कहिनसक्नु छ कमला पुलको कहानी!

कहिनसक्नु छ कमला पुलको कहानी!


धनुषा सगहाराकी सकिना खातुनको कमला पुलमाथिबाट हुलाकी राजमार्ग छिचोल्ने सपना पाँच दशकभन्दा अघिदेखिको हो। उनी हुलाकी सडकमा पटकपटक हिँडेकी छन्। तर हुलाकी राजमार्गमा सरर हिँड्ने उनको सपना भने पुलमै अल्झेको छ।

हुलाकी राजमार्गमा द्रुत आवागमनका लागि २०६८ सालमा धनुषा–सिरहाको साझा कमला नदीमा पुल शिलान्यास हुँदा सकिनासँगै यस भेगका ग्रामीणदेखि सहरी क्षेत्रका बासिन्दामा खुसी सञ्चार भयो। राणाकालदेखिको आश्वासन बल्ल पूरा हुने भयो भनेर यस भेगका मानिस रोमाञ्चित भए।

 २०६८ सालमा पुलको ठेक्का लागेर काम सुरु भएपछि सकिना पुल निर्बाध बन्नेमा ढुक्क भइन्। तर १२ वर्ष बिताएर निर्माण भएको कमला नदीमा पुल उद्घाटन नहुँदै नदीमा आएको समान्य भेलले भासियो। पुल भासिएपछि सकिनासँगै यस भेगका जनताको आशा निराशामा परिणत भएको छ।

हुलाकी राजमार्गको द्रुत सम्पर्कको माध्यम हो, कमला नदीको पुल। यो पुलले धनुषा र सिरहा जोडिन्छ। यो पुल बनेपछि हुलाकी राजमार्गमा द्रुत आवागमन मात्र हुँदैन, यहाँका जनताको जीवनस्तरसमेत द्रुत गतिमा उकासिन्छ।

यो पुलसँग सिरहा र धनुषाको मात्र नभई सिंगो मधेस प्रदेशको समृद्धि जोडिएको छ। सम्झौताअनुसार २०७१ मंसिर ३० गते निर्माण सकिनुपर्ने पुल २०७८ असारमा करिबकरिब सम्पन्न भएको थियो। ढिलै भए पनि निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न गरी उद्घाटनको तयारी भइहेकै बेला २०७८ असारमा कमला नदीमा आएको बाढीले पुल भासिएपछि मधेसको जीवनरेखा हुलाकी राजमार्गको सपना सेलाउन पुग्यो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधका बीचमा ४७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रूपैयाँमा ठेक्कासम्झौता गरेको थियो।

२०६८ जेठ ३१ गते भएको सम्झौतामा २०७१ मंसिर ३० गते पुल निर्माण पूरा गर्ने उल्लेख थियो। दुईपटक म्याद थपेर २०७५ मंसिर ३० गतेसम्म निर्माण अवधि लम्ब्याइयो। तर ठेकेदार कम्पनीको लापरबाहीका कारण थपिएको म्यादमा पनि पुल पूरा हुन सकेन। त्यसपछि पप्पुलाई हटाएर लुम्बिनी जेभीले काम सुरु गरेको थियो।

कम्पनीले सुस्त गतिमा पुल पुनर्निर्माण गर्नेगरी काम थालेको छ। जसकारण यो बर्खामा पनि यस भेगका जनता पुलमाथिबाट कमला नदी तर्ने अवस्था देखिँदैन। कमला नदीको यस पुलभन्दा दुई किलोमिटर दक्षिण झोलुंगे पुल निर्माण भएको छ। यस पुलमाथिबाट मोटरसाइकलसमेत वारपार गर्न कठिन छ। दुई महिनाअघि यस पुलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भासिएको कमला नदीको पक्की पुल पुनर्निर्माणको काम द्रुत गतिमा सम्पन्न गराउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए। तर, कामको गति सुस्त हुँदा स्थानीय आन्दोलित भएका छन्।

कमल पुल निर्माणका लागि दबाब दिन स्थानीय रवीन्द्र यादवको संयोजकत्वमा संघर्ष समिति बनाएर तीन दिनदेखि सिरहावासी आन्दोलित छन्। सरकारको नीति तथा कार्यक्रममा यो पुलको पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग छ।

सरकारको मधेस दृष्टिको ज्वलन्त उदाहरण कमलाको यो पुल हो सिरहाका बुद्धिजीवी देवकुमार यादव भन्छन्, ‘पुल भासिएको तीन वर्ष भइसक्दा पनि पुनर्निर्माणको काम सम्पन्न नहुनुले सरकारको उदासीनता प्रष्ट हुन्छ। पुलमा अल्झेको मधेसको ‘लाइफ लाइन’ फुकाउन सरकारले देखाइरहेको उदासीनताले यस भेगका जनतामा सरकारप्रति आक्रोश र असन्तोष बढाइरहेको उनको भनाइ छ।

समृद्धिको सपना कहालीलाग्दो

राणाकालदेखि चर्चामा आएको हुलाकी राजमार्ग पटकपटक शिलान्यास हुँदै सेलाउने गरेको छ। १९०३ सालदेखि २००८ सम्म पटकपटक शिलान्यास भयो। पटकपटक शिलान्यास र निर्माण थालनी भए पनि बीचबीचमा रोकिएको विगत छ। त्यही विगतले अहिलेसम्म पछ्याइरहेको छ।

राणाकालदेखि नै मधेसका जनताको मन जित्ने नारा हो, हुलाकी राजमार्ग। यही नारालाई २००७, २०४६ सालको परिवर्तनपछि संसदीय र स्थानीय तह निर्वाचनका उम्मेदवारले पनि मजाले भजाए। यो राजमार्गलाई मधेसी जनताको आर्थिक समृद्धिसँग जोडेर बनाइएका चुनावी नारा खुबै बिके। हुलाकी राजमार्गको नाराले मधेसी जनमत आफ्नो पक्षमा पार्न सफल नेता सांसद, मेयर, अध्यक्ष बने। उनीहरूको जीवनशैली फेरियो तर मधेसी जनताको जीवनस्तर बदलिएन।

पूर्व–पश्चिम हुलाकी सडक ९७५ किमि र उत्तर–दक्षिण जोडिने सहायक सडकसहित एक हजार ७९२ किमि सडक स्तरोन्नति ४७ अर्ब २४ करोड रूपैयाँ बजेट विनियोजन गरेर सुरुवात भयो। तर निर्माणको कामले गति लिन सकेन। जनता धुलाम्मे र हिलाम्मे सडकमा यात्रा गर्न विवश बनिरहे।

कमलादेखि बलान नदीसम्म सिरहाको ३० किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि स्वच्छन्द रोशन महादेव खिम्ती जेभीले ठेक्का लिएको लामो समय भएको छ। ११ मिटर चौडा यो हुलाकी राजमार्ग निर्माणका लागि उक्त कम्पनीले २४ डिसेम्बर २०१७ मा सम्झौता गरेको थियो।

एक अर्ब २० करोड २० लाख रूपैयाँमा करिब ३० किमि हुलाकी राजमार्ग निर्माणका लागि तोकिएको ३६ महिने समय पूरा गर्दा पनि सम्पन्न भएन। सरकारले २०७८ असार मसान्तसम्म काम पूरा गर्नेगरी फेरि समय थप ग¥यो। तर अहिलेसम्म काम पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।

‘बुवाहरूले राणाकालमै हुलाकी सडक शिलान्यास भएर बन्न सुरु भएको सुनाउनुहुन्थ्यो,’ सिरहा बरियारपट्टिका बिल्टु यादव भन्छन्, ‘तर हुलाकी राजमार्ग भएर कमला नदीमाथिको पुल तर्ने बुबाको सपना पूरा भएन। मेरो सपना पूरा हुन्छ भने आशा थियो तर त्यो पनि त्यत्तिकै सेलाउने हो कि?’

 उनले यादव विगत सम्झँदै भन्छन्, ‘पारि धान बोकेर जाने एउटै साधन बयलगाडा थियो।’ सडकमा परेका खाल्डाका कारण गुडाउनै कठिन हुन्थ्यो। यहाँबाट भारतका दरभंगा, मधुवनीलगायत सहरमा धान बिक्री गर्न लैजान्थ्यौं। उताबाट नुनतेल, लत्ताकपडा लिएर आउँथ्यौं। पूर्व–पश्चिम राजमार्ग बन्न थालेपछि यो सडकमा चहलपहल घट्न थाल्यो। सडक विस्तारै जीर्ण बन्न थाल्यो। पछि बयलगाडा हिँडाउनसमेत असहज भयो।’

यो हुलाकी सडकको दुर्दशा पूर्व–पश्चिम राजमार्ग बनेपछि सुरु भएको आसपासका स्थानीय बताउँछन्। ‘राजमार्ग बनेपछि यो सडक राज्यबाट ओझेलमा प¥यो,’ यादवले भने। ओरालो लाग्दै गएको यस क्षेत्रलाई उकास्न राज्यले त्यसपछि कहिल्यै वास्ता नगरेको उनको गुनासो छ।

हुलाकी सडक क्षेत्रमा चहलपहल घट्न थालेपछि बस्ती र बजार पनि उत्तर (पूर्व–पश्चिम राजमार्ग)छेउ विस्तार हुन थाल्यो। दक्षिणका (हुलाकी सडकछेउका) बासिन्दा उत्तरतिर सरेपछि व्यापार–व्यवसायसमेत उतैतिर स¥यो। बिस्तारै हुलाकी सडकछेउछाउका क्षेत्र ओझेलमा परे। तर भारतीय सीमासँग नजिक रहेकाले हुलाकी राजमार्गको निर्माणसँगै यो क्षेत्रको रौनक फर्किने क्रम रहेको स्थानीय बताउँछन्। ‘हुलाकी राजमार्ग निर्माणले पूर्णता पायो भने फेरि यो क्षेत्रको रौनक बढ्छ,’ यादव भन्छन्, ‘यो क्षेत्रमा समृद्धिको सुरुवात हुन्छ।’

हुलाकी सडकको सुरुवातपूर्व–पश्चिम राजमार्ग नबन्दै (राणाकालीन समयदेखि) चिठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटो भएकाले यसलाई हुलाकी मार्ग भनिएको हो। मधेसका जिल्लाहरू जोड्ने यो पहुँचमार्ग पूर्व–पश्चिम ९७५ किमि फैलिएको छ।

यो सडकसँगै पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८१७ किमिको ३२ वटा सहायक राजमार्ग छन्, जसले गर्दा हुलाकी राजमार्गको लम्बाइ १ हजार ७९२ किमि पुगेको छ।

समृद्धिको सम्भावना नेपालको कुल क्षेत्रफलको २१ प्रतिशत भूभाग ओगटेको मधेसलाई अन्नको भण्डार भनिन्छ। यहाँको उत्पादनले मुलुकलाई पाल्न सक्ने बताइन्छ। तर मधेसको मेरुदण्ड हुलाकी राजमार्ग निर्माणमा राज्यको बेवास्ताले मधेसलाई मात्र नभई देशलाई नै खाद्यान्नमा परनिर्भर बनाएको मधेस मामिलाका जानकार बताउँछन्।

नेपालको कुल खेतीयोग्य जमिनको १७.७५ प्रतिशत र खेती गरिएको जमिनको १९.०२ प्रतिशत मधेस प्रदेशमा रहेको छ। यो प्रदेशमा नेपालकै सबैभन्दा बढी सिञ्चित जमिन (२८.६८ प्रतिशत) रहेको देखिन्छ।

देशको कुल क्षेत्रफलको तुलनामा यो प्रदेशमा खेती नभएको जमिन १२.२६ प्रतिशत छ। यहाँको एक तिहाइभन्दा कम जमिनमा मात्र सिँचाइ सुविधा उपलब्ध रहेको तथ्यांकले देखाउँछ। ६० प्रतिशतभन्दा बढी उद्योग, कलकारखाना, वनजंगल र विभिन्न सांस्कृतिक धरोहरहरू यसै क्षेत्रमा छ। स्रोतसाधन र सुगमता प्रचुर भए पनि यो क्षेत्रका बासिन्दा (मधेसी) मानव विकास सूचकांकमा पछाडि परेको अर्थात् गरिब छ।

पूर्व–पश्चिम राजमार्गसँग हुलाकी राजमार्ग र यी राजमार्गहरूसँग देहातलाई जोड्ने सहायक मार्ग निर्माण गर्न सके मधेसमा अकल्पनीय आर्थिक वृद्धि, समुन्नति र विकासले ग्रामीणजनको जीवनमा अभूतपूर्व परिवर्तन सम्भव छ। मधेसमा उर्वर जमिन छ, जलको समुचित व्यवस्था छैन। उत्पादन छ, बजारसम्म सहज पहुँच छैन। उर्वर मधेसको उत्पादन बढाएर बजारसम्म पहुँच पु¥याउन सके मधेसको समृद्धि मधेसी आफैंले सम्भव बनाउन सक्छ।

बाँसको पुलमा अडिएको जीवनरेखा

मधेसको लाइफलाइन मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषाको लक्कडमा निर्माण भएको कमला पश्चिम बाँध र सिरहाको बसबिट्टाको कमला पूर्वी बाँधबीच भएर बग्ने कमला नदीमा दुई बाँधबीच १२ सय मिटर दुरीमा ४७० मिटरको बन्दै गरेको पुल निर्माण नसकिँदै भत्केपछि अहिले यस भेगका बासिन्दाको जीवनरेखा बासको पुलको सहारमा अडिएको छ।

कमला नदीमा पुल भत्केपछि १२ सय मिटरको दुरी पार गर्न दुवैतिर (सिरहा र धनुषा) का बासिन्दाको सहरा बनेको छ बाँसको पुल। बाँसको पुलमा दुवैतिरका बासिन्दा जोखिम मोलेर वारपार गर्न बाध्य छन्।

पुल भत्केपछि हुलाकी राजमार्ग भएर आउजाउ गर्नेहरूको सम्पर्कविच्छेद भएपछि स्थानीयले अस्थायी प्रकृतिको बाँसको टेका लगाएर बाँसकै खम्बामाथि प्लाइउड राखेर पुल बनाएको छ।

उक्त पुल भएर मोटरसाइकल तथा पैदलयात्री यात्रा गर्छन्। बर्खा नभएकाले बाँसको पुलको सहारामा मानिस आउजाउ गर्छन्। तर बर्खा भएर नदीमा पानीको सतह बढे फेरि आवागमन अवरुद्ध हुने निश्चित छ।

धनुषाबाट बाँसको पुल भएर सिरहा आउँदै गरेका धर्मेन्द्र सिंहले भने, ‘लामो समयदेखि निर्माणाधीन पक्की पुल नबन्दा हामी पीडाको पहाड बोकेर बाँच्न बाध्य छौं। बाँसको पुल त केवल तत्कालीन सहारा मात्र हो। यसको लामो आयु छैन। यो कामचलाउ पुल कहिले र कति समयलाई हो भन्न सकिँदैन।

 नदीमा अलि ठूलो बाढी आयो भने यो बाँसको पुल बगेर कहाँ पुग्छ ठेगान छैन। अनि हाम्रो कष्ट फेरि ज्युँका त्युँ। उनले कमला नदीतर्फ हेर्दा बर्खा नभइदिए हुन्थ्यो भन्ने लाग्ने खेततर्फ हेर्दा बर्खा भइदिए हुन्थ्यो भन्ने लाग्ने बताए।

‘बाँसको पुल बनेपछि दैनिक पाँच सयभन्दा बढी मोटरसाइकल तथा हजारौं मानिसको सम्पर्क जोडिएको छ,’ उनले भने, ‘यस भेगका मानिस मधेस प्रदेशको मुकाम जनकपुरधाम जान यही बाटो प्रयोग गर्छन्।’

धनुषाको हथमुन्डा, लक्कर, बरेवा, कठाल, बानरझुला, लगमा, भलुवाहा, फुलबरिया, सगहारालगायत गाउँका बासिन्दाको दैनिक उपभोग्य वस्तु खरिद गर्ने बजार सिरहा हो। यी गाउँका बासिन्दा किनमेल गर्न बाँसको पुलमा जोखिम मोलेर सिरहा बजार आउँछन्। सामान किनमेल गरेर फेरि बाँसकै पुलबाट कमला नदी पार गर्छन्।

सहजा पुल निर्माण पनि सुस्त

सम्झौता सकिन सात महिना बाँकी रहँदा सिरहाको अर्नमा र औरही गाउँपालिकालाई जोड्ने सहजा नदीको पुल निर्माण सुस्त हुँदा स्थानीय बासिन्दा जोखिमपूर्ण डाइभर्सनको बाटो भएर यात्रा गर्न बाध्य छन्।

‘पूर्व–पश्चिम हुलाकी राजमार्गको विस्तारसँगै सहजा नदीमा रहेको पुरानो पुल भत्काएपछि निर्माणस्थलको दक्षिणपट्टि बनाइएको डाइभर्सनबाट यस भेगका जनता सास्तीपूर्ण ओहोरदोहोर गर्न बाध्य छन्। माटो हालेर बनाइएको डाइभर्सनबाट सुक्खामा उड्ने धुलोले सास्ती हुन्छ,’ गणेशपुरका कपिलदेव यादवले भने, ‘बर्खामा हिलोले हिँड्नै सकिँदैन। जसकारण बर्खामा हामी बरियारपट्टि, सुखीपुर, जिरोमाइल, चोहर्वा हुँदै ५५ किलोमिटर दुरी छिचोलेर जिल्लाको सदरमुकाम सिरहा पुग्नुपर्ने बाध्यता छ।’

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको आरसिसी पुल निर्माणको ४० प्रतिशत काम सकिएको छ।

२०७९ मंसिर १६ मा दुई वर्षमा निर्माण सक्ने गरी जनकपुरस्थित सुगम निर्माण सेवाले सम्झौता गरेपछि पेटी ठेकेदारको रूपमा धनुषाकै सुप्रिया निर्माण सेवालाई जिम्मा दिएको छ। सम्झौता भएको १७ महिनाको अवधिमा पुलको दुईवटा पाइलको ढलानसमेत अझसम्म भएको छैन।

सुगमका सञ्चालक श्याम साहका अनुसार औरही गाउँपालिका–१ दरहैया गाउँको हुलाकी सडकको बक्स कल्भर्ट र सहजाको पुल गरी भ्याटसहित ११ करोड ५४ लाख १६ हजार ३७ रूपैयाँ १६ पैसाको ठेक्का हो। उक्त ठेक्का रकमको मोबिलाइजेसनबापत पाँच प्रतिशत र गरिएको कामबापत भ्याटसहित तीन करोड ४० लाख ७३ हजार २५० रूपैयाँ भुक्तानी लिइसकेको छ।

सहजा पुलको ठेक्का सम्झौताअन्तर्गत समावेश भएको हुलाकी सडकअन्तर्गत पर्ने औरही गाउँपालिका–१ दरहैया चोकसँगै पश्चिमपट्टि रहेको लचकामा बनाइनुपर्ने बक्स कल्भर्टको त झन् काम नै सुरसार भएको छैन। 

प्रकाशित: १५ जेष्ठ २०८१ ०७:४८ मंगलबार





Source link

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School