गुणस्तरीय पर्यटन प्रवर्धनको आवश्यकता : RajdhaniDaily.com

गुणस्तरीय पर्यटन प्रवर्धनको आवश्यकता : RajdhaniDaily.com


पछिल्लो समय नेपाल भित्रिने विदेशी पर्यटकहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको देखिएको छ । पर्यटकको आवगमन कोरोना महामारीपहिलेभन्दा पनि राम्रो अवस्थामा रहेको विभिन्न आँकडाले दर्साएका छन् । पर्यटकको वृद्धिसँगै पर्यटन क्षेत्रको विकास र विस्तार द्रुत गतिमा अघि बढ्ने विश्वास गरिएको थियो । तथापि, अहिलेसम्म जुन गतिमा पर्यटकको आवगमन भइरहेको छ, त्यही अनुपातमा लाभ भने लिन सकिरहेको अवस्था छैन ।

पर्यटकको संख्यामा वृद्धि भए पनि नेपालका होटलहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका बताइएको छ । अधिकांश होटलहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, पर्यटन सिजनमा समेत धेरैजसो होटलहरू घाटामा सञ्चालन गर्न बाध्य भएको व्यवसायीहरूले गुनासो गरेका छन् । यसैगरी, पर्यटकको आवगमनमा भएको वृद्धिसँगै वैदेशिक मुद्राको आप्रवाह, रोजगारीको अवसर, पर्यटन आम्दानी तथा सरकारको राजस्वमा समेत अपेक्षित वृद्धि हुन नसकेको तथ्यांकहरू प्रकाशित भएका छन् । यसबाट नेपालमा संख्यात्मक रूपमा पर्यटकहरूको संख्या बढ्दै गए पनि गुणात्मक पर्यटकहरूको संख्या भने बढ्न नसकेको देखिएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांकनुसार सन् २०२३ मा १० लाख पर्यटक भिœयाउने सरकारको लक्ष्य पूरा भएको छ । यस अवधिमा मुलुकभित्र १० लाख १४ हजार ८ सय ७४ पर्यटक घुम्न आएका छन् । यति मात्र होइन, सन् २०२४ को पहिलो सात महिनामा ६ लाख ४७ हजार ६ सय १५ जना पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को सोही अवधिमा यो संख्या ५ लाख ३४ हजार २ सय ६ मात्र थियो । पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकनुसार पछिल्लो सात महिनामा नेपाल भित्रिएका पर्यटकको संख्या गत वर्षको तुलनामा २१ दशमलव २२ प्रतिशतले बढी हो । गत जुलाई महिनामा मात्र ६४ हजार ५ सय ९९ जना पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ९१ प्रतिशतले बढी हो । गत वर्ष ५७ हजार ७ सय २६ जना विदेशी पर्यटक नेपाल आएका थिए । पर्यटकको संख्या बढ्दै जानु आफैंमा सुखद् पक्ष हो । तथापि, यहाँ आउने पर्यटकको संख्यामा वृद्धि भए पनि उनीहरूबाट प्राप्त हुने आम्दानी भने त्यही अनुपातमा बढ्न सकेको छैन । यसैकारण नेपालले तुलनात्मक रूपमा पर्यटन क्षेत्रबाट अपेक्षित लाभ उठाउन नसकिरहेको अवस्था छ ।

विगतका वर्षहरूको तुलनामा पर्यटकहरूको आगमनमा उल्लेख्य वृद्धि भएको तर उनीहरूले नेपालमा गर्ने औसत खर्च घटेको विभिन्न विवरणहरूले देखाएका छन् । सामान्यतया नेपाल आउने पर्यटकहरूले प्रतिदिन औसतमा ५० अमेरिकी डलरको आसपास खर्च गर्ने गरेको पाइन्छ, तर आर्थिक सर्वेक्षण २०८०÷८१ अनुसार, सन् २०२३ मा नेपाल आएका पर्यटकहरूले प्रतिदिन गर्ने औसत खर्च ४१ अमेरिकी डलर अर्थात् करिब ५ हजार ४ सय नेपाली रुपैयाँमा खुम्चिएको छ । सन् २०२२ मा यो रकम ४० दशमलव ५ डलर मात्र रहेको थियो । सन् २०२१ मा पर्यटकहरूले नेपालमा प्रतिदिन ४८ अमेरिकी डलरसम्म खर्च गरेका थिए । यस्तो खर्च कोभिड महामारीका कारण अनिवार्य क्वारेन्टाइनको नियमका कारण सन् २०२० मा ६५ अमेरिकी डलरसम्म पुगेको थियो । विदेशी पर्यटकले प्रतिदिन औसतमा ४० डलरको हाराहारीमा खर्च गर्नु भनेको ज्यादै न्यून खर्च हो । हाम्रो जस्तै भौगोलिक तथा सांस्कृतिक विशेषता बोकेको सार्क मुलुक भुटानमा विदेशी पर्यटकले प्रतिदिन करिब २ सय डलरसम्म खर्च गर्ने गरेको देखिन्छ । नेपालमा भने पर्यटकले गर्ने खर्चलाई बढाउन सकिएको छैन । पर्यटकको औसत खर्च घट्नु भनेको मुलुकका विभिन्न क्षेत्रमा रहेका पर्यटनसँग सम्बन्धित व्यक्ति एवं व्यवसायीहरूको आम्दानी पनि घट्नु हो । यसले पर्यटन व्यवसायीहरूलाई मात्र नभई मुलुकको समग्र आर्थिक क्षेत्रमा प्रतिकूल प्रभाव पार्नसक्ने देखिन्छ ।

पछिल्लो समय नेपाल आउने पर्यटकहरूको औसत खर्च मात्र नभई औसत बस्ने दिनहरू पनि छोटिँदै गएको देखिन्छ । आर्थिक सर्वेक्षण २०८०÷८१ मा उल्लेख भएनुसार, सन् २०२३ मा विदेशी पर्यटकको औसत बसाइ अवधि १३ दशमलव २ दिन मात्र रहेको बताइएको छ । यो आँकडा सन् २०२३ मा १३ दिन थियो । सन् २०२१ र २०२० मा पर्यटकको औसत नेपाल बसाइ १५ दिनसम्म पुगेको थियो । अहिले सन् २०२४ को पहिलो सात महिनाको तथ्यांक हेर्दासमेत पर्यटकको औसत बसाइमा खासै प्रगति भएको देखिएको छैन । उनीहरूको बसाइ औसतमा १३ दिनकै वरिपरि रहेको देखिन्छ । पर्यटकहरूको औसत बसाइमा आएको संकुचनले यस क्षेत्रसँग सम्बधित विभिन्न वस्तु तथा सेवाहरूको समग्र मागमा कमी ल्याउने सम्भावना देखिन्छ । यसले गर्दा मुलुकभित्र पर्यटन क्षेत्रबाट सिर्जना हुने रोजगारीका अवसरमा कमी आउनुका साथै यस क्षेत्रमा देखिएको लगानीमैत्री वातावरणलाई खलबल्याउने सम्भावना रहन्छ ।

कोभिड–१९ महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको देखिन्छ

कोभिड–१९ महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको देखिन्छ । स्थलमार्गबाट आउने भारतीय पर्यटकबाहेक सन् २०१९ मा ११ लाखभन्दा बढी पर्यटकको आगमन भएकामा कोभिड–१९ महामारीका कारण सन् २०२० र सन् २०२१ मा पर्यटक आगमन संख्या क्रमशः २ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई ६ लाख १४ हजार ८ सय ६९ पुगेको थियो । तर, पर्यटकको आगमनमा भएको वृद्धिनुसार यस क्षेत्रबाट प्राप्त हुने आम्दानी भने बढ्न सकेको देखिँदैन । सन् २०२० मा २ लाख ३० हजार पर्यटकको आवगमन हुँदा २ सय १७ मिलियन अमेरिकी डलर पर्यटन आम्दानी भएकामा २०२१ मा १ लाख ५१ हजार पर्यटकबाट १ सय १२ दशमलव ५० मिलियन डलर पर्यटन आम्दानी भएको देखिन्छ । सन् २०२२ मा ६ लाखभन्दा बढीले पर्यटक भित्रिँदा ३ सय २६ दशमलव २८ मिलियन डलर पर्यटन आम्दानी भएको छ । सन् २०२१ को तुलनामा झन्डै पाँचगुणा बढीले पर्यटकको संख्या बढ्दासमेत सन् २०२२ मा आम्दानी भने तीनगुणाले समेत बढ्न नसकेको देखिन्छ । यसैगरी, २०२३ मा २०२२ को तुलनामा करिब दुईगुणा अर्थात् १० लाखभन्दा बढी पर्यटक भित्रिँदा आम्दानी भने ५ सय ४८ दशमलव २० मिलियन डलर मात्र पुगेको जनाइएको छ । यसबाट के प्रस्ट हुन्छ भने संख्यात्मक रूपमा पर्यटकको संख्या बढ्दैमा पर्यटन आम्दानीसमेत त्यही गतिमा बढ्छ भन्ने कुनै प्रत्याभूति हुँदैन ।

मुलुकभित्र भित्रिएका पर्यटकहरूको संख्यालाई मात्र ध्यान दिँदा यसको गुणात्मक पक्ष ओझेलमा परेको देखिन्छ । हरेक योजना तथा कार्यक्रमहरूमा कसरी पर्यटक बढाउने भन्नेमा मात्र बहस चलेको पाइन्छ । पर्यटकहरू कुन अवस्थामा कसरी भित्रिएका छन् भन्ने कुरालाई खासै चासो दिने गरेको पाइँदैन । नेपाल भित्रिने अधिकांश पर्यटक पैसा खर्च गर्ने भन्दा पनि बचत गर्न आएका देखिन्छन् । पर्यटन क्षेत्रको भाषामा नेपालको पर्यटन क्षेत्रलाई ‘ब्याक–प्याकर’ अथवा ‘वेस्ट टुरिस्ट’ पनि भनिने गरिएको पाइन्छ । कतिपयले नेपाललाई कम खर्च गर्ने, हल्लाखल्ला धेरै गर्ने ‘लो क्वालिटी’का विदेशी पर्यटकको ‘हब’ नै भएको भनी व्यंग्यसमेत गरेको देखिन्छ ।

मुलुकभित्र आएका पर्यटकहरूको पारिवारिक संरचना हेर्ने हो भने नेपालमा सबैभन्दा धेरै पुरुष पर्यटकहरू भित्रिएको देखिन्छ । सन् २०२३ को आँकडामा नेपाल आएका कुल पर्यटकमध्ये करिब ६० प्रतिशत पुरुष मात्र छन् । उमेर समूहमा वर्गीकरण गर्दा सबैभन्दा धेरै करिब ३१ प्रतिशत पर्यटकहरू ३१ देखि ४५ वर्षसम्मका देखिएका छन् । यसैगरी, ४६ देखि ६० वर्ष उमेर समूहका करिब २७ प्रतिशत छन् । १५ वर्षमुनिका करिब ७ प्रतिशत मात्र छन् । यी आँकडाबाट के अनुमान लगाउन सकिन्छ भने नेपालमा आफ्नो परिवारसहित आउने, घुम्ने, मनोरञ्जन गर्ने तथा पैसा खर्च गर्ने उद्देश्यले आउने पर्यटकहरूको संख्या अत्यन्त न्यून छ । एक्लाएक्लै आएका पर्यटकहरू न धेरै दिन बस्छन्, न त धेरै पैसा खर्च गर्छन् । तसर्थ, नेपालले पर्यटन क्षेत्रबाट अपेक्षित लाभ लिन नसक्नुको एक प्रमुख कारण यहाँ आउने पर्यटकको पारिवारिक संरचना पनि पर्छ ।

सन् २०२३ मा नेपाल भ्रमण गरेका पर्यटकमध्ये सबैभन्दा धेरै छिमिकी मुलुक भारतबाट आएको देखिन्छ । कुल पर्यटकमध्ये भारतबाट आएका मात्र ३१ दशमलव ५२ प्रतिशत रहेका छन् । यसैगरी अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, बंगलादेशबाट क्रमशः ९ दशमलव ८८, ५ दशमलव ९९, ५ दशमलव २०, ३ दशमलव ८२ र ३ दशमलव ५९ प्रतिशत रहेका छन् र अन्य मुलुकका ४० प्रतिशत रहेका छन् । सन् २०२३ मा भारतबाट मात्रै ३ लाख १५ हजार बढी पर्यटक नेपाल आएका छन् । कुल पर्यटकमा एक तिहाइ हिस्सा भारतीय पर्यटकले मात्र ओगटेको देखिन्छ । नेपालसँग भारतको रोटी बेटीको सम्बन्ध छ । यसैकारण भारतबाट आउने अधिकांश पर्यटक होटल तथा लजभन्दा पनि आफन्तको घरमा बस्ने गरेको पाइन्छ । उनीहरू नेपाल घुम्न वा मनोरञ्जनभन्दा पनि बिदामा आफन्त भेटघाट तथा तीर्थयात्राका लागि आउने गर्छन् । यसैकारण उनीहरूलाई यहाँ धेरै दिन बस्ने वा धेरै खर्च गर्नुपर्ने आवश्यकता नै पर्दैन । यस्तै अमेरिका, बेलायत, अस्ट्रेलियाबाट आउने पर्यटकहरू पनि सीमित क्षेत्र घुमेर छिट्टै फर्किने भएकाले उनीहरूबाट समेत धेरै आशा गर्न मिल्ने अवस्था देखिँदैन ।

अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधर्म र सामाजिक विविधता एवं ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल, विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलका रूपमा सुपरिचित छ । पर्यटन क्षेत्रको प्रवर्धनले मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान दिनसक्ने कुरामा दुईमत छैन । तथापि, यस क्षेत्रले मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा करिब ५ प्रतिशतको हाराहारीमा मात्र योगदान गरेको देखिन्छ । यसैकारण, विद्यमान पर्यटन क्षेत्रमा रूपान्तरणको आवश्यकता देखिएको छ । यस क्षेत्रमा संख्यात्मक रूपमा पर्यटनहरूको भीड मात्र नभई गुणात्मक पक्षमा समेत ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । मुलुकमा पर्यटकको संख्यामा वृद्धि सँगसँगै कम्तीमा त्यही अनुपातमा पर्यटन आम्दानी बढ्नुप-यो, रोजगारीको सिर्जना हुनुप¥यो, वैदेशिक मुद्राको आप्रवाह बढ्नुप¥यो, पर्यटन व्यवसाय फस्टाउनुप¥यो, अनि मात्र हामीले पर्यटन क्षेत्रबाट सोचेजस्तो लाभ प्राप्त गर्नसक्ने अवस्थाको सिर्जना हुनसक्छ । मुलुकको पर्यटन प्रवर्धनका लागि पर्यटकको संख्यामा मात्र ध्यान दिएर पुग्ने अवस्था छैन । कस्ता पर्यटक, कुन देशबाट, कसरी मुलुकमा भित्र्याउँदा लाभ हुन्छ भन्ने विषयमा समेत सोच्नुपर्ने बेला आएको छ । यसका लागि सामान्य पर्यटनमा मात्र नभई गुणस्तरीय पर्यटन प्रवर्धनको आवश्यकता देखिएको छ ।

(Visited 1 times, 1 visits today)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School