प्रकाशित मिति : चैत्र ११, २०८१ सोमबार
अमेरिकाको शिक्षा मन्त्री लिंडा म्याकमोनले कोलम्बिया विश्वविद्यालयलाई रोकिएको संघीय अनुदान दिइने संभावना बढेको बताएकी छिन ।
विश्वविद्यालयले ट्रम्प प्रशासनले माग गरेको नीति परिवर्तनहरू लागू गरेपछि संघीय अनुदान पुनः प्राप्त गर्ने दिशामा अघि बढिरहेको उनले बताएकी हुन ।
म्याकमोनले कोलम्बियाको अन्तरिम अध्यक्ष क्याट्रिना आर्मस्ट्रङ्गसँग फलदायी संवाद भएको बताइन ।
क्याम्पसमा रहेका विद्यार्थीहरू सुरक्षित रहून र कुनै प्रकारको भेदभाव नहोस् भन्ने कुरा सुनिश्चित गर्न ट्रम्पले चाहेको शिक्षा मन्त्रीको दावी छ ।
आफुले क्याम्पसमा पहिचान गरिएका कुनै पनि प्रणालीगत समस्याहरूलाई सम्बोधन गर्न चाहेको उनले बताइन ।
आर्मस्ट्रङ्गले विश्वविद्यालयले आफ्ना मध्य पूर्व अध्ययन विभागलाई नयाँ निगरानीमा राख्ने घोषणा गरे ।
विरोध प्रदर्शन र विद्यार्थी अनुशासनका नियमहरूलाई पुनः समीक्षा गर्ने उनको भनाई छ । बौद्धिक विविधता बढाउनका लागि इजरायल र यहूदी अध्ययन संस्थानमा कर्मचारी संख्या बढाउने बताएको छ ।
ट्रम्प प्रशासनले गाजा क्षेत्रमा इजरायलको सैन्य अभियानको विरोधमा भएको प्रदर्शनको व्यवस्थापन गर्न नसकेको भन्दै कोलम्बिया विश्वविद्यालयसँगको ४०० मिलियन डलरको अनुसन्धान अनुदान र अन्य वित्तीय सहायता रोकेका थिए ।
यी अनुदानहरू पुनः उपलब्ध गराउन र भविष्यका अनुदानहरू कायम राख्नका लागि संघीय अधिकारीहरूले विश्वविद्यालयका शैक्षिक र सुरक्षा नीतिहरूमा नौ फरक फरक परिवर्तनको माग गरेका थिए।
मार्च ८ मा संघीय आप्रवासन अधिकारीहरूले महमूद खलीललाई पक्राउ गरेका थिए । उनले गत वर्ष प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूको प्रवक्ता र वार्ताकारको रूपमा काम गरेका थिए ।
खलील अमेरिकी नागरिक हुन । आफ्नो पक्राउ र सम्भावित निर्वासनको विरोधमा अदालतमा खलीलले चुनौती दिइरहेका छन् ।