घरज्वाइँ : मगर समाजको कथा मार्फत सांस्कृतिक झट्का दिने प्रयास

घरज्वाइँ : मगर समाजको कथा मार्फत सांस्कृतिक झट्का दिने प्रयास


कुनै पनि व्यक्तिलाई आफू बाँचेको भन्दा नितान्त फरक परिवेश र सांस्कृतिक अभ्यासको बारेमा जानकारी पाउँदा लाग्ने झट्का नै ‘कल्चर शक’ हो । सन् १८५४ तिर नै मानवशास्त्री कलेव्रो ओर्वगले सैद्घान्तीकरण गरेको यस अवधारणाअनुसार नेपाल जस्तो सांस्कृतिक विविधता भएको देशमा हरेक समुदायभित्र निहित पृथक रीतिथिति र अभ्यासहरुको बारेमा अर्को समुदायको मानिसलाई अवगत हुने बित्तिकै सुरुमा अचम्म लाग्नु, अपत्यारिलो लाग्नु वा कैयौं सवालहरुमा आघातमै पर्नु पनि स्वभाविक हुन्छ ।

यस्तै अचम्म लाग्ने सामाजिक यथार्थहरुलाई मध्यपश्चिमेली मगर समाजको परिवेशमा आधारित भएर युवा निर्देशक अनिल बुढा मगरले निर्देशन गरेको फिल्म ‘घरज्वाइँ’ले पनि अन्य समुदायका मानिसलाई यथेष्ट सांस्कृतिक झट्काहरु दिन सफल भएको छ । फिल्ममा देखाए जस्तै राडीमुनि आगो राखेर ज्वाइँलाई खुट्टाले मिच्न लगाउने, हलो जोत्न नजान्ने छोरोले अघिल्लो दिन राति हुँदो बाबुसँग गोरु जोत्न सिकेर भोलिपल्ट ससुराको खेत राम्रोसँग जोतेर रिझाउन खोज्ने, ज्वाइँले ससुरालीमा नै बसेर मकै चुट्ने, भारी बोकेर घट्ट जाने जस्ता अथक श्रम गरेर श्रीमती घर लैजान ससुरा रिझाउनुपर्ने गैरजनजाति समुदायका मानिसहरुका लागि अचम्म लाग्ने सांस्कृतिक झट्काहरु नै हुन् ।

लामो समयसम्म जात, भूगोल र पहिचान नभएका पात्रहरुको वर्चस्व कायम भएको नेपाली फिल्ममा रुकुमको मगर समुदायबाट उठाइएको पात्र, प्रवृत्ति र परिवेशले एक सशक्त सांस्कृतिक हस्तक्षेप गरेको मान्न सकिन्छ । यो फिल्म मार्फत निर्देशक बुढा मगरले स्पष्टै भनेका छन्, ‘हाम्रो पनि कथा छ, हाम्रो कथा हामी आफ्नै शैलीमा भन्न सक्छौं ।’

आफूलाई भित्रैदेखि निचोर्दै आफ्नै सांस्कृतिक भूगोलसँग जोडेर उनले बागलुङ, म्याग्दी, रुकुम र रोल्पाको पूर्वी भेगमा प्रभाव जमाएको यानीमाया भाकालाई फिल्मको कथावाचन गर्ने लय बनाउनु नै निर्देशकीय विशेषता छ । यानीमाया भाकालाई फिल्मको दृश्य बगाउने आधारको रुपमा सिर्जनात्मक प्रयोग गरेको हुनाले नै यो फिल्म यही भूगोलको सानो भेरी नदी बगे जस्तै एक प्रकारको सुस्त बहावमा बगेको महसुस हुन्छ । यानीमायाको धीमा गतिलाई पात्रहरुको मनोशारीरिक क्रियासँग दृश्य संयोजन गरेर सम्पादनमा समेत एक प्रकारको बहाव ल्याउनुले ग्रामीण समाजको सुस्ततासँग बग्दै जाने प्रेमिल गतिविधिहरुको समाजसुलभ प्रस्तुति भएको आभास मिल्छ ।

अभिभावकको भावनालाई कुल्चेर कसैसँग मायाप्रीति बस्ने बित्तिकै एकोहोरो रुपमा अभिभावकलाई खलनायकीकरण गर्ने कथाहरुविरुद्घ घरज्वाइँले फरक शिराबाट कथालाई प्रस्तुत गरेर नेपाली समाजभित्र नै रहेको मौलिक सांस्कृतिक अभ्यासलाई अनुभूत गराउन सफल भएको छ । सहरमा जस्तो रेस्टुरेन्ट, पार्क र सिनेमा घरहरुममा ‘घरज्वाइँ’का नायक नायिका डेटिङ जाँदैनन् । उनीहरु तरकारी खान सिस्नो टिप्न गएको ठाउँमा भेटेर प्रेमिल गफ गर्छन् । केटा मनपरेपछि केटीले रुमाल छोडेर जाने अनि रुमालमा भएको ओखरको बियाँ खाएर केटाले पनि सकरात्मक संकेत दिने जस्ता नितान्त मौलिक प्रेमभाषाहरु देखाइएको छ ‘घरज्वाइँ’मा । यो आफैंमा बलिउड प्रेमशैलीमाथिको एक सांस्कृतिक विनिर्माण नै हो । मानवीय संवेदनाहरुसँग जोडिएको स्थानीयता र परिस्थितिअनुरुप देखापर्ने यस प्रकारका नैसर्गिक सांस्कृतिक अभ्यासहरुलाई दयाहाङ राई र मिरुना मगरको अभिनयले थप विश्वसनीयता सिर्जना गरेको छ ।

कथाको मुख्य द्वन्द्व सांस्कृतिक हक र मानवीय भावनाबीचको अन्तरसम्बन्धबाट विकास गरिएको छ । पात्रहरुबीचको मनोवैज्ञानिक अन्तरद्वन्द्व स्थापना गर्न मध्यपश्चिेमेली मगर समाजमा विद्यमान धापा बसेर रोधी गाउने, भलिबल खेल्ने, रिडी मेलामा भाग लिने जस्ता अन्य गतिविधिहरुमा कथालाई आधार बनाउँदा मूल कथामा अतिरिक्त सांस्कृतिक तहहरु भरिएको प्रतीत हुन्छ । रात परेपछि युवायुवती छोट्टी बस्ने, पेवा बढाउन ऊन काढ्ने अनि रिडी मेलामा बेचेर आयस्रोत बढाउने जस्ता दृश्यले फिल्मको सांस्कृतिक गहिराइलाई स्थापित गरेको छ ।

लामो समय युद्धबाट आक्रान्त भएको रुकुम जस्तो समाजमा तत्कालीन विद्रोही पार्टी माओवादीको पारिवारिक मामिलामा समेत गहिरो हस्तक्षेप थियो भन्ने देखाएर फिल्मले ऐतिहासीक परिघटनालाई समेत दस्तावेजीकरण गरेको छ । यस अतिरिक्त कथामा लाहुरे पात्रको उपस्थिति, मामाको छोरीसँग विवाह गर्न पाउने सांस्कृतिक हक जताउन उसले गरेको चारित्रिक व्यवहार र ‘रक्सी होइन ह्वीस्की हो’ भन्ने संवादले मगर समुदायमा विद्यमान लाहुरे संस्कृतिको आयामलाइ सशक्त ढंगले प्रस्तुत गरेको छ । फिल्ममा प्रयोग भएका सांस्कृतिक तत्वहरु मूल कथालाई बलियो बनाउन प्रयोग गरिएको हुनाले ‘घरज्वाइँ’को हरेक दृश्यले एक प्रकारको काव्यात्मक बहाव महसुस गराउँछ । फिल्मका सहायक पात्रहरुले भेडाको ऊन काढ्दै, राडी बुन्दै, चुल्हो छेउ बसेर सुल्पा र ऊनको डल्ला बनाउँदै वा जाँतो घुमाउँदै गफ गरिरहेको दृश्यले मूल कथालाई नै सशक्त तरिकाले स्थापित गराउन थप भूमिका खेलेको छ ।

स्थानीय मगर समुदायमा निहित रङहरुको कलात्मक प्रयोग गर्ने सवालमा यस फिल्ममा सचेत निर्णय लिइएको छ । मुख्य पात्र सोरो जस्तो अर्थ खाम भाषामा तारा भन्ने लाग्छ, ऊ सहरबाट गाउँ प्रवेश गर्दा सुरुमा उसले लगाउने पोशाक फिक्का रङको हुन्छ, पछि ग्रामीण परिवेशमा डुब्दै जाँदा उसको जीवनमा पनि बहुरङहरु प्रवेश गर्न थालेको अनुभूति हुन्छ । सहरभन्दा गाउँ एक अर्थमा रंगीन छ, रमाइलो र आत्मीय छ भन्ने भाव झल्काउन प्रयोग भएका यस्ता रङहरुले फिल्मको कलात्मक उचाइ बढाइदिएको छ ।

बिञ्जुरी अर्थात् अरु ओइलिएपछि फुल्ने फूल भन्ने अर्थ लाग्ने पात्रले टाउकोमा ऊनीको रंगीन झोला सिउरेर हिंडेको जस्तो दृश्य र सोरो पात्रले थुप्रै दृश्यहरुमा लगाएको कछाडले मगर भेषभूषालाई फिल्ममा विश्वसनीय तरिकाले प्रस्तुत गरिएको उदाहरण प्रस्तुत भएको छ । साथै, विवाहमा सेतो चामल सेतो फेटाको प्रयोग गरेको जस्ता दृश्यहरुले निर्देशकले आफनो समुदायको कथा भन्दा प्रदर्शन गरेका सांस्कृतिक मिहिनताहरु हुन् ।

विभिन्न रंगसामग्रीहरुको मिश्रण गरेको गोबरमा टेकेर दुलही प्रवेश गरेको, दुलहीले हातमा लिएको भाँडोमा रक्सी र तीतेपाती हाल्ने र उक्त भाँडोलाई नपोखीकन माइतीघरसम्म पुर्‍याउनुपर्ने, त्यस्तै टाउकोमा सिउरेको सुरमा जौ, गहुँ र मकैको मिश्रणले खाजा बनाएको सामग्रीले हालिने र पछि पछि बेहुलाले  छर्किंदै जानुपर्ने जस्ता रीतिथिति गैरजनजाति समुदायका लागि नवीन सांस्कृतिक झट्काहरु नै हुन् । माइतीघरसम्म पुग्दा यति चलन अनुरुप हुन सकेन भने सम्बन्ध टुटाउन मोहनी लगाइदिन्छन् भन्ने विश्वास पनि रहेको हुनाले समाज आफैंले सांस्कृतिक संरक्षणको मान्यता कसरी विकास गर्छ भन्ने दृश्यभावहरु समेत फिल्मको मूल कथालाई बलियो बनाउन प्रयोग गरिएको छ ।

घरज्वाइँ : मगर समाजको कथा मार्फत सांस्कृतिक झट्का दिने प्रयास
सचिन घिमिरे

भान्जा पक्षले माइती मनाउन जाँदा लिने सांस्कृतिक स्वतन्त्रतालाई जाँड खाएपछि भाँडो घोप्टाएर देखाउने होस् वा बाटोमा सगुन राखेर शुभसाइत गरेको दृश्य नै किन नहोस् आफूसँग भावनात्मक र सांस्कृतिक अपनत्व भएको कथा भन्दा आवश्यक सांस्कृतिक अन्तरदृष्टिलाई निर्देशकले सशक्त तरिकाले प्रस्तुत गरेका छन् । दृश्य संयोजनको सवालमा हरेक दृश्यहरुमा आदिवासी जनजाति समाजमा विद्यमान सामूहिक पहिचानको भाव दर्शाउन थुप्रै पात्रहरुको उपस्थिति गराएर प्रमाणित गरिएको छ । कुनै खास निर्णय गर्दा वा सामूहिक श्रम योगदान दिने बेलामा समाजका थुप्रै तह र तप्काका मानिसको उपस्थिति देखाउनुले मगर समाजमा रहेको सामूहिकताको भावनलाई यस फिल्मका दृश्यहरुमा बग्रेल्ती उजागर गरिएको छ । पर्म गएर सामूहिक रुपमा काठ बोक्ने, टोपीमा मकै खाजा खाने, सिकार गरेको बँदेललाई सबै मिलेर झुण्डाउँदै घरतिर ल्याएर आउने जस्ता गतिविधिले मगर समाजको मिहिनता पस्किन निर्देशकले निकै मेहनत गरेको देखिन्छ ।

रुकुम तक्सेराको ग्रामीण समाजको यथार्थलाई फिल्मको कथाअनुसार स्थापित गर्न एक दर्जन पटक गाउँको सट राखिएको छ । पर डाँडामा हिउँ परेको दृश्यदेखि खोली किनारको लाँकुरीको रुख र वैंसको रुखले समेत तक्सेराको सौन्दर्य देखाउन थप रङ भरेको छ ।

मगर समुदायमा मृत व्यक्तिको  सम्झनामा लाँकुरीको रुख रोप्ने चलनले आदिवासी जनजाति समाजमा रहेको जल, जंगल र जमिनप्रतिको श्रद्धाभावलाई प्रकट गरेको छ । बिञ्जुरीको आमाको आत्मा बिसाइएको स्थानअघि उभिएका बिञ्जुरी र उसको सिकारी बाबुलाई रुखबाट पात्रसम्म क्यामराको सट तन्काएर दृश्य लिंदा मृतआत्माको सम्झनामा रोपिएको रुख, उनको नाममा बनाइएको बिसाउने र उनको आफन्तजनबीचको गहिरो अन्तरसम्बन्धलाई कलात्मक तरिकाले छायांकन गरिएको छ ।

यस फिल्ममा अधिकांश दृश्यहरुमा लाइटको प्रयोग सचेततापूर्वक गरिएको छ । खोपाबाट आएको प्रकाश वरिपरिको कालो छायाले जीवनमा जस्तोसुकै समस्या र उल्झन आएपनि आशाका किरणहरु पनि सँगै प्रवाहित भइरहेको हुन्छ भन्ने विम्बात्मक अर्थ दिएको छ । यस कथाका पात्र सोरो पनि त्यही अन्धकारको बीचबाट आएको उज्यालोको सहयोगमा उसले मन पराएकी बिञ्जुरीलाई सामाजिक पर्खाल पार गरेर आफ्नो बनाउन संघर्ष गर्छ ।

मुख्य दुई पात्रहरुको प्रेम प्रसंग र सम्बन्धको विकासक्रममा स्थानीयता र मगर समुदाय अनुरुपको बनाउन अन्य सहायक पात्रहरुको स्वभाविक र बेजोड अभिनयले कथालाई थप बलियो बनाउन उत्तिकै भूमिका खेलेको छ ।

स्थानीयता र मगर समुदायको जनजीवनलाई स्वभाविक रङ दिनका लागि थुप्रै संवादमा नेपाली व्यञ्जनको त को ठाउँमा ट राखेर पात्रहरुले बोल्नु नै फिल्मले आञ्चलिकता र मगर समुदायको बोलीचाली शैलीलाई यथार्थपरक तरिकाले प्रस्तुत गरिएको महसुस गराउँछ ।

समग्रमा फिल्मले स्पष्टैसँग मगर समाज बुझाउँछ । निर्देशकले आफनो कथा आफैंले भन्दा मात्र आम दर्शकलाई सांस्कृतिक र भावनात्मक अन्तरसम्बन्ध विकासमा न्याय पुग्न सक्छ भन्ने ‘घरज्वाइँ’ले देखाएको छ ।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School