क्यालिफोर्नियामा अमेरिकी वायुसेनाको बी–५२ बमवर्षक विमान दुर्घटना, ८ जनाको मृत्यु



प्रकाशित मिति : १ असार २०८३, सोमबार

क्यालिफोर्नियामा अमेरिकी वायुसेनाको बी–५२ बमवर्षक विमान दुर्घटना, ८ जनाको मृत्यु

Photo: Valentin Karisch/ Unsplash

अमेरिकाको क्यालिफोर्नियास्थित एड्वर्ड्स एअर भोस बेसबाट उडान भर्ने बित्तिकै वायुसेनाको एक बी–५२ बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका आठ सदस्यको मृत्यु भएको छ ।

एक नियमित परीक्षण उडानका क्रममा सोमबार स्थानीय समय अनुसार बिहान ११:२० बजे उक्त दुर्घटना भएको हो। विमान खस्ने बित्तिकै ठूलो आगलागी भएको र आकाशमा कैयौँ माइल टाढासम्म कालो धुवाँको मुस्लो देखिएको थियो ।

एड्वर्ड्स एअर फोर्स बेसका कर्नल जेम्स हेसले पत्रकार सम्मेलनमा भने, “आज बेसले एउटा ठूलो त्रासदीको सामना गरेको छ र हामीले आठ जना महान् अमेरिकी नागरिक गुमाएका छौँ।” उनका अनुसार मृतकहरूमा सेना, सरकारी नागरिक कर्मचारी र सरकारी ठेकेदारहरूको मिश्रित टोली रहेको थियो। प्रारम्भिक दृश्यावलोकन र फुटेजहरूको अध्ययनपछि यो दुर्घटना ‘अकल्पनीय’ र ‘कोही पनि जीवित रहन नसक्ने प्रकृतिको’ रहेको सैन्य अधिकारीहरूले बताएका छन् ।

विमानस्थल भित्रैको रनवेमा दुर्घटना भएको हुनाले यसबाट बाहिरी क्षेत्रमा कुनै क्षति नभएको र बेसले हालका लागि आफ्ना सम्पूर्ण उडानहरू स्थगित गरेको छ । यो विमान बेसको राडार आधुनिकीकरण कार्यक्रमको परीक्षणका लागि प्रयोग भइरहेको थियो। दुर्घटनाको स्पष्ट कारण अझै खुल्न सकेको छैन। यसको प्रारम्भिक छानबिनका लागि ३० दिन र विस्तृत अनुसन्धानका लागि छ महिनाभन्दा बढी समय लाग्न सक्ने कर्नल हेसले जानकारी दिएका छन् ।

सन् १९५० को दशकदेखि अमेरिकी सेनाले प्रयोग गर्दै आएको यो बोइङ बी–५२ ‘स्ट्राटोफोर्ट्रेस’ विमानलाई यसको विशाल आकारका कारण ‘द बफ’  उपनामले पनि चिनिन्छ । यो विमान ७० हजार पाउन्डसम्मको बम र ३२ वटा आणविक क्रुज क्षेप्यास्त्र बोक्न सक्षम छ ।

क्यालिफोर्नियामा अमेरिकी वायुसेनाको बी–५२ बमवर्षक विमान दुर्घटना, ८ जनाको मृत्यु





Source link

Leave a Comment