मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा ६ गौरीटार रंगशालामा निमार्णाधिन रङ्गशालाको बामगती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन फिल्डमा पुगेका छन् ।
मन्त्री महर्जनले स्थलगत अवलोकनपछि कामको रफ्तारको लागि निर्देशन दिएका छन् । मन्त्री महर्जनले गौरिटार रंगशालामा निर्माणाधीन त्रिकेट तथा फुटबल मैदान र पौडी पोखरीको निरिक्षण गर्दै कामलाई रफ्तारमा बढाउन निर्देशन दिएका हुन् । गत बैशाखमा शिलान्यास गरिएको क्रिकेट रंगशाला र पौडी पोखरीको पनि मन्त्री महर्जनले निरिक्षण गरे ।
निरिक्षणका क्रममा मन्त्रालयका सचिव रुद्रप्रसाद लामिछाने र प्रदेश खेलकुद परिषदका इन्जिनियर निवेश बर्तौलाले व्रिफिङ गरेका थिए । प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रंगशाला निर्माणका लागि १२ करोड र स्विमिङ पुल निर्माणका लागि ९ करोड रुपैयाँ बजेट विनियोजन गरेर निर्माण थालेको इन्जिनियर बर्तौलाले बताए ।
उक्त रंगशालामा पहिलो चरणमा ६०० जना दर्शक क्षमताको एउटा प्यराफिट सहिता ५ वटा पिच, ७० मिटर रेडिएसको ग्राउण्ड भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपांगमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने उनले बताए । आगामी एक वर्ष भित्र सो संरचना निर्माण सम्पन्न गर्नुपर्ने गरी ठेक्का मार्फत् काम भइरहेको प्रदेश खेलकुद विकास परिषदका इन्जिनियर बर्तौलाले बताए ।
निरिक्षणपछि मन्त्री महर्जनले समय सिमा भित्रै निर्माण कार्य सम्पन्न गर्ने पहल र निर्माण कम्पनीलाई दवाव दिने बताए । खेलकुद क्षेत्रमा निर्माण कार्य अत्यन्त सुस्त हुने गरेकाले प्रदेश सरकारले तत्काल निर्माण कम्पनीलाई उपस्थित गराएर काम छिटो सक्न निर्देशन गर्ने उनको भनाई थियो । प्रदेश सरकारले खलकुद क्षेत्रको विकासका लागि स्तरिय खेलकुदका संरचनासंगै खेलाडी प्रोत्साहनमा समेत काम गर्ने लक्ष्य लिएको छ ।
केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) का रुपमा विकास गर्नेगरी तत्कालिन समयमा राष्ट्रिय खेलकुद परिषद्ले खेलकुदका संचना निर्माणको थालनी गरेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म सो रंगशाला निर्माणले गति लिन सकेको थिएन । २८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबाट शिलान्यास भएको गौरिटार रंगशालाको शिलान्यास गरेका थिए । गौरीटार रंगशालामा विभिन्न विधा १९ वटा विभिन्न खेलकुद सम्बन्धित संरचना निर्माण गरिने योजना अनुसार काम सुरु गरिएको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने उद्देश्यसहित निर्माण गर्न लागिएको यस रंगशालामा फुटबल, भलिबल, क्रिकेटका लागि खेल मैदान, स्विमिङ पुल, छात्र र छात्रा होस्टल, प्रशासनिक भवन लगायतको संरचना निर्माण गर्ने परिषद्को योजना थियो ।
देश संघीय संरचनामा गएसँगै रंगशाला निर्माणको काम प्रदेश सरकारअन्तर्गत रहेको उक्त आयोजनामा क्रमागतबाट बजेट विनियोजन गरिदै आएको छ । फुटबल ग्राउन्ड, रनिङ ट्रयाक सिन्थेटिक, भीआईपी प्यारापिट र लाइटिङ गरी ९० करोड रुपैयाँको लागत अनुमानसहित डीपीआर तयार पारेर काम गरिरहेको छ ।
खेलाडीलाई जीविकोपार्जनसँग जोडेर विकास गर्न यो रङ्गशालामा महत्वपूर्ण हुने विश्वास महर्जनले व्यक्त गरे । “खेलाडीलाई निरन्तर लगाव, हौसलासँगै उनीहरुको जीवनयापन गर्न सक्ने आर्थिक व्यवस्था हुनु आवश्यक छ, जुन आवश्यकतालाई यसले पुरा गर्न सक्छ” उनले भने ।
युवा खेलाडीलाई पलायन हुन नदिने मुख्य उद्देश्यका साथ बागमती प्रदेशको राजधानी हेटौंडामा निर्माणाधिन गौरीटार रङ्शालाले अब आकार लिन थालेको छ । गौरीटारले उर्जाशील खेलाडीलाई आफ्नो बस्ति र देशमा टिकाइराख्ने उद्देश्य राखेको छ ।
प्रदेश सरकारले २३ बिगाहा क्षेत्रफलमा करिब ५ अर्ब रुपैयाँमा रंगशाला निर्माण गर्दे त्यसभित्र विषेश प्राथमिकताका साथ फुटबल स्टेडियम, पौडी पौखरी, क्रिकेट रंगशाला, एथलेटिक्स खेलकालागी पूर्वाधार, फिटनेस सेन्ट्ररलगायत २१ वटा खेल संरचना निर्माण गरिरहेको छ ।
हेटौंडा–६, स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको रंगशाला हालसम्मको अवस्तामा देशकै दोस्रो ठुलो फुटबल रंगशाला हो । बागमती प्रदेश सरकारले पहिलो चरणमा गौरिटारभित्र सुविधा सम्पन्न अन्तराष्ट्रिय मापदण्ड अनुरूपको फुटबल रंगशाला निर्माणलाई प्राथमिकता दिदै तिव्रगतिमा काम गरि रहेको छ । अन्तराष्ट्रिय मापदण्ड अनुरूपमा निर्माणाधीन फुटबल रंगशालाको काम अन्तिम चरणमा पुगेको बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए ।फुटबल रंगशाला निर्माणको कार्य लगभग अन्तिम चरणमा पुगेको छ ।
गत आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य भएता पनि चालु आर्थिक वर्षको पहिलो चौमासमा निर्माण सम्पन्नगरिने तयारी भएकोे प्रदेश खेलकुद परिषद्का सदस्यसचिव भण्डारीले बताए ।“राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु सञ्चालन गर्ने परिषद्को लक्ष्य छ”, सदस्यसचिव सूर्य भण्डारीले भने “फुटबल रंगशाला देशकै पहिलो प्रविधियुक्त र दशरथ रंशालापछिको ठूलो रंगशाला बन्नेछ ।” फुटबल रंगशाको करीब ९५ प्रतिशत काम सम्पन्न भईसकेको भण्डारीले बताए । रंगशालाभित्र ४ हजार ५०० दर्शक क्षमताको प्याराफिट निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।
प्रत्येक वर्ष हुदै आएको राष्ट्रिय “राष्ट्रिय ए डिभिजन लिग” फुटबल प्रतियोगिताका केही खेलहरु काठमाडैमा मात्र हुदैँ आएकोमा परिषद्ले उक्त प्रतियोगिताका केही खेलहरू निर्माणाधीन रंगशालामा गर्ने र अन्तराष्ट्रिय खेल समेत गर्न सक्ने लक्ष्य सहित तीव्र गतिमा काम गरिरहेको उनले बताए ।
रातको समयमा समेत फुटबल प्रतियोगिता सञ्चालन गर्न मिल्ने गरि रंगशाला निर्माण गरिरहेको छ । रंगशाला भित्र खेलाडीहरूका लागी छुट्टै कोठाहरू, आवास गृह, सुविधा सम्पन्न शौचालयहरू,मिडिया सेन्टरका लागी विशेष कक्ष, प्रतियोगिता सञ्चालनको क्रममा हुनसक्ने सम्भावित दुर्घटना र खेलाडीलाई लाग्नसक्ने चोटपटकको उपचारका निम्ति चिकित्सक बस्ने छुट्टै कक्ष लगाएत थुप्रै पूर्वाधारहरू बन्नेछ। फुटबल रंगशाला निर्माण सम्पन्न गर्न करिब ३० करोड खर्च लाग्ने बताईएको छ ।
यस्तो बन्ने छ चालु आर्थिक वर्षमा
प्रदेश सरकार र प्रदेश सरकार अन्तर्गत रहेको खेलकुद परिषद् विविध दीर्घकालीन लक्ष्य बोकेर अगाडी बढिरहेको छ । स्थानीय तहले खेलाडी उत्पादन गर्नुपर्ने र प्रदेशले आवश्यक सहयोग तथा समन्वय हुनुपर्ने कार्यक्रमहरू ल्याएर अगाडी बढ्ने प्रदेशको भावी योजना रहेको छ ।
प्रदेशका १३ जिल्लामा कर्भड हल निर्माण भईसकेको र केही बाकीँ रहेका जिल्लाहरूमा आगामी आथिक वर्षभित्र सम्पन्न हुनेछ । प्रदेशका १३ वटै जिल्लामा मिनी रंगशाला निर्माण गर्ने लक्ष्य अनुरुप बाँकी जिल्लाहरुमा चालु आर्थिक वर्षबाट यो योजनामा समेटेर अघि बढने परिषद्को तयारी छ । चालु आर्थिक वर्षमै गौरिटारभित्र ४ हजार क्षमताको बहुउदेश्यीय कभर्डहल, अभ्यासका लागि एक दर्जन थप कभर्डहल, मोटर स्र्पोट्स ट्याक, महिला तथा पुरुषका लागि छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधीउपचार कक्षसहित विभिन्न खेलका लागि दुई दर्जन संरचना निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य छ ।
अहिले स्थानीयतहहरूले खेलाडी उत्पादन गर्नुभन्दा पनि धेरै राष्ट्रिय स्तरका खेलहरू र जुन खेल हेर्न रमाइलो र बढी भिड हुने गर्दछ त्यसलाई मात्र बढी प्राथमिकता दिएको पाइन्छ । यो अवस्थामा प्रदेश परिषद् मातहत रहेका जिल्ला खेलकुद समिति मार्फत सबै स्थानीयतहहरूलाई बुझाउने प्रयास गरिरहेको छ ।
प्रदेशले १३ वटा जिल्लामा रहेका खेलाडीहरू खोज्न हालसम्म २ वटा प्रदेश स्तरीय खेलहरू सञ्चालन गरेको सदस्यसचिव भण्डारीले बताए । “प्रदेश स्तरका खेलबाट नयाँ–नयाँ खेलाडीहरू आउनुको साथै अहिले भएका खेलाडीहरूले समेत प्रतियोगिता भईरहदाँ खेलक्षेत्रमा टिकिरहने अवस्था बन्ने छ” भण्डारीले भने । परिषदले जनशक्ति विकासको दीर्घकालीन लक्ष्य बनाउने र अर्को पुर्वधार निर्माणको लक्ष्य बनाउदै अघि बढिरहेको जनाएको छ । खेलाडीहरूले वर्षमा एउटा पनि प्रतियोगिताहुदैन भनेर गुनासो आउने गरेकोमा परिषद्ले गत आर्थिक वर्षमा २ वटा प्रदेश स्तरका प्रतियोगिताहरू गरेको थियो ।
प्रदेश सरकारले खेलका खेलाडी उत्पादन गर्न खेल प्रशिक्षक नियुक्त गर्दे दैनिक रुपमा खेलको अभ्यास गर्ने वातावरण सिर्जना गरेको सदस्यसचिव भण्डारीले बताए । खेल प्रतियोगिताहरू हुने समयमा खेलाडीहरू खोजेर हिडनुपर्ने अवस्थाको अत्यगर्न परिषद अग्रसरता देखाएको छ । खेलकुद परिषद् गठन भएपछी बागमती प्रदेश खेलकुद परिषदले सातवटै प्रदेशका सदस्यसचिवको भेला समेत गरेको थियो । उक्त भेलाले प्रत्येक वर्ष फरक –फरक प्रदेशले अन्तर प्रदेश खेलकुद प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको थियो ।
(Visited 4 times, 1 visits today)