काठमाडौं। प्यालेस्टाइनको गाजा क्षेत्रलाई नियन्त्रणमा लिने र त्यहाँका जनतालाई स्थानान्तरण गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना पुरा हुने देखिएको छैन । किनकि ट्रम्पको यस्तो खालको कुनै पनि योजना सफल हुनका लागि अरब देशहरूको सहयोग आवश्यक पर्दछ । तर, अरब देशहरुले उक्त योजनालाई सिधा रुपमा खारेज गरिदिएका छन् ।
ट्रम्पको सो योजनालाई खारेज गर्ने अरब देशहरूमा जोर्डन र इजिप्टसमेत रहेका छन्। ट्रम्प चाहन्छन् कि यी दुई देशले गाजा क्षेत्रका बासिन्दाहरुलाई आफ्नो देशमा लगुन् र त्यसबापतको खर्च साउदी अरबले गरोस् । तथापि साउदी अरबसमेत यस्तो योजनामा सहमत छैन। अर्कोतर्फ अमेरिका र इजरायलका सहयोगी रहेका पश्चिमा राष्ट्रहरू पनि यो विचारको विरुद्धमा छन् ।
यद्यपि गाँजाको अवस्था यस्तो छ कि त्यहाँबाट बाहिर निस्कने मौका यदि प्राप्त भयो भने ठूलो संख्याका गाजाबासीहरुले पुनर्वास हुने विकल्प रोज्न सक्छन् । तथापि गाँजाबाट १० लाख जति मानिसहरू बाहिर निस्किए भनेपनि अझै त्यहाँ १२ लाख मानिसहरु बाँकी रहनेछन् ।
अनि ट्रम्पको गाजा कब्जा गर्ने योजनालाई पूरा गर्नको निम्ति अमेरिकाले ती १२ लाख मानिसहरुलाई जबरजस्ती रुपमा गाजाबाट हटाउनुपर्नेछ। यदि त्यसो गरेमा सन् २००३ को इराक माथिको हस्तक्षेप पछि उक्त कदम अमेरिकाको निम्ति सबैभन्दा अलोकप्रिय कदम हुनेछ ।
ट्रम्पको योजनामा किन उठ्यो प्रश्न ?
गाजा क्षेत्रमाथि नियन्त्रण गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो योजनाले इजरायल र प्यालेस्टाइन बीचको दुई राष्ट्र समाधान योजनाको आशाको पनि अन्त्य गरिदिनेछ । ‘दुई राष्ट्र विकल्पको उद्देश्य भनेको इजरायलसँगै एक स्वतन्त्र प्यालेस्टाइन राज्य पनि स्थापना गर्नु हो ।
यसको उद्देश्य भनेको दशकौँ देखि मध्यपूर्वमा चलिरहेको रक्तपात पूर्ण संघर्ष को अन्त्य गर्नु हो । तर, इजरायलको नेतन्याहु सरकारले स्वतन्त्र प्यालेस्टाइन देशको अस्तित्व स्वीकार गर्ने उक्त ‘दुई राष्ट्र समाधानको योजनाको विरोध गर्दै आएको छ।
वर्षौँको विफल शान्ति वार्ताका क्रममा उक्त ‘दुई राष्ट्र समाधान केवल एउटा खोक्रो’ नारा मात्रै बनिरहेको छ । तर, सन् १९९० को दशकको सुरुवातदेखि नै उक्त विकल्प अमेरिकी विदेश नीतिको केन्द्रीय मुद्दाको रुपमा रहेको छ । जुन अहिलेको ट्रम्पको अभिव्यक्तिको ठीक विपरीत छ ।
वास्तवमा ट्रम्पको योजना अन्तर्राष्ट्रिय कानुनको पनि बर्खिलापमा रहेको छ । अमेरिकाको दाबी के छ भने उसले सदैव अन्तर्राष्ट्रिय कानूनी शासन व्यवस्थामा विश्वास गर्छ । यस्तोमा ट्रम्पको योजना अमेरिकाको सो मान्यताको विरुद्धमा हुनेछ। साथै यसले युक्रेनमा रूसको तथा ताइवानमा चीनको क्षेत्रीय महत्वकांक्षालाई पनि बल पुग्नेछ।
मध्यपूर्वका लागि ट्रम्पको योजनाको अर्थ के हुन्छ ?
यहाँनेर प्रश्न उठ्छ कि यदि गाजा क्षेत्रमा अमेरिकी स्वामित्व रहने कुरा यथार्थमा परिणत हुन सम्भव नै छैन भने यसका बारेमा किन चिन्ता गर्ने ? तर वास्तविकता के हो भने ट्रम्पका टिप्पणीहरु चाहे जतिसुकै विचित्र खालका तथा अपत्यारिला किन नहुन् त्यसको केही न केही नतिजा त अवश्य पनि हुनेछ। किनभने ट्रम्प अमेरिकाका राष्ट्रपति हुन्।
उनी विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति हुन् । त्यसकारण ट्रम्पको उक्त आश्चर्यजनक घोषणाले गाजामा भइरहेको एउटा कमजोर युद्धविरामलाई झनै कमजोर बनाइदिन सक्छ। विश्लेषकहरूका अनुसार ट्रम्पको उक्त घोषणा गाजामा जारी युद्धविरामका लागि मृत्युको घण्टी बन्न सक्छ।

उसो त गाजामा भविष्यको शासन कस्तो हुनेछ भन्ने विषयमा युद्धविराम सम्झौता मौन छ। किनकी दुवै पक्षबीच यस विषयमा कुनै सहमति जुटेको छैन। अहिले आएर ट्रम्पले यस मुद्दामा एउटा समाधान सुझाएका छन् । भलै ट्रम्पको उक्त गाजा योजना पुरा नहोला, तर प्यालेस्टानी र इजराइलीहरूको दिमागमा अब एउटा नयाँ विचारले डेरा जमाउनेछ ।
इजरायलका यहुदी चरमपन्थीहरूको मनको कुरा
गाजा सम्बन्धी ट्रम्पको योजनाले अति राष्ट्रवादी यहुदी चरमपन्थीहरूको सपनालाई जगाउने काम गरेको छ। अति राष्ट्रवादी तथा चरमपन्थी इजरायली यहुदीहरु भूमध्य सागर तथा जोर्डन नदी र त्यसभन्दा पनि अगाडिसम्मैको सबै भूमि यहुदीहरूको हो भन्ने दाबी गर्छन् । अति राष्ट्रवादी यहुदी चरमपन्थीहरूका नेता नेतन्याहुको सरकारको हिस्साको रुपमा रहेको छ र उनलाई सत्तामा टिकाइ राख्नमा अहम भूमिका खेलिरहेको छ। अनि यी सबै मानिसहरु ट्रम्पको उक्त विचारबाट खुसी छन्।
ट्रम्पको उक्त आश्चर्यजनक घोषणाले गाजामा भइरहेको एउटा कमजोर युद्धविरामलाई झनै कमजोर बनाइदिन सक्छ। विश्लेषकहरूका अनुसार ट्रम्पको उक्त घोषणा गाजामा जारी युद्धविरामका लागि मृत्युको घण्टी बन्न सक्छ।
उनीहरू चाहन्छन् कि गाजाको युद्ध फेरि सुरु होस् ताकि त्यहाँबाट प्यालेस्टाइनीहरुलाई हटाएर त्यहाँ यहुदीहरुलाई बसाउन सकियोस् । इजरायलका अर्थमन्त्रीसले भनेका छन् ‘ट्रम्पले ७ अक्टोबरको आक्रमण पश्चात् गाजाको भविष्यको सही समाधान खोजेका छन् ।’ उनको वक्तव्यमा भनिएको छ ,’जसले हाम्रो जमिनमा सबैभन्दा भयानक नरसंहार गर्यो उसले सदाका लागि आफ्नो भूमि छाड्नुपर्नेछ। अन्ततः भगवानको सहयोगबाट अब हामीले एउटा स्वतन्त्र प्यालेस्टाइन देशको खतरनाक विचारलाई अन्त्य गर्नेछौँ।’
इजरायलका विपक्षी नेताहरूले पनि ट्रम्पको योजनाको स्वागत गरेका छन्। किनकि सायद उनीहरुलाई आफ्नो भविष्यको डरले पनि सताइरहेको छ। यस्तो पनि हुन सक्छ कि हमास र अन्य पालेस्टाइनी सशस्त्र समूहहरुले ट्रम्पलाई जवाफ दिनका लागि बल प्रयोग गर्नुपर्ने ठान्न सक्छन् ।
प्यालेस्टाइनीहरूका लागि इजरायलसँगको द्वन्द उनीहरूको आफ्नो मातृभूमिबाट भएको विस्थापनको परिणाम हो। त्यसलाई उनीहरुले अल नकबा अर्थात् ध्वंस नामाकारण गरेका छन् । यो एउटा यस्तो विस्थापन थियो जुन सन् १९४८ मा इजरायल राज्यको स्थापना पश्चात सुरु भएको थियो ।
त्यसबेला ७ लाखभन्दा धेरै पालेस्टाइनीहरू आफै वा इजरायली सेनाको बल प्रयोगबाट भाग्न बाध्य भएका थिए। केही सीमित प्यालेस्टाइनीहरूका अलावा बाँकी सबैलाई कहिल्यै पनि आफ्नो भूमिमा फिर्ता आउने अनुमति दिइएन। त्यसपछि इजरायलले एउटा यस्तो कानुन पारित गर्यो जसको प्रयोग उसले अहिले पनि प्यालेस्टाइनीहरूको सम्पत्ति जफत गर्नका लागि गर्दछ।
इजरायलको यस्तो कार्य पुनः दोहोरिन सक्छ भन्ने त्रास प्यालेस्टाइनीहरुमा रहेको छ । कतिपय प्यालेस्टाइनीहरूलाई पहिलेदेखि नै लागिरहेको थियो कि इजरायलले गाजालाई ध्वस्त गर्न र त्यहाँका बासिन्दालाई बाहिर निकाल्नका निम्ति हमास विरुद्धको युद्धको प्रयोग गरिरहेको छ । त्यसका लागि प्यालेस्टाइनीहरुले इजरायलमाथि नरसंहारको आरोप लगाइरहेका छन् । अहिले उनीहरूले के ठानेका छन् भने इजरायलको उक्त योजनालाई ट्रम्पले समर्थन गरिरहेका छन् ।
ट्रम्पले किन अघि सारे यस्तो योजना ?
हुन त ट्रम्पले भनिहाले भन्दैमा कुनै कुरा सत्य वा निश्चित भइहाल्दैन। उनका अभिव्यक्तिहरु प्रायः अमेरिकाको निर्दिष्ट नीतिमा आधारित भन्दापनि कुनै रियल स्टेट एजेन्टको दाउपेज जस्तै प्रतित हुन्छन् । सायद ट्रम्पले कुनै अन्य योजनामा काम गरिरहेका छन् र यहाँ केवल भ्रम फैलाइरहेका पनि हुन सक्छन् । के पनि भनिएको छ भने ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि इच्छुक छन्। अहिलेसम्म मध्यपूर्वमा शान्तिको पहललाई बढावा दिने व्यक्तिहरुलाई नोबेल पुरस्कार प्राप्त भइरहेको यथार्थ छ।
त्यसैले जब संसारले गाजाका विषयमा ट्रम्पले गरेको नयाँ घोषणा बुझ्ने प्रयास गरिरहेको थियो, त्यहीबेला ट्रम्पले भने आफ्नो ट्रुथ सोसल प्लाटफर्मबाट इरानसँग प्रमाणित शान्ति सम्झौता गर्न चाहेको भनेर पोस्ट गर्दै थिए ।
स्मरण रहोस् आफूले परमाणु हतियार बनाउन चाहेको कुरा इरानले सधैँ अस्वीकार गर्दै आएको छ। तर,पछिल्लो समयमा इरानीहरुमा के कुराको खुल्ला बहस चलिरहेको छ भने पछिल्लो समयमा बढिरहेको भूराजनीतिक खतराका कारण परमाणु हतियार निर्माण गर्न आवश्यक भइसकेको त होइन ?
अमेरिकाले इजरायलको सहयोगमा इरानका परमाणु अड्डाहरुलाई नष्ट गरिदियोस् भन्ने चाहना इजरायली प्रधानमन्त्री नेतन्याहुले वर्षौँदेखि व्यक्त गर्दै आएका छन् । इरानसँग परमाणु कार्यक्रम वा अन्य कुनै विषयमा सम्झौता गर्ने कुरा कहिल्यैपनि उनको योजनाको हिस्सा बनेन ।
ट्रम्पको पहिलो कार्यकालमा त नेतन्याहुले अमेरिकालाई इरानसँग भएको बहुपक्षीय परमाणु कार्यक्रम सम्बन्धी सम्झौताबाटै बाहिर निकाल्न सफल भएका थिए । इरानको परमाणु कार्यक्रमका बारेको उक्त बहुराष्ट्रिय सहमति बाराक ओबामाको शासनकालमा भएको थियो ।
अहिले यदि गाजाका विषयमा निकै संवेदनशील तथा अन्तराष्ट्रिय मान्यता विपरीतको योजना अघि सारेर घोर दक्षिणपन्थीहरुलाई खुसी पार्नु ट्रम्पको योजना हो भने उनी त्यसमा सफल रहेका छन्। तर, उनले विश्वको सबैभन्दा अशान्त क्षेत्रमध्यको एक रहेको गाजा क्षेत्रमा थप अनिश्चितता र अस्थिरतालाई मलजल गरेका छन्। बीबीसी हिन्दीबाट