गोपीजी, यहाँको कृति ‘लन्डन अनप्लग्ड’ हो कि ‘नेपाल प्लग्ड’ हो हँ?

गोपीजी, यहाँको कृति ‘लन्डन अनप्लग्ड’ हो कि ‘नेपाल प्लग्ड’ हो हँ?


सुरुमा फिनिक्स चराको प्रसङ्ग – अलिक पहिले मैले अङ्ग्रेजी साहित्य पढ्दा कुन्नि कता हो पहिलोचोटि ‘फिनिक्स चरा’ को बारेमा पढेको थिएँ। हाम्रो पूर्वमा त्यस्तो मिथक कतै नसुनेको र नपढेको हुनाले त्यतिबेला त्यो कुरा राम्ररी बुझेको थिइनँ। अभि सुवेदी सरको ‘विश्वविद्यालयमा अग्निपूजा’ शीर्षकको लेख पढेपछि भने त्यो सन्दर्भ मज्जाले बुझेजस्तो लागेको हो। म यो प्रसङ्ग किन उठाउँदै छु भने गोपी सापकोटा सन् २००८ तिर लण्डन भासिएसँगै उनको साहित्य पनि पातालको गर्तमा भासिएको थियो। नेपालीमा एउटा उखान छ, ‘बाह्र वर्षका खोलो पनि पुरानै बाटोमा फर्कन्छ।’ यो उखान गोपीजीमा पनि लागू भयो। लण्डनमा हराएको ठिक बाह्र वर्षमा उनी ‘काँचो कागज’ (२०७७) लिएर नेपाली साहित्यमा देखापरे। यसलाई मैले उनको खरानीबाट पुनः बौरिएको मानेको हुँ। त्यसपछि त उनी हरेक दुई वर्षको अन्तरालमा ‘चिसो बाफ’ (२०७९) र ‘लन्डन अनप्लग्ड’ (२०८१) मार्फत् लगातार देखापरिरहेका छन्। उनको यो यात्रा रोकिनु हुन्न भन्ने हामी पाठकहरूको तीव्र चाहना छ।

गोपी सापकोटासँगको सुरुआती दिन

गैँडाकोट क्षेत्रमा सडक नाटक गरेर चर्चा कमाएका प्रतिभा हुन् गोपी सापकोटा। तर मैले त्यतिबेला गोपीको एउटा पनि नाटक हेर्ने अवसर पाइनँ। आफू पाठक भएका नाताले कविता र नाटकमा भने मैले उनलाई राम्ररी पढेको हुँ। नेपालमा कार्यरत रहँदा उनी कविता र नाटकका अलावा बालसाहित्यका क्षेत्रमा पनि काम गरिरहेका थिए। आजीविकाका लागि एउटा गैरसरकारी संस्थामा आबद्ध थिए। अरूहरूलाई जस्तै विदेशमोहले च्यापेपछि उनी पनि पाताल भासिए। त्यसपछि मेरो उनीसँगको सम्पर्क र उनको लेखनीसँगको नाता सुषुप्त अवस्थामा पुगेको थियो।

नेपाली साहित्यमा राम्रो पकड बनाइसकेका गोपी सापकोटा एकाएक लन्डन गएर धेरै समय हराएपछि विधा परिवर्तनसहित उपन्यासकारका रूपमा फेरि नेपाली साहित्यकाशमा झुल्किए। यतिबेला मेरो हातमा उनै गोपी सापकोटाको पछिल्लो कृति सिर्जनात्मक गैरआख्यान ‘लन्डन अनप्लग्ड’ छ।

कलम प्रकाशन, काठमाडौँले प्रकाशन गरेको यो कृतिमा संस्मरणात्मक खालका बीस निबन्ध समेटिएका छन्। गैरआख्यान भनिए पनि पूरापुर कथाको छनक दिने यी रचनाहरू आख्यानात्मक निबन्ध हुन्। यी रचनामा गोपीले करिब दुई दशक बेलायतमा बिताएका विभिन्न पलको स्मरण छ, त्यति मात्र होइन बिचबिचमा नेपालका नोस्टाल्जिक प्रसङ्गहरू पनि छन्। तिनमा उनको बागलुङमा बितेको बाल्यकाल प्रमुख छ भने गैँडाकोटमा बितेको युवावस्था र काठमाडौँमा बितेको जागिरे जीवन पनि कताकति मिसिएर आएका छन्। यसर्थ यो कृति डायस्पोरिक रङमा घोलिएको सुन्दर आख्यानात्मक निबन्ध हो।

‘लन्डन अनप्लग्ड’ बारे छिरलिएका सूचना

नाममा के छ? म भन्न सक्दिनँ, तर नाम केही त पक्कै हो, नत्र म आफैँ नामको सट्टा उपनाम किन राख्थेँ? त्यस्तै गोपी सापकोटाले तारानाथ शर्माको ‘बेलाइततिर बरालिँदा’ जस्तो कृतिको नाम नराखेर ‘लन्डन अनप्लग्ड’राखेका होलान् भन्ने निष्कर्ष हो मेरो। कृतिको नाम जस्तो रचना भने कृतिमा भेटिँदैन, यसर्थ यसले भावार्थमा नाम राखेको पुष्टि हुन्छ।

पाठकवृन्द, त्यसो भए यस कृतिमा के छ? भन्ने उत्सुकता जाग्यो होला हैन त? यहाँ म त्यसका केही साक्ष्यहरूसहित केही सूचना मात्र दिन्छु।

‘म एक दिन’ शीर्षकको रचनामा लामो समय बिदा नबसी काम गरेका कारण आफ्नै श्रीमतीको नाम समेत बिर्सेको सन्दर्भलाई यसरी चित्रण गरिएको छ:

‘निर्मलाले त हामीलाई बिर्स्याैं कि क्या हो? ज्वाइँ र केटाकेटीलाई लिएर आऊ न हाम्रोमा एकदिन भन्दै हुनुहुन्थ्यो।’ उनले भनिन्।

म एकदम खुसी भएँ।

बल्ल पो सम्झेँ त उनको नाम- निर्मला। मैले मायाले निरु भनेर बोलाउँथेँ। त्यति सजिलो नाम पनि मैले कसरी बिर्सेको हुँला। त्यति लामो समयसम्म बोलाइरहेको नाम पनि मैले कसरी बिर्सन सकेको हुँला। मनमनै एकपटक उनको नाम भनेँ, निरु। फेरि मनमनै दोहोर्‍याएँ। (पृष्ठ, ३२–३३)

माथिको साक्ष्यमा काममा बढी जोतिँदा के हुन्छ भन्ने देखाइएको छ भने ‘होलिज क्याफे’ शीर्षकको रचनामा विदेशमा बस्दा त्यहाँका व्यक्तिसँग बोल्दा गोप्यता कायम राख्न नेपालीले आफ्नो भाषा प्रयोग गरेको सन्दर्भलाई यसरी देखाइएको छ:

ड्यानीले बुझ्दैनथ्यो। उसको बारेमा उसकै अगाडि हामीले खुलेर कुरा गर्न सक्थयौँ ।

हामी के विषयमा कुरा गर्दैछौँ भन्ने कुरा अरुलाई थाहा निदनका लाग हामीले धेरै शब्दलाई नेपालीकरण गरेका थियौँ। त्यस्तो कुरामा युवराज र गोकुल खप्पिस थिए। एकएक गर्दै हामीले सम्भव भएसम्मका अङ्ग्रेजी नामहरु र अफिसमा प्रयोग हुने प्राविधिक शब्दहरूलाई नेपालीकरण गरेका थियौँ। (पृष्ठ, ५७)

यो कृतिमा लेखकले लन्डनको जीवनशैलीलाई पनि बडो सुन्दर तरिकाले देखाइएका छन्। त्यसका लागि हेरौँ केही साक्ष्य:

साक्ष्य: १

नजिक पुगेपछि भने लोरी नै हो भन्ने पक्का भयो। पहिलेभन्दा अलिअलि मोटाएकी थिई। उसले नै ‘हाइ’ भनी।

‘ल बधाई छ। तिम्रो त बिहे पनि भएछ, बच्चा पनि भएछ।’ मैले भनेँ।

‘होइनहोइन। मेरो बिहे भएको छैन, बच्चा मात्रै भएको हो।’ उसले भनी।

उसको त्यो कुरा सुन्दा नेपालमा अचम्म लाग्छ, तर बेलायतमा यो सामान्य हो। (पृष्ठ, ३९)

साक्ष्य:२

लिन्डासँग यतिखेर उसका तीनैजना लोग्लेहरू साथमा छैनन्। तर ती तीनजना लोग्नेहरूबाट जन्मिएका तीन छोराहरू भने उसकै साथमा छन्। ती तीन पूर्व लोग्नेहरूका उनीहरूका छोरा भेट्न आआफ्ने पालोमा आइरहन्छन्।

उसको केटा खोज्ने यात्रा अझै रोकिएको छैन। यात्रा जारी नै छ। त्यो मामलामा ऊ अगाडि नै छे। अनुभवी छे। (पृष्ठ, १३०)

माथिको पहिलो साक्ष्य ‘के उखु, के छोक्रा’ बाट लिइएको हो। त्यसमा लन्डनमा विवाह नगरी आमा बन्न चाहने र राज्यले दिएको भत्ता खाएर बस्ने कुरा गरिएको छ। त्यस्तै दोस्रो साक्ष्य ‘जेलिएको प्रेम’ बाट लिइएको हो, यसमा पनि पहिलोमा जस्तै सन्दर्भ आएको छ।

त्यति मात्र नभएर बेलायती नारीले बहुविवाह गरेर हरेक पतिबाट एकएक छोरा जन्माएको र तिनलाई आफैँले हुर्काएको सन्दर्भ आएको छ।

त्यस्तै बेलायतीहरू समयबारे के कस्तो धारणा राख्छन् ? उनीहरू रिस देखाउन परे के गर्छन् भन्ने कुरालाई ‘ड्राइभिङको कथा’मा यसरी देखाइएको छ:

पहिलो सन्दर्भ:

‘ल, अब अर्को दिन भेटौँला।’ मैले सधैँझैँ भनेँ।

उसले मलाई घुरेर हेर्‍यो।

सबै कुरा सामान्य हुँदा उसले त्यसरी हेरेको मलाई मन परेन। मैले सोधेँ, ‘के छ, सबै ठिक छ नि?’

‘छैन।’ उसले रिसाएर भन्यो।

‘के भयो त?’

‘लेसन पूरा हुन अझै पाँच मिनेट बाँकी छ। तिमीले पूरै समय सिकाएनौ नि?’ उसले घडी देखाउँदै एकदमै रुखो हुँदै भन्यो।

मैले घडी हेरेँ। पचपन्न मिनेट भएको थियो। (पृष्ठ, १४२)

दोस्रो सन्दर्भ:

त्यो दिन मैले उसलाई पूरै एक घन्टा पाँच मिनेट सिकाएँ।

हामी फर्कँदैँ थियौँ। कार उसले चलाएको थियो। मैले निर्देश गरिरहेको थिएँ। उसको घर पुग्न करिब दुई माइल बाँकी थियो। बाटोमा उसलाई गाडी रोक्न भनेँ। उसले रोक्यो। अनि मैले भनेँ, ‘गाडीबाट निस्क।’

‘किन?’ उसले सोध्यो।

‘एक घन्टा पाँच मिनेट भयो। तिम्रो कक्षा यहीँ सकियो।’

‘तर हामी त घर पुगेकै छैनौँ नि त।’

‘तर एक घन्टा पाँच मिनेट भइसक्यो।’ मैले दोहोर्‍याएँ, ‘समय सकियो, कारबाट बाहिर निस्क।’

‘अनि म घर कसरी जाने?’ उसले सोध्यो।

‘द्याट इज योर प्रोब्लम। जस्ट गेट आउट फ्रम माइ कार।’ मैले रिसाउँदै कराएपछि केटो लुरुक्क परेर गाडीबाट ओर्लियो। (पृष्ठ, १४३–१४४)

माथिको पहिलो साक्ष्यमा आफूले पैसा तिरेपछि पूरा समय नपाएका कारण रिसाएको सन्दर्भ छ भने दोस्रो साक्ष्यमा प्रतिशोध लिनका लागि आफूले अघिल्लो दिनको नपुग समय सिकाएपछि बिच बाटोमा अलपत्र पारिदिएको सन्दर्भ आएको छ।

यी त केही झिल्का मात्र हुन्। यो कृतिमा लन्डनको जीवनशैली बुझ्ने थुप्रै सन्दर्भ आएका छन्। त्यति मात्र नभएर बिचबिचमा नेपालका सन्दर्भ पनि आएका छन्। यसर्थ यो कृति आप्रवासी चेत भएको कृति बनेको छ।

‘लन्डन अनप्लग्ड’ले ममा के प्लग्ड गर्‍यो त?

हिजोआज तेस्रो विश्वमा बस्ने धेरैको सपना हो बेलायत। चाहे पढ्न होस्, चाहे घुम्न होस् वा शरणार्थीकै रूपमा किन नहोस् त्यहाँ जाने इच्छा हरेकको हुन्छ। त्यसो हुनुको मुख्य कारण त्यहाँको स्वतन्त्र जीवनशैली हो। त्यति मात्र होइन, त्यहाँ हरेक मानवलाई गरिने मानवीय व्यवहार सबैको मनमा गढेर बसेको हुन्छ भन्ने कुरा गोपी सापकोटाले आफ्नो कृति ‘लन्डन अनप्लग्ड’ मा यसरी देखाएका छन्:

उनीहरूको एउटा कुराले म धेरै प्रभावित भएँ।

उनीहरूले मलाई कत्ति पनि हेपेनन्। ससम्मान प्रश्न सोधे। म कहाँ शरणार्थीको रूपमा आएको मान्छे। मसँग न कुनै परिचयपत्र नै थियो, न त त्यहाँ मैले चिने जानेको कोही अधिकृत नै थिए। मेरो कुनै परिचय थिएन। तर पनि मलाई उनीहरुले कतै पनि कुनै होच्याउने व्यवहार गरेनन्।

त्यसैले मेरो मनमा बेलायतीहरुप्रति आदर भाव पलाएर आयो। (पृष्ठ, २७७)

माथिको साक्ष्य ‘बेलायतमा बर्मेली जीन’ शीर्षकको अन्तिम निबन्धको हो। यसमा बर्माबाट भागेर बेलायत पसेको जीन नामक व्यक्तिले बेलायत बस्ने कागजपत्र बनाउने क्रममा बेलायती उच्च पदस्थ कर्मचारीहरूको आनीबानीबारे कुरा गरेको छ। आफूसँग आफू हुनुको कुनै प्रमाण समेत नरहेको अवस्थामा पनि उनीहरुले देखाएको सदाशयताको यसमा खुलेर प्रशंसा गरिएको छ। अन्य देशमा भएको भए यस्तो अवस्था हुने थिएन भन्ने निष्कर्ष यसमा दिइएको छ। त्यस्तै अर्को सन्दर्भ हेरौँ:

नेपालमा हामी कसरी सोच्छौँ र बेलायतमा उनीहरू कसरी सोच्छन् भन्ने कुरामा अन्तर रमाइलो छ।

नेपालमा समाज सेवाका लागि कसरी पैसा माग्न सकिन्छ भन्ने कोणबाट सोच्छौँ। बेलायतमा समाजसेवाका लागि कसरी दान गर्न सकिन्छ भन्ने कोणबाट सोच्छन्। नेपालमा पैसा कमाउन सकेकोमा गर्व गरिन्छ। बेलायतमा दान गर्न सकेकोमा गर्व गरिन्छ। (पृष्ठ, १५४)

माथिको साक्ष्य मैले ‘पसिनाको ह्विस्की’ नामक निबन्धबाट लिएको हुँ। यसमा नेपाली र बेलायतीहरूको सोच्ने तरिकाको भिन्नता देखाइएको छ। हामी नेपाली कमाउने र बचाउने कुरा मात्र सोच्छौँ। यसको उल्टो बेलायतीहरू कमाउनुका साथै बचाएको रकम कसरी दान गर्न सकिन्छ भनेर सोच्छन् भन्ने देखाइएको छ।

यसरी समाजसेवाको भावनालाई उच्च तहमा देखाउँदै बेलायती जीवनशैलीको सुन्दर चित्रण गर्नु नै यो कृतिको सबैभन्दा सशक्त उपलब्धि हो। यो कुरा आम नेपालीले मनन गर्न सके नेपाल कति छिट्टै सुन्दर देश बन्ने थियो होला? यही सोचाइका साथ कलम रोक्छु। भबतु सब्ब मङ्गलम्।

-रमेश प्रभात

प्रकाशित: ८ मंसिर २०८१ १२:०४ शनिबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School