घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य


२५ माघ, काठमाडौं । भक्तपुर नगरपालिका–३ इच्छुगल्लीकी वृद्धा विष्णुकुमारी त्वयना २८ कात्तिक २०८१ साँझ साढे ५ बजेतिर घरभित्रै हातखुट्टा बाँधिएको अवस्थामा मृत भेटिइन् । उमेरले ९४ वर्ष पुगिसकेकी विष्णुकुमारीका ६ छोराछोरी (४ छोरा, २ छोरी) अंशबन्डा भएर छुट्टाछुट्टै बस्थे ।

उनी भने इच्छुगल्लीमा एक्लै बस्थिन् । खाना बनाउने, कपडा धुने लगायत काम आफैं गर्ने उनी माटो र इँटाले बनेको पुरानो पाँचतले घरमा तल–माथि समेत आफैं गर्थिन् । २२ वर्षदेखि एक्लै बस्दै आएकी विष्णुकुमारी चौथो तलाको बिस्तारामा मृत फेला परेकी हुन् । यो ठाउँ ऐतिहासिक र पुरातात्विक महत्वको ‘भक्तपुर दरबार स्क्वायर’ नजिकै पर्छ ।

विष्णुकुमारी मृत भेटिएपछि अनुसन्धानका लागि प्रहरीको टोली खटियो । जिल्ला प्रहरी परिसर भक्तपुर, उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) का जघन्य प्रकृतिका अपराधको अनुसन्धान गर्ने जिम्मा पाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले यो मामिलामा अनुसन्धान थाल्यो ।

यो टोलीसँगै र प्रहरीको केनाइन कार्यालय महाराजगञ्जबाट तालिमप्राप्त कुकुर पनि घटनास्थल पुग्यो । अपराध अनुसन्धान कार्यालयको कर्तव्य ज्यान सम्बन्धी कसुरको अनुसन्धान गर्ने १ नम्बर पिलरका डीएसपी रुगम कुँवर (हाल एसपी) को नेतृत्वको टोलीले अनुसन्धानको ‘लिड’ गर्‍यो ।

तर, तीन महिना पुग्न लाग्दा संघीय राजधानीभित्र भएको यो केस अहिलेसम्म सुल्झिन सकेको छैन । अनुसन्धानमा खटिएका अधिकृत कुँवरको टोलीले यो हत्या लुटपाटका लागि भएको आशंका गरेको छ ।

तर, कसले लुटपाट र हत्या गर्‍यो भन्ने विषय अझै खुल्न सकेको छैन । ‘घटना निकै रहस्यमय देखिन्छ । चोरी तथा लुटपाटपछि मुखमा कपडा कोचेर हत्या गरेको जस्तो देखिन्छ’, कुँवरले अनलाइनखबरसँग भने ।

विष्णुकुमारी त्वयना ।

डीएसपी कुँवरले भने जस्तै विष्णुकुमारीले कानमा लगाएको करिब आधा तोलाको मुन्द्रा र थैली गायब भएको उनका कान्छा छोरा विष्णुहरि बताउँछन् । यो हत्या प्रहरीको ‘अनसल्भ’ केसको सूचीमा छ ।

000

१८ साउन २०८१ को घटना हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ खनियाबासस्थित आफ्नो घरमा घरभित्रै ७२ वर्षीया वृद्धा रत्नकुमारी थापा दुवै हात बाँधिएको अवस्थामा भुइँमा ढलेकी थिइन् । शरीर चिसो थियो । उनले सास गुमाएको केही घन्टा बितिसकेको ठम्याउन प्रहरीलाई गाह्रो भएन । घर वरपर कोदोबारी थियो । कोदोबारीमा पोतेका गेडाहरू छरिएको, कोदो माडिएको थियो ।

छिमेकी टोकमाया खत्रीले प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि स्थानीय प्रहरी चौकी र इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोली घटनास्थल पुग्यो । प्रहरीले कुकुर सहितको विशेषज्ञ टोली मगायो । केनाइन कार्यालय महाराजगञ्जबाट अनुसन्धानका लागि जर्मन शेफर्ड जातको ‘टाइगर’ नामको कुकुर परिचालन भयो ।

केही दिनअघि हल्का पानी परेकाले कोदोबारीमा देखिएको ‘फुट प्रिन्ट’ कुकुरलाई सुँघाएर अनुसन्धान शुरू गरियो । घटनाको तीन दिनपछि २१ साउनमा प्रहरीले काठमाडौं गोंगबुबाट रत्नकुमारीको हत्या आरोपमा सोही गाउँका ३६ वर्षीय सञ्जिव देउजालाई पक्राउ गर्‍यो । देउजाले वृद्धाभत्ता लुटपाटका लागि हत्या गरेको साबिती बयान दिए । उनले दुई दिनसम्म रेकी गरेको र तेस्रो दिन हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो ।

केही दिन अघि मात्रै रत्नकुमारीले १२ हजार रुपैयाँ वृद्धभत्ता बुझेकी थिइन् । रत्नकुमारीको घरमा आउजाउ गरिरहने सोही ठाउँका देउजा यसबारेमा जानकार थिए । रत्नकुमारीका छोरा वैदेशिक रोजगारीमा विदेशमा छन् । बुहारी र नातिनातिना काठमाडौं बस्थे । एक्लै बस्दै आएकी रत्नकुमारीबारे जानकार देउजाले लुटपाट गर्ने क्रममा हत्या गरेको खुल्यो ।

वृद्धभत्ताको १२ हजार र केही दिनअघि मात्रै छोरीले दिएको ५० हजार गरी ६२ हजार रुपैयाँ र डेढ तोला सुन देउजाले लुटेको अनुसन्धानबाट खुल्यो । रत्नकुमारीको हत्यामा पक्राउ परेका देउजा अहिले पुर्पक्षका लागि सिन्धुपाल्चोक कारागारमा रहेको इन्स्पेक्टर वीरेन्द्रप्रसाद यादव बताउँछन् ।

000

अरू बेला सबेरै उठ्ने विष्णुकुमारी विष्टको घरमा २६ वैशाख २०८१ का दिन बिहान ७ बज्दासम्म चहलपहल थिएन । राति चोर आएको गाईंगुईं चलेकाले उनका छिमेकीलाई शंका लाग्यो । छिमेकी श्रीप्रसाद सिटौला विष्णुकुमारीको घर पुग्दा रगताम्य अवस्थामा उनको शव भेटियो ।

झापा बिर्तामोड नगरपालिका–४ शिवनगर टोलकी ७० वर्षीया विष्णुकुमारी घरमा एक्लै बस्दै आएकी थिइन् । प्रहरीको भनाइमा, २५ वैशाखको राति साढे ९ बजेतिर विष्णुकुमारीले काठमाडौंमा पढ्ने छोरा प्रकाशलाई फोन गरेर ‘घर वरपर चोरहरू पो हिंडडुल गर्दैछिन् कि ! घरको झ्यालमा ड्याङ–ड्याङ पार्दैछन्’ सम्म भनेकी थिइन् रे ।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य
विष्णुकुमारी विष्ट ।

यसलगत्तै प्रकाशले मामा नाता पर्ने छिमेकी श्रीप्रसादलाई फोन गरेर आफ्नो घर गइदिन भनेका थिए । चोर भागेको र अवस्था सामान्य रहेको भनेर उनी सुते । तर बिहानसम्म घरमा चहलपहल नदेखिएपछि रातिको घटनाबाट आशंकित श्रीप्रसाद विष्णुकुमारीको घर पुगेका थिए । रगताम्य अवस्थामा विष्णुकमारी भुईंमा ढलेको देखेपछि श्रीप्रसादले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए ।

कम्पाउण्डले घेरिएको एकतले पक्की घरको सुत्ने कोठाको खाटमाथि दिसा थियो । कपडाहरू छरपस्ट थिए । भुइँमा रगत लतपतिएको रड थियो । टाउकामा रडले प्रहार गरे जस्तो चोट थियो । हातको औंला काटिएको थियो । ‘क्राइम सिनबाट हत्या भन्ने प्रस्ट थियो । रातिको घटना छिमेकीले बताएपछि लुटपाटका लागि हत्या भन्ने क्लु आइहाल्यो’, झापाका डीएसपी कृष्णकुमार चन्द भन्छन् ।

विष्णुकुमारीको घरको कम्पाउण्डमा प्रहरीले एउटा कालो झोला पनि भेट्टायो । त्यही कालो झोलालाई आधार मान्दै ‘अपरेशन ब्ल्याक ब्याग’ नाम दिएर अनुसन्धान शुरू गर्‍यो । झोलामा भएका फलामजन्य सामानहरू लुटपाट तथा चोरीका लागि हुनसक्ने आशंका प्रहरीको थियो ।

पछिल्लो पाँच आर्थिक वर्ष र चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा मात्रै २७७ वृद्धवृद्धाको हत्या भइसकेको छ । जसमा २०५ पुरुष ज्येष्ठ नागरिक र ७२ जना महिला ज्येष्ठ नागरिक छन् ।

विष्णुकुमारीको हत्या आरोपमा १५ दिनपछि १६ जेठमा बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी र सोही ठाउँका २३ वर्षीय महेश राजवंशी पक्राउ परे ।

उनीहरूमाथि थप अनुसन्धान गर्दा गंगाप्रसादकी श्रीमती २० वर्षीया वर्षा, सोही ठाउँका ३३ वर्षीय ज्याक भनिने भगीरथ माझी र झापाको अर्जुनधारा नगरपालिका–६ का ४३ वर्षीय धनबहादुर कामी पक्राउ परे ।

चोरीको पोल खुल्ने भएपछि विष्णुकुमारीको टाउकामा रड प्रहार गरी हत्या गरिएको उनीहरूले प्रहरीसमक्ष बयान दिएका छन् । उनीहरूका भनाइमा औंठी निकाल्न नसकेपछि विष्णुकुमारीको औला काटिएको थियो ।

यो वर्ष ३७, अघिल्लो वर्ष ५७ को हत्या

भक्तपुर, सिन्धुपाल्चोक र झापाका यी प्रतिनिधिमूलक दृष्टान्त मात्रै हुन् । पछिल्लो समय एकल रूपमा बस्दै आएका वृद्धवृद्धाहरूमाथि शृंखलाबद्ध रूपमा आक्रमण, लुटपाट तथा हत्या गर्ने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (२०८१/८२) को पुस मसान्तसम्म मात्रै ३७ वृद्धवृद्धाको हत्या भइसकेको छ ।

सबैभन्दा बढी चालु आर्थिक वर्षमा बागमती प्रदेशमा १२ वृद्धवृद्धाको हत्या भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । यसमा ९ पुरुष र ३ महिलाको हत्या भएको छ । बागमती प्रदेशलाई प्रहरीले उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर, ललितपुर) बाहेकलाई आधार मानेर गणना गर्छ । उपत्यकाको हकमा भने चालु आर्थिक वर्षमा एक वृद्धाको हत्या भएको छ । त्यो भक्तपुरकी ९४ वर्षीया वृद्धा विष्णुकुमारी त्वयनाको हत्या हो ।

बागमतीपछि दोस्रोमा मधेश प्रदेशमा ८ पुरुष र २ महिला गरी १० जना वृद्धवृद्धाको हत्या भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म कर्णाली प्रदेशमा भने यो संख्या शून्य छ । पाँच वर्षअघि आर्थिक वर्ष २०७६/७७ मा ३२ वृद्ध र ९ वृद्धा गरी ४५ जनाको हत्या भएको थियो । तर त्यो दर अघिल्लो आर्थिक वर्षमा बढेर ५७ पुगिसकेको प्रहरीको तथ्यांक छ ।

आर्थिक वर्ष २०८०/८१ मा ४० वृद्ध र १७ वृद्धा गरेर ५७ जनाको हत्या भएको थियो । चालु आर्थिक वर्षको पुस महिनासम्ममा ३७ जनाको हत्या भइसकेकाले अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष यो संख्या बढ्न सक्ने देखिन्छ ।

पछिल्लो पाँच आर्थिक वर्ष र चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा मात्रै २७७ वृद्धवृद्धाको हत्या भइसकेको छ । जसमा २०५ पुरुष ज्येष्ठ नागरिक र ७२ जना महिला ज्येष्ठ नागरिक छन् । आर्थिक वर्ष २०७६/७७ मा ३२ पुरुष र ९ ज्येष्ठ नागरिक महिला हत्यामा प्रहरीले ४५ वटा मुद्दा दर्ता गरेर अनुसन्धान गरेको थियो । तर अहिले ६ महिनाकै अवधिमा ज्येष्ठ नागरिक हत्याको संख्या ३७ पुगिसकेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दिनेश आचार्यले केही वर्षयता वृद्धवृद्धा लक्षित अपराध तथा हत्याका घटना बढेको बताए । ‘केही वर्षयता वृद्धवृद्धा लक्षित अपराधका घटनाहरूमा बढोत्तरी भएको देखिन्छ । उनीहरूको सुरक्षाका लागि प्रहरीसँग स्थानीय तह, गाउँटोल तथा परिवार आफैं पनि सजग हुनुपर्ने देखिन्छ ।’

डीआईजी आचार्यले अनलाइनखबरसँग भने, ‘प्रत्येक घर–घरमा प्रहरी पुग्न सम्भव छैन । समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत पनि यसबारेमा हामीले जनचेतना जगाउने काम गर्दै आइरहेका छौं ।’

पोल खुल्ने डरले हुन्छ हत्या’

प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार जति पनि ज्येष्ठ नागरिकको हत्या भएको छ, त्यसमा मुख्य कारणमा चोरी तथा लुटपाटका घटनाहरू जोडिएका छन् । भक्तपुर, सिन्धुपाल्चोक र झापाका तीनवटै घटनामा चोरी तथा लुटपाटका कारण ज्येष्ठ नागरिकको हत्या भएको देखिन्छ ।

आम सर्वसाधारण मात्रै नभएर भीआईपी/भीभीआईपी भनिएका र राज्यको उच्च तहमा पुगेकाहरू समेत सुरक्षाको उच्च जोखिममा रहेको देखिन्छ । मन्त्री र राजदूत भइसकेका व्यक्तिको हत्या घटनाले यसको पुष्टि हुन्छ ।

भक्तपुर घटनामा सुनको मुन्द्रा लुट्न, सिन्धुपाल्चोकमा नगद ६२ हजार र गरगहना लुटपाट गर्न र झापाको घटनामा गहना लुट्न हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । केन्द्रीय प्रवक्ता डीआईजी आचार्य ‘लुटेरा तथा चोरी गर्ने समूहको इजी टार्गेटको रूपमा वृद्धवृद्धाहरू पर्ने गरेको’ बताउँछन् ।

एकल रूपमा बसेका वृद्धवृद्धाहरूले प्रतिकार गर्न नसक्ने हुँदा उनीहरू लुटेरा समूहको टार्गेटमा पर्ने बुझाइ आचार्यको छ । उनले भने जस्तै २३ मंसिर २०८१ राति १२ बजेतिर पोखरामा ८० वर्षीय वेदुनाथ अधिकारीको घरबाट गरगहना लुटपाट भएको थियो ।

वेदुनाथ र उनकी श्रीमती पोखराको बेगनास गैह्राघरमा बस्थे । उनका छोरा काठमाडौंमा बस्दै आएका थिए । वृद्ध दम्पती एक्लै बस्ने गरेको थाहा पाएपछि राति खुकुरी लिएर गएको समूहले वेदुनाथको श्रीमतीले लगाएको कानको रिङ लुटपाट गरेको थियो ।

वृद्ध दम्पतीको गरगहना लुटपाटको आरोपमा तीन जनालाई पक्राउ गरेर चोरी तथा डाँका मुद्दा चलाइएको जिल्ला प्रहरी कास्कीका एसपी श्यामबाबु ओलिया बताउँछन् । ‘वृद्ध दम्पती मात्रै बस्ने गरेको थाहा पाएपछि उनीहरूले राति लुटपाट गरेको देखिन्छ’, ओलियाले भने ।

एक अनुसन्धान अधिकृतका अनुसार, लुटेराहरूले मागे अनुसार गरगहना दिएको र घटनाबारे केही कतै नभन्ने शर्त मानेपछि मात्रै उनीहरूको ज्यान जोगिएको थियो ।

तर, अन्यत्रका घटनाहरूमा भने लुटेराको समूहले लुटपाटको घटना बाहिरिने भनेर हत्या गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । ती अधिकृतले भने जस्तै लुटेरा समूहले पोल खुल्ने डरले पर्वतमा एक दम्पतीको हत्या नै गरेका थिए ।

१९ चैत २०८० राति ९ बजे आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका यहाँको जलजला गाउँपालिका–२ मल्लाजका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसी भोलिपल्ट मृत भेटिएका थिए ।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य
पर्वतमा नगद र गरगहनाका लागि हत्या गरिएका जिसी दम्पती ।

एक महिनापछि १९ वैशाख २०८१ मा प्रहरीले हत्यामा संलग्न व्यक्तिहरू सार्वजनिक गरेको थियो । दुई छोरा वैदेशिक रोजगारीमा कोरिया र एक छोरा म्याग्दीमा बस्थे । पर्वतको घरमा भने वृद्ध जिसी दम्पती मात्रै बस्दै आएका थिए । जसकारण, उनीहरू लुटेराको टार्गेटमा परेको प्रहरीको भनाइ छ ।

यो अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली समेत खटिएको थियो । अनुसन्धानका क्रममा गरगहना तथा लुटपाट गर्ने क्रममा जिसी दम्पतीको हत्या गरिएको खुलेको थियो । सीआईबीले हत्या अरोपमा पर्वतकै जलजला–२ नेपानेका कृष्ण बिक र कुश्मा नगरपालिका–२ खुर्कोट घर भई जलजला–२ बस्ने दीपक दर्जीलाई पक्राउ गरेको थियो ।

भीआईपी समेत छैनन् सुरक्षित

आम सर्वसाधारण मात्रै नभएर भीआईपी/भीभीआईपी भनिएका र राज्यको उच्च तहमा पुगेकाहरू समेत सुरक्षाको उच्च जोखिममा रहेको देखिन्छ । मन्त्री र राजदूत भइसकेका व्यक्तिको हत्या घटनाले यसको पुष्टि हुन्छ ।

फ्रान्सका लागि पूर्व नेपाली राजदूत ८० वर्षीय वयोवृद्ध केशवराज झाको ३ भदौ २०७५ मा हत्या भएको थियो । बबरमहलस्थित आफ्नै निवासमा १३ इन्च लामो चक्कुले टाउकामा चार पटक, घाँटीमा दुई पटक प्रहार गरी हत्या गरिएको थियो ।

प्रहरीले घटनास्थलबाट झाको हत्यामा प्रयोग गरिएको चक्कु, पन्जा, सुरक्षा गार्डको मोबाइल, झाको रगतले लतपतिएको कपडा लगायतका अन्य प्रमाण संकलन गरेको थियो । आफ्नै भान्छाको चक्कुले हत्या गरिएको भनिए पनि चक्कुको ल्याब टेस्ट गर्दा समेत कसैको फिंगर प्रिन्टसँग मिलेको थिएन । झाको घर नजिकै केराको झाङबाट उठाइएको पञ्जामा समेत कुनै ‘क्लु’ फेला पर्न सकेको थिएन ।

‘आधा तोला मुन्द्राको लागि ९४ वर्षकी आमाको हत्या भयो’

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य
भक्तपुर नगरपालिका–३ इच्छुगल्लीमा २८ कात्तिक २०८१ मा हत्या गरिएकी ९४ वर्षीया वृद्धा विष्णुकुमारी त्वयना ।

मेरी आमा एक्लै बसेको २२ वर्ष बढी भएको थियो । उहाँ आफ्नो सबै काम गर्न तगडा हुनुहुन्थ्यो । पहिलादेखि नै परिश्रम गरेको भएर होला अहिलेसम्म अस्पताल समेत भर्ना हुनुभएको थिएन ।

कहिलेकाहीं पाटीमा बसेको बेला भेटा हुँदा ‘बाबु एक कप चिया बनाऊँ त’ भन्नुहुन्थ्यो । मैले तीन महिनाअघि आमाको टाउको नुहाइदिएको थिएँ । टाउको नुहाउँदा म ४९ वर्षको कान्छो छोराले मिचेको उहाँलाई नपुग्ने । ‘बाबु पुगेन अलि बेस्सरी मिचन’ भन्नुहुन्थ्यो । त्यति बलियो, तगडा हुनुहुन्थ्यो । नेपाली, नेवारी दुवै बोल्न सक्नुहुन्थ्यो ।

आमा एक्लै माथि बस्नुहुन्थ्यो । कोठा भाडामा लगाउनुभएको थियो । कसैले कोठाभाडा दिएन भने आफैं प्रहरीमा गएर यो तिमीहरूको दायित्व हो, भाडा उठाइदेऊ भन्नुहुन्थ्यो । भक्तपुर प्रहरीमा मेरो आमालाई नचिन्ने कमै मान्छे थिए ।

छरछिमेकमा कोही डेरावालासँग झगडा भयो भने मेरो आमाको साथ खोज्न आइपुग्थे । आमा पहिलादेखि नै कसैको सहारामा नबस्ने, हामीलाई समेत आफ्नो खुट्टामा उभिनुपर्छ भनेर शिक्षा दिनुहुन्थ्यो । मिहिनेत गरेर खानुपर्छ भन्नुहुन्थ्यो ।

तर अहिले बीच शहरमा मेरी वृद्ध आमाको हत्या भयो । घटनाको भोलिपल्ट मात्रै हामीले थाहा पायौं । धान सुकाएर आमाको कोठामा नाङ्लो, बोरा, त्रिपाल पुर्‍याउन जाँदा घटना थाहा पायौं । हामीले सबै कुरा बताएपछि प्रहरीले यो विषयमा अनुसन्धान गरेका छौं भनेका छन् ।

आमाको ८४ पूजा समेत गरेकाले आधा तोला भन्दा बढीको सुनको मुन्द्रा थियो । लुटेराले त्यो मुन्द्रा र थैली काटेर लगेको प्रहरीले बताएको छ । मुख्य कमजोरी यहाँ स्थानीय सरकारको पनि देखियो । अपराध हुने भनेकै शहरको भित्री गल्लीमा हो । तर, त्यो गल्लीमा सीसी क्यामेरा नै राखेको रहेनछ ।

प्रहरीले पनि सीसी क्यामेरा नभएकाले अनुसन्धानमा समस्या भएको बताएको छ । घटना भइसकेपछि पनि हामीले वडामा गएर सीसी क्यामेरा राख्न भनेका थियौं । तर अहिलेसम्म पनि राखेको छैन । न बहालमा बस्नेको लगत नै स्थानीय सरकारले राखेको छ ।

(त्वयनाका ४९ वर्षीय कान्छा छोरा विष्णुहरि त्वयनासँग गरिएको कुराकानीमा आधारित ।)

000

केशवराज झाको हत्यालगत्तै उनकै घरमा काम गर्ने सुरक्षागार्ड काभ्रे पनौती नगरपालिका–१० का ५२ वर्षीय सानु भनिने सानुकान्छा तामाङ पक्राउ परे । तर प्रमाण नपुगेपछि अभद्र व्यवहारको मुद्दा चलाएर जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई १२ हजार धरौटीमा २४ दिनपछि छाड्यो ।

एक वर्षपछि १ भदौ २०७६ मा फेरि उनै सानुकान्छालाई पक्राउ गरेर प्रहरीले हत्याराको रूपमा प्रस्तुत गर्‍यो । झाकी पत्नी ज्ञानुले उनी विरुद्ध किटानी जाहेरी पनि दिइन् । २५ भदौ २०७६ मा काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठायो । तर, फैसला हुँदा भने सानुकान्छा निर्दोष ठहरिए ।

२३ भदौ २०७७ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले सानुकान्छालाई सफाइ दियो । यसरी राजधानीभित्रै भएको भीआईपी वृद्ध हत्याको घटना अहिलेसम्म सुल्झन सकेको छैन । हत्याराको टार्गेटमा झा पर्नुको पछाडि पनि वृद्ध दम्पती मात्रै सो घरमा बस्थे । दुई दिनअघि मात्रै आयरल्याण्डबाट आएर छोराबुहारी फर्किसकेपछि उनको हत्या भएको थियो ।

७ साउन २०८१ मा सर्लाही चन्द्रनगर गाउँपालिका–१ रतनपुरमा पूर्वराज्य मन्त्री समेत भइसकेका ८० वर्षीय रामचन्द्र रायको हत्या भयो । ३० वर्षअघि राप्रपाबाट भूमिव्यवस्था मन्त्री भएका रायको आफ्नै घरमा हत्या भएको थियो ।

पूर्व मन्त्री रामचन्द्रको हत्या आरोपमा प्रहरीले १४ साउनमा उनकै घरमा काम गर्ने २५ वर्षीय रामउजैन राय यादवलाई पक्राउ गर्‍यो । रामउजैनले टाउकामा धारिलो हतियार प्रहार गरेर वृद्धको हत्या गरेको प्रहरीको भनाइ थियो ।

यो हत्यामा रतनपुरकै ४५ वर्षीय वीरेन्द्र राय पनि जोडिएको भनेर प्रहरीले उनलाई पनि पक्राउ गर्‍यो । पूर्वमन्त्री रामचन्द्र र वीरेन्द्र सँधियारी रहेको र जग्गाको विवादमा उनको हत्या गरिएको प्रहरीको भनाइ थियो । हत्या गर्न वीरेन्द्रले रामचन्द्रकै घरमा काम गर्ने रामउजैनलाई २ लाख रुपैयाँको ‘सुपारी’ दिएको प्रहरीको भनाइ थियो ।

घरमा एक्लै बस्ने वृद्धवृद्धा मारिने क्रम बढ्यो, सम्पत्ति लुटपाट मुख्य उद्देश्य
पूर्वराज्यमन्त्री रामचन्द्र राय र पूर्वराजदूत केशवराज झा ।

प्रहरीका एक अनुसन्धान अधिकृतका भनाइमा ‘पछिल्ला केही वर्षयता ज्येष्ठ नागरिकमाथि हुने अपराधका घटनामा वृद्धि भइरहेको देखिन्छ । सो अनुसार हेडक्वाटरले ‘एक्सन प्लान’ बनाएर काम गर्नुपर्ने थियो । तर देशको अपराधको अध्ययन विश्लेषण गरेर सुरक्षा रणनीति बनाउने प्रमुख जिम्मेवारी पाएको अपराध अनुसन्धान विभाग नै उपेक्षित देखिन्छ ।’

अपराध अनुसन्धान विभागमा बसिसकेका ती अधिकृत भन्छन्, ‘सकेसम्म एआईजीहरू अन्य आकर्षक ठाउँमा पोस्टिङ पार्न मरिहत्ते गर्छन् । ज्येष्ठ नागरिकको सुरक्षामा न संगठन जिम्मेवार भएर प्रस्तुत भएको छ, न विभागले नै त्यसअनुरूप काम गरेको छ ।’

लुटेराका आँखा सुनचाँदी र नगदमा 

अधिकांश ज्येष्ठ नागरिकको हत्या घटनामा यस्तो संयोग छ कि, उनीहरू वादविवाद, झगडा वा रिसइबीका कारण नभई घरभित्र बसिरहेको अवस्थामा मारिएका छन् । यसले अधिकांश घटनामा चोरी तथा लुटपाटको उद्देश्य देखिन्छ । चोरी गर्न गएको व्यक्ति वा समूहलाई ती वृद्धवृद्धाले देखेपछि उनीहरू निशानामा पर्ने गरेका छन् ।

२०७८ सालको राष्ट्रिय जनगणना अनुसार, कुल जनसंख्या (२ करोड ९१ लाख ६४ हजार ५७८) को १०.२१ प्रतिशत ज्येष्ठ नागरिक छन् । देशको जनसांख्यिक संरचना अनुसार, यो संख्या आगामी दिनमा बढ्दै जाने देखिन्छ ।

नेपाल प्रहरीको सीआईबीमा बसेर अवकाश भएका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीको विश्लेषणमा ‘अपराध गर्नेले जहिले पनि अपराधपछि आफू सुरक्षित छु भन्ने महसुस गरेपछि अपराध गरेको देखिन्छ । एकल रूपमा बस्दै आएका वृद्धवृद्धालाई टार्गेट गर्ने हकमा पनि उनीहरू आफूलाई सुरक्षित महसुस गर्छन् ।’

पहिला संयुक्त परिवार हुन्थ्यो । अहिले एकल परिवार र त्यसमाथि पनि छोराछोरी विदेशिने वा यहीं भए पनि एक्लाएक्लै बस्ने प्रचलन बढ्दो छ । त्यसैले एकल ज्येष्ठ नागरिक सुरक्षा जोखिममा छन् । अब हाम्रो सुरक्षा प्रणाली र आगामी दिनमा बनाउनुपर्ने सुरक्षा योजनामा पनि ‘करेक्सन’ गर्नुपर्ने सन्देश यसले दिएको मल्लको बुझाइ छ ।

यसबाहेक ज्येष्ठ नागरिक हत्याको कारण केलाउँदा उनीहरूको आनीबानी पनि एउटा कारण बन्ने मानवशास्त्रीहरूको बुझाइ छ । ‘वृद्धहरू एउटा उमेरपछि एकांकी हुन्छन् । एक्लै बस्न रुचाउँछन् । श्रीमान् र श्रीमतीबीच समेत खटपट हुन्छ । परिवारका अरू सदस्यसँग पनि कुरा मिल्दैन’ मानवशास्त्री विष्णु दाहाल भन्छन्, ‘अनि घरभन्दा बाहिरको मान्छेलाई आफ्नो ठानेर सबै कुरा शेयर गर्छन् । यसरी सबै सूचना पाइसकेपछि आपराधिक मनोवृत्तिका व्यक्तिहरूले ज्येष्ठ नागरिकमाथि टार्गेट बनाउँछन् ।’

थपिन सक्छ सुरक्षा चुनौती’

ज्येष्ठ नागरिकमाथि हुने हत्या, लुटपाट लगायत अपराधका घटनाको ‘ग्राफ’ अझ बढ्ने विज्ञहरूको बुझाइ छ । नेपालीको औसत आयु बढ्दै जानु, एकल परिवार तथा एक्लै बस्ने संस्कृति बढ्दै जानु र विदेशिन क्रममा समेत कमि नआउनुले ज्येष्ठ नागरिक एक्लै पर्ने र उनीहरू माथि अपराधका घटनाहरू अझै बढ्न सक्ने सम्भावना देखिन्छ ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधान आगामी दिनमा झनै सुरक्षा चुनौती थपिने ठान्छन् । उनका विचारमा यसको साइनो विदेश गएका युवाहरूसँग जोडिन्छ । ‘पाँच वर्ष पहिला विदेशिने युवाको संख्या भन्दा अहिले बढी छ । अनि वृद्ध हत्याको दर पनि बढेको छ । यसको मतलब आगामी दिनमा ज्येष्ठ नागरिक एकल हुने संख्या झनै बढ्छ र सुरक्षा चुनौती पनि थपिंदै जान्छ ।’

ज्येष्ठ नागरिकको सुरक्षाबारे प्रहरीमा धेरै पहिलादेखि बहस भए पनि हालसम्म परिणाम आउने कुनै निर्णय नभएको पूर्व डीआईजी मल्लको बुझाइ छ । ‘प्रहरीमा पनि यो विषयमा धेरै बहस भएको थियो । अहिलेसम्म कुनै निर्णय भएर कार्यान्वयन भएको छैन । आगामी दिनमा ज्येष्ठ नागरिकको संख्या पनि बढ्ने हुँदा सुरक्षा चुनौती पनि थपिने देखिन्छ’, मल्ल भन्छन् ।

२०७८ सालको राष्ट्रिय जनगणना अनुसार, कुल जनसंख्या (२ करोड ९१ लाख ६४ हजार ५७८) को १०.२१ प्रतिशत ज्येष्ठ नागरिक छन् । देशको जनसांख्यिक संरचना अनुसार, यो संख्या आगामी दिनमा बढ्दै जाने देखिन्छ ।

नेपालको संविधान २०७१ को धारा ४१ मा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने’ उल्लेख छ । तर सामाजिक सुरक्षा भत्ता दिने बाहेक ज्येष्ठ नागरिकका अरू सरोकारका विषयमा सरकारले कुनै कार्यक्रम बनाएको देखिन्न । हुँदाहुँदा अब सम्पत्ति हत्याउन घरभित्रै मारिनेसम्मको अवस्था आउन थालेको छ ।

यो अपराध न्यूनीकरण गर्न महिला बालबालिका सेल जस्तै प्रहरीमा छुट्टै युनिट गठन गर्नुपर्ने सुझाव राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष छत्रबहादुर प्रधानको छ । उनी भन्छन्, ‘ज्येष्ठ नागरिकको सुरक्षाका लागि अब प्रहरीमा छुट्टै युनिट नबनाई हुन्न ।’

जनसंख्या विश्लेषक चेतन अधिकारीको भनाइमा, ‘अहिले समाजको चरित्र नै ज्येष्ठ नागरिक उन्मुख छ । अहिलेकै अवस्थामा पनि ६० वर्षभन्दा माथिका करिब ३० लाख व्यक्ति छन् नेपालमा । आफन्त स्वदेश तथा विदेशमा बसाइँ सरेर जाने तर ज्येष्ठ नागरिक भने आफ्नै थातथलोमा बस्ने गरेको देखिन्छ ।’

अधिकारीका विचारमा, यसले ज्येष्ठ नागरिकमा सुरक्षा चुनौती बढ्दै गएको र उनीहरूमाथि हुने अपराधको ग्राफ बढेको हुन सक्छ । ज्येष्ठ नागरिक फ्रेण्ड्ली सुरक्षा दिनुका साथै, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालय सहितका निकायले उनीहरूको सुरक्षालाई ध्यानमा राखेर कार्यक्रमहरू बनाउन ढिलाइ गर्नुहुन्न ।

 





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School