छनोटमा बोस्निया र हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदा लगातार तेस्रोपटक विश्वकप खेल्नबाट बञ्चित हुन पुग्यो ।
News Summary
Generated by OK AI. Editorially reviewed.
- बोस्निया र हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि चार पटकको विश्वविजेता इटाली लगातार तेस्रोपटक फिफा विश्वकपमा छनोट हुन असफल भएको छ ।
- लगातार विश्वकपमा छनोट हुन नसकेपछि प्रशिक्षक गेन्नारो ग्याटुसो र प्रतिनिधिमण्डल प्रमुख जियानलुइजी बुफोनसहितका पदाधिकारीले पदबाट राजीनामा दिएका छन् ।
- सन् २००६ को म्याच फिक्सिङ काण्ड, कमजोर पूर्वाधार र विदेशी खेलाडीमाथिको निर्भरता इटालियन फुटबल पतनका मुख्य कारण मानिएका छन् ।
२२ जेठ, काठमाडौं । चार पटकको विश्वविजेता इटाली गत ३ संस्करणको फिफा विश्वकपदेखि टाढा छ । छनोट चरणबाट बाहिरिँदा इटाली सन् २०१८, २०२२ र २०२६ को विश्वकप खेल्न पाएन । १६ टिम सहभागी हुने व्यवस्था हुँदा लगातार विश्वकप खेलेको इटाली अहिले ४८ देश पुर्याउँदा पनि छनोट हुन सकेन ।
पहिलो विश्वकपमा सहभागी नभएको इटाली दोस्रो र तेस्रो विश्वकपमा च्याम्पियन बन्यो । त्यसपछि २०१४ सम्म इटालीले एउटाबाहेक सबै विश्वकप खेलेको छ । सन् १९५८ को विश्वकपका छनोट हुन सकेको थिएन । इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा भएको विश्वकपको उपाधि जित्न सफल भयो ।
विश्वकपको १८औं संस्करण अर्थात २००६ को विश्वकपसम्म शानदार प्रदर्शन गरेको इटाली फुटबलको पतन त्यसपछि सुरु भयो । फिफा वरीयताको १२औं स्थानमा रहेको इटालीले पछिल्लोपटक २००६ मा फिफा विश्वकपको उपाधि जितेको थियो । विश्व विजेता बनेको ४ वर्षपछिको अर्को विश्वकपमा इटाली समूह चरणबाटै बाहिरियो ।
२०१० विश्वपकमा समूह ‘एफ’ मा रहेको इटाली पाराग्वे, स्लोभाकिया र न्युजिल्यान्डसँग पराजित हुँदै पहिलो चरणबाटै बाहिरिन पुग्यो । इटाली जितविहीन बन्यो । त्यसपछिको विश्वकपमा पनि इटालीले समूह चरण पार गर्न सकेन । २०१४ को विश्वकपमा इटालीले इंग्ल्याण्डलाई हराउँदा पोर्चुगल र कोस्टारिकासँग पराजित हुन पुग्यो ।
त्यसयता इटाली विश्वकपमा छनोट हुन सकेको छैन । स्विडेनसँग पराजित हुँदा सन् २०१८ को विश्वकपमा छनोट हुन असफल भएको इटालीलाई सन् २०२२ मा उत्तर म्यासेडोनियासँगको हारले विश्वकप पुग्ने यात्रामा रोक लगायो ।
सन् २०२६ मा बोस्निया र हर्जेगोभिनासँगको हारका कारण इटाली छनोट नहुने विश्वकपमा ह्याट्रिक पूरा भयो । फिफा विश्वकप २०२६ को छनोटअन्तर्गत समूह ‘आइ’मा ८ खेलमध्ये ६ खेलमा जित निकाल्दै इटाली अंक तालिकाको दोस्रो स्थानमा रहँदै इटाली दोस्रो चरणमा पुग्यो ।
पहिलो चरणमा शीर्ष स्थानमा रहँदै सिधै विश्वकपमा छनोट हुने अवसर इटालीले गुमायो । दोस्रो चरणमा इटाली, उत्तरी आयरल्याण्ड, वेल्स तथा बोस्निया र हर्जेगोभिनामध्ये एक टोली विश्वकपमा छनोट हुने अवस्था बन्यो ।
पहिलो खेलमा इटालीले उत्तरी आयरल्याण्ड तथा बोस्निया र हर्जेगोभिनाले वेल्सलाई पराजित गरे । फाइनलमा बोस्निया र हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदा इटाली लगातार तेस्रोपटक विश्वकपमा छनोट हुन सकेन ।
निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा बोस्निया र हर्जेगोभिनाले ४–१ ले पराजित गर्दा विश्वकप खेल्ने इटालीको चाहनामा ब्रेक लाग्यो ।
कसरी भयो इटालियन फुटबलको पतन ?
सन् २००६ मा भएको म्याच फिक्सिङ काण्ड जुन इटालियन फुटबलको पतनको एक प्रमुख मोड बन्यो । सिरी ‘ए’ लिगमा युभेन्टसले रेफ्री नियुक्ति र निर्णयलाई प्रभावित पार्न अनैतिक गतिविधि गरेको प्रकरण बाहिर आयो । दोषी ठहर हुँदा युभेन्टस ‘ए’ बाट ‘बी’ मा घटुवा भयो ।
सोही कारण धेरै स्टार खेलाडीहरूले क्लब छाडे, प्रायोजकहरूमा अन्योल सिर्जना भयो र इटालियन फुटबलको अन्तर्राष्ट्रिय छविमा ठूलो धक्का पुग्यो । सन् १९८० र ९० को दशकमा विश्वकै उत्कृष्ट लिग मानिने सिरी ‘ए’को भ्यालु घट्दै गयो । जसको प्रभाव इटालियन फुटबलमा पर्यो ।
सन् २००७ मा लिभरपुललाई हराउँदै मिलानले च्याम्पियन्स लिगको उपाधि जित्यो । च्याम्पियन्स लिगको फाइनल खेलमा मिलानको सुरुवाती–११ मा एकजना पनि इटालियन खेलाडी पनि थिएनन् । जसको असर २०१० को विश्वकपमा देखियो । उक्त विश्वकपमा इटाली जितविहीन बन्दै समूह चरणबाटै बाहिरियो । त्यसपछि २०१४ को विश्वकपमा पनि इटाली समूह चरणबाटै बाहिरियो । त्यहाँबाट पनि इटालीको पतन रोकिएन ।
सन् २०१८ को विश्वकपको छनोट हुन असफल हुँदै इटाली ६० वर्षपछि विश्वकपबाट बाहिर रहन पुग्यो । सो निराशा लामो समय चलेन । निराशामा डुबेको इटालीका लागि प्रशिक्षक रोबर्टो मान्सिनीले लगातार ३७ खेलमा जित निकाल्दै पुनर्जीवित गरे । त्यतिबेला बनेको अन्तर्राष्ट्रिय फुटबल इतिहासमै सबैभन्दा लामो ३७ खेलसम्म अपराजित रहने विश्व कीर्तिमान इटालीको नाममा छ ।


इटालीले युरो कप २०२० मा इंग्ल्याण्डलाई हराउँदै ५३ वर्षपछि उपाधि जित्न सफल भयो । त्यतिबेला इटालीयन फुटबलले पुनरामगन गरेको महशुस धेरैले गरेका थिए । इंग्ल्यान्डसँगै बेल्जियम र जर्मनी जस्ता बलिया राष्ट्रलाई पन्छाउँदै इटालीले युरो कप २०२० को उपाधि जितेका थियो । तर, त्यो लामो समय टिक्न सकेन ।
युरो कप जितेको केही महिनामै सन् २०२२ को विश्वकप छनोटमा उत्तर म्यासेडोनियासँग पराजित हुँदै लगातार दोस्रोपटक विश्वकपबाट टाढा रहनुपर्यो । सन् २०२४ को युरो कपको अन्तिम १६ बाट बाहिरिएको इटालीको खराब फर्म २०२६ को विश्वकप छनोटमा पनि जारी रह्यो । छनोटमा बोस्निया र हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित हुँदा लगातार तेस्रोपटक विश्वकप खेल्नबाट बञ्चित हुन पुग्यो ।
लगातार तेस्रोपटक विश्वकपमा छनोट नभएपछि कतिपयले दोष प्रशिक्षक गेन्नारो ग्याटुसोलाई दिए । फर्ममा रहेका खेलाडीहरूलाई छोडेर घाइते र पुराना खेलाडीहरूलाई टोलीमा प्राथमिकता दिएको आरोप ग्याटुसोले खेप्नुपर्यो। त्यसपछि उनले राजीनामा दिए ।
यस्तै इटालियन फुटबल महासंघका तत्कालीन अध्यक्ष गाब्रिएल ग्राभिना र जियानलुइजी बुफोन राष्ट्रिय टोलीका प्रतिनिधिमण्डल प्रमुख पदबाट राजीनामा दिन बाध्य भए । बुफोन इटालीले २००६ मा विश्वकप जित्दा टोलीका सदस्य थिए ।
लगातार तेस्रोपटक विश्वकपमा छनोट नभएपछि इटालीलाई १९८२ मा विश्वकप उपाधि जिताएका दिग्गज खेलाडी क्लाउडियोले भनेका थिए, ‘लाग्छ विश्वकपको मामिलामा हामीमाथि कुनै श्राप लागेको छ । हामी यो कठिन समयबाट गुज्रिरहेका छौँ र अब केही न केही परिवर्तन हुनैपर्छ ।’
अर्का दिग्गज खेलाडी फ्रान्को बारेसीसले इटालियन फुटबलमा आबद्ध प्रत्येक व्यक्तिले अब गम्भीर भएर आत्मसमीक्षा गर्नुपर्ने उल्लेख गरेका थिए । लगातार तेस्रोपटक विश्वकप छनोट नभएपछि विश्वविजेता अर्जेन्टिनकाका प्रशिक्षकले समेत इटाली टिमप्रति सहानुभूति प्रकट गरेका थिए ।
‘इटालीजस्तो स्तरको टोली विश्वकपमा नहुनु हाम्रा लागि पनि निकै तितो गोली निल्नु सरह हो,’ अर्जेन्टिनी प्रशिक्षक लियोनेल स्कालोनीले भने । इटाली एक समय विश्वका उत्कृष्ट खेलाडी उत्पादन गर्ने देश थियो । तर, पछिल्लो समय क्लबहरूले आफ्नै एकेडेमीका खेलाडीभन्दा विदेशी खेलाडीमा बढी निर्भरता बढाउँदा प्रतिभा उत्पादनमा कमी आयो ।
२०औं शताब्दीका महान खेलाडीहरु पाओलो रोसी, रोबर्टो बाजियो, फाबियो कानाभारो र जियानलुइजी बुफोन इटालीकै हुन् । इटालीले संरचनामा विकास गर्न नसक्नु पनि फुटबल विकास नहुनुको एक कारण हो ।

कतिसम्म भने इटालीले फुटबल पूर्वाधार सुधार नगरे सन् २०३२ को युरोपियन च्याम्पियनसिपको सहआयोजकको अधिकार गुमाउन सक्ने चेतावनी समेत पाएको छ । इटालीले पछिल्लो ३ विश्वकपको समयमा ६ वटा प्रशिक्षक परिवर्तन गरिसकेको छ । पटकपटक प्रशिक्षक परिवर्तन हुँदा पनि खेलाडी विकास र टोली निर्माण प्रभावित हुँदै आएको छ ।
२०२६ विश्वकप छनोट खेलपछि इटालीले लक्जमबर्गसँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो । जसमा नयाँ र युवा पुस्ताका साथ इटाली मैदानमा उत्रियो । एउटै खेलमा १५ युवा खेलाडीहरुले सिनियर टोलीबाट डेब्यु गरे । इटाली १–० ले विजयी भयो । खेलपछि इटालीका कप्तान जियानलुइगी डोनारुमाले युवा खेलाडीहरूको साथमा बलियो पुनरागमन गर्ने विश्वास व्यक्त गरे ।
