कांग्रेसका युवाको उद्घोष : कि छाडौं कि भिडौं

कांग्रेसका युवाको उद्घोष : कि छाडौं कि भिडौं


हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम्।

तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः।।

(मारियौ भने स्वर्ग जान्छौ। जित्यौ भने पृथ्वीमा राज गर्नेछौ। त्यसै कारण हे अर्जुन! युद्धको लागि दृढ भएर उठ।) दोस्रो अध्याय, ३७औं श्लोक, महाभारत गीता

हामीसँग उपलब्ध शास्त्रहरू वरदान हुन्, जसले हामीलाई निरन्तर प्रेरणा दिन्छन् र मार्ग निर्देशित गर्छन्। दुनियाँमा अहिलेसम्म गीता जत्तिको उच्चकोटिको शास्त्र कुनै छैन। माथिको श्लोक महाभारत युद्ध–पूर्व कृष्णद्वारा अर्जुनका लागि मात्र दिइएको उपदेश होइन, जुनसुकै पेशा–व्यवसायमा लागेका हामी सबैका लागि गहन शिक्षा हो। फरक यति नै हो कि हामीले कति आत्मसात् गर्न सक्छौं।

गत साता ललितपुर महानगर नजिकैको सार्वजनिक स्थलमा राजधानीमा उपलब्ध एक जमानामा कांग्रेस र लोकतन्त्रका लागि अहोरात्र खटिएका एवं जीवनको महत्त्वपूर्ण समय दिएका, पार्टी नछाडेका तर पार्टीले महत्त्व नदिएका अर्थात् पार्टीबाट गम्भीर उपेक्षा झेलेर बेवारिसे जस्ता भएका देशभरका आठ दर्जन जति प्रचलित युवा तरुणहरू भेला भए।

उनीहरूसँग भेलामा सहभागी हुनुको खास तात्पर्य र नियोजित कुनै योजना र उद्देश्य त थिएन, न त त्यो कुनै गोपनीय गुटगत आयोजना नै थियो। पार्टीमा लामो समय काम गरेर पनि हाल कुनै कार्यकारी भूमिकामा नरहेका र खासगरी नेविसंघको राजनीतिबाट उदाएका ती दर्जनौं युवा तरुणहरूमा देशका लागि केही गर्ने हुटहुटी भने बाँकी नै रहेको देखिन्थ्यो।

जीवनको मझधारमा रहेका साथीहरूबीच भेटघाट होस् भन्ने पवित्र उद्देश्यले आयोजित भेलाले मात्र पनि उपस्थित युवाहरूको चेहरामा भिन्नै चमक र उज्यालोपन छचल्किन्थ्यो। विगतमा खेलेको भूमिका र पुर्‍याएको योगदानप्रति गौरवान्वित यो समूह थप भूमिका खेल्न र योगदान थप्न अझै तयार छ भन्ने लाग्थ्यो। ठूलो उपेक्षा र दुर्व्यवहार झेलेर पनि यस्तो आत्मविश्वास देखिनु सामान्य कुरा थिएन।

विश्व राजनीतिमा आफ्नो दलमा काम गरेका र आबद्धता भएका युवाहरूलाई उनीहरूको योगदान, योग्यता र सक्रियताको आधारमा विभिन्न भूमिका दिने प्रचलन पुरानै हो। दक्षिणएशियाका देशहरूमा त यो प्रचलन स्थापित नै छ।

अझ राजनीतिमा चाख भएका देशभरका युवाहरूमध्ये मेधावी र निष्ठावान् व्यक्तिहरू छनोट गरी महत्त्वपूर्ण जिम्मेवारी दिने र भविष्यको नेताका रूपमा तयार गर्ने परिपाटी छ। यो परम्परा भारतमा सबैभन्दा ज्यादा छ।

हामीले भर्खरै थाहा पायौं, भारतीय राष्ट्रिय कंग्रेसले नेहरू–गान्धी परिवारको परम्परागत निर्वाचन क्षेत्र अमेठीमा राहुल कि प्रियंका भन्ने बहस चरम उत्कर्षमा पुगेको र त्यहाँ गान्धी परिवारकै सदस्य हुनुपर्ने माग भइरहेको बेला ४० वर्षदेखि गान्धी परिवारका निकट विश्वासपात्र किशोरीलाल शर्मालाई लोकसभा सदस्य बनाउने निर्णय गरेर सबैलाई आश्चर्यमा पार्‍यो।

अमेठीका कंग्रेस उम्मेदवार किशोरीलालले सन् १९८३ मा राजीव गान्धीले देशभरिबाट छानेर लामो प्रशिक्षणका लागि दिल्ली बोलाएका ४०० युवामध्येबाट पनि छानिएका १० युवामा पर्ने सौभाग्य प्राप्त गरेका थिए। लुधियानाका ती युवा जसले अमेठी, रायबरेली लगायत चुनाव क्षेत्रको बागडोर बारम्बार सम्हालेका थिए र सफल परिणाम दिलाउने क्षमता प्रदर्शन गरेका थिए।

सन् २०१९ मा अमेठी क्षेत्रमा राहुल गान्धी पराजित हुँदा उनी रायबरेलीमा खटिएका रहेछन्। त्यहाँ उनको सट्टा अर्कै टिम खटाइएकाले परिणाम प्रतिकूल आएको रहेछ। अब उनी स्वयं उम्मेदवार भएका छन्। यो केवल गान्धी परिवार मात्र होइन, भारतीय राष्ट्रिय कंग्रेसको आफ्ना सदस्यप्रतिको विश्वास र अगाध प्रेम पनि हो।

हुनत हामी पनि व्यक्ति छान्छौं, युवा तरुण पनि खोज्छौं। तर फरक कहाँनेर छ भने हामीलाई हाम्रो व्यक्तिगत गीता वा प्रशस्ति गाउन सक्ने, हाम्रा कमजोरी ढाकछोप गर्न जान्ने, कहिल्यै आफ्नो विवेक प्रयोग नगर्ने, कार्यक्षेत्रमा खट्नुभन्दा निरन्तर दैलो ढुक्न सक्ने, सार्वजनिक प्रभावकारिता नभएका र पार्टीलाई रचनात्मक सुझाव दिन नसक्ने व्यक्ति चयन गर्छौं।

अब यो हाम्रो सनातन चरित्र र ‘क्रोनिक’ रोग बन्दै गएको छ। एक प्रकारले हामी के गर्दैछौं भन्ने सामान्य होस् पनि छैन। किनभने हामीलाई वैयक्तिक सुख–सुविधाका लागि सत्ता चाहिएको छ, जसका लागि हामी हाम्रा होनहार सदस्यहरूको ‘क्यारियर’ कुर्वान गर्न तयार छौं।

आफ्नो विचार महान्, अरूको बकवास, आफ्नो योगदान सर्वाधिक, अरूको मूल्यहीन र समग्रमा पार्टीभित्र आफू सुयोग्य र अरू अयोग्य भन्ने विवेकहीन चिन्तन हाम्रो मूल चिन्तन भएको छ। यसले हामीलाई कहाँबाट कहाँ पुर्‍याउँछ, समयक्रममा देखिंदै जानेछ।

भेलामा उपस्थित साथीहरू बडो सुझबुझपूर्वक जीवनको उर्बर समय र योग्यता देशको प्रजातान्त्रिक आन्दोलनमा खर्चिएका साथीहरू थिए। उनीहरूमा वैयक्तिक आकांक्षा र सपना खासै नदेखिए पनि आफ्नो दल र नेताप्रति चरम आक्रोश भने पर्याप्त थियो। सपना त पार्टीभित्रको बेथिति र मनपरीतन्त्रले लगभग मेटिसकेको छ नै। साथै लोकतन्त्र र देशप्रति गम्भीर चिन्ता पनि झल्कन्थ्यो।

यो आक्रोश र चिन्ता आफूहरूलाई भूमिकाविहीन पारिएकोमा होइन, बरु आफ्नो दल र अवसर लिएका नेताहरूले देशका लागि राम्रो काम गर्न नसकेको प्रति लक्षित थियो। आफूहरू किनारमा धकेलिएर पनि पार्टीले राम्रो गरेको भए सायद कुनै गुनासो रहने थिएन। साथै नेताहरूप्रति प्रेम र सद्भाव पनि थियो। किनभने नेताहरूको विगत सुनौलो थियो। त्यस्तो चम्किलो इतिहास विकृतिको डंगुरमा अलपत्र थियो।

भेलामा सहभागी साथीहरू कोही स–साना व्यवसायमा, कोही शिक्षण पेशामा, कोही विभिन्न जिल्लाबाट अधिवेशन सदस्य र अपवाद बाहेक सबै चरम बेरोजगारी झेलिरहेका थिए। अहिले आएर पहिले राम्रो सम्बन्ध भएका पार्टीका नयाँ पुराना सबै नेता टाढिएका र सामान्य सोधखोजसम्म नगर्ने स्वार्थी बनेको पीडा सबैमा थियो। यो सबै उत्तिकै काम गरेका कोही भने अवसर लिइरहने र कोही भने निरन्तर रमिते बन्नुपर्ने पार्टीको न्याय प्रणालीले बनाएको कुरूप चित्र र उब्जाएको परिणाम थियो।

भेलाको कुशल संयोजन युवा मित्र केदारमानसिंह बस्नेतले गरेका थिए। सामान्यतया कांग्रेसमा हिजोआज यस्तो निस्वार्थ भेला वा जमघट हुन छाडेको छ। भेला त हुन्छन् तर गुटगत, जहाँ एकअर्कालाई गाली बाहेक अर्थोक हुँदैन। किनभने केही सीमित व्यक्तिहरूको निजी स्वार्थले संस्थाभित्रको आत्मीयता र प्रगाढ सम्बन्धलाई विस्थापित गरिदिएको छ। संस्था कहाँ छ, के गर्दैछ र के गर्नुपर्ने हो भन्नेतर्फ कुनै गम्भीरता छैन।

एउटा अन्तर्राष्ट्रियस्तरको अध्ययनले के बताएको रहेछ भने दुनियाँका दुई तिहाइ राजनीतिक परिवर्तनहरू युवाहरूका कारणले सफल हुन्छन् तर परिवर्तनपछि त्यसमध्येका दुई तिहाइ राष्ट्रहरूले युवाहरूलाई गम्भीर उपेक्षा गर्छन् र चटक्कै बिर्सन्छन्।

यस प्रतिवेदनले समेटेका थुप्रै राष्ट्रमध्ये सायद नेपाल पनि एक हुनुपर्छ। यो प्रसंग किन उठाइएको हो भने नेपालका राजनीतिक दलका युवाहरूलाई दलहरूले नराम्ररी उपयोग गर्ने र एउटा निश्चित समयपछि कामै नलाग्ने बनाएर मिल्काउने गरेका छन्। यो सिलसिला निरन्तर जारी छ। पञ्चायतकाल र २०४६ सालपछि त्यस्तै भयो। २०६३ पछि त झन् बढेर गयो।

अहिले क्रियाशील रहेका भर्भराउँदा युवाहरूको नियति पनि त्यही हो, केही वर्षपछि यसरी मिल्काइन्छन् कि उनीहरूको लागि समाजमा टेक्ने ठाउँसम्म र बोलिदिने कोही हुनेछैन र बहुमूल्य समय खेर फालेकोमा कपालमा हात राखेर पछुताउनु बाहेक अन्य विकल्प रहने छैन। यो निकै दुःखद् यथार्थ हो।

त्यसैको परिणामस्वरूप पछिल्लो पुस्ताले राजनीतिसँग नाता तोड्न थालेको छ। किनभने आफ्नो जीवनसँग खेलबाड गर्ने राजनीति किन चाहियो उनीहरूलाई? नेपालको राजनीतिले न शिक्षा, न त रोजगारीको नै ग्यारेन्टी गर्न सकेको छ। न देशको भौतिक विकास र अन्तर्राष्ट्रिय प्रतिष्ठा, न नागरिकको आत्मसम्मान, न स्वाभिमान ? अनि कसरी जोडिन्छ नयाँ युवा राजनीतिमा ? आफ्नो भविष्य चौपट पार्ने राजनीतिमा जोडिनु केका लागि ? लोकतन्त्रको आवरणमा नवसामन्तवाद फस्टाउँदै गएको भद्दा राजनीतिमा जीवन खर्चिनु किन ? आजका युवाको निष्कर्ष हो यो।

के हामीसँग जवाफ छ ? के दलीय राजनीति भनेको दलका केही व्यक्तिहरूले राज्यका पद पाइरहनु मात्र हो ? कि राजनीतिले राष्ट्रको सामाजिक, आर्थिक र भौतिक क्षेत्रमा केही प्रगति पनि गर्नुपर्छ ? जनताले केही भुईंफुट्टा व्यक्तिहरूको बकवास सुनेर कतिञ्जेल बस्ने? खै योग्यतन्त्र मौलाएको ? कि लोकतन्त्र भनेको भीडतन्त्र मात्र हो ? नेपाली समाजमा खडा भएको सबैभन्दा पेचिलो प्रश्न यही हो। यसबाट उन्मुक्तिको संभावना कति छ त भनेर खोजी गर्नुपर्ने निष्कर्ष पनि उक्त भेलाका थियो।

नेपाली कांग्रेसमा एउटा लोकतान्त्रिक सभ्यता थियो, जसले नेपालका अन्य राजनीतिक दलहरूलाई बाटो मात्र देखाएन, वर्तमानसम्म डोर्‍याएर ल्याउने महत्त्वपूर्ण दायित्व निर्वाह समेत गर्‍यो। कुनै पनि लोकतान्त्रिक संस्थाको यो ऐतिहासिक अभिभारा हो। तर समयक्रममा विस्तारै विस्तारै आफैं अलमलमा पर्दै गयो। किनभने त्यागको स्थान स्वार्थले ओगट्न थाल्यो। र आफ्नो बारी बाँझै राखेर अरूको खेत जोत्ने र घरका सदस्यलाई जात्रामा पठाएर खेताला खोज्न थाल्यो। अनि प्रतिफल कसरी आउँछ?

पार्टीको समग्र सामर्थ्यलाई एकढिक्का बनाउने हो भने कांग्रेसलाई कसैको सहारा चाहिंदैन। यसका लागि नेतृत्वमा भरपुर आत्मविश्वास चाहिन्छ। बूढो र रुग्ण शरीर साथै जीवनको उत्तरार्ध मात्र सम्झिएर बसेको भए तत्कालीन कांगेस सभापति गिरिजाप्रसाद कोइरालाले पछिल्लो राजनीतिक परिवर्तनको नेतृत्व गर्न र सफलता पाउन सक्ने थिएनन्। राजासँग मिलेर सत्तामा पुग्ने बाटो रोज्ने थिए। तर देशप्रतिको दायित्व सम्झेर राजनीतिक परिवर्तन गरिछाड्ने अठोट गरे र सबै राजनीतिक दललाई एकढिक्का बनाएर आन्दोलनलाई सफल तुल्याए। यो कुरा कांग्रेसले यति चाँडै बिर्सनुहुँदैन।

हामीसँग जोत्नका लागि प्रशस्त खेत पनि आफ्नै छ र काम गर्ने जनशक्ति पनि पर्याप्त छ। पार्टीको नेतृत्वमा बसेका सीमित व्यक्ति मात्र कांग्रेस होइनन्। यस संस्थालाई वर्तमान मोडसम्म ल्याइपुर्‍याउनमा हजारौं साथी संलग्न छन्। यसको लेखाजोखा खोइ ? भेलाका साथीहरूको आशय यही नै थियो।

आफ्नो बारीको फर्सी छाडेर दोबाटोमा कुभिण्डो खोज्दै हिंड्नुभन्दा ज्यादा मूर्खता अरू हुँदैन। आफूभित्रको शक्तिलाई एकत्रित गर्नुपर्ने आजको मुख्य आवश्यकता हो। दश वर्षपछिको नेपाली समाजको चित्र खोइ? एक दशकपछि कांग्रेसको नेता को हुन्छ भन्ने तयारी खोइ ? कांग्रेसको भावी किशोरीलाल को हो? मूलतः जनताले पाएको दुःखमा ध्यान खोइ ? राजनीतिक संस्थाको प्रमुख ध्यान जनताको सुख–दुःखमा हुनुपर्छ। केही वर्ष यता कांग्रेस यस मामिलामा चुक्न थालेको छ।

जेहोस्, इतिहासको महत्त्वपूर्ण कालखण्डमा कांग्रेसलाई ठूलो योगदान पुर्‍याएका तरुण युवाहरूलाई उपेक्षा गर्नु पार्टीको ठूलो कमजोरी हो। त्यसदिन अनौपचारिक रूपमा भए पनि उपस्थित साथीहरूले दिल खोलेर बातचित गर्नु र अझै योगदान पुर्‍याउने इच्छा देखाउनु कांग्रेसका लागि निकै सुखद् पक्ष हो।

त्यत्रो संख्यामा उपलब्ध देश, जनता र लोकतन्त्रप्रति प्रतिबद्ध जनशक्ति कांग्रेसको ठूलो सम्पत्ति हो। तर यसलाई कसले बुझ्ने ? हामीलाई त ढुकुटीमा अन्न हुँदाहुँदै बेसाहाका लागि ऋण खोज्न जाने बानी पर्न लागेको छ। यसबाट छुटकारा पाउने कसरी ? सबैले गरेको चिन्ता यही हो।

भेलाका अधिकांश साथीको आशय थियो, ‘कि भिडौं कि छाडौं।’ यो सुयोग्य जनशक्ति निष्क्रिय भए कांग्रेसको हविगत के होला, कसैले अनुमान गरेको छ ? सामान्य सूचनामा प्रतीकात्मक रूपमा भेला भएको यस तागतलाई उत्साहित बनाउन नसक्ने हो भने नेपालमा लोकतन्त्रको कुनै भविष्य छैन।





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School