काठमाडौं उपत्यकामा उकालो चढ्दै गरेका रूखरेखा

काठमाडौं उपत्यकामा उकालो चढ्दै गरेका रूखरेखा


काठमाडौं उपत्यकाको भूबनोट अनुपम छ। एउटा आधुनिक मेगासिटी बन्न सक्ने क्षेत्रफल ओगटेको समतल भूमि हो यो। उर्वरशील माटो, वरिपरिका हरिया डाँडा र शीतल मौसम यसका विशेषता हुन्। सम्भवतः यस्तो सुन्दर प्राकृतिक स्थल विश्वमा अन्यत्र कतै छैन कि ! स्वर्गको टुक्रा जस्तै लाग्ने यो भूगोलमा बस्ने अहिलेका काठमाडौंवासी कति भाग्यमानी ! तर, हाम्रा भावी सन्ततिले यस्तै सुन्दर परिवेशको उपभोग गर्न पाउलान् त ?

अग्लो भवनको छतबाट हेर्दा काठमाडौं एउटा विशाल रङ्गशाला जस्तो लाग्छ। कचौरा जस्तो देखिने यो उपत्यका मानौं प्रकृतिको हरित रङ्गशाला हो। चन्द्रागिरिको डाँडाबाट होस् या कीर्तिपुरको थुम्कोबाट, दिनमा काठमाडौं खाल्डोतिर दृष्टि लगाउँदा यहाँका भवनहरूले बुकी फुलेको आभास दिन्छन्। गुडिरहेका गाडी र हिंडिरहेका मानिसले ओलम्पिक खेलको उद्घाटन समारोहमा रङ्गशालाभित्र प्रदर्शन गर्दै गरेका खेलाडीको अनुभूति दिन्छन्। साँझमा बोसन गाउँको ब्लु माउन्टेन रिसोर्टबाट होस् या शिवपुरीबाट, तल भ्यालीमा देखिने बिजुली बत्तीहरू चम्किला तारापुञ्ज जस्तै लाग्छन्। खुल्ला रातमा आकाशमाथि जूनतारा त देखिने नै भए। एउटा आकाश पैतालामा, अर्को आकाश शिरमा छन् जस्तो लाग्छ।

धरहराबाट ३६० डिग्री घुमेर हेर्ने हो भने वरिपरि अग्ला हरिया डाँडा उभिइराखेका देखिन्छन्। यिनीहरू सामुद्रिक सतहबाट १००० देखि २७०० मिटरसम्म अग्लिएका छन्। ती डाँडाका भेगमा स्पष्ट तेर्सा रेखा देख्न सकिन्छ। तिनीहरू वन र मानव बस्तीबीच स्वतः कोरिएका धर्का हुन्। तिनलाई प्रकृति र आवादी बीचको सीमारेखा भन्दा पनि हुन्छ। वैज्ञानिक भाष्यमा यसलाई वृक्षरेखा अथवा रूखरेखा (ट्रीलाइन) भनिन्छ।

अहिले यी रूखरेखा उकालो चढ्दै गरेको अवस्था छ। सर्वसाधारणको दृष्टिमा रूखरेखाको आरोहण मन्द लाग्ला। तर, संरक्षणकर्मी र क्रमविकासवादी (इभोल्युसनिष्ट) को नजरमा ती रूखरेखा तीव्र गतिमा उँभो भाग्दै छन्। मानौं, प्रकृतिका सैनिकरूपी रूखहरू डाँडाको टुप्पोतिर विथड्रल हुँदैछन् । यसले मानवसँगको युद्धमा प्रकृति हार्दै गरेको चिन्ता सिर्जित गरिदिएको छ। जब यो पहाडी भेगबाट वनस्पति विलुप्त हुनेछन् तब शत्रुरूपी मानवले एकपछि अर्को समस्या झेल्नुपर्नेछ। आणविक बमले हिरोसिमा र नागासाकी ध्वस्त पारे सरी विभिन्न किसिमका प्राकृतिक प्रकोप यहाँका बस्तीउपर बर्सिने छन्।

यसरी जटिल पर्यावरणीय परिस्थिति सिर्जना होला भनी अनुमान लगाएपछि यसका कारण र रोकथामका उपायबारे अहिले नै गहन रूपमा विमर्श गरिन जरूरी छ। त्यसकारण काठमाडौं उपत्यकामा रूखरेखाको प्रत्यागमन र फलस्वरूप वनजङ्गल विनाशतिर धकेलिनुका कारण, जलवायु परिवर्तनको दृष्टिकोणबाट यसको महत्व र संरक्षणका उपाय विषयमा यो लेख केन्द्रित रहनेछ।

रूखरेखा माथि सर्नुका कारण

उच्च पहाडी भेगमा रूखरेखा त्यहाँको उचाइ, अक्षांश र तापमानमा निर्भर गर्छ। रूखरेखाभन्दा माथि चिसो, प्रकाश र खनिज पदार्थको न्यूनताले रूखहरू उम्रन सक्दैनन्। त्यो रेखादेखि माथि बुट्यान या घाँसे मैदान हुन्छन्। जलवायु परिवर्तनसँगै उच्च हिमाली क्षेत्रको तापक्रम बढ्दो छ। यही नै त्यहाँको रूखरेखा स्थानान्तरणको कारक मानिन्छ।

तर, काठमाडौं उपत्यकाको सन्दर्भमा, यहाँका डाँडामा देखिने रूखरेखा माथितिर स्थानान्तरण हुनुको कारक तत्व अर्कै छ। त्यो हो, मानवीय अतिक्रमण। सूर्यलाई चन्द्रग्रहणले खाएजस्तो वनक्षेत्रलाई खर्लप्पै खाने गरी तलबाट बस्तीहरू फैलिंदै गएका छन्। यो क्रम निरन्तर रहे निकट भविष्यमा अहिलेका हरिया डाँडा खैरा भइसक्ने छन्। हाम्रो राजधानीको सुन्दर स्वरूप फेरिएर नीरस हुन बेर छैन।

यहाँका रूखरेखालाई माथितिर धकेल्ने गतिविधि कतै कानुनी त कतै गैरकानुनी तरिकाले भइरहेका छन्। बस्ती विस्तार र विकासका संरचना निर्माण जस्ता कार्यले यसलाई बढावा दिएको छ। वनभित्र मन्दिर, गुम्बा, पार्क, पिकनिक स्पट जस्ता सार्वजनिक स्थल निर्माण गरिएको पाइन्छ। एउटा गाउँलाई अर्को गाउँ र शहरसँग जोड्न वनलाई मासेर सडक खनिएका छन्।

स्थानीयहरूले नै आफ्नो घर र जग्गाको मूल्य बढाउन सामुदायिक वनको रूख काटेर बाटो लगेको घटना सुन्नमा आउँछ। हरियो वनको पेट र छाती चिरेर केवलकार तन्काइएको छ। डाँडाका टाकुरामा भ्युटावर ठड्याइएका छन्। यस्ता गतिविधि मिचाहा प्रजातिका वनमारा जस्ता हुन्। यिनीहरू लप्सी, पैंयु, उत्तिस, बकाइनो, खरी, चाँप, लाँकुरी, सल्ला, कटुस जस्ता रैथाने रूखलाई सखाप पार्ने माइकेनिया मिकारान्था हुन्।

पर्यावरणीय संवेदनशील क्षेत्रमा परियोजना ल्याउँदा सर्वप्रथम वातावरण प्रभाव मूल्याङ्न गरिन आवश्यक हुन्छ। यो कानुनी प्रावधान पनि हो। तर, सञ्चालित यस्ता परियोजनाको मूल्याङ्कन पूर्ण रूपमा गरिएको पाइँदैन। गरिएको भए वातावरण विनाश हुने गरेर माथि उल्लेख गरिएका संरचना निर्माण हुने नै थिएनन्।

अनधिकृत रूपमा डाँडाका भेगमा जग्गा प्लटिङ गरिएको पाइन्छ। आधिकारिक मापदण्ड पूरा गरेर घडेरी किनबेच भए तापनि रूखरेखा नजिकका पर्ती जमिन हडपेको थुप्रै ठाउँमा देख्न सकिन्छ। जसरी देशको अन्य क्षेत्रमा माफियाको जालो फैलिएको छ, जग्गा बिक्री–वितरणमा पनि भूमाफियाको बिगबिगी छ। जग्गाको मूल्य सुनको भाउभन्दा पनि बढी दरमा वृद्धि भइरहेको छ।

भूमाफियासित अवैध रूपमा कमाएको पैसा जति पनि छ। उनीहरूले वन उपभोक्ता समिति, मालपोत, स्थानीय निकायका व्यक्तिहरूलाई हातमा लिएर चलनचल्ती भन्दा दोब्बर–तेब्बर मूल्यमा जग्गा हड्पिरहेका हुनसक्छन्।

काठमाडौं उपत्यकालाई एक विशेष क्षेत्र घोषणा गरेर बाहिरबाट हुने बसाइँसराइलाई नियन्त्रण गरिनुपर्छ। यसले अहिले हुँदै गरेको तीव्र शहरीकरणमा अङ्कुश लगाउँछ। नत्र त अबको बीस तीस वर्षमा यो पूर्ण कङ्क्रिट जङ्गलमा परिणत भएर बस्न लायकको शहर रहने छैन

कैयौं सामुदायिक वन व्यवस्थापन प्रभावकारी ढङ्गले सञ्चालन हुनसकिरहेका छैनन्। केही हेक्टर क्षेत्रफल ओगटेको वनजङ्गलका लागि पनि सामुदायिक वन उपभोक्ता समिति गठन गरिएको पाइन्छ। यस्ता कति समितिहरू जनशक्ति र बजेटको अभावले सक्रिय हुन नसकेको अवस्था छ। कति समितिहरू वर्षौंसम्म नवीकरण हुन नसकेर निष्क्रिय छन्।

भूमाफियाले यस्ता निष्क्रिय समितिका वन क्षेत्रमा सजिलै आँखा लगाउन पाउँछन्। समिति सदस्य, स्थानीय जनता, वन विभाग कर्मचारी जति नै निष्ठावान् भएर वन संरक्षणमा लागे पनि भ्रष्टाचारीको फन्दामा पर्ने प्रबल सम्भावना रहिरहन्छ। भूमाफियाको धनको प्रलोभनमा सजिलै फस्न सक्छन्। अस्थिर सरकार र भ्रष्ट राजनीतिक गतिविधिले यसलाई झनै टेवा मिलेको छ। जसको कारण वनजङ्गल फडानीमा परेर रूखरेखा माथितिर धकेलिंदै गरेको अवस्था छ।

तर, यसको मतलब यो हैन कि बाहिरी जिल्लामा सामुदायिक वनको मोडेलले काम गरेकै छैन। गाउँघरमा यसले उदाहरणीय रूपमै वनजङ्गल संरक्षणमा भूमिका खेलेको छ। काठमाडौंमा जस्तो त्यतातिर विकास निर्माणका काम त्यति धेरै हुँदैनन्, जग्जा खरिदबिक्री हुँदैनन्, भूमाफियाको दबाब आउँदैन। उताको मूल समस्या इन्धनका लागि वनबाट दाउरा चोरी हुनु हो। तर, अहिले बिजुली र ग्यास सुलभ रूपमा उपलब्ध हुनाले यो समस्या त्यति धेरै छैन भने पनि हुन्छ। त्यसैले गाउँघरतिर वनजङ्गलको संरक्षण सन्तोषजनक देखिन्छ।

तर, विडम्बना काठमाडौं जस्तो शहरी क्षेत्रमा तीव्र रूपमा वन विनाश भइरहेको छ। यसको एउटा अर्को प्रमुख कारण बसाइँसराइ पनि हो। बसाइँसराइले जनसङ्ख्या वृद्धि गराउँछ। यसैको कारणले काठमाडौंको जनसङ्ख्या बढ्दो क्रममा छ। यसले आवासीय जग्गाको माग बढाएको छ।

समथर स्थानमा घडेरी छँदै छैनन् भने पनि हुन्छ। उब्रेका जग्गा भनेको वनका पाखाहरू हुन्। तिनीहरूलाई हडपेर हुन्छ कि किनेर आफ्नो स्वामित्वमा ल्याउन मानिसहरू लागिपरेका छन्। मानवीय अतिक्रमणको दर जनसङ्ख्या वृद्धि दरमा पनि निर्भर गर्छ। यसले काठमाडौंमा रूखरेखा माथि सर्नमा एक उत्प्रेरकको काम गरेको छ ।

रूखरेखा र वनजङ्गलको महत्व

जलवायु परिवर्तनबारे धेरै वैज्ञानिक अध्ययन भइसकेका छन्। अहिले आएर जलवायु परिवर्तनसँग जुध्न वनजङ्गलले खेल्न सक्ने भूमिकालाई बुझ्न त्यति गाह्रो छैन। वनजङ्गलले प्रदूषण र बाढीपहिरोलाई कम गर्छ। मान्छे, वन्यजन्तु र कृषिलाई जलवायु परिवर्तनसँग अनुकूलन हुन सहयोग गर्छ।

काठमाडौं उपत्यकाको ३६.९४ प्रतिशत भूभागमा वन क्षेत्र रहेको सरकारी आँकडा छ। विज्ञहरूका अनुसार एउटा वयस्क रूखले वर्षमा २० किलोभन्दा बढी कार्बन सोस्न सक्छ। वनजङ्गल भएको जमिनमा प्रतिहेक्टर ४०० टनभन्दा बढी कार्बन सिञ्चित भएर बसेको हुन्छ।

रूखहरू वायुमण्डलीय कार्बनलाई सोसेर आफूमा सयौं वर्षसम्म भण्डारण गरेर राख्न सक्ने मेसिन हुन्। मान्छेलाई बाँच्न चाहिने प्राणवायु अक्सिजन प्रवाह निरन्तर गरिराखेका हुन्छन्। रूखहरू यस्तो कार्य प्रकाश संश्लेषणको माध्यमबाट गर्छन्। यसो भनौं, मान्छेका लागि रूख–बिरुवा जलवायु परिवर्तनसँग जुध्नसक्ने बलिया हतियार हुन्।

अहिले विश्व नै जलवायु आपतकालबाट गुज्रिंदै गरेको हामी सबैलाई विदितै छ। यसले हाम्रो पृथ्वीलाई खतरामा पारेको छ। वैज्ञानिकहरूले पृथ्वीको तापक्रम १.५ डिग्रीभन्दा बढ्नुहुँदैन भनेर चेतावनी दिइसकेका छन्। सन् २०२३ को एउटा तथ्याङ्कका अनुसार १.० डिग्रीले त नाघिसक्यो। २१औं शताब्दीको अन्त्यसम्म ३ देखि ४ डिग्रीले विश्वको तापक्रम बढ्न सक्ने बाटोमा छौं। यो त वैश्विक औसत तापक्रम मात्र हो। उत्तरी र दक्षिणी ध्रुव अनि ठूला शहरबजारहरूमा त तापक्रम वृद्धि सम्भवत: यसको दोब्बर हुनसक्छ।

तर, काठमाडौं उपत्यकाको तापमान बस्नै नसकिने तरिकाले वृद्धि नहोला। भाग्यवश, काठमाडौं वरिपरिका डाँडाहरूलाई हरिया रूखहरूले ढपक्कै ढाकेका छन्, विश्व सुन्दरीको शिरको ताज जस्तै। यो दृश्य देख्दा आँखाहरूलाई कति सुन्दर लाग्छ, र यो मनमा आनन्द पनि उत्तिकै छाउँछ। एकैछिन कल्पना गरौं, हरिया रूख हुने थिएनन् भने काठमाडौं कति कुरुप देखिन्थ्यो ! उराठलाग्दो पठार जस्तो। तालुचिण्डे पुरुष जस्तो। अफगानिस्तानको राजधानी काबुल जस्तो खैरो। यी हरित डाँडाकाँडा काठमाडौंका फोक्सा हुन्। शीतलता र स्वच्छ अक्सिजन प्रदान गर्छन्। गर्मी याममा २ देखि ८ डिग्री सेल्सियसले शीतलता थपिदिन सक्छन्।

राणाकालीन समयमा यहाँका बस्तीहरू भर्खरै विस्तार हुँदैथिए। त्यतिबेला पहाडका फेदसम्मै वनजङ्गल फैलिएका हुँदा हुन्। अर्थात्, रूखरेखा तल झरेर खेतका समथर मैदानसम्मै आएका हुँदा हुन्। अहिले त लाग्छ, रूखलाई घरले लखेट्दै छन्। खेदेर डाँडाको आधा भेगतिर पुर्‍याइसके। कति स्थानमा त डाँडाको थाप्लामा पुर्‍याइसके, जहाँ मान्छेको कपाल जस्तै पातला रूखहरू देख्न सकिन्छ। र, अझ कतै त वनजङ्गल विनाश गरेर डाँडै कटाइसकेको पनि पाइन्छ। थानकोटबाट उत्तरमा देखिने डाँडाको गति यस्तै छ।

हिमाली क्षेत्रमा रूखरेखा वरपर भेडाच्याङ्ग्रा चराएर स्थानीय जीवन निर्वाह गर्छन्। तर, रूखरेखा माथितिर सरेर चरन क्षेत्र घट्दै जाँदा स्थानीयवासी नराम्ररी प्रभावित हुँदैछन्। काठमाडौंका डाँडामा रूखरेखा माथि सर्‍यो भने अहिले विद्यमान जैविक विविधता नराम्ररी प्रभावित हुनेछ। काठमाडौंवासी अन्यत्र भन्दा समृद्ध भएकाले वन पैदावारमा निर्भर छैनन्।

रूखरेखा माथि सर्दै गएर वनविनाश भएमा स्थानीयवासी यसरी प्रभावित बन्दैनन्। तर, वनजङ्गलमा पैदलयात्रामा निस्केर मनोरञ्जन लिनेहरूलाई भने असर पर्न सक्छ। वनस्पतिले प्रदान गर्ने पारिस्थितिकीय सेवा (इकोसिस्टम सर्भिसेज) मा कमी आउनेछ। समग्रमा काठमाडौंको सुन्दरता हराउनेछ।

रूख, बुट्यान र झारले वर्षात्‌को पानीलाई स्पञ्जले झैं सोसेर राख्छन्। पानीको मात्रा कति पात र हाँगातिरै अड्किन्छ त कति जरा भएर जमिनभित्र पस्छ। अध्ययनका अनुसार ३० प्रतिशत यसरी अड्किएको पानी जमिनमा पुग्न नपाउँदै वाष्पीकरण भएर वायुमण्डलमा फर्किन्छ। रूखको जरा प्रणालीले पानीलाई माटोमा मिलाउन मद्दत गर्छ। यसको मतलब सतहमा कम पानी बग्छ, बढी पानी माटोमुनि मिल्छ। बाँकी रहेको पानी खोल्साखाल्सीतिर स्वत: तर्किन्छ।

यसो हुँदा बाढीको सम्भावना कम हुन्छ। स–साना खोलानालाबाट वर्षभरि पानीको मूल फुटिरहन्छ। यसो हुँदा सिंचाइ अनि जीवजन्तु र मानिसले पिउनका लागि पानी बाह्रै महिना उपलब्ध हुन्छ। वनजङ्गल नभएको स्थानमा वर्षा भयो भने फुटेको बाँध जस्तै पानी एकैचोटि बगेर समथर भूभाग हुँदै बागमतीमा मिल्छ। यस्तो भयो भने समथर जमिन डुबानमा पर्ने र डाँडापाखाहरू सुक्खा पल्टिने हुनसक्छ। सुक्खा जमिनले डडेलो निम्त्याउने सम्भावना प्रबल बनेर आउँछ।

रूखरेखाको आरोहणलाई रोक्ने उपायअहिले काठमाडौं उपत्यकामा मानवीय बस्ती र प्राकृतिक परिवेश केही हदसम्म सन्तुलित अवस्थामा छ। भविष्यका सन्ततिलाई अहिलेको जस्तो हरियो या योभन्दा अझ राम्रो अवस्थामा हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो

रूखको छपनी (ट्री क्यानोपी) नभएको स्थानमा माटो कमजोर बन्छ। यस्तो कमजोर जमिनमा वर्षा हुँदा भूक्षयको जोखिम रहन्छ। रूखका पात र हाँगाबिंगाले वर्षाको पानीलाई जमिनमा बजारिनुपूर्व मत्थर गराउँछ। यसरी जमिनमा वर्षाले सिर्जना गर्ने भलपानीको प्रवाहमा रोकावट पैदा गर्छ र पहिरोको जोखिमलाई कम गर्छ ।

काठमाडौंका डाँडामा कोरिएका यी रूखरेखा विकासवादी र संरक्षणवादी बीचका लक्ष्मणरेखा हुन्। यिनलाई अब छुन हुन्न, तलमाथि पार्न हुन्न। दुई देशबीचको सीमारेखा जस्तै हुन् यी रूखरेखा। प्रकृति र मानव बस्ती बीचको यस सीमारेखामा जङ्गे पिलर नगाडेसम्म यी वनजङ्गल जोगिनेवाला छैनन्। जसरी पुराना दरबार र मठमन्दिर सांस्कृतिक सम्पदाको सूचीमा परेका छन्, त्यस्तै यी डाँडाकाँडा पनि प्राकृतिक सम्पदामा सूचीकृत हुन जरूरी छ।

सांस्कृतिक सम्पदाका छानाका टायल फुट्दा नयाँ टाँसिन्छ, भित्ताबाट इँटा उप्किंदा नयाँ लगाइन्छ र झ्यालढोका खुइलिंदा रङरोगन गरिन्छ। तर, बोटबिरुवा बञ्चरो र चेन शोद्वारा गिडिंदा, डोजर र कोदालोले माटोका पत्र उप्काइँदा केही नगरी बस्ने ? यो त हाम्रो प्राकृतिक सम्पदाप्रतिको अज्ञानता हो कि उपेक्षा ?

अब प्रश्न उठ्छ, काठमाडौं उपत्यकाको डाँडाकाँडामा अवस्थित वनजङ्गलको विनाशलाई रोक्न के गर्नुपर्छ त ? यी सम्पूर्ण डाँडालाई शिवपुरी नागार्जुनसरी राष्ट्रिय निकुञ्ज घोषणा गरिनुपर्छ। यसो गर्दा कानुनी रूपमा यसले उच्चस्तरीय संरक्षण प्राप्त गर्छ।

सन् १९७६ मा शिवपुरी नागार्जुनलाई जलाधार संरक्षण क्षेत्र र सन् २००२ मा राष्ट्रिय निकुञ्ज घोषणा गरिएको रहेछ। यदि त्यसो नगरिएको भए, अहिले तल काठमाडौं खाल्डोबाट त्यतातिर हेर्दा, खैरैखैरा मानव बस्ती र टाटैटाटा बारीका कान्ला देखिन्थे। अहिले जस्तो हरियो दृष्य देख्न पाइने थिएन।

राष्ट्रिय निकुञ्ज मात्रै घोषणा गरेर कहाँ हुन्छ र ! यसको कानुनलाई कार्यान्वयनमा ल्याउने संरचनाको विकास पनि गरिन जरूरी हुन्छ। सबैभन्दा पहिलो प्राथमिकताको विषय भनेको यसको सुरक्षा संरचनाको व्यवस्था हो। त्यसका लागि नेपाली सेनालाई गौंडा–गौंडामा खटाइनुपर्छ।

नेपाल जस्तो भ्रष्टाचार र चोरीशिकारी मौलाएको राष्ट्रमा जबसम्म ग्राउण्डमा आर्मीको बुट पुग्दैनन् तबसम्म यस्तो महत्वपूर्ण सम्पदा जोगाउन गाह्रो पर्छ। शिवपुरी नागार्जुनमा होस् या चितवन राष्ट्रिय निकुञ्ज, सेनालाई सुरक्षाको जिम्मा नदिइएको भए त्यहाँको हरियाली र जैविक विविधता जोगिन सक्ने थिएन।

संरचना विकासको दोस्रो विषय हो, मानव बस्ती र प्रकृति बीच भौतिक सीमा निर्माण गर्नु। अहिले देखिने रूखरेखा एक अमूर्त सीमा हो। यसलाई सजिलै उखेलेर फाल्न सकिन्छ, तलमाथि सार्न सकिन्छ। त्यसैले काँडे तार, पर्खाल, अथवा जलग्रहण (क्याचमेन्ट) जस्ता भौतिक संरचना निर्माण गरिनु आवश्यक पर्छ। यसो गर्दा अहिलेको अवस्थामा धेरै स्रोत र साधन खर्च गर्नुपर्ने होला। तर, कालान्तरमा यसले प्रदान गर्ने उपयोगिता अमूल्य हुनेछ।

यसो भन्दैमा सामुदायिक वन व्यवस्थाको अवधारणालाई बेवास्ता गर्न खोजिएको निश्चय पनि होइन। स्थानीय जनतालाई परिचालन गरिएन भने वनजङ्गलले पूर्ण सुरक्षा प्राप्त गर्न सक्दैन। स्थानीयलाई प्राकृतिक स्रोतको उपभोगको हकबाट वञ्चित गर्न पनि भएन। यसर्थ नेवार र तामाङ जस्ता यहाँकै रैथाने समुदायलाई साथमा लिएर निकुञ्ज परियोजनालाई अगाडि बढाउन उपयुक्त होला। स्थानीयले अपनत्व र जिम्मेवारीबोध गरेनन् भने वनलाई जोगाउन मुस्किल पर्छ।

हुन त मानिस र वनस्पति दुवै सजीव हुन्। विकासक्रममा यी पहाडी भेगलाई मान्छेले भन्दा बोटबिरुवाले पहिला आफ्नो वासस्थान बनाएको हुनुपर्छ। यसर्थ पारिस्थितिकीय दृष्टिकोणबाट कुनै मानव जातिभन्दा पनि रूख–बिरुवाको कुनै प्रजाति यो भेगको आदिवासी हुनुपर्छ। तर, सामाजिक दृष्टिकोणबाट कुनै रूखको प्रजातिलाई आदिवासी मानिन्न।

नेपालको इतिहासले नेवार र तामाङ यहाँका आदिवासी हुन् भन्छ। त्यसैले यी आदिवासी रूखलाई संरक्षण गर्न यी आदिवासी समुदायले नै अपनत्व लिनुपर्छ। रैथाने समाजले नै तत्परता देखाउनुपर्छ। हिजोआज बाहिरबाट बसाइँसराइ गरेर पुगेकालाई यहाँको माटोको माया त्यति नलाग्न सक्छ।

भौतिक संरचना निर्माणको साथसाथै दीर्घकालीन योजनाहरू पनि बनाइराख्नुपर्छ। यसै सिलसिलामा काठमाडौं उपत्यकाको जनसङ्ख्या नियन्त्रणका उपाय अपनाउनुपर्छ। बाहिरी जिल्लाबाट हुने बसाइँसराइ जनसङ्ख्या वृद्धिको मुख्य स्रोत हो। अहिले यहाँको जनसङ्ख्या ३० लाख जति छ। केही दशकमा यो दोब्बर हुनसक्ने अनुमान गर्न सकिन्छ। जनसङ्ख्याको चापले गर्दा तल समथर स्थलमा खाली जग्गा छैन भने पनि हुन्छ। मान्छेको यो उर्लंदो भेल आखिरमा अट्ने भनेको त्यही पहाडी खाली भेगतिर न हो!

यसर्थ, काठमाडौं उपत्यकालाई एक विशेष क्षेत्र घोषणा गरेर बाहिरबाट हुने बसाइँसराइलाई नियन्त्रण गरिनुपर्छ। यसले अहिले हुँदै गरेको तीव्र शहरीकरणमा अङ्कुश लगाउँछ। नत्र त अबको बीस तीस वर्षमा यो पूर्ण कङ्क्रिट जङ्गलमा परिणत भएर बस्न लायकको शहर रहने छैन।

यसर्थ, काठमाडौं, भक्तपुर, ललितपुर, महानगरपालिका र छिमेकी जिल्लाका स्थानीय सरकार मिलेर तत्कालै एउटा एकीकृत परियोजना ल्याउन आवश्यक छ। उदाहरणका लागि अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति जस्तै एउटा बृहत् समिति गठन गरेर अगाडि बढ्नुपर्छ। समग्रमा रूखरेखाको स्थानान्तरण रोक्न यसका लागि सरकार र स्थानीयवासी दुवै गम्भीर हुनुपर्छ।

उपसंहार

अहिले काठमाडौं उपत्यकामा मानवीय बस्ती र प्राकृतिक परिवेश केही हदसम्म सन्तुलित अवस्थामा छ। भविष्यका सन्ततिलाई अहिलेको जस्तो हरियो या योभन्दा अझ राम्रो अवस्थामा हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो। तर, यस्तै किसिमको विकासे अतिक्रमण जारी रह्यो भने यहाँको हरियोपन पुनर्स्थापना नहुने गरी विलीन भएर जानेछ।

यसलाई गुम्न नदिन एउटा दीर्घकालीन योजना तर्जुमा र त्यसको तत्काल कार्यान्वयनको खाँचो छ। यो भनेको यहाँका वरिपरिका डाँडाहरूलाई राष्ट्रिय निकुञ्ज घोषणा गरिनुपर्छ। परिणामतः रूखरेखाहरू उकालो चढ्ने क्रममा पूर्णविराम लागेर वनजङ्गलको संरक्षण हुनेछ।

यस विषयलाई सरकार, स्थानीय जनता, नागरिक समाज र संरक्षणकर्मीले तत्कालै गहन रूपमा सोच्नुपर्ने देखिन्छ। यस्ता पर्यावरणीय जोखिमको पूर्व जानकारी हुँदाहुँदै पनि अहिले हामीले कुनै ठोस कदम लिन सकेनौं भने भावी सन्ततिले हामीलाई स्वार्थी र अज्ञानीको कलङ्क लगाउने छन्।

हाम्रा अग्रजले त्यतिबेला बुद्धि पुर्‍याउन नसक्दा काठमाडौंका अहिलेका मेयर बालेनले घरहरू भत्काएर सडकलाई फराकिलो बनाउने काम गरिरहेका छन्। वनजङ्गल संरक्षणको मामिलामा पनि यदि अहिलेका बालेनले बुद्धि पुर्‍याउन सकेनन् भने भविष्यका बालेनले यहाँका डाँडाकाँडामा बनेका कङ्क्रिटका संरचनाहरूलाई भत्काएर वृक्षरोपण गर्नुपर्ने अवस्था सिर्जना पो हुन्छ कि !

(हितान इङ्ल्याण्डको वातावरण संस्थानमा कार्यरत छन्।)





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School