घरेलु मैदानमा नेपालले किन एक खेल पनि जित्न सकेन ?


नेपाली महिला क्रिकेटमा देखिएको एउटा मुख्य समस्या भनेको फिटनेस नै हो । अबका दिनमा फिटनेसमा सुधार हुन नसके खेलाडी परिवर्तनको विकल्प हुनेछैन ।

२७ माघ, काठमाडौं । काठमाडौंमा सम्पन्न नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई क्रिकेट शृंखलाको उपाधि थाइल्याण्डले जित्यो । शृंखलामा नेपाल भने ६ वटै खेलमा पराजित हुँदै जितविहीन रह्‍यो ।

नेपालका लागि घरेलु मैदानमा लामो समयपछि फर्किएको महिला अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो अनुभव बटुल्ने अवसर रह्‍यो । अनुभवबाहेक अन्य कुरामा भने नेपाल चुक्यो । सिधा भन्नुपर्दा घरेलु मैदानमा भएका ६ खेलमा एउटा पनि जित्न नसक्नु लज्जास्पद नै रह्‍यो ।

केही खेलमा राम्रो चूनौति प्रस्तुत गरेको नेपालले केही खेल भने एकपक्षीय रूपमा गुमाएको थियो । एक-दुई खेलाडीको प्रदर्शनबाहेक अन्यबाट उल्लेख्य योगदान हुन नसक्दा यसले नेपाली महिला क्रिकेटमा रुपान्तरणको आवश्यकता हो कि भन्ने पनि चर्चा हुन थालेको छ ।

शृंखला चलिरहँदा प्रशिक्षकले मिडियामा अन्तर्रवार्ताका क्रममा दिएको एक प्रतिक्रियाले प्रशिक्षक र खेलाडीबीच ‘शीतयुद्ध’ चलिरहेको हल्ला पनि सुनिन थालेको थियो ।

समग्रमा भन्नुपर्दा केही नेपाली खेलाडीहरूले टिममा पर्नकै लागि मात्र खेलिरहेको देख्न सकिन्थ्यो । घरेलु मैदानमै भएको खेलमा नेपाल किन जितविहीन रह्‍यो त ? अबको बाटो कस्तो छ ? आज यी लगायत अन्य विषयहरूमा चर्चा गरेका छौं ।

घरेलु मैदानमै जितविहीन
क्यानको आयोजनामा लामो समयपछि घरमै भएको महिला टी-२०आई शृंखलामा नेपालले नेदरल्याण्ड्सको टोलीसँग पहिलोपटक खेल्ने अवसर पाएको थियो । त्यस्तै थाइ टिमसँग घरेलु मैदानमा पहिलोपटक खेल्ने अवसर पाएको थियो ।

यस्तोमा नेपालले दुवै टोलीलाई राम्रो चूनौति दिएर कम्तिमा पनि दुवै टोलीलाई एक-एक पटक मात्र भएपनि हराउन सक्छ भन्ने धेरै समर्थकहरूको आशा थियो । तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वीहरू रहेको भएपनि नेपालले एउटा पनि खेल जित्न नसक्नु दुर्भाग्यपूर्ण नै मान्नुपर्छ ।

यू-१९ टिमकी कप्तान तथा सिनियर टिमकी प्रमुख अलराउण्डर पुजा महतोले पनि घरेलु मैदानमा दर्शकको अगाडि एउटा पनि खेल जित्न नसक्नु लाजमर्दो विषय भएको बताएकी थिइन् । ‘दर्शकहरू यति धेरै समर्थन गर्न आइदिनुभएको छ, लगातार हार्दा पनि समर्थन गर्न आइदिनुभएको थियो । त्यति हुँदा पनि हामीले विकेट लिनै नसक्नु, जित्नै नसक्नु भनेको लाजको कुरा हो’ उनले पाँचौं खेलमा हार व्यहोरेपछि भनेकी थिइन् ।

क्यानले विभिन्न प्रयासहरू गर्दै टिमका लागि शृंखलाको आयोजना गरेर खेलाडीको लागि अनुभव बटुल्ने अवसर जुराइदिएपनि नेपालले एक-दुई सकारात्मक पक्षबाहेक अन्य पक्षमा कुनैपनि नतिजा दिन सकेन ।

कहाँ-कहाँ चुक्यो नेपाल ?
नेपालले शृंखलाका ६ खेलमध्ये ३ खेलमा पहिले ब्याटिङ गर्दा र ३ खेलमा लक्ष्य पछ्याउने क्रममा पराजित भयो । यी सबै हारमा नेपालका लागि दुई कुरा भने समान थियो, ब्याटिङमा जिम्मेवारीको कमी अनि फिल्डिङमा फितलोपन ।

प्रतियोगिताभर नेपालको ब्याटिङ समान रूपको हुन सकेन । कुनै खेलमा नेपाल स्ट्राइक रोटेट गर्न चुकिरहेको थियो भने कुनै खेलमा शट सेलेक्सनमा ख्याल नगर्दा विकेट गुमिरहेको थियो । अर्कोतर्फ क्याच मिस र खराब फिल्डिङबाट नेपालले केही खेलको नजिक पुगेर पनि पराजित भएको थियो ।

खेलाडीको फिटनेसमा समस्यहरू रहेको कुरा प्रत्यक्ष देखिन्थ्यो । हुन त नेपाली महिला क्रिकेटमा फिटनेसको कुरा पहिलेदेखि नै हुँदै आएको छ तर त्यसमा कुनैपनि सुधार भएको छैन ।

नेपालका लागि शृंखलाभर फिल्डिङको समस्या मुख्य रूपमा रहँदा ब्याटिङमा जिम्मेवारीको कमी अनि निरन्तर रूपमा ब्याटिङ अर्डरमा परिवर्तन भइरहनुले कुनैपनि खेलाडी एकै तरिकाले सबै खेलमा खेल्नै सकेनन् ।

घरेलु मैदानमा नेपालले किन एक खेल पनि जित्न सकेन ?

यसबीचमा पुजा महतोले ब्याटिङ र बलिङमा अन्यभन्दा राम्रो प्रदर्शन गर्दा कप्तान इन्दु बर्माले केही खेलमा सुदृढ प्रदर्शन देखाएकी थिइन् । बलिङमा मनिषा उपाध्यायले राम्रो प्रदर्शन गरेकी थिइन् । एक खेलमा नेपाल १० विकेटले पराजित हुँदा अन्य खेलमा नेपालले विकेट निकालिरहेको हुन्थ्यो ।

त्यसकारण खेलाडीहरूले फिटनेसमा ध्यान दिनै नसकेको खण्डमा अन्य खेलाडीलाई मौका दिन सकिन्छ, फिटनेस ब्याटिङ र फिल्डिङ दुवैमा आवश्यक हुने हुँदा ब्याटबाट हानेको एकाध ठुला शटहरू फिल्डिङबाट गुमाउने हो भने त्यस प्रदर्शनले कुनै पनि औचित्य राख्दैन ।

नेपालले शृंखलाामा बारम्बार एउटै गल्तीहरू दोहोर्‍याइरहेको देखिन्थ्यो । ब्याटरहरूले राम्रो कम्युनिकेशन मिलाउन नसक्नुदेखि जिम्मेवार शटहरू खेल्न नसक्नुजस्ता समस्याहरू लगातार दोहोरिँदा नेपालले कुनैपनि खेलमा कमब्याक गर्न सकेन ।

अर्को कुरा नेपालका लागि भरपर्दो अलराउण्डर कविता कुँवरले चोटका कारण दोस्रो खेल बीचमै छाडेकी थिइन् । उनी नहुँदा नेपाल पेस बलिङविहीन भएको थियो । पुजाको मिडियम पेसबाहेक नेपालले सबै स्पीनर प्रयोग गरेको थियो । यो पनि नेपालका लागि एउटा समस्या बन्यो जसको बारेमा भने कसैले पनि बोलेका छैनन् ।

पिचले स्पीनरलाई साथ दिएको भएपनि टिममा मुख्य पेस बलरको आवश्यकता रहन्छ जसले बलिङमा लिड गर्न सक्छ । त्यसकारण यो पनि नेपालका लागि एउटा समस्याका रूपमा थियो । उनको स्थानमा टिममा युवा स्पिनर रचना चौधरी आएकी थिइन् ।

कप्तान भन्छिन् : राम्रो खेल खेल्यौं
शृंखलाका सबै खेलमा पराजित भएपछि कप्तान इन्दु बर्माले भने बलियो टोलीका विरूद्ध राम्रो खेल खेल्न सफल भएको प्रतिक्रिया दिएकी थिइन् । ‘हामी पहिले-पहिले ५०-६० रन तिर अलआउट हुन्थ्यौं, अहिले १०० रन बनाउन सकेका छौं’ उनले भनिन्, ‘नराम्रो चाहिँ खेलेको भन्न मिल्दैन, हामीले खेलहरू नजिक पुर्‍याइरहेका छौं त्यसकारण हामीले राम्रो क्रिकेट खेलेको हो ।’

इन्दुले दुई टिमहरूबाट अझै सिक्नुपर्ने कुराहरू धेरै भएको बताइन् । ६ वटै खेलमा पराजित हुनुमा फिल्डिङमा निकै सुधार गर्नुपर्ने धारणा इन्दुको पनि थियो । ‘म लिडरको रूपमा आफ्नो टिमको कमजोरी त देखाउँदिन, तर फिल्डिङमा सुधार चाहिँ अति नै आवश्यक छ’ उनले भनेकी थिइन्, ‘आगामी दिनहरूमा अझै राम्रो क्रिकेट खेल्नका लागि चाहिँ फिल्डिङ र फिटनेसमा सुधार हुनुपर्छ।’

घरेलु मैदानमा नेपालले किन एक खेल पनि जित्न सकेन ?

राम्रो फिटनेस ट्रेनर आएमा र खेलाडीहरूले पनि राम्रो मेहेनत गर्नुपर्ने इन्दुको भनाइ थियो । ‘खेलाडीले पनि मेहेनत गर्नुपर्छ, सँगसँगै क्यानले पनि एउटा राम्रो फिटनेस ट्रेनर उपलब्ध गराइदिनुभयो भने बेटर हुन्छ, प्लानिङमा छ पनि होला’ इन्दुले भनिन् ।

यस्ता किसिमका खेलहरू आगामी दिनहरूमा अझै आयोजना भएमा खेलाडीहरूलाई थप अनुभवको मौका हुने इन्दुको भनाइ थियो ।

प्रशिक्षक र खेलाडीबीच मनमुटावको चर्चा !
शृंखलाको पहिलो खेलपछि पत्रकारहरूसँग कुरा गर्ने क्रममा कप्तान इन्दुले विदेशी प्रशिक्षक ल्याउनुपर्ने धारणा राखेकी थिइन् । त्यसको केही दिनपछि प्रशिक्षक मनोज कटुवालसँग एक मिडियाले कुराकानी गर्दैगर्दा उनले विदेशी खेलाडी होइन भगवान् पशुपतिनाथ स्वयं उपस्थित भएपनि टिमको केही हुन नसक्ने शैलीमा जवाफ दिएका थिए ।

प्रशिक्षकको यस्तो भनाइपछि केही मिडियाहरूले त्यसलाई नै आधार बनाएर खेलाडी र प्रशिक्षकबीच ड्रेसिङ रूपमा शीतयुद्ध चलिरहेको टिप्पणी गर्न थालेका थिए । यसबारेमा कप्तान इन्दुले भने त्यस्तो केही पनि नभएको टिममा सबैकुरा ठीक रहेको बताएकी थिइन् ।

‘उहाँले र मैले सोच्ने शैली फरक हुन्छ, दुवैजनाको तर्क सही हुन पनि सक्छ आ-आफ्नो ठाउँमा’ इन्दुले भनिन्, ‘ तर त्यसको मतलब सम्बन्ध राम्रो छैन भन्ने होइन, बोन्डिङ नमिलेको भन्न मिल्दैन यसले टिमको मानसिकतामा कुनै असर गरेको छैन।’

घरेलु मैदानमा नेपालले किन एक खेल पनि जित्न सकेन ?

प्रशिक्षक कटुवालले यसबारेमा सिधा जवाफ केही दिन चाहेनन् । उनले अहिले पनि अन्तर्वार्ताहरूमा खेलाडीहरूले फिटनेसमा ध्यान दिन नसकेको बताउँदै आएका छन् । ‘फिटनेसमा ध्यान दिने काम खेलाडीको पनि हो, डाइट फलो नगर्ने बाहिर जंक फूडहरू खायो भने त कसरी हुन्छ ? खेलाडीहरू आफैंबाट आउनुपर्ने हो यस्तो कुराहरू’ उनले शनिबार एक अन्तर्वार्ताका क्रममा भनेका थिए ।

खेलाडीहरूले आफ्नो तर्फबाट प्रयास गरेमा विदेशी प्रशिक्षक नै आवश्यक नपर्ने उनको भनाइ थियो । ‘विदेशी प्रशिक्षकले आएर खेलिदिने होइन, मेहेनत खेलाडीले नै गर्ने हो, फिटनेसमा ध्यान दिनु जरुरी छ’ उनले भनेका थिए, ‘अहिलेको अवस्थामा नेपाली प्रशिक्षकहरू पनि विदेशीजतिकै सक्षम हुन्छन् नि।’

यसरी हेर्दा कप्तान इन्दुले विदेशी प्रशिक्षक चाहियो भन्ने कुराले मात्रै प्रशिक्षकलाई छोएको देखिन्छ । किनभने उनलाई खेलाडीहरूले आफूमाथि विश्वास नगरेको वा विदेशीले आफूले भन्दा राम्रो सिकाउँछन् भन्ने सोचाइ भएको भएर उनले आवेशमा बोल्दा जो आएपनि टिम सुधार नहुने कुरा गरेका थिए भनेर बुझ्नुपर्ने हुन्छ ।

युवा खेलाडीहरूले देखाएको आशा
नेपालका लागि शृंखलाभर उत्कृष्ट प्रदर्शन गरेकी अलराउण्डर पुजा महतो उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी थिइन् । पुजाले ६ खेलमा १३४ रन बनाउँदा ३ विकेट पनि हात पारिन् । उनको प्रदर्शनले मात्रै पर्याप्त नहुँदा नेपालले खेल भने जित्न सकेन ।

घरेलु मैदानमा नेपालले किन एक खेल पनि जित्न सकेन ?

त्यस्तै युवा बलर मनिषा उपाध्ययायले पनि उत्कृष्ट बलिङ गरिन् । बाँयाहाते स्पिनर मनिषाले शृंखलाभर नेपालका लागि सर्वाधिक ७ विकेट लिइन् । यसै शृंखलाबाट राष्ट्रिय टिममा डेब्यू गरेकी मनिषा पनि यस शृंखलामा नेपालको एक सकारात्मक पक्षका रूपमा रहिन् ।

युवा खेलाडीको प्रदर्शनबारे बोल्दै कप्तान इन्दु बर्माले युवाको उत्साहले पूरै टिमको आत्मविश्वास बढेको उल्लेख गरिन् । ‘युवा खेलाडीहरूको क्षमता र प्रदर्शनले गर्दा मोटिभेसन भइरहेको छ, उनीहरूलाई अझै मौका दिनुपर्छ जस्तो लाग्छ’ इन्दुले भनिन् ।

अब के त ?
नेपाली महिला क्रिकेटमा देखिएको एउटा मुख्य समस्या भनेको फिटनेस नै हो । यही फिटनेसकै कुरासँग अन्य कुराहरू पनि जोडिएको हुन्छ । अबका दिनमा फिटनेसमा सुधार हुन नसके खेलाडी परिवर्तनको विकल्प हुनेछैन ।

कुनैपनि खेलका लागि खेलाडीहरू फिट हुनु जरुरी हुन्छ । विपक्षी टिमहरूको खेलाडीहरू फिट देखिन्थे भने फिल्डिङमा पनि तन्दुरुस्त देखिन्थे । नेपालको हकमा भने केही खेलाडीहरू फिल्डिङमा सिरियस नै नभएको हो कि जस्तो देखिन्छ ।

खेलाडीहरूले फिटनेसमा वर्कआउट गर्न नसक्ने हो भने युवा खेलाडीहरूलाई मौका दिइनुपर्छ । फिटनेसकै विषयसँग टिमको सन्तुलन जोडिएको हुन्छ । फिट खेलाडीहरूले रनिङ बिटवीन द विकेटदेखि फिल्डिङमा महत्वपूर्ण योगदान दिन सक्छन् । त्यसकारण एकाध राम्रो प्रदर्शनकै कारण मात्र टिममा परिरहने र फिटनेसमा कमजोर रहेका खेलाडीहरूलाई प्रशिक्षकले निर्मम बनेरै भएपनि प्रतिस्थापन गर्नैपर्ने हुन्छ ।

आगामी दिनहरूमा एक-दुई कुराहरूमा रुपान्तरण नगर्ने हो भने हाम्रो स्तर यहाँभन्दा माथि जान मुस्किल छ । त्यसकारण अहिले देखिएका समस्याहरू सुधार गरेर नयाँ योजनाहरू बनाएमा पुरूष क्रिकेटजस्तै महिला क्रिकेटले पनि थप सफलताहरू हात पार्दै जाने कुरा निश्चित छ जुनकुरा युवा टोलीले पनि गरेर देखाइसकेको छ ।





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School