खेम शर्मा (१९६२–२०२६): एउटा कलाकारभन्दा ठूलो एउटा मानिसको कथा



प्रकाशित मिति : १५ असार २०८३, सोमबार

खेम शर्मा (१९६२–२०२६): एउटा कलाकारभन्दा ठूलो एउटा मानिसको कथा

कतिपय कलाकार आफ्नो अभिनयका कारण सधैँ सम्झिइन्छन्, कतिपय आफ्नो व्यक्तित्वका कारण। तर जीवनमा विरलै त्यस्ता कलाकार जन्मिन्छन्, जसलाई मानिसहरूले उहाँले निभाएको पात्रका लागि मात्र होइन, उहाँको मानवीयता, आत्मीयता, विनम्रता र सरलताका लागि पनि सधैँ सम्झिरहन्छन्। खेम शर्मा त्यस्तै दुर्लभ कलाकार हुनुहुन्थ्यो।

नेपाली दर्शकका लागि उहाँ “चतुरे” हुनुहुन्थ्यो—एउटा यस्तो पात्र, जसले लाखौँ अनुहारमा मुस्कान ल्यायो। तर हाम्रा लागि उहाँ त्योभन्दा धेरै ठूलो हुनुहुन्थ्यो। उहाँ कलाकार मात्र होइन, अभिभावक, साथी, मार्गदर्शक र फेरि कहिल्यै नदोहोरिने व्यक्तित्व हुनुहुन्थ्यो।

मुखको क्यान्सरसँग करिब एक वर्षसम्म साहसपूर्वक संघर्ष गर्नुभएका उहाँ अन्ततः २०२६ जुन २१, आइतबार, ६४ वर्षको उमेरमा हामीबाट सदाका लागि बिदा हुनुभयो। तर उहाँको यात्रा त्यहीँ टुंगिएन। उहाँले छोडेर जानुभएको कला, प्रेरणा, माया र सम्झनाहरूले उहाँलाई सधैँ जीवित राख्नेछन्।

दशकौँसम्म नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय रहनुभएका खेम शर्मा आफ्नो स्वाभाविक अभिनय, सहज हास्यशैली र जीवन्त प्रस्तुतिका कारण सबैका प्रिय बन्नुभयो। “चतुरे” पात्रले उहाँलाई लोकप्रिय बनायो, तर उहाँको विनम्र व्यवहारले उहाँलाई महान् बनायो। उहाँले कहिल्यै आफूलाई ठूलो कलाकार ठान्नुभएन। उहाँ सबैसँग समान व्यवहार गर्नुहुन्थ्यो, नयाँ कलाकारलाई प्रोत्साहन दिनुहुन्थ्यो र सधैँ मुस्कानसहित भेटिनुहुन्थ्यो।

उहाँको अन्तिम अभिनय यात्रामध्ये एक अमेरिकामा छायांकन गरिएको नेपाली वेब सिरिज “घर: बट इन अमेरिका” थियो। त्यस सिरिजमा उहाँ मुख्य कलाकार मात्र हुनुहुन्नथ्यो, उहाँ हाम्रो टिमको मुटु हुनुहुन्थ्यो। सेटमा उहाँको उपस्थितिले सबैमा ऊर्जा थप्थ्यो। उहाँले कहिल्यै आफूलाई वरिष्ठ कलाकारका रूपमा प्रस्तुत गर्नुभएन, बरु सबैलाई आफ्नै परिवारका सदस्यझैँ माया गर्नुहुन्थ्यो।

खेम शर्मा (१९६२–२०२६): एउटा कलाकारभन्दा ठूलो एउटा मानिसको कथा

सायद धेरैलाई थाहा छैन—त्यो सिरिजको तेस्रो तथा अन्तिम छायांकन सुरु हुनुभन्दा केही दिनअघि मात्रै उहाँको मुखभित्रबाट बायोप्सीका लागि मासुको सानो भाग निकालिएको थियो। घाउ अझै ताजै थियो। बोल्न गाह्रो थियो, खाना खान गाह्रो थियो। तर पनि छायांकन रोकिएन, र उहाँ पनि रोकिनुभएन।

प्रत्येक दिन उहाँ पीडानाशक औषधिको सहारामा सेटमा आउनुहुन्थ्यो, क्यामेराअघि उभिनुहुन्थ्यो, संवाद बोल्नुहुन्थ्यो, मुस्कुराउनुहुन्थ्यो। दर्शकले पर्दामा देखेको त्यो मुस्कानको पछाडि कति ठूलो पीडा लुकेको थियो भन्ने कुरा सायद उहाँ आफैँबाहेक कसैले पूर्ण रूपमा बुझ्न सकेन। तर सबैभन्दा आश्चर्यको कुरा के थियो भने—उहाँले कहिल्यै गुनासो गर्नुभएन।

बरु बिहान ६ बजे कल टाइम भएको दिन पनि उहाँ प्रायः सबैभन्दा पहिले सेटमा पुगिसक्नुभएको हुन्थ्यो। अमेरिकाको कठ्याङ्ग्रिने जाडो, लगातारको हिमपात र कठिन छायांकनका बीच पनि उहाँको अनुहारमा मुस्कान हुन्थ्यो, मनमा उत्साह हुन्थ्यो र कामप्रतिको समर्पण उस्तै रहन्थ्यो। उहाँ बिरामी कलाकारजस्तो होइन, पहिलो पटक क्यामेराअघि उभिन लागेको नयाँ कलाकारजत्तिकै उत्साहित देखिनुहुन्थ्यो।

त्यो छायांकन हाम्रो सम्पूर्ण टिमका लागि पनि निकै कठिन थियो। म आफैँ सिर्जनाकर्ता, निर्देशक, कथा लेखक, स्टोरीबोर्ड तयार गर्ने, छायांकन तालिका बनाउने र व्यवस्थापन गर्ने धेरै जिम्मेवारी एकैसाथ सम्हालिरहेको थिएँ। समयको दबाब थियो, मौसमको चुनौती थियो।

त्यही क्रममा कहिलेकाहीँ उहाँ संवाद बिर्सिनुहुन्थ्यो, केहीबेर रोकिनुहुन्थ्यो। फेरि सम्झिन समय लाग्थ्यो। त्यतिबेला मेरो सम्पूर्ण ध्यान काम समयमै सम्पन्न गर्ने दबाबमा केन्द्रित थियो। कहिलेकाहीँ म अधैर्य पनि भएँ।

आज उहाँ हामीबीच नरहेपछि बारम्बार एउटा कुरा मनमा आउँछ—यदि त्यो दिन उहाँले मौन रूपमा सहिरहनुभएको पीडाको गहिराइ मैले बुझ्न सकेको भए, सायद म अझ धैर्यवान् हुन्थेँ। त्यो मेरो जीवनको एउटा सानो तर कहिल्यै नमेटिने पश्चाताप बनेर रहनेछ। तर उहाँले त्यसबारे कहिल्यै केही भन्नुभएन। उहाँले आफ्नो पीडालाई कहिल्यै अरूको बोझ बन्दिन दिनुभएन।

उहाँसँग मेरो अन्तिम भेट २०२६ जुन १७, बुधबार अस्पतालमा भयो। उहाँ निकै असहज देखिनुहुन्थ्यो। कहिले खुट्टा ओछ्यानबाट तल झार्नुहुन्थ्यो, फेरि माथि राख्नुहुन्थ्यो। शरीरलाई अलिकति भए पनि आराम मिलोस् भनेर बारम्बार आफ्नो बसाइ परिवर्तन गरिरहनुभएको थियो। उहाँलाई धेरै पीडा भइरहेको स्पष्ट देखिन्थ्यो। तर अचम्मको कुरा के थियो भने—उहाँले आफ्नो पीडाको बारेमा एउटा शब्द पनि बोल्नुभएन। बरु मुस्कुराउँदै भन्नुभयो, “म ठीक हुन्छु।”

झन्डै तीन घण्टा लामो हाम्रो कुराकानीमा त्यसपछि रोगको विषय फेरि कहिल्यै आएन। हामीले चलिरहेको विश्वकप फुटबलको कुरा गर्‍यौँ। रिलिज हुन लागेका नेपाली चलचित्रहरूको कुरा गर्‍यौँ। “घर: बट इन अमेरिका” का रमाइला पलहरू सम्झियौँ। अनि दोस्रो सिजन नेपालमा छायांकन गर्ने योजनाबारे लामो छलफल गर्‍यौँ। आफ्नै स्वास्थ्यलाई ध्यानमा राख्दै उहाँले भन्नुभयो, “कथालाई अलिकति मिलाएर लेख्नुस्। मेरो स्वास्थ्यअनुसार मेरो भूमिका परिवर्तन गर्नुपरे पनि गरौँला।”

खेम शर्मा (१९६२–२०२६): एउटा कलाकारभन्दा ठूलो एउटा मानिसको कथा
“घर: बट इन अमेरिका” को छायांकनका क्रममा कलाकार खेम शर्मा।

त्यो क्षण आज पनि मेरो मनमा अमिट छ। अझ संयोग नै भन्नुपर्छ, त्यो दिनपछि उहाँ फेरि त्यसरी खुलेर बोल्न सक्ने अवस्थामा रहनुभएन। त्यसपछि उहाँको स्वास्थ्य अवस्था क्रमशः जटिल बन्दै गयो, र अन्ततः संसारबाट बिदा नहुन्जेल उहाँसँग फेरि त्यसरी मन खोलेर संवाद गर्ने अवसर कसैलाई मिलेन। कहिलेकाहीँ लाग्छ, उहाँसँग झन्डै तीन घण्टा बसेर अन्तिम पटक भलाकुसारी गर्न पाउनु मेरो जीवनको ठूलो सौभाग्य रहेछ। आज ती क्षणहरू सम्झँदा मन अत्यन्त भारी हुन्छ, तर उहाँसँग बिताएका ती अन्तिम पलहरूका लागि आफूलाई भाग्यमानी पनि ठान्छु।

उहाँ आफ्नो रोगको बारेमा होइन, कथाको बारेमा सोचिरहनुभएको थियो। उहाँ आफ्नो पीडाको बारेमा होइन, आफ्नो टिमको बारेमा सोचिरहनुभएको थियो। उहाँ आफ्नो अन्तिम दिनहरूको बारेमा होइन, अर्को छायांकनको सपनाबारे सोचिरहनुभएको थियो। यही थियो खेम शर्मा।

उहाँका लागि कलाकार हुनु केवल एउटा पेसा थिएन, एउटा जिम्मेवारी थियो। उहाँका लागि अभिनय भनेको क्यामेराअघि उभिनु मात्र थिएन, त्यो आफ्नो सम्पूर्ण मन, माया र आत्मा दर्शकलाई समर्पण गर्नु थियो।

उहाँको निधनपछि बाल्टिमोर, मेरिल्याण्डमा आयोजित अन्तिम श्रद्धाञ्जली समारोहमा परिवार, आफन्त, साथीभाइ, सहकर्मी र शुभेच्छुकहरू उहाँलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न भेला भए। त्यहाँ देखिएको माया, सम्मान र आँसुहरूले एउटा कुरा स्पष्ट पारे—खेम शर्मा केवल पर्दाका कलाकार हुनुहुन्नथ्यो, उहाँ मानिसहरूको मन जित्न सफल एक असाधारण व्यक्ति हुनुहुन्थ्यो।

आज “चतुरे” पात्र पर्दामा अझै जीवित छ। उहाँका संवाद अझै सुनिन्छन्। उहाँका दृश्यहरू अझै हँसाउँछन्। तर आज हामीलाई थाहा छ—ती मुस्कानहरूको पछाडि कति ठूलो साहस, समर्पण र त्याग लुकेको थियो।

“घर: बट इन अमेरिका” को दोस्रो सिजन कुनै दिन बन्न सक्छ, कथा पनि अगाडि बढ्न सक्छ। तर एउटा कुरा कहिल्यै उस्तै हुनेछैन—खेम शर्मा सरको खाली ठाउँ। कतिपय कलाकारहरू चलचित्र समाप्त भएपछि बिर्सिइन्छन्, कतिपय पात्रहरू समयसँगै हराउँछन्। तर केही मानिसहरू यस्ता हुन्छन्, जसको जीवन नै एउटा प्रेरणादायी कथा बन्छ।

खेम शर्मा त्यस्तै एउटा कथा हुनुहुन्थ्यो। उहाँको जीवनको पर्दा बन्द भएको होला, तर उहाँको कथा अझै जीवित छ। उहाँले बाँड्नुभएको हाँसो, माया, प्रेरणा र “चतुरे” कहिल्यै समाप्त हुने छैन। खेम शर्मा सर, तपाईं शारीरिक रूपमा हामीबाट टाढा हुनुभएको होला, तर तपाईंले छोडेर जानुभएको माया, प्रेरणा र “चतुरे”को मुस्कान नेपाली दर्शकको मनबाट कहिल्यै मेटिने छैन। हार्दिक श्रद्धाञ्जली।

(बिमलेश अधिकारी नेपाली चलचित्र तथा संगीत भिडियो क्षेत्रमा लामो समयदेखि सक्रिय अभिनेता, निर्देशक र मोडल हुन्। उनले सयौं नेपाली संगीत भिडियो तथा विभिन्न चलचित्रमा अभिनय गरेका छन्। हाल अमेरिकाको मेरिल्यान्डमा बसोबास गर्दै उनले नेपाली डायस्पोराको जीवनलाई केन्द्रमा राखेर सिर्जना गरिरहेका छन्। उनी अमेरिकामा छायांकन गरिएको नेपाली वेब सिरिज “घर: बट इन अमेरिका” का निर्देशक, प्रमुख कलाकार तथा अवधारणाकार हुन्।)





Source link

Leave a Comment