प्रकाशित मिति : २७ असार २०८३, शनिबार

Photo: Brad Switzer/ Unsplash
अमेरिकाको डेट्रोइट र क्यानडाको ओन्टारियोलाई जोड्ने ४.७ बिलियन डलरको नयाँ पुल आगामी जुलाई २७ देखि सञ्चालनमा आउने भएको छ। सडक दस्तुर राजस्वको विषयमा अमेरिका र क्यानडा सरकारबीच सहमति जुटेपछि यो बाटो खुलेको हो। क्यानडा सरकारले शुक्रबार ढिलो गरी यसको पुष्टि गरेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वित्तीय चिन्ताहरू देखाउँदै यो पुल निर्माण र सञ्चालन प्रक्रिया रोक्ने चेतावनी दिएका थिए। यसकारण जुन महिनामै उद्घाटन हुनुपर्ने प्रसिद्ध आइस हक्की खेलाडी गर्डि हावेको नाममा नामाकरण गरिएको यो अन्तर्राष्ट्रिय पुलको उद्घाटन पछि सरेको थियो।
शनिबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै राष्ट्रपति ट्रम्पले भनेका छन्, पहिलेको सम्झौता मलाई स्वीकार्य थिएन। अहिले भएको नयाँ सम्झौता उत्कृष्ट र न्यायसंगत छ, जसले अमेरिकाको हित सुरक्षित गरेको छ।
स्रोतका अनुसार नयाँ सम्झौता अनुसार अब अमेरिकाले टोल राजस्वको ५० प्रतिशत हिस्सा पाउनेछ। साथै, हाल कायम रहेको टोल दरमा १० प्रतिशतभन्दा बढी शुल्क वृद्धि गर्नुपरेमा अमेरिकालाई अस्वीकार गर्ने अधिकार प्रयोग गर्ने अधिकार समेत दिइएको छ।
क्यानडा सरकारले पनि अमेरिकासँग टोल व्यवस्थापनमा पारदर्शीता र सहकार्यका लागि १५ वर्षे आर्थिक विकास कोष स्थापना गर्ने लगायतका विभिन्न बुँदाहरूमा सहमति भएको जनाएको छ। पुल सञ्चालनबाट हुने नाफाको एक हिस्सा यसै कोषमा जम्मा गरिनेछ।