काठमाडौं । ४० वर्षमा झण्डै २५ हजार विद्यार्थीलाई संगीतको कखरा सिकाए उनले । उनैले प्रशिक्षित गरेका थुप्रै गायक-गायिकाले आज नेपाली संगीत क्षेत्रलाई हाँकिरहेका छन् । तर जीवनलाई नै संगीतमा समर्पित गरेका उनले दुवै मिर्गौला फेल भएपछि उपचार खर्च अभावमै संसारबाट बिदा लिनुपर्यो ।
नेपाली संगीत त्यसमा पनि शास्त्रीय संगीतको अग्लो नाम गुरुदेव कामतको साउन १७ गते ६९ वर्षको उमेरमा निधन भयो ।
कुन पापीले लुटिदियो, मधु वन पनि नयाँ नयाँ, मधुमास पनि नयाँ नयाँ लगायत ४०० भन्दा बढी कालजयी गीत, गजल र भजन उनले नेपाली संगीतप्रेमीलाई दिएर गए ।
काठमाडौंमा उपचारका लागि आर्थिक संकटको सामना गर्नुपरेपछि उनी गत असार २९ गते मात्रै सपरिवार जन्मथलो सिरहाको लक्ष्मीपुरपतारी पोखरभिण्डास्थित गाउँमा फर्किएका थिए । केही दिनदेखि स्वास्थ्य अवस्था बिग्रिंदै गएपछि गुरुदेवले खानपिन बिस्तारै कम गरेका थिए ।
६ वर्षको उमेरदेखि नै संगीतमा लगाव
गुरुदेव कामतले ६ वर्षको उमेरदेखि नै गीत गाउन थाले । सुरुमा मातृभाषा मैथिली र हिन्दी भाषाका गीत गाउँथे । ‘बाल्यकालदेखि नै उहाँ गीत गाउनु हुन्थ्यो । पछि संगीतकै अध्ययनका लागि भारत जानुभयो,’ गुरुदेवका आफन्त महेश कामत भन्छन् ।
उनले भारतमा संगीतमा स्नातकोत्तर तहसम्मको अध्यनन गरे । संगीत अध्ययन सकेर २०४४ सालमा उनी नेपाल फर्किए । २०४५ सालमा संगीतमै केही गर्ने अठोट लिएर काठमाडौं उत्रिए । त्यतिबेला गायक बन्न रेडियो नेपालमा स्वर परीक्षा पास गर्नुपर्थ्यो । २०४९ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितमा उनले भाग लिए, उनी प्रथम भए । त्यसपछि औपचारिक रुपमा उनको सांगीतिक यात्रा सुरु भयो । सँगै बाँच्नका लागि संघर्ष पनि सुरु भयो । किनकि त्यसबेला संगीतमै लागेर जीविकोपार्जन गर्ने अवस्था नेपालमा बनिसकेको थिएन ।
गुरुदेवले काठमाडौंको जमलमा रहेको डोरेमी म्युजिक एकेडेमीममा संगीत सिकाउन थाले । उनले त्यहाँ पाँच वर्षसम्म विद्यार्थीहरुलाई संगीतको सुरताल सिकाएर प्रतिभालाई निखार्न योगदान पुर्याए । त्यसबेला लोचन भट्टराई, अञ्जु पन्त, मनोजराज सिवाकोटी, प्रमोद खरेल लगायत अहिलेका लोकप्रिय गायक-गायिकाले उनैसँग संगीत सिकेका थिए ।
२०५५ सालमा ‘गुरुकुल संगीत पाठशाला’ नाममा बागबजारमा आफ्नै संगीत विद्यालय खोले । त्यहाँ गुरूदेव कामतले संगीत सिकाउने भनेर विद्यार्थीहरुले थाहा पाएपछि विस्तारै कक्षा भरिन थाले । गुरूदेवको जीवन र संगीत सँगसँगै चल्न थाल्यो । बागबजारमा त्यतिबेला घरहरू सानो र बाटो साँघुरो भएपनि उनको संगीतको फराकिलो ज्ञान लिन विद्यार्थीहरुको घुइँचो लाग्यो ।
संगीतकर्मले राम्रैसँग गति लिइरहेको थियो । २०७२ सालमा शक्तिशाली भूकम्प आयो । त्यसको असर उनको संगीत विद्यालयमा पनि पर्यो । उनको संगीत पाठशाला रहेको घर भूकम्पले चर्काइदिएपछि उनी पुतलीसडकमा सरे । त्यहाँ विद्यालय सारेर संगीत सिकाइरहेका थिए ।
फेरि २०७७ सालमा कोरोना महामारीका कारण देशव्यापी लकडाउन भएपछि गुरुदेव सिरहास्थित आफ्नो गाउँ फर्किए । त्यहाँबाट काठमाडौं तत्कालै फर्किएर संगीत कर्म र प्रशिक्षणलाई निरन्तरा दिन सम्भव नभएपछि उनले पूर्वको इटहरी गएर संगीत पाठशाला खोले । त्यहाँ ६ महिनासम्म उनले संगीत सिकाए, तर अपेक्षित विद्यार्थी नआएपछि उनी पुन: काठमाडौं फर्किए ।
काठमाडौं फर्किएपछि उनले सुरूमा एक वर्षजति मिलन मोक्तानले सञ्चालन गरेको साधना कला केन्द्रमा संगीत गुरू भएर काम गरे । त्यसपछि फेरि साथीभाइ र आफन्तको सहयोगमा डिल्लीबजारस्थित चारखालमा आफ्नै गुरूकुल संगीत विद्यालयलाई खोलेर निरन्तरता दिए । उनी पछिल्लो चार वर्षदेखि यही गुरूकुलमा आफ्ना विद्यार्थीहरूलाई संगीत सिकाइरहेका थिए ।
अप्रेसन छाडेर गीत गाउन जनकपुर गए, तर पैसा पाएनन्
गत २०८० माघ २६ गते जनकपुरमा मधेश प्रज्ञा प्रतिष्ठानले गीत-गजल कार्यक्रम राखेको थियो । डाक्टरले उनको प्रोटेस्टको अप्रेसनको मिति माघ २९ लाई तोकेका थिए । तर उनीसँग पैसा नभएकाले उपचार खर्च आउँछ भनेर अप्रेसन गर्न छाडेर जनकपुर हिंडे । उनलाई मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष समेत रहेका राम भरोस कापडी ‘भ्रामर’ले गीत गाउन आउनुपर्यो भनेर मौखिक रुपमा फोन सम्पर्क गरेर बोलाएका थिए । अनि त्यस कार्यक्रमबाट आएको एक लाख रुपैयाँ प्रदान गर्ने आश्वासन पनि दिएको गुरूदेव कामत निकट चलचित्र निर्देशक राधेश्याम विक बताउँछन् ।
‘मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रहनुभएका राम भरोस कापडी सरले फोन गर्नुभयो र गीत आउन बोलाउनुभयो । साथै उहाँले गीत गाए बापत एक लाख रुपैयाँ दिने आश्वासन पनि दिनुभयो,’ उनी भन्छन् ।
गुरूदेवले उक्त कार्यक्रममा लगातार चार घण्टा सांगीतिक प्रस्तुति दिए । तर काठमाडौं फर्किंदासम्म पनि आश्वासन दिएको रकम रामभरोस कापडीले अहिलेसम्म नपठाइदिएको गुरुदेवले केही समयअघि बताएका थिए ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा गुरुदेवले भनेका छन्, ‘पैसा दिन्छु भनेर बोलाउनुभयो । तर अहिले उहाँले पैसा दिन आनाकानी गर्ने गर्नुभएको छ । यस्तो बिरामी हुँदा पनि मैले चार घण्टासम्म प्रोग्राम गरेँ । त्यसपछि फर्किने क्रममा रामभरोस कापडीले मलाई ‘पैसा अहिले निकासा भएको छैन, एक हप्तापछि निकासा हुन्छ, सरकारी करोबार हो, अलिकति ढिलो हुन्छ’ भन्नुभयो । एक हप्तापछि पठाइदिन्छु वा म आफैँ आउँछु भनेर उहाँले मलाई भन्नुभयो । मैले भने ठिकै छ, सरकारी कारोबार छ भने केही छैन भनेँ । हेर्नुस्, त्यो पैसा अहिलेसम्म दिएको छैन ।’
दुईटा विज्ञप्ति निकालेपछि चर्को आलोचना, कापडीको राजीनामा माग
मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्षसमेत रहेका रामभरोस कापडी भने गुरूदेव कामतलाई जनकपुरमा सांगीतिक कार्यक्रमका लागि बोलाउने नीतिगत रुपमा निर्णय भएको तर तत्काल पैसा दिने कुनै सहमति नभएको दाबी गर्छन् । प्रतिष्ठानले भने सम्मान स्वरुप प्रतिष्ठानबाट एक लाख रुपैयाँ दिने निर्णय भएको बताउँदै आफूले व्यक्तिगत रुपमा गुरूदेव कामतलाई नबोलाएको उनको दाबी छ । तर, गुरूदेवको निधनमा मधेश प्रज्ञा प्रतिष्ठानले दुई वटा विज्ञप्ति निकालेपछि भने चर्को आलोचना भएको छ ।
गुरूदेव कामतलाई विरामी भएको बेलामा मधेश प्रज्ञा प्रतिष्ठानले बोलाएर जबरजस्ती ४ घण्टा गीत गाउन लगाएर पैसा नदिएकोप्रति वरिष्ठ पत्रकार सिताराम अग्रहरी आक्रोश व्यक्त गर्छन्। ‘मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्षले जनकपुरमा बोलाएर विरामी गायकलाई ४ घण्टा गीत गाउन लगाउनु भयो। तर पारिश्रमिक दिनु भएन। कति पटक गुरूदेव आफैले उपचार गर्नुछ भनेर माग्दा पनि दिनु भएन,’ उनले आक्रोशित हुँदै भने, ‘तर, अहिले गुरूदेवको निधन भइसकेपछि डरले कर्मचारीलाई विज्ञप्ति निकाल्न लगाएर श्रद्धाञ्जली दिने ? अनि फेरि आफैले अर्को दिन विज्ञप्ति निकालेर हामीसँग कुनै सम्झौता भएको छैन भन्ने ? यो गैरजिम्मेवारपन हो की होइन ?। जिउँदोमा कमाएको पैसा नदिने र मरेपछि विज्ञप्ति निकालेर श्रद्धाञ्जली दिनु ढोंग हो ।’
कलाकारलाई परेको बेला सहयोग गर्न नसक्ने मधेश प्रज्ञाको कुनै काम नभएको भन्दै कापडीले राजीनामा दिनुपर्ने उनको माग छ। उनी भन्छन्, ‘जब देशको धरोहर, श्रष्ठा र कलाकारलाई उपचारको लागि सहयोग गर्न मधेश प्रज्ञाले सक्दैन भने त्यो कुन कामको लागि स्थापना भएको हो ? प्रज्ञाका अध्यक्ष कापडीले तत्काल राजीनामा दिनुपर्छ। ’
यस्तै प्रतिष्ठानका अध्यक्ष कापडीले निन्दनीय कार्य गरेका हुनाले तत्कालै राजीनामा दिनुपर्ने जनकपुरका वरिष्ठ पत्रकार एवं साहित्यकार सुजित झा बताउँछन् । सिरहाका पत्रकार एवं कलाकार रोयन्टल मण्डलले गायक कामतको रकम समयमा नदिएकोमा प्रतिष्ठानका अध्यक्ष कापडीले तत्काल आफ्नो पदबाट राजीनामा दिएर माफी माग्नुपर्ने बताउँछन् ।
गायक गुरुदेव कामतसँग जिउँदोमा त बेइमानी गरे पनि मृत्यु भएपछि पनि झुट बोलेको भन्दै प्रतिष्ठानका अध्यक्ष कापडीले तत्काल माफी माग्नु पर्ने साहित्यकार एवं गायक धिरेन्द्र प्रेमर्षिको माग छ ।
जनकपुरबाट फर्किएको तीन दिनपछि बेहोस
जनकपुरबाट सांगीतिक कार्यक्रम गरेर फर्किएपछि गुरूदेव कामत तीन दिनपछि पूरै बेहोस भएका थिए । उनी बेहोस भएपछि रातिको ८ बजे इमरजेन्सी एम्बुलेन्स बोलाएर नजिकै कमलादीमा रहेको हिमाल हस्टिपटलमा भर्ना गरिएको थियो । त्यहाँ चिकित्सकको निगरानीपछि करिब दुई घण्टापछि गुरूदेवको होस खुलेको थियो । उनी त्यसपछि केही सामान्य भएपछि डिल्लीबजारस्थित डेरामा फर्किएका थिए । उनको अवस्था नाजुक भएपछि परिवार, आफन्त, निकट मानिने साथीभाइहरू उपचार खर्चको जोहोमा लागेका थिए । राज्यका निकायसँग सहयोग माग्ने कि सामाजिक सञ्जाल मार्फत आह्वान गर्ने भन्नेमा छलफल गरियो । तर गुरूदेव कामतले राज्यको निकायले सुन्छ भने पहल गर्न आग्रह गरे आफ्नाहरूलाई । तर कहींकतैबाट पनि कुनै सुनुवाइ नभएको उनका छोरा प्रमेन्द्र बताउँछन् ।
‘मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले फोन गरेर गीत गाउन आउनुस् पैसा दिन्छु भनेर बोलाउनुभयो । बुवाले उपचार खर्च आउँछ भनेर सकी नसकी जनकपुर जानुभयो । चार घण्टा लगातार सांगीतिक प्रस्तुति दिनुभयो । तर त्यहाँबाट बना पैसा रित्तो हात काठमाडौं फर्किनुभयो,’ उनी भन्छन्, ‘त्यसको तीन दिनमा उहाँ बेहेस हुनुभयो । हामी सबै आत्तियौं । पछि बुवाको उपचार गराउनुपर्नेछ । उहाँलाई दिन्छु भनेको गीत गाएको पैसा माग्दा फोन नै उठाउनु भएन । उल्टै विज्ञप्ति निकालेर कुनै सहमति नभएको भनेर आफू बच्न खोज्नुभयो ।’
स्वाभिमानी साधक, चेतनाको दीपक
गुरूदेव कामत आफ्ना विद्यार्थीलाई सदैव स्वाभिमानी हुन, साधक भएर साधना गर्न र चेतनाको दियो भएर चम्कन प्रेरित गरिरहन्थे । गायक प्रमोद खरेल त्यो बेलाको क्षण सम्झिंदै भन्छन्, ‘गुरूदेव साँच्चै संगीत साधक, स्वाभिमानी र संगीतको सुरको दीपक बनेर हामीलाई सिकाउनुहुन्थ्यो । उहाँको मेहनत देखेर हामीलाई पनि मेहनत गर्न मन लाग्थ्यो । उहाँको साधना देखर हामी पनि त्यही गर्नतर्फ लाग्थ्यौं ।’
प्रमोद अगाडि भन्छन्, ‘गुरु गुरुदेवको गायकीमा साँच्चिकै सरस्वतीको बास थियो । उहाँ जस्तोसुकै रचनालाई मधुर सुर भरेर जीवन्त बनाइदिनुहुन्थ्यो । उहाँ शास्त्रीय संगीतको आफैंमा विश्वविद्यालय हुनुहुन्थ्यो । गुरूदेव त्याग, तपस्या र साधना गरेर संगीतकै चेतना बाँड्न जन्मिएको दीपक जस्तो अनवरत लागिरहेको स्वाभिमानी महागुरू हुनुहुन्थ्यो ।’
गायिका बबिना भट्टराई गुरूदेव संगीतलाई व्यापार होइन कला र सिर्जना भएर अनुसरण गर्न सिकाउने सभ्य र स्वाभिमानी गुरू भएको बताउँछिन् । ‘यस्तो इमानदार गुरू अब युगमा खोजेर पाइँदैन । उहाँले संगीतलाई कला हो, कहिल्यै पनि व्यावसायिक रुपमा लिनुभएन । एउटा परिवारकै सदस्य जस्तो ठानेर पारिवारिक माहोलमा सबै शिष्यलाई संगीत सिकाउनुहुन्थ्यो,’ उनी भन्छिन्, ‘आफ्नो गीत कहिल्यै व्यावसायिक तरिकाले रेकर्ड गराउनु भएन । उहाँको गीत उहाँसँगै हुन्थ्यो । बजारमा निक्कै कम आउँथ्यो ।’
शास्त्रीय संगीतका विश्वविद्यालय
गुरूदेव कामतलाई शास्त्रीय संगीतका विश्वविद्यालयको उपमा दिन्छिन् गायिका अञ्जु पन्त । ‘ मैले उहाँबाटै संगीतको पहिलो शास्त्रीय सुरतालको कखरा सिक्न पाएँ । उहाँको गुरूकुलमा पढ्दा म लगायत धेरै गायक-गायिका उहाँको गायिकी र संगीत साधना गर्ने तरिका देखेर छक्कै पर्थ्यौं,’ उनी भन्छिन्, ‘गुरूदेवमा वास्तवमा सरस्वतीको बास थियो । उहाँ विश्वविद्यालय जस्तो हामीलाई भान हुन्थ्यो ।’
गुरूदेव जस्तो त्याग, तपस्या, धैर्यता भएको संगीत महागुरू राष्ट्रको ठूलो सम्पत्ति भएको गायक खरेल बताउँछन् । ‘शास्त्रीय संगीत खासगरी ठुमरी गायन, मैथिली, हिन्दी, ऊर्दु लगायत सर्वोच्च दखल राख्ने संगीतका महागुरू, विश्वविद्यालय अब खोजेर कतै पाइँदैन,’ उनी भन्छन् ।
गुरुदेवसँगै शास्त्रीय संगीतको ज्ञान लिएका गायक युवराज चौलागाईं भन्छन्, ‘शास्त्रीय संगीतमा केही गर्छु भन्नेले उक्त समयमा पुग्ने एउटा ठाउँ नै गुरुदेव हुनुहुन्थ्यो । सिकाउने सरल र सभ्य शैलीले विद्यार्थीलाई आकर्षित गर्थ्यो । उहाँलाई सुन्न पाउँदा नै हामी धन्य हुन्थ्यौं ।’
तर गुरुदेवलाई राज्यले चिनेन !
शास्त्रीय संगीत र मुलुकका लागि आफ्नो जीवन समर्पित गरेका गुरुदेवले मिर्गौला र प्रोस्टेटको उपचार खर्चका लागि राज्यलाई नगुहारेको होइन । पटक-पटक प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, संस्कृति मन्त्रालय धाइरहे उपचार खर्चका लागि याचना पत्र बोकेर उनी र उनको टिम । तर गुरुदेवको त्यो उपचारका लागि लेखिएको याचना पत्र न त प्रधानमन्त्रीले सुने न त कुनै मन्त्रालयका मन्त्रीले नै भेट गर्न दिए ।
गुरुदेवसँग निकट रहेका फिल्म निर्देशक राधेश्याम विक एक मन्त्रीले त मन्त्रालयमा भेट्न बोलाएर चार घण्टा कुराएपछि अहिले फुर्सद छैन, बाटोमै कुरा गरौं भनेर गाडी चढेर हिंडेको तीतो घटना समेत सुनाउँछन् ।
‘एक जना मन्त्रीले उपचार खर्चका लागि भनेर भेट्न बोलाउनुभयो । हामी गुरुदेव कामतको निवेदन लिएर उहाँको मन्त्रालयमा भेट्न गयौं । तर उहाँले हामीलाई चार घण्टा कुराउनुभयो,’ उनी सुनाउँछन्, ‘त्यसपछि हामीले हिंडने बेलामा आज फुर्सद छैन, धेरै बिजी छु, हिंड्दै कुरा गंरौ भन्नुभयो । तर उहाँ हतारहतार गाडीमा बसेर हिंडिदिनुभयो । हामीलाई कुनै वास्तै गर्नुभएन ।’
प्रधानमन्त्री कार्यालयमा गुरुदेवको उपचार खर्चका लागि भनेर निवेदन दर्ता गराए पनि कुनै सुनुवाइ नभएको विक बताउँछन् । ‘गुरुदेवको उपचार खर्चका लागि भनेर गत जेठ २ गते निवेदन दर्ता गरायौं । प्रधानमन्त्री त्यतिबेला पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो । तर उहाँको कार्यालयले पनि कुनै सुनुवाइ गरेन,’ उनी सुनाउँछन्, ‘बरु जसले निवेदन दर्ता गर्न भनेर आग्रह गरेको थियो । उनैले हाम्रो फोन काट्न थाल्यो । राज्यले गुरूदेवलाई साच्चै चिनेन। ’
राज्यले नै नचिनेपछि हार खाएर उपचारका लागि सहयोग गर्न सामाजिक सञ्जालमार्फत आह्वान गर्न बाध्य भएको उनी बताउँछन् ।
गुरूदेव कामतको उपचार खर्चमा संघ र मधेश प्रदेश सरकारले कुनै चासो नदेखाएकोप्रति मधेश प्रदेश सरकारका पूर्वमिडिया सल्लाहकार एवम् वरिष्ठ पत्रकार सिताराम अग्रहरीले तीव्र असन्तुष्टि जनाउँछन् । उनी भन्छन्, ‘ संघ र मधेश प्रदेश सरकार दुवैले आफ्नो देशको गहना, धरोहरलाई चिन्न सकेन। कला, साहित्य र श्रष्ठा राष्ट्रको गहना हो भन्नु कागजको खोष्ठामा सीमित रहेछ। परेको बेला खै कस्ले हेर्यो ? नेपाल राज्यले चिन्नु पर्ने हो नि। तर अहँ, राज्यले नचिनेको झै व्यवहार गर्यो गुरूदेव कामतसँग। ’
मधेश प्रदेश सरकारले आफ्नो क्षेत्रको संगीतका धरोहरलाई नचिनेकोमा चिन्ता व्यक्त गर्छन् उनी। ‘संघ सरकारले त हेरेन हेरेन प्रदेशले पनि आफ्नो सम्पत्ति र धरोहर चिनेन। योभन्दा धेरै दु:खदायी र पीडादायी क्षण के हुन सक्छ ?’ गुरूदेव बितेर गए पनि उनको कला, सृजना र संगीतलाई केन्द्र र प्रदेश सरकारले संरक्षण गर्नु पर्ने उनको माग छ। ‘ उहाँ (गुरूदेव कामत सर) बितेर जानुभयो। तर संगीत सागरमा धेरै कला र सृजनाहरू छोडेर जानु भएको छ।यसको संघ र प्रदेश सरकार मिलेर संरक्षण गर्नुपर्दछ। उहाँ जस्तो संगीतको महासागर अब खोजेर पाइदैन।’
शास्त्रीय संगीतका कालजयी उनका सिर्जना र नेपाली संगीतमा उनले जन्माएका गायक-गायिका गुरुदेवले छाडेर गएका अमूल्य चिनो हुन् । जीवनको अन्तिम क्षणतिर उनले संगीतप्रेमीलाई छाडेर गएको आफ्नै गीतले भने झैं गुरुदेव अब भौतिक रुपमा हामीमाझ नरहेपनि नेपाली संगीतमा मीठो सुवास बनेर छाइरहनेछन् ।
फेसबुकमा गरिएको आह्वानले केही काम गर्यो, केही पैसा उठ्यो । त्यसले गुरुदेव कामतको उपचार र घर खर्च धान्यो । तर अप्रेसनका लागि भने १० देखि १५ लाख रुपैयाँ लाग्ने डाक्टरले बताएका थिए । त्यत्रो पैसा कहाँबाट ल्याउने भनेर निकै चिन्तित थिए गुरुदेव । एक त उपचार खर्च अनि अर्को काठमाडौंमा खान बस्न नै समस्या हुन थाल्यो । त्यसैले गुरुदेवले निर्णय लिए- अब गाउँ फर्किएर उतै डायलाइसिस गराउने अनि पैसा जम्मा भएपछि प्रत्यारोपणको प्रक्रिया सुरु गर्ने ।
संगीत सम्झिएर भक्कानिए
गुरुदेवलाई रोगले बिस्तारै च्याप्दै लगिरहेको थियो । उपचार खर्च नभएर यसैपनि तनावमा थिए । उनीसँग भएको श्रीसम्पत्ति भनेकै थियो केवल शास्त्रीय संगीतको ज्ञान र सीप । त्यही संगीतको सुरतालको ज्ञान बाँडेर आफ्नो जीवनयापन गर्दै आएका थिए । तर रोगले थलिएपछि संगीतकर्मसँग उनको नाता टुट्यो । संगीतको ज्ञान बाँड्न पाएनन्, गीत गाउन पाएनन्, संगीत भर्न पाएनन् ।
उहाँ मसँग भेट हुँदा अब गीत गाउन सकिंदैन भनेर भक्कानिएर रुनुहुन्थ्यो । एकान्तमा भएको बेलामा रुनु हुन्थ्यो ।- राधेश्याम विश्वकर्मा
किनकि रोगले च्यापेपछि उनी थला परे । उनी आफन्त, निकट साथीभाइसँग गीत-संगीत गाउन नपाइने भइयो भनेर भक्कानिन्थे । राधेश्याम भन्छन्, ‘उहाँ मसँग भेट हुँदा अब गीत गाउन सकिंदैन भनेर भक्कानिएर रुनुहुन्थ्यो । एकान्तमा भएको बेलामा रुनु हुन्थ्यो ।’
गुरुदेवका छोरा प्रमेन्द्र कामत पनि बुवाले शास्त्रीय संगीतको साधनालाई रोगले अवरुद्ध गरेको सम्झेर आँखाभरि आँसु पारिरहने सुनाउँछन् ।
अनि गाउँ फर्किए, उतै अस्ताए
काठमाडौंमा सरकारले र कतैबाट उपचार खर्चको जोहो नभएपछि अन्तिममा निराश भएर सिरहास्थित आफ्नै गाउँ फकिए गुरुदेव परिवारसहित । उनले गाउँ फर्किनुअघि आफ्नो उपचार अब गाउँमै सम्भव भएसम्म गर्न चाँजोपाजो मिलाउन नगरपालिकासँग मिलाइदिन आग्रह गरे । त्यसपछि गत असार १७ गते सपरिवारसहित गाउँ फर्किए उनी ।
गाउँमा उपचार त चलिरहेको थियो । तर उनको उपचारमा खासै सुधार देखिएको थिएन । गाउँ फर्किएको ठीक एक महिनापछि अर्थात् साउन १७ गते उनी संसारबाटै बिदा भए ।
काठमाडौमा उपचारको सुविधा भएपनि उपचार खर्च अभावमा गाउँ फर्किन विवश बनाउने राज्यको नीति दुर्भाग्यपूर्ण भएको भन्दै गुरुदेव कामत फाउन्डेसनका अध्यक्ष एवं कवि प्रभात सागरले दुःख व्यक्त गरे । कामतको उपचारमा राज्यले यथोचित सहयोग नगरेको उनी बताउँछन् । ‘जसले मुलुक र संगीत क्षेत्रलाई अनमोल संगीतका सिर्जनाहरु दिएर जानुभएको छ, उहाँको महाप्रस्थान यतिविधि अभाव र संकटबाट हुनु दु:खदायी हो । गुरुदेवको संगीत र सिर्जनालाई राज्यले चिन्न सकेन,’ सागर भन्छन् ।
‘अब संगीत साधकको बीमा हुनुपर्छ‘
गुरुदेवको उपचार खर्चकै अभावमा निधन भयो । संगीतकर्मीहरुले अब संगीतका स्रष्टाहरुको बीमा गर्ने नीति राज्यले बनाउनुपर्ने बताएका छन् ।
संगीतकार राजु सिंह आफ्नो जीवनलाई संगीतमा समर्पण गर्ने श्रष्टाहरुलाई राज्यले बीमाको नीति बनाउनुपर्ने बताउँछन् । ‘म आफैं पनि बिरामी भएकाले गुरुदेवसँग प्रत्यक्ष भेट्न पाइनँ । किनकि उहाँलाई मिर्गौलाको समस्या भएकाले मेरो कारण झन् जोखिम हुन्थ्यो । उहाँको निधनले समग्र शास्त्रीय संगीतलाई ठूलो क्षति पुगेको छ,’ संगीतकार सिंह भन्छन्, ‘उहाँ शास्त्रीय संगीतमा जति पोख्त हुनहुन्छ, त्यति नै सरल र बुझ्नेगरी सिकाउने गुरू । उहाँसँग निजी कक्षा लिने र नियमित कक्षा लिने थुप्रै विद्यार्थी अहिले संगीत क्षेत्रका चम्किला ताराहरु बन्नुभएको छ । उहाँको गीत सुनेर साधना गर्दा पनि राम्रो संगीत सिकिन्छ । तर राज्यको संरक्षण खै त ? राज्यले अब श्रष्टा जोगाउने बीमा नीति बनाउनुपर्छ ।’
गायिका एवं शास्त्रीय संगीत समाजकी अध्यक्ष संगीता रानाप्रधानले गुरूदेव कामतको निधनले शास्त्रीय संगीतको एक नक्षत्र गुमाएको बताउँछिन् । उनी भन्छिन्, ‘गुरूदेव जस्तो स्वाभिमानी, सभ्य र प्रतिभाशालीको निधनले शास्त्रीय संगीतले एउटा नक्षत्र गुमाएको छ। समग्र संगीत जगतै अपूरणीय क्षति पुगेको छ।’
गुरूदेव जस्तो शास्त्रीय संगीतको ज्ञानी, गुनी र पारिवारिक गुरू अब सगीत विधानले पाउन गाह्रो पाउने उनको भनाइ छ । शास्त्रीय संगीत समाजले गुरूदेवलाई सकेको उपचार खर्च जुटाउनमा थोरै भएपनि सहयोग गरेको बताउँदै उनले भनिन्,‘ हामीले धेरै त सहयोग गर्न सकेनौं। तर उहाँको उपचार खर्च सहयोग गर्यौ। उहाँको निधनमा आज दिउँसो २ बजे त्रिपुरेश्वरस्थित शास्त्रीय संगीत समाजको कार्यालयमा श्रद्धाञ्जली सभा राखेका छौं।’
राज्यले संगीतका श्रष्ठाहरूको लागि कुनै सुविधा नदिएकोप्रति उनले गुनासो गरिन् । ‘राज्यले पहिले पनि कलाकारलाई कुनै सुविधा दिएन, अहिले पनि उही हाल छ। कहिलेसम्म हामी संगीतकर्मी, कलाकार र सृजनाका श्रष्ठाहरूलाई हेपिरहन्छ ?’ उनले प्रश्न गरिन्।
संगीत क्षेत्रमा लागेका कलाकारको स्वास्थ्य बीमा राज्यले गर्ने गरी नीति ल्याउन एकदम जरूरी रहेको उनले बताइन् । ‘हामी हाम्रो जीवन नै राष्ट्रका लागि बाँच्छौं। तर राज्यले हाम्रो स्वास्थ्य बीमाधरी गरिदिएको छैन,’ उनी भन्छिन्, ‘ अब राज्यले कम्तिमा पनि स्वास्थ्य बीमा गरिदिनु पर्ने एकदमै जरूरी छ।’
गायक प्रमोद खरेल भन्छन्, ‘सबै श्रष्टाहरु राज्यका सम्पत्ति हुन । अझ संगीतका श्रष्टालाई त जोगाउनु राज्यको कर्तव्य हो । तर अहिलेसम्म राज्यले कुनै सुविधा दिएको छैन । अब कहिले दिने भन्ने नीति ल्याउनु आवश्यक देखियो ।’
जीवनलाई संगीतमा समर्पण गरेर नेपालमा शास्त्रीय संगीतलाई यहाँसम्म ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गुरुदेव उपचारका लागि आर्थिक अभावले गाउँ फर्किनु नै दुःखद् रहेको गायक मनोजराज सिवाकोटी बताउँछन् ।
सबै श्रष्टाहरु राज्यका सम्पत्ति हुन । अझ संगीतका श्रष्टालाई त जोगाउनु राज्यको कर्तव्य हो । तर अहिलेसम्म राज्यले कुनै सुविधा दिएको छैन । अब कहिले दिने भन्ने नीति ल्याउनु आवश्यक देखियो ।-गायक प्रमोद खरेल
‘गुरुदेव स्वाभिमानी भएकाले कसैलाई केही भन्नुभएन । यद्यपि यस्ता स्रष्टालाई समस्या पर्दा राज्यले हेर्नुपर्छ । नत्र नयाँपुस्ताले के सोचेर संगीतलाई आफ्नो जीवन बनाउँछन् ? राज्यसहित सबैले सहयोग हुनुपर्थ्यो, किन भएन ?’ उनी प्रश्न गर्छन् ।
स्वर्गीय गुरुदेवका तीन छोरा, एक छोरी र श्रीमती छन् । डिल्लीबजारको चारखालस्थित ‘गुरुकुल संगीत पाठशाल’ अब गुरुदेव विना शून्य हुनेछ ।
शास्त्रीय संगीतका कालजयी उनका सिर्जना र नेपाली संगीतमा उनले जन्माएका गायक-गायिका गुरुदेवले छाडेर गएका अमूल्य चिनो हुन् । जीवनको अन्तिम क्षणतिर उनले संगीतप्रेमीलाई छाडेर गएको आफ्नै गीतले भने झैं गुरुदेव अब भौतिक रुपमा हामीमाझ नरहेपनि नेपाली संगीतमा मीठो सुवास बनेर छाइरहनेछन् ।
मेरो हजुरको तनमा चन्दनको बास आउँछ
सम्झे पनि त मनमा मीठो सुवास आउँछ