मानौं मैले कुनै बम पड्काएको होस्। एकै स्वरमा हकारे ‘के रे? हुन्न–हुन्न–हुन्न, ज्वरो आएको बेला अमिलो हुँदै हुन्न!’
आपा र दुई नानाहरूले मलाई खाउँला झैं हेरे। मेरो पनि चित्त दुख्यो र रुँदैरुँदै आफ्नो ओछ्यानमा गएर सुतें।
साँझ निकै छिप्पिएपछि आमा हातमा एक थाली लिएर लुसुक्क मकहाँ आउनुभो र भन्नुभो ‘भैगो नरो। अरुले थाहा पाउनुअघि लु खाइ हाल्।’ थालीमा थोरै भात र काभ्राको अचार थियो।
मैले पहिलो चोटि अमिलो अचार मीठो मानेर खपाखप खाएँ। खान त खाएँ तर आमाको सुर्ता ह्वात्तै बढ्यो। आमा रातभर अशान्त रहनुभो। उहाँलाई त्यसरी मलाई अमिलो खुवाएकोमा अपराध बोध भएको हुनुपर्छ। रातभर सय पटक मेरो निधार छामिरहनुभो। चिन्ताले पटक्कै सुत्न सक्नुभएन।
आमाको चिन्ता विपरीत म भोलिपल्ट ब्युँझदा पूरै तन्दुरुस्त भैसकेको थिए। आमा तीन छक्क पर्नु भो ‘मेरो छोरो त निको पो भएछ त ! हैन के अचम्म हौ !’
आमा धेरै वर्षसम्म त्यो कुराले चकित नै परिरहनुभो र बेलाबेला त्यो कुरा झिकिरहनुहुन्थ्यो। उहाँलाई मैले बुझाउन नपाएको एउटा कुरा छ, जुन अब सधैंभरि मेरो मनमा खट्किरहने छ। किनकि उहाँ घर सरेर गैदिनुभो। उहाँ अहिले भएको भए म सम्झाउँदै भन्ने थिएँ-
‘आमा, रातभर छोरालाई काभ्राको अचारले नबिसाओस् भनेर प्रार्थना गर्नुभो त्यसैले तपाईंको ममता देखेर ईश्वरले नबिसाउने बनाइदिनुभो। नबिसाउने मात्र होइन कि सम्पूर्ण अचारमै अदृश्य पारासिटामोल हालिदिनुभो। त्यसरी म निको भएको थिएँ।’
खै कति हो सालमा कुन्नि नागरिकता बनाउने घुम्ती टोली आयो रे गाउँमा। मेरी आमाले पनि त्यै बेला नागरिकता बनाउनुभएको रहेछ। उहाँसँग एक थान थोत्रो नागरिकता थियो। तर आमाको नागरिकताको काम परेको भने मैले कहिल्यै देखिनँ। नागरिकताले तँ यो देशको मान्छे होस् भनेर पुष्टि गर्छ। तर यो देशको हुनु भनेको के हो ? मेरी आमाले कहिल्यै बुझ्न पाउनुभएन।
यदि ठूला–साना चुनावमा भोट हाल्नुपर्यो भने अथवा कुनै प्रशासनिक काममा नागरिकता काम लागिहाल्यो भने पनि सजिलो थियो। बाहरूले जहाँ जहाँ जे जे गर्न भन्नुहुन्थ्यो, त्यहाँत्यहाँ त्यै त्यै गरे भइहाल्थ्यो। त्यसैले सजिलो थियो। बुझिरहनुपर्ने कुनै झन्झटै थिएन।
मेरी आमाको नाममा कुनै खेत, बारी, पाखा, बाँसघारी या वनजंगल केही पनि थिएन। गाउँका जम्मै आमाहरूको उस्तै हालत थियो। उहाँहरूको स्वामित्वको नाममा कुनै भैंसी खेल्ने हिले आहाल समेत थिएन। कुनै एक टुक्रा रुखो रातोमाटे बाँझो जमिन अथवा कुनै स्याल बास्ने झोर झाडी केही पनि थिएन। तर आमासँग दु:खहरू अपरम्पार थिए।
जब म उहाँको आकृति सम्झन्छु, सकी–नसकी रक्सीको गह्रौं बाहन तातो अँगेनाबाट ओरालिराखेको एक नारी पिठ्युँको याद आउँछ। पतपती धुवाँ छुटिरहेको अँगेनाको काँचो दाउरा, धुवाँले पोलेर आँसु चुहिरहेको पिरो आँखाको कुनै परवाह नगरी एकोहोरो बाँसको ढुङ्ग्रीमा फू फू सास फुकिरहेको एक मानव आकृति यस्तै यस्तै याद आउँछ।
कुनबारीको कुन कुना होला आमाको पैतालाले नटेकिएको? कुन खेतको कुन हिलो होला आमाको हत्केलाले नसुम्सुम्याइएको ? आमाको हात र पैताला पटपटी फुट्ने पनि तिनै हिलो र माटोले गर्दा हो र तिनै हिलो र माटोले नै फेरि निको पनि हुने हो।
घरको कुन चोटा कोठा होला आमाको अम्लिसो कुचोले नभेटेको ? आँगन र फूलबारीका कुन कुना होला आमाको खरेटोले नबढारिएको ? कुन बोट बिरुवा ? ईस्कुस, सिमी र फर्सीको कुन लहरा ? घरको कुन भाँडावर्तन ? कुन डोको नाम्लो? मझेरी र बलेसीको कुन कुइनेटो ? के के होलान् जो मेरो आमाले नछोएको होस् ?
गाउँको बीचमा हाम्रो घर छ। घर छेउमा पैंयुको बोट छ। त्यो बूढो पैंयुको बोटमा चढेर हेर्ने हो भने उत्तर-दक्षिण भएर लमतन्न पसारिएको हाम्रो घुर्यान बारी देखिन्छ। तीन गरा मुन्तिर छ बर्खे गोठ। गोठ मुन्तिरबाट भर्खरै डोजरद्वारा खनिएको एउटा नयाँ बाटो सदरमुकाम दिक्तेलतिर कुद्छ।
पुछार गरामा छ्याङ्गै देखिन्छ मेरी आमाको नयाँ घर। यो पुछार गरा सबैभन्दा फराकिलो गरा हो। यो मेरी आमाको सबैभन्दा मन पर्ने गरा पनि हो। आपाले आमालाई मन पर्ने सिङ्गै गरामा खेतीपाती नलाउने गरी कम्पाउन्ड घेरेर आमाको घर बनाइदिने हठ लिनुभो। नत्र गाउँलेहरूले त समुदायको साझा डाँडामै आमालाई राख्न सुझाएका थिए।
आमाको यो सानो घर हाम्रै घरको स्वरूपमा बनेको छ। यसमा चुच्ची गारो पनि छ। चिटिक्कैको पाटे छानो पनि छ। झ्यालढोका पनि जोडिएका छन्। लिपपोत, रंगरोगन सबै गरिएको छ। मार्बल बिछ्याइएको भुइँ छ। सिमेन्टले बनेका भित्ताहरू छन्। वरिपरि नीलकाँडा र नौ थरी फूलहरू पनि छन्। बस् मलाई आमाको यो चिटिक्कको घरलाई ‘चिहान’ भन्न नपरे हुन्थ्यो जस्तो लाग्छ।
एक दिन आपा बेस्सरी रक्सी खाएको सुरमा आमाको नयाँ घरतिर ओरालै ओरालो झरेको देखें। सुटुक्कै थाहा नदिई आपा लड्नुहोला कि भनेर म पनि उहाँकै पछिपछि लागें। आमाको समाधि पुगेपछि घुँडा टेकेर उहाँ बेस्सरी रुन थाल्नुभो। निकै बेरसम्म रोएपछि सुँक्कसुँक्क गर्दै केही भनिरहनुभएको थियो। म पछाडिबाट सुनिरहेको थिएँ-
‘बुढी! मलाई धिक्कार लाग्छ कहिलेकाहीं। यो समाजले पटक पटक मेरो मगजमा किन पुरुष अहम् थोपर्दै भनिरहन्छ कि तेरी स्वास्नीको यो सुन्दर चिहान तेरै सम्पत्तिले, तेरो अंशको, तेरै बारीमा बनेको हो। के यो तेरो चाहिं बारी होइन ? के यसमा तेरो प्रेम र पसिना परेको थिएन ? त्यसैले बुढीमाऊ! अब ढिलो नगरी छिटोछिटो तँ यो माटोमा विलीन हुनू। यो बारीसँग युग युगान्तरको लागि जोडिनू र यो माटो तेरै हो भनेर प्रमाण पेश गर्नू। तँलाई शुभकामना छ नुमाकी आमा। म तेरो चिहानको खुबै रेखदेख गर्नेछु र एकदिन तेरै छेउमा सुटुक्क पल्टिन आइपुग्नेछु।’
बाम्राङ, खोटाङ।