मेरिल्याण्ड (अमेरिका) ।
‘झ्यालबाट हेरी मायालाई बोलाउँदा
शीरको टोपी भुईंमा खस्यो
इलामैमा मोटर चलाउँदा
आहै, इलाममा मोटर चलाउँदा’
९० को दशकको यो हिट गीत धेरैलाई प्रेयसी फकाउन ऊर्जा दिने मन्त्र थियो । नेपाली संगीतमा जतिबेला पप ब्यान्डको जगजगी थियो, त्यही माहोलमा जन्मिएको ‘ओकिली’ छोटो समयमै पप संस्कृतिको पर्याय बन्यो ।
नेपथ्य, कन्दरा, मंगोलियन हार्ट, १९७४ एडी, सञ्जय श्रेष्ठको ‘क्रसरोड’, भीम तुलाधरको ‘द इन्फ्लुएन्स’को लोकप्रियताबीच नयाँ लोकपप ब्यान्ड ‘ओकिली’को उदय पप संगीत रुचाउने पुस्ताका लागि ‘फेभरेट’ क्षण थियो, सांगीतिक ट्रेन्डका लागि नयाँ घुम्ती ।
सन् १९९५ मा अस्कल (अमृत साइन्स) कलेज पढ्दै गरेका केही जोशिला युवाले खोलेको ब्यान्डको उत्थान र छिन्नभिन्नको कथा रोचक छ । यो ब्यान्ड जति चाँडो उचाईमा पुग्यो, प्रसिद्धीलाई सोहीरुपमा टिकाउन सकेन । फलस्वरुप ब्यान्डसामु अस्तित्वको संकट आइलाग्यो । दुई दशक हुन लाग्यो, प्रशंसक आफ्नो प्रिय ब्यान्डलाई सुन्न अधैर्य छन् ।
२९ वर्षयता बागमतीमा धेरै पानी बगिसक्यो । यो कालखण्डमा हामी धेरै सांगीतिक घुम्तीको साक्षी बनिसक्यौं । यसबीच दशकौंपछि ‘कन्दरा’को पुनरागमन सम्भव भयो । ‘नेपथ्य’, ‘मंगोलियन हार्ट’ र ‘१९७४ एडी’ आजपर्यन्त गुञ्जिंदैछन् । यतिबेला समयको प्रश्न हुनसक्छ– ‘ओकिली’ किन नगुञ्जिने ?
स्पन्दन रोकिएको छैन । तपाईं ‘मिलेनियल’ पुस्ताको हुनुहुन्छ र ‘ओकिली’लाई पछ्याउनु हुन्छ भने ब्यान्ड जुर्मुराउने तयारीमा छ । बीचमा कतै विचलित ब्यान्डलाई पुनर्जीवन दिने योजनामा लिड भोकलिस्ट तथा ब्यान्ड अगुवा सृजन ताम्राकार छन् । उनै सृजन जसले जीवनसँग युद्ध लडे र धेरैका लागि प्रेरणाको स्रोत बने ।
मेरिल्याण्डमा भेटिए सृजन
अमेरिकामा अहिले गर्मीयाम छ । मेरिल्याण्डको हप्प गर्मी । ह्युमिड (आद्रता)ले खलखली पसिना निकाल्छ । दशकौं नेपाली श्रोताबाट हराएका ‘ओकिली’का अगुवा सृजन मेरिल्याण्डको बाल्टिमोर सहरमा भेटिए ।
पछिल्ला दुई दशकमा उनले कस्तो जीवन बाँचे, कस्ता हैरानी खेपे ? कसरी मृत्युलाई जिते र अन्ततः देश छाड्ने निधो किन गरे ? एभरेस्ट किचनको वातानुकूलित हलमा उनी अनलाइनखबरसँग खुले ।
‘ओकिली’ ब्यान्डका यी खम्बा शान्त र मिजासिला छन् । नेपालदेखि अमेरिकासम्मको उनको यात्राको कथा मर्मस्पर्शी छ । कुरा सुरु हुन्छ– २९ वर्षअघि अस्कल क्याम्पसमा केही उत्साही ठिटाले बनाएको ब्यान्डबाट । सबै जना गायक, सबै जना कम्पोजर र सबै जना गीतकार हुँदै ब्यान्ड सुरु भयो । सिर्जन र अनिशले एकपछि अर्को हिट गीत दिए ।
समयको घुम्तीमा ब्यान्डका अन्य सदस्य अलग भए । कोही डाक्टर पढ्न इण्डिया पुगे, कोही विदेशिए । अनिष अमेरिकातिर लागे । परिस्थितिले सृजनलाई पनि अमेरिकातिर डोर्यायो । १७ वर्षदेखि उनी कर्मथलोमा संघर्ष गर्दैछन् ।
विदेशिने निर्णय गर्नुअघि उनले स्वदेशमा धेरै हैरानी खेपे । नेपालमै साइबर क्याफेदेखि अनलाइन बिजनेस गर्ने योजना उनको थियो । काठमाडौंको मुटुस्थित घरबाटै जीविकोपार्जन चल्थ्यो । उदाउँदो अनलाइन मार्केटलाई ध्यानमा राखेर उनी साइबर क्याफे चलाउने योजनामा थिए । ‘सप संसार’ खोल्ने तयारी थियो ।
दुर्भाग्य, नेपालमै बसेर करिअरलाई अघि बढाउने योजनामा धक्का लाग्यो । काठमाडौंको रैथाने परिवारका उनको घर माइतीघरमा सडक विस्तारको अतिक्रमणमा पर्यो । जीवनभर बुवाले आफ्नो कमाइमा बनाएको घर गएपछि परिवार विचलित भयो । केही वर्षमै हृदयघातले बुवाको निधन भएपछि सृजनले आँखैअघि सपनाको अन्त्य हुन थालेको देखे ।
‘वास्तवमा त्यो घर गएपछि बुवाको जीवन गएको बुझें । म चाहिं भर्खर एसएलसी दिएर केही गरौं भन्ने जोशमा थिएँ,’ उनले सम्झिए, ‘घरै गएपछि भएको स्रोत पनि सकियो । सबै सपना चकनाचुर भयो । जिरोबाट सुरु गर्ने हिम्मत पनि भएन ।’
घर सडकमा मिसिएको केही समयमै उनले बुवा गुमाए । हृदयघातले उनका बुवाको निधन भयो । ‘यी कुराले मलाई निराश तुल्यायो,’ अमेरिका आउनुको कारण खुलाउँदै गर्दा उनी सरकारसँग आक्रोशित सुनिए ।
‘जनताको आधारभूत रक्षाका लागि नीति नियम हुनुपर्ने ठाउँमा जनतालाई नै विस्थापित गर्ने अवस्थालाई देख्दा म त्यहाँ रहन सकिनँ,’ उनी भन्छन्, ‘एकबारको जुनी हो, समय खेर फालेर सकिंदैन भनेर म विदेशिएँ ।’ अमेरिका आएको १७ वर्ष हुँदासम्म उनी नेपाल फर्किएका छैनन् । उनको नेपाल आउने योजनामा तीतो अतीत बाधक छ ।
कोभिड, क्यान्सर र अध्यागमनसँगको लडाइँ
बाँकी विश्वका लागि सपनाको देश हो अमेरिका । तर यो देशसँग सृजनको संघर्ष र हैरानीका किस्सा जोडिएका छन् । उनको संघर्ष प्रतिकूल स्वास्थ्यसँगै देखिन्छ ।
जब कोभिड महामारी सुरु भयो, सृजनले स्वर गुमाए । प्रसिद्धिको शिखरमा पुगेको एउटा पपस्टारले आवाज गुमाउनुको पीडा असह्य हुन्छ । त्यो आवाजसँग उनको सबथोक जोडिएको हुन्छ– सपना र अपेक्षा ।
कोभिड संक्रमित भएपछि स्वरमा समस्या आयो । ‘संक्रमणपछि घाँटी चिलाउने, घाँटी बस्ने, आँखा चिलाउने हुँदाहुँदा बोल्नै नसक्ने भयो । रुघाखोकी लाग्यो, निको हुन्छ चाँडै भनेर बसें । बस्दा बस्दा भित्रभित्रै बिग्रिसकेको रहेछ,’ उनले सम्झिए ।
भोकल कर्डमा पक्षघात भइसकेको रहेछ । त्यसमा क्यान्सर फैलिएछ । ढिलो यसबारे थाहा पाए । ‘क्यान्सर सुरु भइसकेको केही समयसम्म थाहा थिएन । एकदमै कान दुख्ने, कान दुखेर सुत्न समस्या हुने । रातभर नसुत्दा भोलिपल्ट काममा जान मुस्किल हुने,’ उनी सुनाउँछन्, ‘२० दिनसम्म यस्तै भएपछि कानको डाक्टरलाई देखाउन पुगें । चेक गर्दा क्यान्सर देखियो ।’
उनी अगाडि भन्छन्, ‘गीत गाउँदा पनि मेरो आँखा चल्नै मुस्किल हुन्थ्यो । आधा भाग त प्यारालाइसिस भइसकेको रहेछ । नसामा पनि क्यान्सर लागेको र नसाको क्यान्सरले थाइराइडलाई पनि छोइसकेको डाक्टरले भन्यो । प्यारालाइसिस भइसकेपछि घाँटीको डाक्टरमा जान रिफर गर्यो ।’
घाँटीको डाक्टरकहाँ जाँदा परीक्षण गर्दा क्यान्सर पहिचान भयो । क्यान्सरले नसामा क्षति पुगेको रहेछ । क्यान्सरको थाइराइड झिक्यो । अहिले नसा काटेर जोडिएको छ । किमो चाहिं गर्नुपरेन ।
निको हुने क्रममा छन् उनी । यो एक वर्षमा सुधार आएको छ । क्रमिक सुधारले डाक्टर पनि खुसी छन् । चेकअप चलिराखेको छ । डाक्टरले आवाज फर्किन्छ भनेर भनेका छन् । ‘बोली फर्किने आशामा छु । अहिले त्यस्तो रिस्क देखिएको छैन,’ उनी आशावादी सुनिए ।
हामीसँग छेउमै बसेर गफ गरिरहँदा सृजन आइफोनमा माइक जोडेर बोलिरहेका थिए । उनको यो स्वरमा शून्यदेखि ३० प्रतिशतसम्मको सुधार छ । दैनिक थेरापी गरिरहेका छन् ।
‘कति कुरा डाक्टरको हातमा हुँदैन । जति पनि मेरो समस्या छ, उनीहरुले समाधान गरिसके । अब भनेको थेरापी हो । अहिले रुघा लाग्न नदिने, औषधि टाइममा खाने काम गरिराख्या छु,’ उनी भन्छन् ।
स्वास्थ्यपछि उनलाई अध्यागमनको हैरानी आइलाग्यो । यो भनेको सामान्य प्राविधिक त्रुटि थियो, जसले उनको वर्षौंको समय खाइदियो । जति पनि कलाकार अमेरिका पुग्थे, एक वर्षमै ग्रीनकार्ड बन्ने वातावरण थियो त्यतिबेला । पछि अध्यागमन नीतिमा कडाइ हुन थाल्यो ।
सृजन र अन्य केही चर्चित कलाकारले ग्रीनकार्डको लागि प्रक्रिया थाले । उनले कागजमा २३ लेख्नुपर्ने तर पत्र आउने मिति बदलिएर २८ बनिदियो । अर्थात्, बुझ्नेले त्यसलाई २८ बुझिदियो । उनले यसका लागि पाँच वर्ष गुजारे । मिति र ठेगाना बिग्रिएपछि उनले इमिग्रेसनको सास्ती खेप्नुपर्यो । धेरैपछि हुलाकीसँग बुझ्दा मिति र ठेगाना गलत परेको थाहा लाग्यो र त्यसलाई सच्याए ।
धेरैका लागि प्रेरणा
प्रसिद्धिको उचाइमा पुगेको गायकले स्वर गुमाउँदा कस्तो होला ? धावकले खुट्टा नै गुमाए कस्तो होला ? चित्रकारले हात गुमाए कसरी शिल्प सिर्जना गर्ला ? यी विडम्बनाका बाबजुद पनि प्रेरणाको स्रोत बन्नु महत्वपूर्ण कुरा हो ।
कोभिडअघि मेरिल्याण्ड, वासिङ्टन डीसी र भर्जिनियामा क्षेत्रमा हुने कन्सर्ट उनले छुटाएनन् । डिमान्ड चर्को थियो । माहोल यस्तो थियो– ओकिली विनाको अमेरिकी कन्सर्टले पूर्णता पाउन सक्दैन ।’ तर कोभिडपछि उनको करिअरको पटकथा बदलियो ।
कुनैबेला कन्सर्ट गर्दै नेपाल र विश्व टुरमा निस्किएर दर्शकलाई मनोरञ्जन दिने सृजन यतिबेला कन्सर्ट व्यवस्थापन गरेर कलाकारलाई त्यो माहोल सिर्जना गर्छन् । जति पनि नेपाली कलाकार अमेरिका पुगेर कन्सर्ट गर्छन्, उनीहरुलाई सृजनले साथ दिन्छन् । कुनैबेला उनी त्यो ठाउँमा आफू थिए ।
‘अहिले आफ्नो सपनालाई निरन्तरता दिन आर्टिस्टको लागि त्यो माहोल सिर्जना गरिदिने काममा छु,’ उनी भन्छन्, ‘पीडा हुन्छ तर आँसुलाई लुकाएर कार्यक्रम सफल बनाउन र समुदायलाई होस्टेमा हैंसे गर्ने कार्यमा लाग्या छु । एकदिन मेरो पनि दिन फर्केला भन्ने आशामा छु ।’
अमेरिकामा पेट पाल्न मजदुरी गर्ने काम त भइहाल्यो । उनलाई लाग्छ– हिम्मत नहार्नु ठूलो कुरा हो । ‘एकबारको जीवन हो, एकदमै अनमोल छ । घटना, दुर्घटना मान्छेले चाहेर, नचाहेर भइराख्छ । जीवनलाई सफल बनाउन सुख मात्र खोजेर हुँदैन । सुखदुःखमा बाँच्न सक्नुपर्छ,’ उनको अनुभव छ ।
भजन शिरोमणि भक्तराज आचार्य उनका प्रेरणाका स्रोत हुन् । ‘अग्रज भक्तराज आचार्यले हिम्मत हार्नुभएको भए, हिम्मत हारेर गलत निर्णय गर्नुभएको भए, आज सत्य, स्वरुप जस्ता होनहार छोराहरु त्यो क्षेत्रले पाउँदैन थियो नि त,’ सृजन भन्छन्, ‘उहाँले प्रेरणाको स्रोत भएर, सन्ततिलाई हुर्काउने बढाउने जुन गर्नुभयो, यो अनुकरणीय छ ।’
दुर्घटनालाई उनी जीवनको नयाँ बाटोको रुपमा अर्थ्याउँछन् । ‘दुर्घटना हुँदा एउटा बाटो बन्द हुन्छ तर नयाँ बाटो खुल्छन् । नयाँ बाटोमा आफूले हिंड्ने प्रयास गर्नुपर्छ,’ उनको सुझाव छ ।
मेरिल्याण्डको नेपाली समुदायमा उनको परिचय सहृदयी कलाकारको रुपमा छ । समाजसेवामा पनि उत्तिकै चल्तापूर्जा । इभेन्ट व्यवस्थापन, फिल्म रिलिजको चाँजोपाँचो, हिन्दु-बुद्ध मन्दिर, अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)मा पनि उत्तिकै सक्रिय । उनी इनास मेरिल्याण्डको दुई कार्यकाल अध्यक्ष भए ।
सृजन यतिबेला सचेतनाका काममा छन् । अध्यागमनको हैरानी भोगेपछि नेपाली समुदायलाई सुसूचित गर्न भाइबरबाट नेटवर्किङ थालिरहेका छन् । जति पनि अमेरिकी सामुदायिक सूचना हुन्छन्, तिनको लेनदेनमा व्यस्त हुन थाले र सामुदायिक सक्रियता पनि बढ्न थाल्यो ।
जिन्दगीलाई फिल्म जस्तै नठान्न आग्रह गर्छन् उनी । ‘जिन्दगी बाँच्नु फिल्म जस्तो हुँदैन । हरेक दिन संघर्ष भइराखेको हुन्छ,’ सृजन भन्छन्, ‘फिल्ममा हिरो भन्ने बित्तिकै सबै कुरा सम्पन्न देखाउँछ । सबै कुरा गुमाएर आएको हुँ म । मैले यहाँ पैसाले कमाउन नसक्ने माया कमाएँ ।’
‘ओकिली’ अर्थात् कल्पनाको अधुरो तस्वीर
डिस्नेरीमा ‘ओकिली’को ठ्याक्कै अर्थ छैन । ब्यान्डका सदस्यले जुराएको यो नाम कालान्तरमा शब्दकै रुपमा हिट भयो । प्रेमिकालाई समर्पित गर्दै ठिटाहरुले राखेको शब्द रहेछ ।
‘गीतहरु प्रायः प्रेयसी, मायालु र प्रेमिकाको लागि गाइन्छन् । त्यो समयमा हामी सबैको सपना र ड्रीम गर्ल हुन्थ्यो,’ नामाकरणबारे उनी सुनाउँछन्, ‘मैले मेरो गर्लफ्रेन्डको नाम राख्दा विवाद होला भनेर हामीले हुँदै नभएको शब्दलाई एउटा नाम दियौं– ओकिली ।’
अनि ब्यान्डको नाम पनि गीतबाट दिए उनीहरुले– कल्पनाको अधुरो तस्वीर ओकिली ।’ त्यसपछि यो शब्द नेपाली सांगीतिक वृत्तमा ‘क्वाइन’ भइराख्यो । यसको ठोस अर्थ त छैन तर प्रशंसक अहिले पनि यो नामप्रति अनुराग राख्छन् ।
नाम राखेपछि ब्यान्डले गीतमार्फत शब्दलाई न्याय दिने प्रयास गर्यो । ‘ओकिली’ शब्द राखेरै गीत कम्पोज भयो र जनजिब्रोमा झुण्डियो पनि । सृजन भन्छन्, ‘हामीले शब्दकोषमा नयाँ शब्द भर्न खोज्यौं । जुन शब्दले नयाँ अर्थ देओस् । कल्पनाको अधुरो तस्वीर ओकिली भन्यौं । यसलाई हामीले गीतबाट जस्टिफाइ गर्यौं ।’
ब्यान्डलाई पुनर्जीवन दिने तयारी
समकालीन ब्यान्डले आजपर्यन्त पाइरहेको प्रसिद्धिप्रति सृजन उत्साहित छन् । ब्यान्डसँग नयाँपुस्तालाई जोड्ने ध्येय छ । नेपथ्य, कन्दरा, १९७४ एडी र मंगोलियन हार्टको विश्व भ्रमणले सृजनमा उत्साह जगाएको छ । ‘यो उत्साह मेरो पनि हो,’ उनी भन्छन्, ‘सबैको बेग्लै कथा हुनुपर्छ । बत्तीमा पुतली झुम्याजस्तो हामी पनि झुम्या थियौं । जतिबेला नेपाली संगीतमा ब्यान्ड बनाउने ट्रेन्ड थियो ।’
सात वर्षसम्म सृजन र अनिष दुई जनाले मात्रै ओकिली ब्यान्डलाई धाने । सात जनाबाट सुरु भएको ब्यान्ड छिन्नभिन्न भएर यतिबेला दुईमा खुम्चिएको छ । तर पनि ब्यान्डलाई पुनर्जीवन दिएर दर्शक–श्रोतामाझ ल्याउने उनीहरुको हुटहुटी सकिएको छैन ।
यसका लागि आफ्नो आवाज फर्किने पर्खाइमा छन् सृजन । ‘अझै म आफूलाई पर्खन्छु । यो पखाईबाट पनि आफूलाई हुँदैन भन्ने लाग्यो भने नयाँ आएका प्रतिभाशाली भाइबहिनीलाई गीत दिएर उनीहरुसँग सहकार्य गर्छु,’ उनी भन्छन्, ‘कमसेकम नेपाली संगीतमा ओकिलीका कथालाई कुनै न कुनै रुपमा जीवन्त राख्ने प्रयास हाम्रो हुन्छ ।’
यदि आफू नभएपनि आफ्नो ठाउँमा नयाँ ल्याएर भएर पनि ब्यान्डलाई जोगाउने उनको तयारी छ । ‘हामीसँग यतिबेला ३०-३५ कम्पोज छन् । तुरुन्तै गाउन सक्ने र रेकर्ड गर्न मिल्ने गीत छन् । ढिलो तर बलियोसँग हामी कमब्याक गर्न सकौं,’ उनी भन्छन्, ‘म नभएपनि मेरो ठाउँमा कोही भएर पनि ब्यान्डले पुनर्जीवन पाउनेछ ।’