गुरुआमा


१) विवाद

घामले पहाडमा उज्यालो दिइरहेको बेला शिव उकालो चढ्दै थिए। उसले अगाडि हिँड्दै गरेको ठाकुरलाई बोलाएर भने, “होइन ठाकुर! तिमीले हाम्रो कुल पूजा गर्ने ढुङ्गेपहाड मिचेछौ?”

“कहाँ मिच्नु? त्यो हाम्रो हो। साँधे भन्दैमा निहु खोज्न पाइन्छ?” ठाकुरले भने।

“त्यो बाँझो जग्गा हाम्रो बारीको साँध हो। हामीलाई ढुङ्ग्यानमा काम गर्न कठिन भएकाले बाँझो परेको हो।”

“कुलोको डिल हेर न। हाम्रो कुलोको डिल पर भएपछि यताको जग्गा कसको हुन्छ? तिमीहरूले चाहिँ खाली जग्गा देखी पूजा गर्ने ठाउँ बनाउन यता आएका हौ?”

“त्यो कुलोको जग्गा त हाम्रो बाजेले मूलको पानी लगी खेती गर्न सहमतिमा दिएका हुन्। अहिले बल र धन छ भन्दैमा हडपेर लिन खोज्ने?”

“बढी ठुलो स्वरले कराएर हुँदैन।” ठाकुर बोले।

दुवै जना झगडा गर्न थाले। उनीहरू दुईको झगडा कैलाशले सुने। कैलाश शिव र ठाकुर भएको ठाउँमा आए, “होइन, दुवै छिमेकी किन ठुला स्वरले कराएको? केको झगडा हो?” 

“हेर न, साँध मिच्यो भन्छ शिव।”

“मिचेकोलाई मिच्यो नभने के भन्ने त?”

“हामी त एउटै जाति, वर्ग धर्म र सम्प्रदायका हौँ। जग्गाको कुरा निकाली त्यत्रा गाउँलेलाई किन तमासा देखाउने?”

“यहाँ धर्म, जातिको कुरा भएन। यहाँ त कुल देवताको मन्दिर पूजा गर्ने जग्गा हडपेकोमा आपत्ति हो।”

“हेर साथी हो। यस गाउँमा दुई सय घर छन् तर हामी अरूभन्दा फरक छौँ। सबैले हाम्रो धर्म, जाति र संस्कृतिमाथि औँला ठड्याएका छन्। यस्तो परिस्थितिमा हामी भने झगडा गर्ने? थाहा छ, यस झगडाले हाम्रो प्राचीन सभ्यतामा आँच पुर्‍याउन सक्छ?”

“यो मेरो इज्जतको कुरा हो। एक इन्च छाड्दिनँ।”

“यो मेरो पुर्खाको धरोहर हो। म पनि एक इन्च छाडदिनँ।”

दुवैको कुरा सुनी इज्जत बचाउनु ठुलो कि धरोहर बचाउनु ठुलो हो भन्ने कुरामा कैलाश स्वयं अलमलियो।

२) बाबुको इच्छा

बाबु अफिसबाट फर्कनेबित्तिकै छोरी रमाले गर्वसाथ ढोकामा रोक्दै भनिन्, “बुबा! म जिल्लास्तरीय कविता प्रतियोगितामा पहिलो भएँ। यी मेरो प्रमाणपत्र र नगद एक हजार रुपैयाँ।”

बाबुले आलस्य स्वरमा भने, “ए ठिकै छ नि। जाऊ, आफ्नै कोठामा लगेर राख।”

रमा निराश हुँदै कोठामा गइन्। छोरी गएपछि आमाले सोधिन्, “अस्ति रमाकान्त बाबुले विद्यालय स्तरीय कविता प्रतियोगितामा छोरी दोस्रो हुँदा खुसीले लड्डु बाँडेका थिए। तपाईले त छोरीलाई स्याबासी पनि भन्नुभएन।”

“स्याबासी त तिमीलाई दिनुपर्छ। तिम्रो कविता पहिलो भयो।”

“ए त्यसो पो। म छोरीलाई आफै गर्नुपर्ने कुरा सिकाउँछु त्यसो भए।”

त्यसको महिना दिनपछि नगरले गरेको नृत्य प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि केही लज्जित हुँदै रमाले भनिन्, “बाबा! म नृत्यमा दोस्रो भएँ। यी प्रमाणपत्र अनि आठ सय रुपैयाँ। यसपालि म पहिलो हुन सकिनँ।”

“नाच सरले सिकाउनुभएको होइन। ठिकै छ, हरेस नखाऊ। मिहिनेत गर।” छोरी खुसी हुँदै कोठामा गइन्।

त्यसको हप्ता दिनपछि विद्यालयले खेलकुद प्रतियोगिता सञ्चालन गर्‍यो। रमाले दौडमा भाग लिइन्। उनले जित्न सकिनन।

उनले बाबुलाई सहभागीको प्रमाणपत्र देखाउँदै भनिन्, “बुबा! यसपालि भाग्यले साथ दिएन। मैले हारेँ। तर अर्को पटकका लागि म आजदेखि मिहिनेत गर्छु।”

“स्याबास छोरी! त्यो प्रमाणपत्र मेरो कोठामा राख। आज म खुसी छु। तिमीलाई आज म मेरोतर्फबाट पुरस्कारस्वरूप लड्डु खान दिन्छु।”

बाबुले पसलमा गई लड्डु ल्याए अनि सबैलाई खान दिए। लड्डु खाएपछि रमाले सोधिन्, “बुबा, म पहिलो र दोस्रो हुँदा तपाई खुसी हुनुभएन तर आज हार्दा किन लड्डु बाँड्नुभयो?”

बुबाले जवाफमा भने, “किनकि यसपालि तिमीले जित्ने तरिका सिक्यौ।”

३) गुरुआमा

“आमा, मैले नाच तयार गरेकी छु। हेर्न जाऔँ न।”, दिव्याले आमालाई भनिन्।

“भरे हेरौँला। लुगा धुनु छ। बरु बालाई देखा न।”, लुगा पानीमा चोप्दै आमाले भन्नुभयो।

“हिजो कथा सुन्छु भन्दा पनि भन्नुभएन। मैले भनेको त हजुर कहिले मान्नु हुन्न।”दिव्याले सुनाइन्।

आमाछोरी कुरा गर्दै गर्दा बुबा बाहिर निस्कनुभयो, “कृपा! म गौरवको घर जान्छु।”

“हजुर, आज पनि तास खेल्ने? छोरीको नाच हेरिदिनुहोस् न। उसले आफ्नै स्टेप तयार पारेकी छ रे। मलाई भनेको दुई दिन भइसक्यो। मैले भ्याइनँ। छोरी रिसाएर धुन्न छे।”

“तिमी हेर न। मलाई नाच्नै आउँदैन।”

“हजुरहरूलाई त आफ्नो सन्तानले गरेको काम पनि हेर्ने फुर्सद हुन्न?”,दिव्या कराइन्।

“हेर छोरी, नाचसाच छाडिदेऊ बरु पढ्न थाल। चित्र बनाउने खेल्ने, गाउने, नाच्ने यस्ता कामकुरो नगर।” बुबा रिसाउनुभयो।

बाबुको कुरा सुनी आँसु झार्दै दिव्या कोठाभित्र छिरिन् र गुरुआमालाई फोन गरिन्।

“हेलो म्याडम।”

“के भो? किन रोएकी दिव्या?”, गुरुआमाले सोध्नुभयो।

“हजुरको फुर्सद छैन कि?”

“म त गोडा मर्केर आराम गर्दै छु।”

“ए।”

दिव्याले निराश हुँदै सोचिन्, “आज पाँच बजेसम्म पठाउनु छ तर कस्तो भयो हेरेर भनिदिने पनि कोही छैनन्। थुइक्क।”

त्यसै समय अर्को कोठाबाट दिव्याकी साथी कराउँदै आइन्, “दिव्या! किन गाली ग¥या? भएन अझै? तीन बजिसक्यो। … ए, उता हेर् त। गुरुआमा पो आउनुभयो। बिरामी पो हुनुहुन्छ त।”

“हँ?”

गुरुआमा नजिकै आई दिव्यालाई सोध्नुभयो, “के भो दिव्या? म आएँ।”

दिव्या खुसी भइन्। दिव्याले गुरुआमालाई नाच देखाइन्।

“ओहो! राम्रो सिर्जना। तिमीलाई बधाई।” गुरुआमाले दिव्यालाई अङ्कमाल गर्नुभयो। दिव्याका आमाबुबा पनि कोठामा छिर्नुभयो। दिव्याले पाउ समाई ढोग्न खोजिन्।

“लल के गरेकी? हाम्रो परम्परामा छोरी ईश्वर हुन् बरु म ढोग्छु।”

दिव्याले आँसु झार्दै भनिन्, “गुरुआमा, आज तपाईको उपस्थितिले एउटा फूलको हत्या भएन।”

४) चोर

सुरुमा आफूसँग पैसा नभएको तर भोक लागेको कुरा गर्दै उसले समोसा माग्यो। पसलेले पैसा नभई दिन्न भनेपछि उसले टहरोमा राखिएको पसलबाट चारओटा समोसा चोर्‍यो।

“समात। समात।। चोरले सामान चोर्‍यो।” पसले कराउन थाल्यो।

ऊ छिटो छिटो दौड्न थाल्यो। उसका पछि एकएक गर्दै धेरै मानिस दगुरे। उताबाट आउने मानिसले उसलाई नाकबाट रगत आउने गरी एक चडकन दियो। ऊ भुइँमा ढुन्मुनिँदै पछारियो।

“साले चोर। चोरेपछि भाग्ने?”

समोसा पसले आइपुग्यो। पसलेले उसको हातबाट समोसा झिक्यो अनि नालीमा फालिदियो। प्रहरी आयो। प्रहरीले उसलाई समात्यो र सोध्यो, “तैँले चोरेको हो?”

“हो हजुर।”

“तँलाई चोर्न लाज लागेन?”

“मलाई त लाग्यो तर भोको पेटलाई लागेन। त्यसैले मैले चोरेको होइन पेटले चोरेको।”

“अनि चोर्न नै पर्छ भने त्यति सानो टहरोबाट चोर्ने त? ठुलो ठाउँबाट धनी मानिसकहाँ गएर कसैले नदेख्ने गरी चोर्न पर्दैन त?”, भिडबाट कसैको आवाज आयो।

त्यसको उत्तर दिन उसले सोच्दै भन्यो, “हुन त हो हजुर। तर मजस्तो सानो चोरले ठुलो ठाउँमा गएर चोरे ठुला चोरलाई चोर्ने ठाउँ हुन्न भनेर डराएको नि।”

उसको कुरा सुनी सबैले पर्रर ताली बजाए। त्यहाँ उपस्थित प्रहरी र पसलेले भने उसको कुरा सुनिरहे।

५) अर्काको कुकुर

“फेरि यो कुकुर कसले कहाँबाट ल्याएको?” घरमा छिर्न पाएको छैन रमेश कड्केर करायो।

“छोराले पल्लो  गाउँको मानेको घरबाट ल्याएको रे।”

“त्यो आफ्नै भाइको टाउको फुटाउने मानेको घरबाट ल्याएको? आफैले जग्गा मिच्यो अनि मेरो जग्गा मिच्यो भन्दै त्यसले एउटै कोखबाट जन्मेको भाइलाई बाँकी राखेन?”

“आ, चुप लाग्नुस् तपाई। मान्छेले त्यसो गर्‍यो भन्दैमा कुकुरसँग रिस गरेर हुन्छ। कुकुर जहाँ बस्यो, जसको जुठो खायो उसैले भनेको मान्छ।”

“हो, मैले त्यही भनेको। यो कुकुरले मानेको घरको जुठो खाएको छ। त्यो माने चिनेको छ होइन? त्यो कति वर्ष जेल परेको थियो, थाहा छ होइन?”

“ह्या! छोराले मन पराएर ल्याइसक्यो। अब नकराउनुस्।”

“हेर, यो अर्काको घरको कुकुर हो।”

कुकुर ल्याएर बाँधेको साता दिनपछि एकदिन माने रमेशको घरमा आयो। उसले रमेशलाई भन्यो, “मकहाँ भएको कुकुर मर्‍यो। म त कुकुर लिन आएको।”

“हुन्छ। लैजानुस्।”

रमेश कुकुर फुकाउन अघि बढ्यो। माने पनि अगाडि बढ्यो। माने नजिकिएपछि कुकुरले पुच्छर हल्लायो। रमेशले कुकुर फुकाई खानेकुरा दिने भाँडा तान्न हात अगाडि बढायो। त्यसैबेला कुकुरले रमेशलाई टोक्यो। माने त्यस समय केही बोलेन। उसले कुकुर बोलाउँदै लग्यो। कुकुर मानेको पछि लाग्यो। मानेले ल्याएको खानेकुरा भाँडामा थियो। भाँडा मानेको हातमा थियो।  

प्रकाशित: ४ पुस २०८१ १०:३४ बिहीबार





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School