कांग्रेस हारका कथनी

कांग्रेस हारका कथनी


इतिहासले जन्माएका हालका दुई ठुला दलका अगाडि अन्य पार्टीको भूमिका केन्द्रमा जे देखा परे पनि गाउँमा गौण देखिन्छ। हालै सम्पन्न बझाङ ‘क’ को प्रान्तीय चुनाव र इलाम २ को संघीय चुनावको मत परिणामले यही देखाएको छ।

नेपाली कांग्रेसले बझाङ १ ‘क’ मा आफ्नो सिट गुमाएको छ भने इलाममा नेकपा एमालेले आफ्नो उपस्थिति दरिलो पार्दै पुरानो आफ्नो सिट कायम राख्न सफल देखिएको छ। यसरी बाह्य रूपमा हेर्दा कांग्रेसभन्दा एमाले राजनीतिक हिसाबमा अब्बल ठहरिएको छ। राष्ट्रिय राजनीतिमा यी दुई सिटले खासै असर नपारे पनि ‘मिसन ८४’ का लागि उच्च मनोबल भने बढाएको देखिन्छ।

चुनावका बेला जति प्रचारप्रसार र चासो इलामका उम्मेदवारले पाए, त्योभन्दा थोरै कम बझाङको उपनिर्वाचनको रहन गयो। उम्मेदवारको हारजितको एउटा आधार चुनावी प्रचार र नारा पनि हो। अर्को कारण बझाङ हिमाली एवं दुर्गम जिल्ला भएकाले राष्ट्रिय राजनीतिमा प्रान्तीय चुनावलाई मनावैज्ञानिक रूपमा त्यति हेरिएन तर पार्टीका लागि चुनाव भनेको प्रतिष्ठाको लडाइँ हो। बझाङको चुनावी माहोलबारे केही जानकारी गराउनु आवश्यक सम्झेको छु।

सुदूरपश्चिमका नौ जिल्लामध्ये बझाङ राजनीतिक रूपमा सशक्त मानिन्छ। इतिहास हेर्दा पञ्चायत कालमा शाहज्यादी शान्ति सिंहको बिहे बझाङका कुमार दीपकबहादुर सिंहसँग भएर पनि हो। यसैगरी राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको जन्म पनि बझाङमा भएको थियो।

राजनीतिक रूपमा अर्को सशक्त कारण २०१७ सालमा राजा महेन्द्रले बिपी कोइरालाको सरकार अपदस्थ गरेपछि सुदूरपश्चिमका टाकुरे राजाहरूलाई पञ्चायतको घेरामा सम्मिलित गराए। तर बझाङी राजा ओमजंगबहादुर सिंहले तत्कालीन पञ्चायती सेना र प्रशासनका अगाडि घुडा टेकेनन्।

राजा महेन्द्रका सेनाका अगाडि आत्मसमर्पण गर्नुभन्दा बरु आत्महत्या गर्छु वा सुरक्षित ठाउँमा गएर बस्छु भन्ने विचार राखे। यो कुरा बिपीलाई अवगत त भयो तर उनलाई पनि नजरबन्द गरिसकेको थियो। जीवन बचाउन जंगलको बाटो हुँदै ओमजंग दार्चुलाको मार्मा भन्ने ठाउँमा पुग्दा तत्कालीन डोटेली सेनाले गोली हानी उनको हत्या गरे।  

लोकतन्त्रका एक होनाहार देशभक्तको हत्या हुँदाको पीडा बझाङी जनताले भुलेका छैनन्। यति मात्र होइन, २०४६ सालको जनक्रान्ति सफल पार्न हालका बझाङी नेताहरू डा. सुरेश मल्ल, अर्जुनजंगबहादुर सिंह, नरेशबहादुर सिंह, चेतराज बजाल, शमशेर बम, सत्यराज भण्डारी, ज्योतिप्रकाश जोशी, लोकराज जोशी आदिको महत्त्वपूर्ण भूमिका छ। म त्यसबेला वडाप्रहरी कार्यालय कमलपोखरी काठमाडौंमा थुनिएको थिएँ।

त्यतिबेला जिल्लामा तत्कालीन मालेलगायत बामघटकको राजनीतिक योगदान गौण थियो। यी विविध कारणले बझाङको राजनीतिक चेतना प्रखर छ। बझाङी जनता आफ्ना सन्तानको भविष्य उज्ज्वल पार्न खाद्यान्न सामग्रीको गरुंगो भारी बोकेझैं सामाजिक चेतना फैलाउनका लागि राजनीतिक भारी बोक्न पनि पछाडि हट्दैनन्। अझ २०४६ सालपछि आएको राजनीतिक परिवर्तनले पुरुषभन्दा महिलामा प्रचुर राजनीतिक चेतना बढेको छ।

हालै सम्पन्न उपनिर्वाचनसहित आठ पटक राष्ट्रिय चुनाव सम्पन्न भइसकेका छन्। यो जिल्लामा २०४८ र २०५६ सालको राष्ट्रिय चुनाव र २०७९ सालको प्रान्तीय चुनावमा विजय हासिल गर्न सफल कांग्रेस बाँकी चुनावमा एमाले र २०६४ सालमा माओवादीका उम्मेदवारसँग झिनो मतान्तरले हारेको हो। भर्खरको चुनावमा पनि २६६ मतले कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह पराजित हुनुलाई लोकतन्त्रवादीहरू अप्रत्यासित नतिजा भनिरहेका छन्।

११ जना दलका उम्मेदवारले भाग लिए तापनि प्रतिस्पर्धा नेका र एमालेबीच रह्यो। नेकपा एकीकृत समाजवादीले आफ्नो साख जोगाउन नसक्नु, नेकपा माओवादीको मतान्तरमा भारी गिरावट आउनुलाई स्वाभाविक मानेका छन् मतदाताले। मतदान प्रक्रिया शान्तिपूर्ण रहे तापनि सायद बाली भित्र्याउने बेला भएर पनि होला, कुल मतदाताको ४९.९ प्रतिशत मात्र मत खस्यो। यसबाहेक मतदाताहरू जिल्लाबाहिर भएर पनि यस्तो भएको हुन सक्छ। तर केही मतदातामा नैराश्य नदेखिएको होइन। इलाममा पनि बझाङमा जस्तै मतपरिणाम देखियो।

जिल्लाका धेरैजसो मतदाता गठबन्धन सरकारको नामै सुन्न चाहँदैनन्। केही राजनीतिक विश्लेषक दुई वर्ष पहिले सम्पन्न स्थानीय चुनावमा कांग्रेसले माओवादी र समाजवादीसँग गरेको गठबन्धनको मूल कारण नै अहिलेको पराजय हो भन्ने पनि तर्क गर्छन्।

त्यति मात्र होइन, निर्वाचन आयोगले चुनाव घोषणा गरेलगतै पार्टीले उम्मेदवार घोषणा गरिसक्नुपथ्र्यो। त्यसो नगरी दरखास्त दिने अघिल्लो दिनमा उम्मेदवारको नाम छनोट गर्दा पर्याप्त समय नपुगेर मतदाताको घरदैलोमा पुग्न नसक्नु पनि पराजयको परिणाम हो भन्छन् कांग्रेसजनहरू। यसको ठिक विपरीत एमालेलगायतले नेकाको भन्दा १५ दिनअघि नै उम्मेदवार छनोट गरिसकेका थिए।

नयाँ वर्ष र वसन्त ऋतुसँगैको गत १५ गतेको चुनाव विविध दृष्टिकोणले नौलो भयो। इलाममा पहिचानवादीहरूको नारा र राष्ट्रिय स्वतन्त्र पार्टीका सपना सुहाङ नेम्वाङले चकनाचुर पारे। सुबास नेम्वाङको लालझन्डा उनका उत्तराधिकारीले साकार पारे। अस्ट्रेलियाबाट फर्केका उनलाई नेकाका जनजनमा भिजेका र गत सालको चुनावमा ११४ मतको झिनो अन्तरले पराजित डम्बर खड्काले सो मतको साख जोगाउन नसक्नुलाई इलामी कांग्रेसले अर्थपूर्ण रूपमा हेरेका छन्।

यसैगरी सडक दुर्घटनामा परी निधन हुन पुगेका सुप प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंहका उत्तराधिकारी अभिषेकबहादुर सिंहको थोरै मतको पराजय वास्तवमा पीडाको विषय रहन गयो। दिवङ्गत आत्माप्रति भक्तिभाव देखाउँदै हिन्दु परम्पराअनुसार सेतो लुगामा गाउँगाउँ पुगी नम्र स्वभावमा उनी मत मागिरहेको दृश्य कारुणिक थियो। सेतो वस्त्रमा मत मागेको देखेर केही महिलाले आँसु खसालेको दृश्य पंक्तिकारले प्रत्यक्ष रूपमा देख्न पाएँ।

सुपको मौलिक संस्कृतिमा आधारित देउडा गीत गाएर जनसमुदायलाई मत माग्दै एकत्रित गराएको गाउँका दृश्य सम्झन लायक रहे। यसैगरी काठमाडौं क्षेत्र नं. ४ का कांग्रेस क्षेत्रीय प्रतिनिधि प्रार्थना खनालले कांग्रेस जिताऊँ अभियानमा बझाङ पुगेर दलित बस्तीलगायतको जनमत आफ्नातिर पारेकी थिइन्। कांग्रेसीजन आफ्नाप्रति जनलहर देखेर विजयी हुनेमा ढुक्क थिए।

एमालेका उम्मेदवार दमन भण्डारी र समर्थकका मत माग्ने चतुर्‍याइँ र गोप्य राजनीतिलाई कांग्रेसीजनले बुझ्न नसक्दा पराजय भोग्नुपर्‍यो। सदरमुकाम चैनपुरमा जम्मा भएका कांग्रेसीजन र तिनको अस्तव्यस्त शैलीको मूल्याङ्कन गर्दै पर्यवेक्षण गर्न पुगेका सुप प्रदेशका कांग्रेसी प्रमुख वीरबहादुर बलायर र केन्द्रीय सदस्य किशोरसिंह राठौरले भनेका थिए–अस्तव्यस्त रहेका र छताछुल्ल भएर पोखिन पुगेका मतहरू व्यवस्थित तवरले जम्मा गर्न सकेको खण्डमा जित निश्चित छ। तर त्यसो गर्न सकिएन भने हार व्यहोर्नुपर्ने हुन्छ।

हुन पनि त्यसै भयो। त्यस क्षेत्रका सबै नेताहरू शुभेक्षा प्रकट गर्न र हरतरहले सहयोग गर्न जिल्लामा कमान्डर बनेर केन्द्रीय सदस्य एवं पूर्व परराष्ट्रमन्त्री एनपी साउद सभापति देउवाको विशेष सल्लाहकार बनेर पुगे। केन्द्रीय सदस्य नैनसिंह महर, बद्री पाण्डे, रणबहादुर रावल, पूर्वसांसद बहादुरसिंह थापा, राष्ट्रिय सभा सदस्य एवं कैलाली कांग्रेस सभापति नारायणदत्त भट्ट, धनगढी नपाका पूर्वमेयर नृप ओडलगायतको टोली पनि पुग्यो।

पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दबहादुर शाहले त जिल्लाको सीमान्तकृत गाउँपालिका साइपालमा पुगेर कांग्रेसका पक्षमा जनलहर ल्याए। साइपाल विशेष गाउँपालिकामा पुग्न तलकोटबाट तीन दिनको पैदलयात्रा गर्नुपर्छ। कांग्रेस उम्मेदवारप्रति सहानुभूति सबैको रह्यो।

स्वास्थ्यमा गम्भीर समस्या देखा परे तापनि पूर्वराज्यमन्त्री एवं केन्द्रीय सदस्य अर्जुनजंगबहादुर सिंह केही दिन सदरमुकाममा बसी कार्यकर्ताबीच आवश्यक सल्लाहमा व्यस्त रहे। पूर्वमन्त्री डा. सुरेश मल्ल, नरेशबहादुर सिंह, केन्द्रीय सदस्य प्रकाश स्नेही, पूर्वसांसद चन्द्रा जोशीलगायतको टोली तलकोट, मष्टा, छबिस, पाथीभेरा, खप्तड छान्ना, शुर्मादौलीचौर गाउँपालिकामा पुगेर राम्रोसँग जनमत तयार पारेको देखिन्थ्यो। क्यान्सर पीडित सत्यराज भण्डारीले सक्दो सहयोग गर्नुभयो।

यति हुँदा पनि सभापति शेरबहादुर देउवाको उपस्थिति खड्किएको महसुस धेरैले गरे। यता एमालेका नेता कर्ण थापा प्रत्येक घरमा पुगी मत माग्नका लागि केही आश्वासन बाँडिरहेको सुनिन्थ्यो। कांग्रेसको जनलहर देखेर आत्तिएका एमालेका उम्मेदवार दमन भण्डारीलगायत नेता कार्यकर्ताले गाउँ छाडेका थिएनन्।

रातिको बैठकमा उनीहरूको घनीभूत वार्ता र सल्लाह गरेको जानकारी आउँथ्यो। यता समाजवादीका नेता एवं संघीय मन्त्री भानुभक्त जोशी पनि गाउँगाउँमा आफ्नो पार्टीलाई मत माग्न पुगे तापनि उनको परिश्रम निरर्थक रह्यो। माओवादीका उम्मेदवार जनक बुढाले आफ्नो गाउँपालिकालगायतका ठाउँहरूमा राम्रै मत पाए तापनि सफल हुन सकेनन्। शालीन नेताका रूपमा लिने गर्छन् जनक बुढालाई।

‘राजनीति भनेको व्यावहारिक शिक्षा हो। राजनीतिमा शिक्षा अध्ययन हुनैपर्छ तर व्यवहार अझ बढी हुनु जरुरी छ’ यो भनाइ हो गान्धीवादी स्व. महेन्द्रनारायण निधिको। बिपीले प्रतिपादन गरेको सिद्धान्त सम्भवतः विश्वमा नै सर्वस्वीकार्य नीति हो तर वर्तमानमा अधिकांश कांग्रेसीजनको व्यवहार भारदारी शैलीको देखिन्छ।

विश्वबाट विलीन हुँदै गइरहेको कम्युनिस्ट सिद्धान्त कम्बोडिया, भियतनाम, उत्तरकोरिया, नेपाल, रुसलगायत मुलुकमा किन फस्टाउँदैछ। यसका केही कारण छन्। तर चीनको कम्युनिस्ट शासनशैली अरू मुलुकको भन्दा बाह्यरूपमा फरक देखिन्छ। नेपाल विभिन्न रूप र रंगका वामपन्थीहरू बसोबास गर्ने मुलुक बनेको छ। आपसमा बेमेलजस्तो देखिए तापनि वामपन्थीहरूको वास्तविक सिद्धान्त बुझ्न कठिन छ।

वामपन्थीहरू योजना बनाउनमा सिपालु छन्, जनतालाई विश्वासमा लिन पनि खप्पिस छन्, जनमत आफूप्रति आकर्षित गर्नमा खप्पिस छन्। २०४८ र २०५६ सालको आम चुनावमा संसद्मा १९ वटै सिट जितेर लोकतन्त्रमय बनेको सुदूरको राजनीतिक समाज अहिले घायल बनेको छ, खिचडी जस्तै बनेको छ। यस्तो हुनुका विविध कारणहरू छन्। भनिन्छ–मूल हेरी पानी खानू, कुल हेरी छोरी दिनू।

लोकतन्त्र र हालसम्मका हरेक आन्दोलनका उपलब्धि जोगाउन कांग्रेसले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ। वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको तत्कालीन चुनावी जिल्ला तनहुँमा गोविन्द भट्टराईको पराजय, इलाममा डम्बर खड्काको र बझाङमा अभिषेकबहादुर सिंहको पराजयलाई ती जिल्लामा उम्मेदवारलाई विजयी गराउन भ्रमण गर्न पुगेका कांग्रेसी नेताको जन्तीले मतदाताबीच तात्विक फरक नपार्ने रहेछ भन्ने शिक्षा लिनुपर्ने देखिन्छ।

प्रकाशित: ३० वैशाख २०८१ ०६:५६ आइतबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School