लिग चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले पहिलो क्वालिफायर खेल्ने छन् । त्यसैगरी तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सले इलिमिनेटर खेल्ने छन् ।
२ पुस, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लिग चरणका खेलहरू सोमबारदेखि सकिए । प्लेअफ खेल्ने टिमहरूको पनि टुंगो लागिसकेको छ ।
लिग चरणमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले पहिलो क्वालिफायर खेल्ने छन् । त्यसैगरी तेस्रो स्थानमा रहेको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्सले इलिमिनेटर खेल्ने छन् ।
पहिलो क्वालिफायर र इलिमिनेटर दुवै खेल बुधबार हुनेछन् । इलिमिनेटर खेलमा पराजित हुने टोली बाहिरिनेछ । त्यसैगरी पहिलो क्वालिफायरमा विजयी हुने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ भने पराजित टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्ने छ । यसरी पहिलो क्वालिफायरमा पराजित भएपनि फाइनल पुग्ने बाटो खुलै रहनेछ ।
जारी प्रतियोगितामा सुरूवाती ४ खेलमा लगातार जित निकालेको जनकपुरले त्यसपछि एक खेल हार्दा एक खेल जितेर अन्तिम खेल हारेको थियो । त्यसैगरी सुदूरपश्चिमले सुरूवाती ३ खेल जितेपछि एक खेल हार्दा फेरि तीन खेल लगातार जितेको थियो ।
उता चितवनले भने मिश्रित रुपमा जित र हारको नतिजा निकाल्दै आएकोमा कर्णालीले सुरूवाती दुई खेलमा हार व्यहोरेपछि लगातार चार जित र त्यसपछि अन्तिम खेलमा हार ब्यहोरेको थियो ।
रोचक कुरा के छ भने लिगका शीर्ष दुई टोली सुदूरपश्चिम र जनकपुरलाई हराउने एकमात्र टोली चितवनले लिग चरणमा पराजित भएको कर्णालीसँग इलिमिनेटर खेल्दै छ ।
प्लेअफ सुरु हुनुअगाडि प्लेअफमा पुगेका टिमको हालसम्मको प्रदर्शन र खेलाडीहरूको लयको बारेमा आज चर्चा गर्दै छौं ।
सुदूरपश्चिम रोयल्स
सुदूरपश्चिमले लिग चरणका ७ मध्ये ६ खेलमा जित निकालेको छ । चितवनसँग पराजित भएको सुदूरले बाँकी सबै खेल जितेर १२ अंक जोड्दै लिग चरणको अंकतालिकामा शीर्षस्थानमा रहेर प्लेअफ खेल्न लागेको हो । त्यतिमात्र होइन सुदूरले क्वालिफाएर १ नै खेल्ने छ ।
हालसम्म आइपुग्दा सुदूरको ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्ष राम्रो देखिएको छ । एकमात्र पराजित भएको खेल चितवनसँग थियो । चौथो खेलमा लक्ष्य पछ्याउने क्रममा सुदूरले ३३ रनको हार व्यहोरेको थियो ।
सुरूवाती तीन खेलमा शानदार जित निकालेको सुदूर चौथो खेलमा पराजित भएको थियो। त्यसपछि फेरि लगातार तीन जित निकाल्न सफल भयो ।
सुदूरपश्चिमका विदेशी अलराउण्डरहरूले शानदार प्रदर्शन गरिरहेका छन् । ब्रान्डन माकमुलेन, सेफ अली जैबले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गरेका छन् भने स्कट कुग्लेइनले बलिङमा लिड गरिरहेका छन् र फिनिसिङको भूमिका दिइएकोमा केही ठुला शटहरू पनि खेल्ने गरेका छन् ।
यीबाहेक कप्तान दीपेन्द्रसिंह ऐरीले एक खेलबाहेक ब्याटिङमा कप्तानी पारी खेलेका छन् । त्यसैगरी बलिङमा नरेन साउद, अविनाश बोहराले विकेट निकालिरहेका छन् ।
सुदुरको ओपनिङमा विनोद भण्डारी र सेफ अली जैब राम्रो देखिएका छन् । दुवै मिलेर मध्यम सुरूवात दिलाएका छन् । विनोदले हालसम्म ७ खेलमा १३६ रन बनाएका छन् भने जैबले १७४ रन बनाएका छन् ।
विनोदको किपिङमा पनि राम्रो प्रेजेन्स अफ माइन्ड देखिएको छ । उनले केही महत्वपूर्ण रनआउट र स्टम्पिङ पनि गरेका छन् । सुदूरले पहिलो क्वालिफायरमा पनि यी दुवै जोडीलाई नै ओपनिङको जिम्मा दिने लगभग निश्चित छ ।
त्यसैगरी ब्राण्डन माकमुलेनले ब्याटिङ र बलिङ दुवैबाट योगदान दिइरहेका छन् । उनले हालसम्म एक अर्धशतकसहित ७ खेलमा १६२ रन बनाएका छन् भने ६ विकेट पनि लिएका छन् । इशान पाण्डेले ७ खेलमा १२२ रन बनाएका छन् । इशानले ३ विकेट पनि लिएका छन् ।
कप्तान दिपेन्द्रसिंह ऐरी आफैं पनि टिमका लागि महत्वपूर्ण साबित भइरहेका छन् भने पनि टिमको जितमा महत्वपूर्ण योगदान दिएका छन् । दिपेन्द्रले ७ खेलमा एक अर्धशतकसहित १९८ रन बनाएका छन् भने ५ विकेट पनि लिएका छन् । आरिफ शेखले पनि ठीकठाक ब्याटिङ गरिरहेका छन् ।
बलिङमा न्युजिल्याण्डका बलर स्कट कुग्लेइनले पूर्णरुपमा लिड गरिरहेका छन् । उनले हालसम्म ७ खेलमा १५ विकेट लिइसकेका छन् । सेफ जैबले ब्याटिङसँगै बलिङमा पनि योगदान दिएका छन् । उनले कुग्लेइनपछि सबैभन्दा धेरै ९ विकेट लिएका छन् । त्यस्तै नरेन साउदले ६ खेलमा ६ विकेट लिएका छन् । उनले काठमाण्डुविरूद्ध एकै खेलमा ५ विकेट पनि लिएका थिए । अविनाश बोहराले ७ खेलमा ६ विकेट लिएका छन् ।
यता हर्मीत सिंहको आगमनले टिममा बाँयाहाते बलिङ र पिन्च हिटिङमा सहयोग पुगेको छ । प्रतियोगिताको मध्यभागमा टिममा अनुबन्ध भएका हर्मीतले ३ खेल मात्र खेल्दा ८ विकेट लिइसकेका छन् । उनी राम्रो लयमा पनि देखिएका छन् ।
क्यानडामा खेल्ने गरेका पूर्वराष्ट्रिय खेलाडी नरेश बुढाएरले फिल्डिङमा राम्रो योगदान दिएका छन् । उनले हरेकजसो खेलमा महत्वपूर्ण क्याचहरू लिइरहेका छन् । ब्याटिङमा खासै पालो नपाएको भएपनि एक-दुई ठुला शटहरू खेल्दै आवश्यक रनहरू जोडिरहेका छन् ।
यसरी हेर्दा सुदूरपश्चिमको टिम सन्तुलित देखिएको छ । टप अर्डरदेखि मिडल अर्डर र लोअर अर्डरसम्मै म्याच विनिङ खेलाडीहरू रहेका छन् । सबै कुरामा राम्रो देखिएको भएपनि सुदूरले मिडल अर्डर ब्याटिङमा विशेष सतर्क हुनुपर्ने जरूरी छ । टप अर्डरबाट रन नबनेको खण्डमा मिडल अर्डरका ब्याटरहरूले खेल चलाउनुपर्ने हुन्छ ।
सुदूरले हालसम्म एक खेल मात्र चेज गर्दा जितेको छ । उक्त खेलमा पनि ओपनरहरू चाँडै आउट भएपछि कप्तान दिपेन्द्रले इशानसँग मिलेर साझेदारी गर्दै खेल आफ्नो पक्षमा पारेका थिए ।
त्यसैगरी अविनाश बोहराले केही विकेटहरू निकालेको भएपनि रन खर्चिरहेका छन् भने आफ्नो बेस्ट जे हो त्यो अझै पनि पूर्णरूपमा दिएका छैनन् । उनको र स्कटको चार ओभर डेथ बलिङ खेलमा महत्वपूर्ण हुन सक्छ । बीचका ओभरहरूमा दिपेन्द्र र अन्य स्पीनरहरूले ब्याटरलाई दबाबमा राख्न सक्छन् ।
क्वालिफायर १ जितेर सिधै फाइनल पुग्ने सुदूरको लक्ष्य हुनेछ भने त्यसमा विदेशी खेलाडीहरू सेफ जैब र माकमुलेनको अलराउण्ड प्रदर्शन तथा स्कट कुग्लेइनको बलिङ महत्वपूर्ण हुनेछ । कप्तान दिपेन्द्रको ब्याटिङ र बलिङ चुस्त हुन सके त्यसले थप सहयोग पुग्ने छ र सुदूरको जितको आधार बन्ने छ ।
कप्तान दिपेन्द्रले टिम राम्रो भएको र उपाधि जित्ने माइन्डसेटले नै सुरूवातदेखि खेलिरहेको प्रतिक्रिया दिएका छन् । ‘सबैजना त्यहीअनुसार तयारी गरिरहेका छन्, हाम्रो टिम पनि बलियो छ सबैकुरामा सन्तुलन पनि मिलेको छ । सुरूदेखि भन्दै आएका छौं उपाधि जित्छौं भनेर, हेरौं के हुन्छ अब, राम्रो हुन्छ भन्ने नै छ।’
जनकपुरसँग लिग चरणमा खेलिसकेकाले अब टिम मिटिङमा त्यही खेलको प्रदर्शनअनुसार प्लानिङ गर्नुपर्ने उनको भनाइ थियो ।
जनकपुर बोल्ट्स
जनकपुरले लिगमा ७ मध्ये ५ खेल जितेर दोस्रो स्थानमा फिनिस गर्यो । जनकपुरले चितवन र सुदूरपश्चिमसँग हार व्यहोर्दा बाँकी टिमलाई जितेको थियो ।
सुरूवाती चार खेलमा शानदार प्रदर्शन गर्दै अपराजित रहेको जनकपुरले शीर्षस्थानमा लिग चरण सकाउने धेरैको अनुमान थियो । तर चार जितपछि जनकपुरको लय धर्मरायो । चौथो खेलमा १२४ रनको लक्ष्य पछ्याउने क्रममा एक्सपोज भएको जनकपुरको मिडल अर्डर त्यसपछिको खेलमा पनि चलेको थिएन ।
सुदूरसँग ५१ रनमा अलआउट भएपछि एक खेल जितेको जनकपुर अन्तिम खेलमा चितवनसँग पराजित भएको थियो । चितवनसँग न्युजिल्याण्डका जिमी नीशमले शानदार ब्याटिङ गरेपनि खेल भने जिताउन सकेनन् ।
सुरूवाती चार खेल हेर्दा जनकपुरको टप अर्डर ब्याटिङदेखि मिडल अर्डर र बलिङमा पनि सबैकुरा मिलेको देखिएको भएपनि त्यसपछिका प्रदर्शनले जनकपुरको ब्याटिङमा केही चिन्ता थपेको छ ।
राष्ट्रिय टोलीका दुई खेलाडी अनिल शाह र आसिफ शेखको ओपनिङ जोडी त्यति सफल भएको छैन । दुईमध्ये एक ब्याटर हरेकजसो खेलमा चाँडै आउट भइरहेका छन् वा भनौं दुईमध्ये एक नचल्दा अर्को चल्ने गरेका छन् । अनिलले ७ खलमा १३२ रन बनाएका छन् भने आसिफले ७ खेलमा ११४ रन बनाएका छन् ।
सर्वाधिक रन बनाउनेमा दुईभन्दा माथि अर्का दुई विदेशी खेलाडी छन् । लाहिरु मिलान्थाले ७ खेलमा १९२ रन बनाउँदा जिमी नीशमले ६ खेलमा १५३ रन बनाएका छन् । नीशमले बलिङ्बाट पनि ४ विकेट लिएका छन् । यद्यपी मिलान्था सुरूवातमा जस्तो फर्ममा देखिएका छैनन् ।
बलिङमा ललित राजवंशीले शानदार गरिरहेका छन् । उनले ७ खेलमा १३ विकेट लिएका छन् र सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रोमा छन् । त्यस्तै हर्श थाकर र किशोर महतोले समान १० विकेट लिएका छन् । मोहमद मोहसिनले ७ विकेट लिएका छन् । पार्ट टाइम बलर शेर मल्लले ५ खेलमा ६ विकेट लिएका छन् ।
यसरी हेर्दा जनकपुरको बलिङमा त्यस्तो समस्या देखिएको छैन । ब्याटिङमा भने ब्याटरहरू रिस्क लिएर खराब शटहरू खेलेर आउट भइरहेका छन् । त्यो कुरामा ध्यान दिनु जरूरी छ ।
त्यस्तै टप अर्डरका तीनजना ब्याटरहरूले राम्रो सुरूवात दिलाउनुपर्ने हुन्छ । आसिफ, अनिल र मिलान्थाले ब्याटिङमा राम्रो प्रदर्शन नगरेमा मिडल अर्डरलाई ठुलो दबाब पर्ने हुन्छ जुन हामीले सुदूरपश्चिम, चितवन र काठमाण्डुसँगको खेलमा पनि देखिसकेका छौं ।
लिग चरणमा सुदूरपश्चिमसँगको खेलमा गरेको गल्ती सुधार्दै जनकपुर फेरि सुरूवातको जस्तै उत्कृष्ट लयमा फर्किएर सुदूरलाई हराउँदै सिधै फाइनलमा स्थान बनाउन चाहनेछ ।
जनकपुरका लागि ब्याटिङमा दुई ओपनरसँगै मिलान्था र नीशमको भूमिका महत्वपूर्ण हुनेछ भने बलिङमा ललित राजवंशीसँगै मोहमद मोहसिन र हर्श थाकर तथा किशोर महतोको भूमिका महत्वपूर्ण हुनेछ ।
प्रशिक्षक पुबुदु दासानायकेले पनि पछिल्लो केही खेलमा ब्याटिङमा केही कमजोरी देखिएकाले सुधार्ने बताएका छन् । ‘टप अर्डरहरू पछिल्लो समयमा चलेका छैनन्, उनीहरू चल्न थालेपछि हामी पहिलेका खेलजस्तै लयमा आउनेछौं’ उनले भनेका छन्, ‘टप अर्डरका चारमध्ये २ ब्याटरले रन हान्नेपर्छ, आशा छ प्लेअफमा राम्रो हुनेछ।’
कप्तान अनिल शाहको हातमा केही चोट भएकाले फिट नभएको खबर छ । उनी प्रतियोगिताका बाँकी खेलबाटै वञ्चित हुन सक्ने टिम स्रोतले जनाएको छ । यसबारेमा क्लबले आधिकारिक जानकारी दिनेछ ।
चितवन राइनोज
चितवन राइनोजको एनपीएल र प्लेअफ यात्रा सबैभन्दा रोचक छ । प्रतियोगिताअघि धेरैको अनुमानमा कमजोर देखिएको चितवन प्रतियोगितामा सुरूवाती दुई खेलमा शानदार प्रदर्शन गर्दै सबैको अनुमानलाई गलत साबित गरिरहेको थियो । काठमाण्डुलाई सस्तैमा रोकेको चितवनले पोखरालाई ७४ रनमा अलआउट गर्दै सनसनी मच्चाएको थियो ।
७ मध्ये ४ खेल जितेर ८ अंक जोडेको चितवन तेस्रो स्थानमा रहँदै प्लेअफमा छनोट भएको हो । चितवनले लिग चरणमा पोखरा, काठमाण्डु, सुदूरपश्चिम र जनकपुरलाई हराउँदा कर्णाली, विराटनगर र लुम्बिनीसँग पराजित भएको थियो ।
तीनमध्ये एक हार चाहिँ क्लोज हार थियो । कर्णालीसँगको रोमाञ्चक खेलको २०औं ओभरको पाँचौं बलमा जीशान मकसुदले चौका हानेर चितवनलाई हारको स्वाद चखाएका थिए । त्यसपछि चितवनका दुई जित भने प्रतियोगिताकै दुई शीर्ष टिमविरुद्ध आएको थियो । चितवनले सुदूरपश्चिम र जनकपुरलाई हराएको थियो । प्रतियोगितामा यी दुई टिमलाई हराउने एक्लो टिम हो चितवन ।
चितवनका लागि विदेशी खेलाडीको राम्रो ब्याटिङ प्रदर्शनसँगै बलरहरूले शानदार खेलिरहेका छन् । विशेषगरी बलिङमा दुई बाँयाहाते बलर सोहेल तनविर र रिजन ढकालले राम्रो गर्दा अन्य बलरहरूको पनि मनोबल उच्च भइरहेको छ । रिजनले हालसम्म १३ विकेट लिएका छन् र सर्वाधिक विकेट लिनको सूचिमा ललितसँगै दोस्रोमा छन् ।
ब्याटिङमा रवि बोपाराले प्रत्येक खेलमा राम्रो पारी खेल्दै चितवनको जितको आधार तय गरिरहेका छन् । कुशल मल्ल पनि प्लेअफअगाडि शानदार फर्ममा देखिएका छन् । पछिल्लो खेलमा ७२ रन बनाएका उनले हालसम्म २०२ रन बनाउँदै सर्वाधिक रन बनाउने सूचिमा चौथो नम्बरमा छन् । बोपारा २३३ रनका साथ दोस्रो स्थानमा छँदै नै छन् । त्यस्तै हसन एइसाखिलले ५ खेलमा १२४ रन बनाएका छन् ।
अलराउण्डर अमरसिंह राउटेलाले ब्याटिङमा ठुला शटहरू खेलिरहँदा बलिङमा पनि केही विकटहरू निकालिरहेका छन् । उनले पार्ट टायम मिडियम पेस बलिङ गर्दै ४ विकेट लिएका छन् । स्पीनमा कुशल मल्ल आफैं पनि राम्रो गरिरहेका छन् भने रञ्जित कुमारले पनि आश देखाएका छन् । कुशलले ८ विकेट लिएका छन् ।
यति हुँदाहुँदै पनि चितवनले आफ्नो पर्फेक्ट ओपनिङ जोडी भने हालसम्म छुट्याउन सकेको छैन । हालसम्म धेरैपटक एइसाखिल, सन्तोष कार्की, दीपक बोहरा, विपिन रावल र लुक बेनकेन्सटाइनलाई समेटेर जोडीहरू प्रयोग गरिएपनि कुनैले पनि त्यस्तो उल्लेख्य प्रदर्शन गरेका छैनन् ।
त्यसैगरी चितवनको मिडल अर्डर ब्याटिङ बोपारा र कप्तान मल्लमा निर्भर छ । ब्याटिङमा मल्ल वा बोपारा नचलेको दिनमा चितवनका लागि स्टेप अप गर्न सक्ने भरपर्दो प्रदर्शन कसैबाट भएको छैन । त्यसकारण चितवनले ब्याटिङ लाइनअपमा सुधार गरेर रन बनाएमा राम्रो बलिङ लाइनअपले त्यसलाई आरामले डिफेन्ड गर्न सक्छ ।
चितवनले कर्णालीसँग इलिमिनेटर खेल्दै छ । ब्याटिङतर्फ टप अर्डरका खेलाडी हसन एइसाखिलसँगै रवि बोपारा र कुशल मल्लको ब्याटिङ महत्वपूर्ण हुनेछ । बलिङमा तनविर र रिजनको आठ ओभर तथा कप्तान कुशल मल्लको ४ ओभर क्रुसियल रहनेछ ।
चितवनका कप्तान कुशल मल्लले पनि बलिङ लाइनअप राम्रो भएकाले मध्यम स्कोरहरू डिफेन्ड गर्न सकिने प्रतिक्रिया दिएका थिए । प्लेअफमा जुन टिम परेपनि आफ्नो बेस्ट दिने उनले जनकपुरसँगको अन्तिम खेलपछि प्रतिक्रिया दिएका थिए ।
कर्णाली याक्स
कर्णालीले ७ मध्ये ४ खेलमा जित निकालेको थियो । चितवन, पोखरा, लुम्बिनी र विराटनगरलाई हराएको कर्णाली काठमाण्डु, जनकपुर र सुदूरपश्चिमसँग पराजित भएको थियो ।
प्रतियोगिताअघि कागजमा सबैभन्दा बलियो देखिएको कर्णालीले फितलो सुरूवात गरेको थियो । भारतीय स्टार ब्याटर शिखर धवनको अनुबन्धले निकै चर्चा पाएको कर्णालीले सुरूवाती दुई खेलमा जनकपुर र काठमाण्डुसँग हार व्यहोरेको थियो ।
त्यसपछि कर्णालीले चितवनविरुद्ध १ बल बाँकी छँदा रोमाञ्चक नित निकालेको थियो भने विराटनगरविरुद्ध १३३ रन डिफेन्ड गर्दै ७ रनको रोमाञ्चक जित निकालेको थियो ।
कर्णालीको ब्याटिङ लाइनअप बलियो देखिएपनि त्यसअनुसारको प्रदर्शन हुन सकेको छैन । सुरूआती दुई खेलमा नचलेका देव खनालले त्यसपछि २५ र ५३ को स्कोर बनाएपनि त्यसपछि फेरि सुस्ताएका छन् । चाडविक वाल्टन र बाबर हायातले नाम र चर्चा अनुसारको ठुलो इनिङ खेल्न सकिरहेका छैनन् ।
यस्तोमा अस्ट्रेलियाका विलियम बोसिस्टोको आगमपछि ब्याटिङमा केही आशा देखिएको छ । उनले ब्याटिङ र बलिङ दुवै राम्रो गरिरहेका छन् । हालसम्म शिखर धवनले ४ खेलमा १३६ रन बनाएर भारत फर्किसकेपछि बोसिस्टोले सर्वाधिक रन बनाएका छन् । उनले ५ खेलमा १२८ रन बनाउँदा ८ विकेट पनि लिएका छन् ।
वाल्टनले ७ खेलमा १२६ रन बनाएका छन् । गुल्शन झाले मिडल अर्डरमा सम्हालिएर खेलिरहेका छन् । उनले ७ खेलमा १०४ रन बनाएका छन् । अन्य ब्याटरहरूले १०० रन कटाएका छैनन् ।
ब्याटिङ कमजोर देखिए पनि बलिङमा भने कर्णाली राम्रो देखिएको छ । दोस्रो खेलबाट मौका दिइएका आइकोनिक खेलाडी बिपिनप्रसाद शर्माले शानदार प्रदर्शन गर्दै ९ विकेट लिइसकेका छन् । बोसिस्टोको ८ विकेटपछि पेसर नन्दनले ७ तथा कप्तान सोमपाल कामी र जिशान मकसुदले ६ विकेट लिएका छन् ।
चितवन राइनोजसँग इलिमिनेटर खेल्न लागेको कर्णालीले महत्वपूर्ण खेल जित्नका लागि ब्याटिङ राम्रो गर्नुपर्ने हुन्छ । विशेषगरी ओपनिङ राम्रो गर्न सकेमा मिडल अर्डरमा बोसिस्टो र गुल्शनले खेल चलाउन सक्नेछन् भने अर्जुन घर्ती र सोमपाल कामीले फिनिसिङ राम्रो दिन सक्छन् ।
एबोभ पार स्कोर खडा गर्न सकेमा कर्णालीले बलिङमार्फत खेल आफ्नो पक्षमा पार्न सक्ने छ भने ब्याटिङलाई लयमा फर्काउन सके चेज गरेर पनि खेल जित्न सक्छ ।
खेलहरू :
इलिमिनेटर : चितवन राइनोज भर्सेस् कर्णाली याक्स – ३ पुस, विहान ९ बजे
क्वालिफायर १ : सुदूरपश्चिम रोयल्स भर्सेस् जनकपुर बोल्ट्स – ३ पुस, दिउँसो १ बजे