गाईजात्रे व्यंग्य : जाँडसलाम कमरेड !


एक सुराप्रेमी अझ ‘रेडलेबल’ प्रेमी नवकमरेड हुनुको नाताले आफैंले आफूलाई ‘जाँडसलाम कमरेड !’ भनेर आत्म-अभिवादन गर्दै पंक्तिकार आफैंबाट सुरु गर्न चाहन्छ। उसको आत्म-अभिवादनको शब्द एकाध महिना अघिसम्म ‘जाँडनेपाल दाइ!’ हुन्थ्यो। जब यो अभिवादनले उसलाई एउटा जुम्सो जागिर पनि नसीब भएन तब ऊ रातारात ‘जाँडसलाम कमरेड’ भन्न विवश भएको हो।

वर्तमानमा यो विवशता उसको मात्र रहेन। हाम्रा बडेबडे राजनीतिकर्मी अझ भनौं सत्ताकर्मीहरूको पनि विवशता भइसकेको छ। वर्षमा तीन पटक बद्लिने सत्ता समीकरणले यो तथ्यलाई पुष्टि गर्छ।

यो पंक्तिकारले एकदिन बेलुकी एउटा पार्टीमा मजैसँग जाँड पियो। दुई तीन पेगसम्म मदिराको एकल परिकार पिएको चाहिँ याद छ। त्यसपछि कुन थप्यो, कति थप्यो, कति पियो याद हुने कुरै भएन। मदिराको एउटै परिकार पियो वा फरक फरक पियो त्यो पनि अज्ञात नै रह्यो। आफैंले थपेर पियो वा कसैले थपिथपि पिलायो त्यसको पनि हेक्का रहेन।

जसोतसो घर चाहिं आइपुग्यो। र सुत्यो। भोलिपल्ट बिहान उत्पात टाउको दुख्यो। स्वाभाविक नै थियो प्राणप्यारीले यसको सारा दोष प्यारो मदिरालाई दिइन्। पंक्तिकारलाई पनि थाहा छ-यो सब त्यसैको कर्तूत हो । तर यो कुरालाई मनमै मात्र सीमित राख्नु जरूरी थियो।

उनीसँग टाउको दुख्नुको कारण मद्यपान नै हो भनेर स्वीकार्‍यो भने अर्को पटकदेखि पिउन त के सुँघ्न पनि नपाइने जोखिम भएकोले मदिराको अधिवक्ता बनेर उनीसँग बहसमा उत्रियो। नेपालका राजनीतिकर्मीले झैं अनेक अनेक तर्क कूतर्क गर्‍यो। आकाश पाताल जोड्यो। आफ्नै शरीर यस्तो उस्तो भन्दै आफ्नो स्वस्थ र सुन्दर कायाको उछित्तो पनि काढ्यो। रोयो। करायो।

किसिम किसिमका नाटक नौटंकी देखायो। नपिएको बेलामा पनि बिहान उठ्दा टाउको दुखेको नजीर पेश गर्‍यो। ‘आजपनि चिसोले दुखेको हो, रक्सीले हुँदै होइन प्रिय’ भन्दै जिद्दी गर्‍यो। अड्डी लियो। अबदेखि पिउँदिनँ भनेर कसम खायो।

र, अन्त्यमा मदिरालाई यसरी मुद्दा जितायो जसरी हाम्रा राजनीतिकर्मीले हरेक चोटी सुशासन र समृद्धिको नारामा चुनाव जित्छन्। मदिरा पनि मख्ख। पंक्तिकार पनि मख्ख ! यो जीत मदिराको पहिलो जीत भने थिएन; जसरी हाम्रा राजनीतिकर्मीको जीत पहिलो दोस्रो हुँदैन।

जे जति बदमासी गरे पनि जीत जाँडको नै हुँदै आएको छ। उसलाई जिताउँदा जिताउँदै आजसम्मको यो स्वस्थ शरीरलाई कुन दिन उसैले नराम्रोसँग हराउने हो यसको भने ठेगान छैन। यसरी पुनः एकपटक आफूलाई ‘बफादार सुराप्रेमी’ प्रमाणित गरियो।

***

जाँडपान नगरुन्जेल चुपचाप तर जाँडपान गरेपछि ठुल्ठूला गफ दिने जाँडप्रेमीहरूको संगत पनि भयो। दलीय राजनीतिमा उहिल्यै लागेर यतिखेर उपल्लै स्तरमा पुग्न सफल दुईजना राजनीतिकर्मीहरूसँग एकैपटक बसेर सुरापान गर्ने अवसर नियतवस होइन संयोगवश जुर्‍यो।

राजनीतिकर्मी भेटेपछि दुःख पोख्नैपर्छ जस्तो लागेर आफ्नो भरपर्दो जागिर नभएको दुःख दुवैसामु बिसाइयो। पिउनुअघि दुवैले खासै चासो दिएका थिएनन्। पिउन थालेर हल्का चढ्दै गएपछि दुईमध्ये एकजना मेरो समस्यामा हल्का केन्द्रित हुँदै गए। म भने अनायासै विगतमा सजायस्वरूप उनले पोखिदिएका स्थानीयस्तरमा उत्पादित खोयाबिर्केका बडे बडे घ्याम्पाहरू सम्झिन थालेछु।

‘हैट्! कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं के सम्झिरा होला मैले ?’ आफूले आफैंलाई सम्हालें। र तुरुन्तै हाम्रो ‘जाँडसलामीय जमघट’ को मूल प्रवाहमा समाहित भइहालें। समाहित हुनासाथ देखिहालें अर्का राजनीतिकर्मी पनि बोली लर्बर्‍याउँदै मेरै समस्यामा केन्द्रित हुन थालेका रहेछन्।

चुनाव नजिकै आउँदै गरेकोले हो वा साँच्चिकै दिलचस्पी दिएका हुन् मैले भेउ पाउन बाँकी नै थियो। यी दोस्रा नेता पनि मेरै समस्यामा केन्द्रित हुन थालेपछि म फेरि सम्झिन पुगेछु कि ‘जाँडरक्सी खाने मान्छे हाम्रोजस्तो महान् राष्ट्रवादी पार्टीको सदस्य हुनै सक्दैन’ भन्दै सार्वजनिक मञ्चहरूमा उनले पटक पटक गरेको घोषणा।

जाँड लागेपछि थुप्रै मान्छेका फरक फरक आनीबानी हुन्छन् । यो पंक्तिकारको चाहिं विगतमा हराउने नराम्रो बानी छ।

विगतमा हराए पनि तुरुन्तै आफूलाई संयमित बनाउँदै वर्तमानसँग एकाकार भएर तिनै भाइलाई पेग थप्दै आफू पनि चुस्की लिन थालें। अब तिनलाई नि लाग्न थाल्यो। मलाई नि लाग्न थाल्यो। फेरि थप्यौं तीनै भाइले।

अबचाहिँ सबैलाई मजैले लाग्यो। त्यसपछि दुईमध्ये एक राजनीतिकर्मीले मलाई आकर्षक जागिर लगाइदिने भए। मैले नपत्याएको छनक दिएकै थिइन। तैपनि उनले ‘नपत्याएको भाइ ?’ भन्दै गोजीमा शान्त बसेको आफ्नो मोबाइल फुत्त निकाले। बोली लर्बर्‍याउँदै सुरुमा खड्गप्रसादलाई फोन लगाएँ। उताबाट के जवाफ आयो थाहा भएन।

त्यसपछि पुष्पकमललाई फोन लगाए। उनले पनि के भने थाहा भएन। यस्तै फोन चार पाँच जनालाई लगाएपछि उनले हिक्क गर्दै भने- ‘हेर भाइ! चुनाव पछि फेरि मलाई भेट ल। तिमीलाई गज्जबको जागिर लाउने जिम्मा मेरो भो।’

जाँड लागेपनि म उनको कुरा ध्यानपूर्वक सुनिरहेको थिएँ। अनुहार उज्यालो बनाउँदै मुन्टो हल्लाउँदै मख्ख परिरहेको थिएँ। चुस्की लिंदै उनी भनिरहेका थिए- ‘तिनले गरेनन् भने म नरेन्द्रलाई भनेर भएपनि तिमीलाई जागिर लगाउँछु लगाउँछु ।’

पेगसँगै उनले आश्वासन पनि थप्दै गए- ‘त्यहाँबाट पनि भएन भने अम्बानीसँग मेरो एकजना नजिकको साथीको चिनजान छ, त्यहाँ त कन्फर्म !’

पुष्पकमल र खड्गप्रसादलाई फोन गरुन्जेल त आफूलाई आशै लाग्या थियो। जब उनी  नरेन्द्र र अम्बानीतिर लम्के त्यसपछि चाहिँ यिनी झ्याप भएछन् भन्ने ज्ञात भो। तैपनि ‘भेटौं न त’ भनेर चुनाव पछि यिनलाई भेट्न गएँ। भेटै भएन ।

छट्टू सुराप्रेमीहरू आफूलाई नामुद रक्स्याहा प्रमाणित गर्न मस्त मदिरा पिउने बाहेकका हरेक हर्कत गर्न सक्छन्।

संयोगवश एकदिन एउटा बिचौलियाको पार्टीमा भेटें। ‘लालसलाम कमरेड!’ भनें । चिन्दै चिनेनन्। तुरुन्तै फेरि मनमनै ‘जाँडसलाम कमरेड!’ भनेर ‘निहुरमुन्टी न’ गर्दै दस औंला जोडेर ‘नमस्कार हजूर! आरामै होइसिन्छ’ भनेपछि मात्र चिने । तर मेरो काम हुँदै भएन । किनभने चुनाव सकिइसकेको थियो।

उनले जितिसकेका थिए। मेरो काम नभएपछि म फेरि दुई चार महिना ‘जाँडनेपाल दाइ’ भन्नतिर लागें। तर दाइले पनि केही लछरपाटो नलाएपछि यतिखेर अभिवादन गर्न अभिशप्त छु- ‘जाँडसलाम कमरेड!’

***

खान लाउनमा निकै सौखिन एक मित्र थिए । बेला बेलामा मदिरा पनि पिउनुपर्ने । तर उनी ‘नपिउनु पिएपछि धीत मरून्जेल पिऊँ! मस्तले जिऊँ’ भन्ने मान्यताका धनी थिए। त्यसैले होला गज्जबैले पिउँथे। हल्लिने गरी पिउँथे । सम्हाल्नु पर्नेगरी पिउँथे ।

पिउनुअघि एकदमै अन्तर्मुखी स्वभावका उनी पिएपछि चाहिने भन्दा बढी एक्सपोज हुन्थे । चिनेजाने जति जम्मैलाई फोन लगाउँथे ।

पिएपछि उनले होहल्ला झैंझगडा त नगरी हुँदै हुन्नथ्यो । झगडा गर्ने कोही भेटेनन् भने घर पुगेर श्रीमती छोराछोरीसँग झगडा गरेर भएपनि झगडाको कोटा चाहिं पुर्‍याउँथे। त्यसैले भोज भतेरमा जाँदा परिवारले उनको गोठालै लाग्नुपर्थ्यो । भोजमा सोमरस रहेनछ भने रिसले मुर्मुरिन्थे ।

‘खाइन्नँ यस्ता झारे भोज’ भन्दै भोजलाई नै सत्तोसराप गर्थे । मिलेसम्म मदिराविहीन त्यस्तो भोजका आयोजकसँग खुसामद गरेर आफ्नो लागि छुट्टै बोतलको बन्दोबस्त गराएर भए पनि पिउन भ्याउँथे । त्यसो गर्न सकेनन् भने उनी भोज खाइसकेर भट्टीतिर लाग्थे।

अनि गोजी रित्याएर मस्त मदिरा पिएर घर जान्थे। मदिरारहित भोजमा ‘भोज पछि भट्टी’ उनको नियति नै थियो । शायद यस्तै ‘मदिरामणि’ हरूलाई हाम्रो समाजले ‘जँड्याहा’ भनेर विभूषित गरेको होला।

उनको यही चर्तिकला थाहा पाएर उनी सरिक हुने हरेक भोजमा उनको परिवारको कोही न कोही सदस्य उनको पछि लाग्न थालेको थियो। अहिले कहाँ छन् के गर्दैछन् केही थाहा छैन । घर पनि बेचेछन्। मोबाइल पनि स्विच्ड अफ छ ।

***

अरूलाई टन्न पिलाउने अनि आफूचाहिं पिएझैं मात्रै गर्ने वा अति कम पिउने र पिलाएको मान्छेबाट गुप्त गुप्त कुरा धुत्ने धूर्त दारूप्रेमीहरू पनि समाजमा निकै पाइन्छन्। तीनै गुह्य कुराहरूको सहारा लिएर आफ्नो दुनो सोझ्याउनु वा आफ्ना दुश्मनसँग बदला लिनु तिनको साइड जब हुन्छ।

यस्ता छट्टू सुराप्रेमीहरू आफूलाई नामुद रक्स्याहा प्रमाणित गर्न मस्त मदिरा पिउने बाहेकका हरेक हर्कत गर्न सक्छन्। लड्ने, उफ्रिने, होहल्ला गर्ने, अनावश्यक हाँस्ने, रूनेजस्ता काम यी मदिराप्रेमीले मदिराको नशा नलागे पनि वा थोरै लागे पनि गर्छन् ताकी यसलाई मजैले लाग्यो भन्ने भ्रम अरूलाई परोस्।

लड्दै, उफ्रिंदै, हाँस्दै, झगडा गर्दै यिनले निकै कुरा धूतिसक्छन्। मौका परे मोबाइलबाट अडियो, भिडियो, तस्बीर रेकर्ड गर्न पनि भ्याउँछन्। आफ्नो काम फत्ते गरिसकेपछि अनुकूल वातावरण मिलाएर मस्तसँग पिउनु यिनको अर्को विषेशता हो। यस्ता मदिराप्रेमी पत्ता लगाउनुहोस्। यीसंग बसेर मदिरापान गर्नु अघि निकै पटक सोच्नुहोस्। पिउनै परे सतर्कता र सावधानी अपनाउनुहोस्।

***

आफ्नो कमाइधमाइ, वन्दव्यापार केही छैन तर मदिराचाहिं मागेरै भए पनि दैनिक पिउनै पर्ने मगन्ते मदिराप्रेमीहरू पनि प्रशस्तै भेटिन्छन्। यस खालका मदिराप्रेमीको मुख्य रोजाइ प्राय: खोयाबिर्के हुने गर्दछ । यिनलाई सितनादिको जरुरत पनि पर्दैन किनभने रक्सी त मागेर जोहो गर्‍या छ भने अब सितन किन्न छुट्टै पैसा माग्न पनि गाह्रो ।

फेरि सितनको लागि पैसाको जोहो भइ नै हाल्यो भने पनि त्यो पैसाले त अर्को छाकको मदिरा पो टर्छ । अनि बेकारमा किन सितनमा खर्च गर्ने । मात्नु यसखाले मदिराप्रेमीको एकमात्र उद्देश्य हुन्छ।

***

करिब दस वर्ष जति अघिको कुरा हो। ‘उसै त कुन दुई कानमा सुन’ भनेझैं उसै त माघ त्यसमाथि मेघ र झरी। मौसमले कति च्यालेञ्ज गर्‍यो । भन्नै परेन। यसको चुनौती स्वीकार गर्नै पर्‍यो । ६ जना साथीभाइहरूको सल्लाह मिल्यो । तर गोजी गतिलो कसैको थिएन ।

हाम्रो समाजमा घुसघुसे सुराप्रेमीहरू पनि हुन्छन् जो अनुकूल समय मिलाएर लुकी लुकी मदिरापान गर्छन् तर बाहिर एक्सपोज हुँदैनन्।

त्यसैले गन्तव्य गतिलो मदालय भएन। घरैमा जम्ने निधो भयो । संयोग पनि राम्रै जुर्‍यो। ६ जना मध्ये एकजना साथीका बा आमा तीर्थ गएकोले उनी घरमा एक्लै परेछन्। त्यही मौका छोपियो । उनकै घरमा जम्ने निधो गरियो ।

भलै पंक्तिकारको चाहिँ उनीसँग पहिलो चिनजान थियो। मांस, मदिरा, चिउरा,सलाद इत्यादिको राम्रै जोहो गरियो । खाने बेला सबै साथीहरू वरिपरि बसियो । पिउन सुरु गरियो। पहिलो पेग लिएपछि नै ती घरपेटी मित्र मजाले हाँस्न, गाउन, गफिन थाले। उनलाई धेरै पिउनै नपर्ने प्रथम पेगमै फीट हुँदारान् ।

पछि दोस्रो पेगबाट तेस्रो पेगमा बढुवा हुँदा नहुँदै उनी त पूरै झ्याप भए । उनीसँगको त्यो पहिलो जमघट थियो त्यसैले यो पंक्तिकारलाई निकै अचम्म लाग्यो। कतै ‘धूर्त मदिराप्रेमी’ हुन् कि भनेर सतर्क पनि भयो। तर उनको यस्तो व्यवहार यसपछिका अरु जमघटमा पनि देख्न पाइयो। त्यसपछि अचम्म लाग्न छाड्यो । यस्ता संवेदनशील सुराप्रेमी अन्त पनि भेटिन्छन् होला जसलाई धेरै खानै पर्दैन, खाने भनेर बसेपछि संभवत: सुँघ्दैमा लागेझैं हुन्छ ।

यसको ठीक विपरीत अर्का मित्र छन्। पेगबाट सुरु भएको पियाइ एक फूल उनी एक्लैले रित्याउँदासम्म पनि मदिरा लागेको छनकै छैन । न होहल्ला, न झैंझगडा, न वादविवाद, न हल्लन झुल्लन, न नाचगान, न हँसीमजाक।

अहँ केही छैन ।

तै आँखा चाहिं राता राता हुन्छन् है तिनका । कहिलेकाहीं त यिनले किन पिउँदा हुन् जस्तो लाग्छ। नशा लिएपनि समाज प्रतिकूल व्यवहार नगर्ने यस खालका जब्बर र शालीन सुराप्रेमीलाई ट्रिट दिने इच्छा राख्नुभन्दा अघि एकपटक आफ्नो खल्ती मजाले जाँच्नुस्।

***

कतिपय यस्ता मदिराप्रेमी पनि हुन्छन् जो जाँडको जोहो गर्न भनेपछि जहाँबाट जसरी पनि पैसा निकाल्छन्। तर अरू काममा पैसा निकाल्दै निकाल्दैनन्। यस्ता अररा ऐलाबाजको संगत पनि तपाईं हामी धेरैले गरेको हुनुपर्छ। यसखालका ऐलाप्रेमी अरू काममा मरेको मान्छे बाँच्छ भनेपनि पैसा निकाल्दैनन् तर ऐला किन्न सजिलै।

***

हाम्रो समाजमा घुसघुसे सुराप्रेमीहरू पनि हुन्छन् जो अनुकूल समय मिलाएर लुकी लुकी मदिरापान गर्छन् तर बाहिर एक्सपोज हुँदैनन्।

परिस्थिति अनुसार ‘आफूले त आजसम्म छोएकै छैन’ भन्न पनि पछि पर्दैनन्। सुराप्रेमीहरूको ठूलो हिस्सा यस्तै भइदिए जाँडजन्य हिंसाको पनि शायद अन्त्य हुन्थ्यो कि!

***

एकजना साथीको अमेरिकाको भिसा लागेको खुशीयालीमा उनकै प्रायोजनमा एक दिन पिउने प्रोग्राम बन्यो । एउटा ठीकठीकैको मदशालामा गइयो। पिउन थालियो । पंक्तिकारको छेउमै बसेका अर्का मित्रले धक फुकाएर पिउन थाले ।

उनलाई एक्लै थपीथपी पिउन असहज लागेर होला ‘लिउँ न लिउँ’ भन्दै पंक्तिकारलाई पनि थपीथपी पिलाए। अरूलाई पनि पिलाए । ‘लिउँ न लिउँ’ भन्दै थपिदिने यी दिलदार मित्र तिनै हुन्, जसका छोराले पोहोर लोकसेवाको अफिसर पास गरेकोमा केही साथीहरूलाई एउटा पार्कमा बोलाएर ट्रिट दिएका थिए ।

१० जना साथीका लागि जम्मा १० बोतल बियर र अरू खानेकुराको व्यवस्था गरेका रहेछन्। खानेकुरा बियर जम्मै एकैछिनमा सिनित्तै भो । हामीलाई नशाले छुँदै छोएको छैन। अझै पिउन पाए हुन्थ्यो भन्ने छ। उनी चाहिँ ‘निक्कै लाग्यो यार! अब घर जानुपर्छ’ भन्दै थिए।

प्रायोजक नै उनी भए पछि उनले भनेको मान्नै पर्‍यो । आफूले पैसो खर्च गर्नु पर्‍यो भने मदिरा खाँदै नखाने; खाए पनि अड्कली अड्कली फारू गरेर खाने तर सित्तैंमा पाए भने मस्त पिउने पिलाउने यसखाले मख्खीचुस मदिराप्रेमीहरूलाई बेलैमा चिनिहाल्नुस्।

***

बी एण्ड बी अस्पतालको सीसीयूमा रहेका बिरामी आफन्त भेट्न गएका एकजना ऐलाप्रेमी मित्रले आफ्ना एक पुराना मित्र देखे जो आफूजस्तै ऐलाप्रेमी नै थिए।

बिरामी र तिनका नजिकका आफन्त भेटेर सहानुभूति दिने वा सहयोग गर्नुपर्ने जे थियो त्यो त तिनले गरे नै । त्यसबाहेक साँझ साँझ हुन लागेको त्यो समयलाई तीनले इशारै इशारामा यसरी मित्रता निभाउने मेलो बनाएछन् कि मानौं तीनले यो कुरा फोनबाटै सेटिङ मिलाएका थिए ।

तर यथार्थमा अस्पतालमा तिनको अनियोजित र आकस्मिक भेट थियो।

फोनमा सल्लाह हुने त कुरै थिएन। जसलाई सुनियोजित जस्तो बनाए । तिनले एकै शब्द नबोली पिउने योजना बनाए र मदिराथान तिर लागे । भेट भयो कि पिइहाल्नु पर्ने यस्ता मदिराप्रेमी मित्रहरू पनि निकै हुन्छन् जसलाई समय, परिस्थितिको बालै हुन्न।

***

‘पिउनु त छँदै छ जसरी पनि तर कुनै न कुनै बहाना चाहियो’ भन्ने रामकृष्ण ढकालले गाएको गीत झैं दारूपान गर्नै छ जसरी पनि तर हरेक दिन कुनै न कुनै बहानाको जरुरत पर्ने दारूप्रेमीलाई कुनै बहाना नपाए आज बहाना नपाएको दु:खमा भन्दै पिउन पनि बेर लाउँदैनन् । छोरी पास भइन् खानैपर्‍यो । छोरो फेल भो जाँडशाला जानैपर्‍यो । बाउसँग झगडा पर्‍यो एक क्वार्टर लाउनैपर्‍यो ।

साहुले ऋण सम्झायो सुइँक्याउनै पर्‍यो । पानी पर्‍यो, पिउनै पर्‍यो । गर्मी भए चिसो बियरले आँत भिजाउनै पर्‍यो । असिना पर्दा, हिउँ पर्दा मौसमले कति धेरै च्यालेञ्ज गर्छ । त्योबेलामा च्यालेञ्ज नस्वीकारे हुतिहारा र कञ्जुस भइन्छ। त्यसैले त्यस्तो मौसममा छुटाउने कुरै भएन ।

‘मिलनको खुशी होस् वा बिछोडको पीडा; त्यो बेलाको दह्रो साथी भनेकै सुरा!’ त्यसैले यस्तोमा मल्हम लाउन झन् बोतल नखोल्ने सवालै आउँदैन ।

हाकिमले हप्काउँदा होस् वा प्रेमिकाले तर्साउँदा अनि कमाई धेरै भएको दिन वा कमाई हुँदै नभएको दिन सबैमा पिउनैपर्‍यो। जे भएपनि मदमस्त भएर जिउनैपर्‍यो यसकारण बहानाबाजीका विश्वविद्यालय हुन् सुराप्रेमी साथीहरू !





Source link

Leave a Comment

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School