घरमा ताला लगाएर दुई दर्जन बादी परिवार भारततर्फ किन लागे ?



प्रकाशित मिति : फाल्गुन ९, २०८१ शुक्रबार

राजेन्द्रप्रसाद पनेरू/रासस

स्वदेशमै रोजगारी नपाइएपछि कृष्णपुर नगरपालिका– २ गुन्यालफाँटा कञ्चनपुरका बादी परिवार घरको ढोकामा ताला झुण्ड्याएर भारततर्फ लागेका छन् ।

जीविकोपार्जनका लागि केही सीप नचलेपछि बालबच्चा बोकेर भारततर्फ लागेका हुन् । परम्परागत पेसा–व्यवसाय विस्थापनमा परेपछि वैकल्पिक रूपमा मजदुरी गर्दै आएका बादी परिवारले त्यो पनि नपाएपछि बाध्य भएर भारतमा दरवान र कुल्ली भएर काम गर्दै आएका छन् ।

घरमा ताला लगाएर दुई दर्जन बादी परिवार भारततर्फ किन लागे ?

घरमा ताला लगाएर दुई दर्जन बादी परिवार भारततर्फ किन लागे ?

बीस बढी परिवार कामको खोजीमा भारततर्फ लागेको बादी अगुवा पदम राना बादीले बताउनुभयो ।

“परम्परागत पेसाका रूपमा माटोबाट हुक्का, सुल्पा, गाग्री, फूलदानी, गमला, धुपदानीलगायत सामग्रीसँगै मादल बनाउँदै आएका थियौँ”, उहाँले भन्नुभयो, “वन क्षेत्र संरक्षित गरिएपछि माटो ल्याउन पाइएन, माटाका सामानको तुलनामा प्लाष्टिकका सामानको प्रचलन बढी चल्न थालेपछि पेसा पलायन हुनुपरेको छ ।”

ठूलो रूपमा उत्पादन गरी बजारमा बिक्री गर्न पुँजी अभाव भएकाले परम्परागत पेसा पूरै ओझेलमा परेको उहाँले बताउनुभयो ।

बादी समुदायको परम्परागत पेसा जोगाउन सरकारी तवरबाट अनुदानलगायत कार्यक्रम सञ्चालन हुन नसकेकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

“माटोबाट विभिन्न सामग्री उत्पादन गरी भारतीयहरूले मनग्य आम्दानी गर्दै आएका छन्”, दुरादेवी कुमालले भन्नुभयो, “परम्परागत सीप भए पनि पुँजी छैन, माटोको कार्य गरे समाजमा नराम्रो तरिकाले हेर्ने गरिनाले पनि पुरानो पेसालाई तिलाञ्जली दिनुपरेको छ ।”

घरमा ताला लगाएर दुई दर्जन बादी परिवार भारततर्फ किन लागे ?

परम्परागत पेसा छाडेपछि विकल्पमा कृषि, यातायात र निर्माण क्षेत्रमा मजदुरी गरेर केही वर्ष साँझबिहानको छाक टार्दै आएका थिए ।

कोरोना महामारीपछि त्यो मजदुरी पनि खोसियो । त्यसपछि काम पाउन मुस्किल हुन थालेपछि परिवारसहित बस्तीका व्यक्ति भारततर्फ पलायन भएको उहाँले बताउनुभयो । “बस्तीमा घरबासका लागि छ धुर जति जग्गा मात्र छ, त्यसमै बनेका खस्नै थालेका झोपडी छन्”, केशव कुमालले भन्नुभयो ।

“केही परिवारसहित भारततर्फ लागेका छन्, अरू परिवारका बुढापाका र महिलामात्र बस्तीमा छन्, युवा सबै भारतमै मजदुरी गर्छन्, त्यसबाटै परिवारको पेट पालिन्छ ।”

कुसुण्डा, राजी, राउटेलगायत जातिमा बच्चा जन्मेदेखि नै भत्ता दिने व्यवस्था सरकारले गरेजस्तै बादी समुदायलाई पनि भत्तामा समेट्नुपर्ने उहाँको भनाइ छ ।

जातीय विभेदको अन्त्य अझै हुन नसकेको चर्चा गर्नुहुँदै उहाँले कथित उपल्लो जातका व्यक्तिको चिया पसलमा चिया पिउँदा गिलास धुनुपर्ने अवस्था अझै विद्यमान रहेको बताउनुभयो ।

सङ्घीय राजधानीमा पुगेर कैयौँपटक आन्दोलन गर्दा भएका सम्झौता अहिले पनि कार्यान्वयनमा नआउँदा आधारभूत सेवासुविधाबाट समेत वञ्चित रहनुपर्ने अवस्था छ ।

आवासको व्यवस्था नहुँदा एकै घरमा तीन–तीन परिवार पनि बस्दै आएका छन् । केही परिवार भारतमा गएका बेला अर्को परिवार भारतबाट फर्केर बस्ने गरेका छन् ।

बस्तीमा खानेपानीका लागि गाडिएका ह्याण्डपम्पबाट आर्सेनिकयुक्त पानी आउने भएकाले बिरामी पर्न थालेपछि टाढाबाट पानी बोकेर पिउनेपानी ल्याउनुपर्ने बाध्यता भएको बस्तीका बादी समुदायको गुनासो छ ।

खानेपानी आयोजनाका लागि पाइप गाड्ने काम भएको तीन वर्ष बित्नै लागे पनि अहिलेसम्म खानेपानी आयोजना निर्माणकार्य अलपत्र छ ।

गुन्यालफाँटाको बादी बस्तीमा ५० परिवारको बसोबास छ । जसमध्ये परिवारसहित भारतमा जाने परिवारको सङ्ख्या २० बढी छ ।





Source link

Leave a Comment