केस–१
१७ वर्षीय रीता (नाम परिवर्तित) स्याङ्जाबाट भागेर काठमाडौं आइन् । उनी काठमाडौंमा काम गर्दै आएकी छिमेकी दिदी लक्ष्मी (नाम परिवर्तित) बाट निकै प्रभावित थिइन् । गाउँ जाँदा लक्ष्मी महंगो गहना र लुगा लगाएर जान्थिन्, उनको लवाइखवाइ निकै रवाफिलो हुन्थ्यो ।
लक्ष्मीले रीतालाई काठमाडौंमा आकर्षक पारिश्रमिक पाइने थुप्रै अवसरहरू भएको सुनाउँथिन् । रीतालाई पनि राम्रा कपडा र गहना अनि लक्ष्मीको जस्तै जीवन बाँच्ने रहर भयो । उनी पनि अवसरको खोजीमा काठमाडौं आइन् ।
तर काठमाडौं न उनले सोचेकोजस्तो थियो न त लक्ष्मीले भनेको जस्तो नै । लक्ष्मी लामो समयदेखि यौनकर्म संलग्न रहेको थाहा पाइन्, उनी छाँगाबाट खसेझैं भइन् । उनी पनि सुरूमा खाजाघर काम गर्न थालिन् र विस्तारै बाध्यतावश यौनकर्ममा संलग्न भइन् ।
केस–२
१६ वर्षीया नीरु (नाम परिवर्तित)को कथा पनि रीताको जस्तै छ । उनी पनि छिमेकी दिदीकै जीवनशैलीबाटै प्रभावित थिइन् । एकदिन कुरैकुरामा नीरुलाई छिमेकी दिदीले काठमाडौंमा आफूले राम्रो काम मिलाइदिने बताइन् ।
भर्खर १६ वर्ष पुगेकी नीरुलाई उनको लवाइखवाइ र बोल्ने शैलीलाई हेरेर काठमाडौंमा अवसर भएको कुरा पत्याउन गाह्रो थिएन । नीरु काठमाडौं आइन्, उसैगरी उनलाई पनि सुरुमा खाजाघरमा सहयोगीका रुपमा काम लगाइयो र विस्तारै यौनकर्ममा लाग्न बाध्य बनाइयो ।
केस-३
१५ वर्षको उमेरमा सुर्खेतबाट काठमाडौं आएकी रमिना (नाम परिवर्तित) तार्केश्वरको एउटा स्कुलमा भर्ना भएर पढ्न थालिन् । स्कुल छुट्टि भएपछि उनी आफ्ना साथीहरूसँग सधैंजसो खाजाघर जाने गर्थिन् ।
खाजा खाइरहेकै बेला आफ्नै उमेर समूहका केही युवतीहरूले बैंक ब्यालेन्स र विलासी अन्य चिजबारे कुरा गरेको सुनिन् । उनको चासो बढ्यो । विस्तारै उनले ती युवतीहरूलाई साथी बनाइन् । पैसा र विलासी जीवनको लोभले उनलाई अन्धकारको बाटोमा डोहोर्यायो ।
ती युवतीहरु पेशेवर यौनकर्मी थिए भन्नेमा रमिना अज्ञात थिइन् । स्कुल छोडेर खाजाघरमा काम गर्दै उनी पनि यौनकर्ममा लागिन् ।
माथि उल्लेख गरिएका घटनाहरूमा ३ वटा समानताहरू छन् । पहिलो, तीनैजना युवतीहरू नाबालिका छन् । दोस्रो, उनीहरूलाई बाटो देखाउनेहरूले अंगालेको पेशाका कारण यौनकर्ममा होमिएका छन् । र तेस्रो, तीनैजना अञ्जानमै खाजाघरमा बेचिएका छन् ।
प्रहरी तथ्यांकअनुसार २०२३ नोभेम्बरदेखि २०२४ मे को चौथो सातासम्म खाजाघरमा नाबालिग बालिका बेचबिखनका ११ वटा मुद्दा दर्ता भएकाले १८ जना पक्राउ परेका छन् ।
मानव बेचबिखन नियन्त्रण ब्युरो (एएचटीबी) का एसपी तथा प्रवक्ता गौतम मिश्रका अनुसार पछिल्लो समय यौन व्यवसायका लागि सामान्य खाजाघर बढी प्रयोग हुन थालेको छ । त्यसमा अधिकांश १८ वर्षमुनीका नाबालिग बढी संलग्न छन् ।
प्रहरीका अनुसार अधिकांश नाबालिगहरू पनि अन्य युवतीहरुको विलासी जीवनकै देखासिखी यस्तै लोभमा परेका छन् । ‘नाबालिगहरूलाई प्रलोभनमा पार्न सजिलो हुन्छ । उनीहरूसँग आलोचना गर्ने क्षमता हुँदैन र उनीहरू पछाडिको वास्तविकता थाहै नपाई आकर्षक देखिने कुराहरूमा सजिलै आकर्षित हुन्छन्,’ मिश्र भन्छन्, ‘यदि उनीहरूलाई सही र सत्य जानकारी दिइयो भने धेरै नाबालिग बेचबिखन हुनबाट बचाउन सकिन्छ ।’
मानव बेचबिखनविरुद्धको राष्ट्रियस्तरको सञ्जाल एलायन्स अगेन्स्ट ट्राफिकिङ इन वुमन एन्ड चिल्ड्रेन इन नेपाल (आटविन)की कार्यकारी निर्देशक बेनुमाया गुरुङ पनि प्रायजसो पेशेवर महिलाकर्मीले आफ्नो पहिचान लुकाएर अन्य नाबालिगहरूलाई प्रलोभनमा पार्ने गरेको बताउँछिन् ।
पेशेवर यौन कर्ममा संलग्नहरूले आफ्नो वास्तविकता लुकाएर प्रतिष्ठाका लागि भव्य जीवन बिताउने नाटक गर्छन् । नतिजा स्वरुप, यसले अन्य निर्दोष र कमजोर आर्थिक अवस्था भएका नाबालिग फस्ने गरेका छन् ।
राष्ट्रिय दण्डसंहिताले पनि नाबालिगहरू उचित निर्णय गर्न परिपक्व नभएकाले १८ वर्ष मुनिका बालबालिकाको सहमतिमा भएको शारीरिक सम्बन्धलाई पनि अपराध मानिने उल्लेख गरेको छ । सीमा पार हुने बेचबिखनलाई मात्रै मानव बेचविखनका रुपमा अर्थ्याउँदा यो समया आएको सरोकारवाला बताउँछन् ।
देशभित्रै हुने आन्तरिक बेचविखनलाई उपेक्षा गर्दा पछिल्लो समय खाजाघरको आवरणमा यौन व्यवसाय मौलाइरहेको र त्यसमा पनि नाबालिगहरू बढी प्रयोग भइरहेको प्रहरी तथ्यांक छ ।
प्रहरी तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/०७८ मा देशभर विभिन्न खाजाघरबाट ३६ नाबालिग यौनकर्मीको उद्धार गरिएको थियो । त्यसैगरी आर्थिक वर्ष २०७८/ ७९ मा ६४ नाबालिग बालिकाको उद्धार गरिएको थियो । आर्थिक वर्ष २०७९/८० मा ५९ र २०८०/ ८१ मा ८५ जनाको उद्धार गरिएको छ ।
एएचटीबीले नाबालिगहरुको उद्धारका लागि थप अभियान जारी रहेको जानकारी दिएको छ । यस्ता घटना बढ्नुको कारण भनेको बेरोजगारी र विलासी जीवनको लोभ हो । प्रहरी तथ्यांकअनुसार २०२३ नोभेम्बरदेखि २०२४ मे को चौथो सातासम्म खाजाघरमा नाबालिग बालिका बेचबिखनका ११ वटा मुद्दा दर्ता भएकाले १८ जना पक्राउ परेका छन् ।
खाजाघर नै किन ?
पछिल्लो समय खाजाघर तस्करहरुको अड्डा बनेको बेनुमाया गुरुङ बताउँछिन् । तर, सरकारले यसबारे सचेत भएर पनि खासै केही गर्न नसकेको उनको भनाइ छ ।
‘पछिल्लो दुई वर्षदेखि प्रहरी र मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाहरूले रेष्टुरेन्ट र अन्य मनोरञ्जन क्षेत्रमा बारम्बार अनुगमन गर्दै आएका छन्, जसले तस्करका लागि जोखिम बढाएको छ,’ गुरुङ भन्छिन्, ‘तर, यौन व्यवसायको माग बढ्दै गएको छ । अहिले पनि तस्करहरूका लागि खाजाघर यौन व्यवसाय चलाउने सुरक्षित ठाउँको रुपमा साबित छ।’
पुरानो ठाउँ जोखिममा परेको देख्दा व्यवसाय चलाउन नयाँ ठाउँ खोज्नु तस्करको स्वभाव भएको गुरुङको भनाइ छ । उनका अनुसार यसअघि इँटाभट्टा, कारखाना र गलैंचा कारखानामा तस्करहरू सञ्चालनमा आएपछि रेस्टुरेन्ट, स्पा सेन्टरलगायत ठाउँमा सरेर अहिले खाजाघरमा कारोबार गरिरहेका छन् ।
काठमाडौं बाहेक धरान, पोखरालगायत ठूला सहरका खाजाघरमा नाबालिग तस्करी हुने गरेको छ ।
‘खाजाघरहरु कम शंकास्पद देखिने हुँदा व्यवसाय चलाउनका लागि तस्करहरूले खाजाघरलाई उपयुक्त ठाँउ ठान्छन्, मानिसहरू बसेर खाजा खान र थोरै समय बिताउने ठाउँका रुपमा हेरिन्छ,’ गुरुङ भन्छिन्, ‘खाजाघरहरू हेर्दा पनि अति सामान्य र प्रायः टिनको मात्र बनेका हुन्छन्, कसैलाई पनि भित्र भइरहेको गैरकानूनी गतिविधिहरू शंका गर्न गाह्रो हुन्छ ।’
उद्धार गरिएका अधिकांश नाबालिगहरू अक्सर गम्भीर मानसिक अवस्थामा भेटिन्छन् । मानव ‘तीमध्ये अधिकांश मानसिक रूपमा विचलित, आघातग्रस्त र आफूलाई राम्रोसँग व्यक्त गर्न नसक्ने हुन्छन्’, बेचबिखन नियन्त्रण ब्युरो (एएचटीबी) का एसपी तथा प्रवक्ता गौतम मिश्र भन्छन्, ‘कसै-कसैलाई चुरोट, रक्सी र अन्य प्रकारका लागुऔषधको लत लागेको पनि पाइन्छ । सुरक्षित घरमा पठाएपछि पनि उनीहरू धुम्रपान गर्न चाहन्छन् ।’
एएचटीबीका अनुसार उद्धार गरिएका अधिकांश नाबालिग अति निम्न वर्गीय परिवारबाट आएका छन् । उनीहरु अभिभावकको झैंझगडा, पारपाचुके, बेवास्ता र बालविवाह लगायत कारणले यस्तो दलदलमा फस्न पुग्छन् ।
तस्करीको बसपार्क केन्द्रित नेक्सस
एएचटीबीका मिश्रले नाबालिगलाई खाजाघरसम्म पुर्याउन तस्करीहरुको ‘नेक्सस’ नै हुन्छ । उनीहरुले प्रायगरी बसपार्क क्षेत्रमा आफ्नो अड्डा जमाएका हुन्छन् । उनीहरुले बसपार्क वरिपरि भेटिएका विपन्न रुपमा सम्भावित पात्र भेटेमा सुरुमा कामको प्रलोभन देखाउन थाल्छन् ।
‘यदि जवाफमा हो आयो भने, उनीहरूले वेटर र क्लिनरको जागिर छ; मासिक १० देखि १२ हजारसम्म तलब पाइन्छ, छिट्टै तलब बढाउने वाचा पनि गर्छन्’, मिश्रले भने, ‘त्यसपछि उनीहरूलाई काममा राख्छन् र विस्तारै गलत छुवाइमा अग्रसर गराउँछन् ।’
मालिकसँग कसैले गुनासो राखेमा नाबालिगहरुलाई सामान्य रुपमा लिन भन्छन् । विस्तारै उनीहरूले नाबालिगहरूलाई थप पैसा कमाउने सपना देखाएर वेश्यावृत्तिको लागि प्रलोभनमा पार्ने गरेको मिश्रले बताए । ‘कतिपय मालिकहरूले ती नाबालिगहरूलाई उनीहरूले विभिन्न व्यक्तिहरूसँग बसेको फोटो र भिडियोहरू बाहिर ल्याउने धम्की पनि दिन्छन्’, उनले भने ।
खाजाघरका मालिकले नाबालिगलाई एकै दिनमा धेरैसँग यौनसम्बन्ध राख्न बाध्य पारेको पनि पाइएको छ ।
राइड सेयरिङ एपबाट ओसारपसार
एएचटीबीका अनुसार खाजाघरका मालिकहरूले यी नाबालिगहरूका लागि ग्राहकहरू मिलाउँछन् । उनीहरुले एक हजार रुपैयाँदेखि माथि नाबालिकको मूल्य तोक्छन् । प्रहरीका अनुसार उनीहरूले राइड-सेयरिङ एप प्रयोग गरेर नाबालिगहरूलाई ग्राहकको ठाउँमा पठाउने गरेको तथ्य पनि फेला परेको छ ।
नाबालिगहरूको बेचबिखनका घटनाहरू बढ्दै जाँदा एएचटीबीले केही रोकथामका कदमहरू पनि चाल्दै आएको छ । मिश्रका अनुसार ब्यूरोले विद्यालय र विभिन्न स्थानीय तहमा वडामा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
अडियो/भिडियो सचेतनामूलक सामग्री आफ्नो आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलमा पोस्ट गर्ने, ब्रोसर तथा पर्चा वितरण गर्ने र रोकथाम तथा उद्धारका लागि विभिन्न गैरसरकारी संस्था र आईएनजीओसँग सहकार्य गर्दै आएको छ ।
श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत सञ्चालित बालश्रम तथा पेशा सुरक्षा विभागका प्रमुख उदयकुमार गुप्ता पनि सरकारले नाबालक बेचबिखनका मुद्दालाई सम्बोधन गर्न खासै पहल नगरेको बताउँछन् ।
‘यस समस्यालाई सम्बोधन गर्न हामीले ठूला क्षेत्रहरूको अनुगमन गर्नु आवश्यक छ र त्यसका लागि हामीसँग स्रोतहरू सीमित छन् जसका कारण हामीले उल्लेख्य प्रयास गर्न सकेका छैनौं,’ गुप्ता भन्छन्, ‘यस सन्दर्भमा हामीले स्थानीय स्तरमा,सहकार्य गर्न थालेका छौं। स्थानीय समुदायको सहभागितामा मात्रै उल्लेखनीय प्रगति सम्भव छ ।’
नाबालिगको ओसारपसार रोक्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने र नियमित अनुगमन हुनुपर्ने आटविनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङ बताउँछिन् । ‘स्थानीय तहले पनि यस्ता घटनामा थप प्रयास गर्नुपर्छ, आफ्नो क्षेत्रको कडाइका साथ अनुगमन गर्नुपर्छ, स्रोत साधनको सदुपयोग गर्नुपर्छ,’ उनले भनिन् ।